मोरङमा निर्वाचनको सबै तयारी पूरा

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा सबै तयारी पूरा भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा कूल तीन सय छ मतदानस्थल र आठ सय ३९ मतदान केन्द्र रहेकामा ५० अतिसंवेदनशील र एक सय १४ वटा संवेदनशील मतदानस्थलमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
मतदानका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले छ हजार सात सय १२ कर्मचारी परिचालन गरेको छ । एक मतदान केन्द्रमा आठ कर्मचारी रहने उक्त कार्यालयका प्रवक्ता हेम बुढाथोकीले जानकारी दिए । मतदानमा चाहिने मतपत्रदेखि आवश्यक सामग्री केन्द्रमा पुगिसकेको छ ।
मोरङमा दुई वटा अस्थायी मतदान केन्द्र पनि स्थापना गरिएको छ । एक जिल्ला कारागारमा कैदीबन्दीका लागि र अर्को आदर्श पुस्तकालयमा मतदानमा नखटिने कर्मचारीका लागि कर्मचारी र कैदीबन्दीले समानुपातिकमा मात्र मत खसाल्न पाउने भएका छन् । मतदान केन्द्रमा खटिने मतदान अधिकृतले निर्वाचनलाई सहज एवं सरल बनाउन प्रत्येक मतदान केन्द्रमा सर्वदलीय बैठक गरिरहेको सूचना प्राप्त भएको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
यसबाट निर्वाचन निष्पक्ष, धाँधलीरहित, विश्वसनीय, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास लिन सकिन्छ । मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर मत खसाल्ने वातावरण सिर्जना गर्न मतदान अधिकृतलाई प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलबाट निर्देशन पनि भइसकेको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
अहिलेसम्म सबै मतदान केन्द्र वा मतदानस्थलमा शान्तिपूर्ण वातावरण रहेको र प्रत्येक मतदान केन्द्रमा खानेपानी, शौचालय, बिजुली, इन्टरनेटको व्यवस्था गर्नका साथै मतदान अधिकृत बुथ निर्माणमा जुटेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी
-
पशुपति आइपुगे नागाबाबाहरू (तस्बिरमा हेर्नुहोस्)
-
लमजुङमा भूकम्पको धक्का
-
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर
-
लुम्बिनी प्रदेश : योजनाविना धमाधम कोल्ड स्टोर निर्माण, सञ्चालनमा छैन ध्यान
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी