बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आयोगमा १४९ आचार संहिता उल्लंघनका उजुरी, कांग्रेस–एमालेका उम्मेदवार तामेलीमा, अरूलाई कारबाही !

शुक्रबार, ०२ मङ्सिर २०७९, १६ : २२
शुक्रबार, ०२ मङ्सिर २०७९

प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन कार्यक्रम सुरु भएयता निर्वाचन आयोगमा १४९ वटा आचारसंहिता उल्लंघनका उजुरी परेको छ । सो उजुरीमध्ये आयोगले २२ उजुरीमा निर्णय गरेको छ । आचारसंहिता उल्लंघनका उजुरीमा कांग्रेस र एमालेका उम्मेदवार विरुद्ध परेको उजुरी तामेलीमा राखिएको छ भने अन्य उम्मेदवार, शिक्षक, कर्मचारीलाई जरिवाना गरिएको छ । 

आयोगले झापा क्षेत्र नम्बर १ का कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माविरुद्ध आचारसंहिता उल्लंघन गरेको उजुरीलाई आयोगले तामेलीमा  राखेको छ भने दाङ क्षेत्र नम्बर ३ की एमाले उम्मेदवार कोमल वलीविरुद्ध परेको आचार संहिता उल्लंघनको उजुरीलाई पनि आयोगले तामेलीमा  राखेको छ । यस्तै कैलाली क्षेत्र नम्बर ४ बाट कांग्रेसबाट उम्मेदवार रहेका वीरबहादुर बलायर विरुद्ध परेको आचार संहिता उल्लंघनको उजुरीलाई पनि आयोगले तामेलीमा राखेको छ । 

यस्तै शहरी विकास मन्त्री मेटमणी चौधरी, दुग्घ विकास संस्थान, प्रेस काउन्सिल नेपाल विरुद्ध परेको उजुरीलाई पनि तामेलीमा राखिएको छ ।  आयोगले ८ उजुरीलाई तामेलीमा राखेको छ भने ७ वटा उजुरी परेका व्यक्तिलाई जरिवाना तिराउने कारवाही गरेको छ । हालसम्म कारबाही परेका विभिन्न पक्षबाट ५० हजार रूपैयाँ जरिवाना उठेको आयोग स्रोतले जानकारी दिएको छ । 

आयोगले शुक्रबार राजीव गुरुङ उर्फ दीपक मनाङेलाई २५ हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । यसअघि आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमलाई ५ हजार रूपैयाँ जरिवाना गरेको छ । यस्तै जनता आधारभूत माविका शिक्षक जिवछ यादवलाई ५ हजार, शिक्षक तिलक कुँवरलाई ५ हजार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृतलाई ५ हजार, बाराको एक स्थानीय तहका नगर प्रमुख जलेन्द्रसिंह जैसवाललाई २५ हजार र काठमाडौं महानगरका एक वडाअध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रूपैयाँ जरिवाना गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप