शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा रहेका मतदातालाई दलहरू धमाधम सम्बन्धित क्षेत्रमा पुर्‍याउँदै

शुक्रबार, ०२ मङ्सिर २०७९, १५ : १८
शुक्रबार, ०२ मङ्सिर २०७९

प्रदेशसभा र प्रतिनिधिसभाका लागि मतदान गर्न दुई दिनमात्र बाँकी छ । अध्ययन, पेसा–व्यवसाय तथा रोजगारीका सिलसिलामा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यकामा आएर बसेका मतदातालाई सम्बन्धित क्षेत्रका उम्मेदवार तथा दलले धमाधम आफ्नो क्षेत्रमा पुर्याउने व्यवस्था गर्न लागेका छन् ।

काठमाडौं उपत्यकामा विभिन्न पेसा व्यवसाय गरेर बस्ने ७ लाख मतदाता बाहिरिएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ । उपत्यका नजिक रहेका जिल्लाका मतदाता भने भोलिसम्म आ–आफ्नो जिल्ला र क्षेत्रमा जाने तयारीमा छन् ।

सबैजसो पार्टीले आफ्ना मतदाता जिल्ला र निर्वाचन क्षेत्रमा पुर्याउन जोडतोडका साथ सक्रियता देखाएका छन् । काठमाडौंबाट मतदाता लैजान विभिन्न जिल्लाका सम्पर्क समितिलाई सक्रिय बनाएको नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

‘हाम्रो पार्टीले काठमाडौंमा बसोवास गर्नेहरूको जिल्ला सम्पर्क समिति बनाएको छ । उक्त समितिले काठमाडौंमा विभिन्न पेसा– व्यवसाय गरेर बस्नेको तथ्याङ्क राखेका छन्,’ रिजालले भने, ‘तिनीहरूलाई जिल्ला र निर्वाचन क्षेत्रसम्म पुर्याउन सम्पर्क समितिका साथीहरू र सम्बन्धित क्षेत्रका उम्मेदवारले खर्चको व्यवस्था मिलाएका छन् ।’

पार्टीको सम्पर्क र सम्बन्ध भएका सबै मतदातालाई मतदान स्थलसम्म पुर्याउन सम्पर्क समितिले काम गरिरहेको रिजालले बताए । यस्तै नेपाली कांग्रेसले पनि जिल्ला सम्पर्क समिति र उम्मेदवारले उपत्यकाबाट मतदातालाई सम्बन्धित निर्वाचन क्षेत्रमा लग्ने व्यवस्था मिलाएको छ ।

यस्तै माओवादी केन्द्रका जिल्ला सम्पर्क समन्वय समितिका इन्चार्ज डिलाराज आचार्यले जिल्ला सम्पर्क समिति मार्फत मतदाता जिल्ला जिल्लामा पुर्याउने काम भइरहेको बताए ।

‘अहिलेसम्म गोरखा, अर्घाखाँचीमा सबैभन्दा बढी मतदाता गएका छन् भने सबैभन्दा कम मतदाता डोल्पा, हुम्ला र जुम्लामा गए,’ आचार्यले भने, ‘उपत्यकादेखि टाढाका मतदाता हिजो नै गइसकेका छन्, कतिपय आज जाँदै छन् । भोलि भने उपत्यका नजिकका जिल्लाका मतदाता जाँदै छन् ।’

उपत्यकाबाट मतदाता लग्न पार्टीले कुनै खर्चको व्यवस्था नगरेको आचार्यले बताए । जिल्ला सम्पर्क समिति र सम्बन्धित क्षेत्रका उम्मेदवारले यातायात र खानाको व्यवस्था मिलाएको जनाउँदै उनले पार्टीका कति मतदाताले उपत्यका छोडे भन्ने तथ्यांक नभएको बताए ।

तर, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले उपत्यकाबाट मतदातालाई सम्बन्धित जिल्लामा लैजान आफ्नो पार्टीले खर्चको कुनै व्यवस्था नगरेको बताए । ‘पार्टी केन्द्रले मतदातालाई आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रसम्म पुर्याउन कुनै व्यवस्था गरेको छैन । सम्पर्क समिति र सम्बन्धित क्षेत्रका उम्मेदवारले मतदाता लग्ने व्यवस्था मिलाउनु भएको छ,’ भुसालले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप