बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

मन्त्रीबाट बर्खास्ती भएपछि खड्काले भने– ‘सनसनीपूर्ण आडियो भिडिओ सार्वजनिक गर्छु’

बिहीबार, ०१ मङ्सिर २०७९, २२ : ४४
बिहीबार, ०१ मङ्सिर २०७९

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार बर्खास्त गरेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमार खड्काले चुनावलगत्तै सनसनीपूर्ण अडियो भिडिओ सार्वजनिक गर्ने बताएका छन् । बर्खास्तमा परेपछि बुधबार पत्रकारसँग कुरा गर्दै खड्काले मुख्यमन्त्री पोखरेल र कानुन मन्त्री विन्दु थापाको चर्को आलोचना गरे । 

उनले मुख्यमन्त्री पोखरेलले प्रदेश बासीको हित विपरीत काम गरेको संकेत गर्दै आफूलाई बर्खास्ती गर्ने कारण नखुलाए सनसनीपूर्ण आडियो भिडिओ सार्वजनिक गर्ने धम्की दिएका हुन् । ‘मलाई बर्खास्ती गर्नुको कारण मुख्यमन्त्रीले सार्वजनिक गर्नुपर्छ । होइन भने तपाईंहरुले भन्नुहुन्छ नी सनसनी खेदपूर्ण समाचार खुलासा गर्ने दिन आउने स्थिति बन्छ,’ खड्काले भने । 

उनले निर्वाचनपछि अडियो भिडिओ सार्वजनिक गर्ने पनि उल्लेख गरेका छन् । ‘मलाई निकाल्नुपर्ने आवश्यकता दबाब के हो ? लक्ष्य के हो ? त्यो त भन्नुपर्यो नी । कमसेकम मेरो अपमानजनक बहिर्गमनमा हुँदैनथ्यो,’ उनले भने– ‘मुख्यमन्त्रीले भन्नुभएको भए म आफैं राजीनामा दिन्थे ।’

खड्काले पछिल्लो समय आफूले क्याबिनेटमा प्रस्तुत गर्ने एजेण्डा र मुख्यमन्त्रीको कार्यशैलीलाई लिएर प्रश्न उठाउन थालेपछि आफू आँखाको तारो परेको बताए । ‘पछिल्लो समय मुख्यमन्त्री र मेरो सम्बन्धनमा चिसोपन आएको साँचो हो । एउटै क्याबिनेटमा बसेर मैले उहाँका नीतिको विरोध गर्नुहुँदैन भन्ने थियो तर, नवलपुरमा माइतीघाटमा १ सय करोडको पुल बनाउन उहाँको चाहनामा मैले विरोध गरेको थिए,’ खड्काले भने– ‘त्यहाँ १ सय करोडको पुल बनाउने मुख्यमन्त्रीको चाहना थियो । प्रदेशले १ सय करोडको पुल बनाउन सक्दैन बरु थुप्रै ठाउँमा ५/५ करोडको २० वटा पुल बनाउन भनेर मैले क्याबिनेटमै विरोध गरेको थिए ।’ 

मुख्यमन्त्री र अर्थमन्त्रीको पछिल्लो गतिविधिले आफूलाई प्रश्न उठ्न थालेको खड्काको भनाइ छ । ‘उहाँहरुले गल्ती गर्ने । प्रश्न मलाई उठ्न थालेको थियो । यसको प्रतिरोध मैले क्याबिनेटमा बारम्बार उठाएँ,’ उनले भने । 

‘टिकट वितरणमा पनि अपमान भयो’
खड्काले आफूलाई टिकट वितरणमा पनि अपमान भएको बताएका छन् । राजनीति गर्ने भएपछि टिकट पाउनु नपाउनु स्वाभाविक भएपछि आफूलाई टिकट वितरणको दिनदेखि अपमान गर्न थालिएको उनको भनाइ छ । 
‘टिकट वितरण हुने दिन हामी सबै बालुवाटारमा गएका थियौं । त्यो दिन पनि हामीहरू रातभरी बाहिर बस्यौं । टिकट कसले पाउने हो । टुंगो थिएन,’ खड्काले भने– ‘शीर्ष नेताले कसले पाउँछ । भनिदिएको भए । कसैले दुःख पाउने थिएन तर, शीर्ष नेताको स्पष्ट नीति नहुँदा सबैको अपमान भयो ।’

कास्की क्षेत्र नम्बर २ ख बाट खड्का टिकटका आकांक्षी थिए । आकांक्षी मध्येकै विन्दु थापाले टिकट पाए । पछिल्लो समय विन्दु थापाको विरुद्धमा लागेको भन्दै खड्कालाई मन्त्रीबाट बहिर्गमन गरिएको स्वयम् खड्का सुनाउँछन् । ‘टिकट दिँदा पनि अपमान भयो । राजनीतिक गर्नेले टिकट नपाउने कुरालाई सामान्य लिन्छन् । यसरी नै मैले लिएको थिए,’ उनले भने, ‘तर, मेरो राजनीतिक भविष्य नै खतरामा पार्ने गरी बहिर्गमन गर्नुभयो ।’

‘निजी जग्गामा सरकारी बजेट’
कानुन मन्त्री विन्दु थापाको जोड बलमा आफ्नो मन्त्री पद गएको संकेत गर्दै खड्काले मुख्यमन्त्री मन्त्री दुवैप्रति आरोप गरेका छन् । खड्काले पत्रकारसँग कुरा गर्दै थापाले निर्वाचन क्षेत्रका लागि छुट्टाएको बजेट हालेको प्रमाण प्रस्तुत गरेका थिए ।

‘टिकट पाउनुअघि मान्ने विन्दु थापाले पत्रकार सम्मेलन गरेर मेरो बारेमा आरोप लगाउनुभयो । यसका खण्डन आज मैले गर्नुपर्छ । उहाँको मन्त्रालय ९ करोड रुपैयाँ बजेट खर्च गर्न पाउँथ्यो । उहाँले ९ करोड रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रमा कति हाल्नुभयो कति बाहिर हाल्नुभयो उहाँले भन्न बाध्य पार्नुभयो,’ उनले भने, ‘उहाँले आफ्नो निर्वाचन क्षेत्र २ छोडेर निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ मा पर्ने पोखरा १४ मा खसी बजारदेखि बिपी मार्गसम्म बजेट हाल्नुभएको थियो । जहाँ उहाँकै प्लटिङ गरेका घडेरीहरू छन् ।’ 

थापाले आफ्नो व्यक्तिगत जग्गामा प्रदेश सरकारको पैसा लगेर हालेको खड्काको आरोप छ । थापाले आफ्नो निर्वाचन क्षेत्र छोडेर निर्वाचन क्षेत्र नम्बर ३ अन्नपूर्ण गाउँपालिकाको कयर चौरमा पनि २ करोड नि बजेट हालेको खड्का बताउँछन् ।  ‘उहाँको निर्वाचन क्षेत्र वडा नम्बरमा १६ थियो । जहाँबाट उहाँले राम्रो मत पाउनुभएको थियो । तर, त्यही क्षेत्रमा उहाँले बजेट ९ करोडबाट ६ लाख हाल्नुभयो । पोखरा २० मा १० लाख हाल्नुभयो,’ उनले भने, ‘तर अन्नपूर्णका कयर चौरमा लगेर आफ्नो निजी जग्गा भएको ठाउँमा लगेर बजेट हाल्नुभयो ।’

खड्काले मुख्यमन्त्री कार्यालयबाट त्यो प्रमाण बाहिरिएपछि आफूले थाहा पाएको बताए । पत्र देखाउँदै उनले भने, ‘यो हो पहिलो वर्ष र अहिलेको बजेट खर्च गरे मुख्यमन्त्रीलाई सम्बोधन सहितका पत्र मसँग छ ।’  खड्का भने आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर गएर खर्च नगरेको दाबी गर्छन् । ‘मैले आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर गएर बजेट खर्च गरिनँ । सबै बजेट १६ मै खर्च गरें,’ उनले भने । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप