शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड मोरङः ​अंकगणितले साथ दिएका सत्ता गठबन्धनका १७ र एमालेका १ उम्मेदवार

बिहीबार, ०१ मङ्सिर २०७९, २१ : १६
बिहीबार, ०१ मङ्सिर २०७९

मोरङ राजनीतिक हिसाबले निकै लामो समय केन्द्रमा रह्यो । मोरङको विराटनगरमै घर भएका कृष्णप्रसाद कोइरालाले राणाशासन विरुद्धमा सुरु गरेको आन्दोलन र त्यसपछि उनकै छोरा बीपी कोइरालाले प्रजातन्त्र प्राप्तिमा खेलेको भूमिका सधैँ सम्मानित छ । त्यसैकारण दुवै पात्रलाई विराटनगर र मोरङले मात्रै होइन, अन्तर्राष्ट्रिय जगतले पनि सम्मान गर्छ ।

मोरङकै भूगोलबाट देशको प्रधानमन्त्री हुनेमा प्रजातन्त्रवादी नेता बीपी कोइराला, मातृका प्रसाद कोइराला, तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालामात्रै होइन, वामपन्थी नेता मनमोहन अधिकारी पनि छन् । राणाविरोधी आन्दोलनबाट चर्चामा आएको विराटनगर र मोरङमा यस पटकको निर्वाचनको सम्भावित परिणामबारे विभिन्न अड्कलबाजी भइरहेको छ ।

मोरङमा कोइराला परिवारबाटै राजनीतिको मियो बन्ने कसरतमा लागेका शेखर कोइराला हुन् या युवा नेताको छवि बनाएका गुरुराज घिमिरे र अन्तिम चुनाव लड्न लागेकी गिरिजापुत्री सुजाता कोइरालासम्म आसन्न निर्वाचनमा मतदाताबाट परीक्षण हुँदैछन् ।

मोरङका ६ वटा संघीय निर्वाचन क्षेत्र र १२ वटा प्रदेश निर्वाचन क्षेत्रमा अंकगणितीय हिसावले सत्ता गठबन्धन दलका उम्मेदवारलाई सहज छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा हेर्दा र उम्मेदवारको अवस्थाले गठबन्धन नै हाबी हुने देखिन्छ ।

स्थानीय तह निर्वाचनमा कतिपय ठाउँमा गठबन्धन भए पनि एक पार्टीले अर्को पार्टीका उम्मेदवारलाई मत नहालेको, गठबन्धन हुन नदिएको जस्ता आरोप यसअघि लागेको थियो । सोही कारण मतपत्रमा एक आपसमा अविश्वास र मत आदानप्रदानको अवस्था नआए मोरङमा एमाले हाबी नहोला भन्न पनि सकिन्न । यद्यपि सम्मावित मत परिणाम र हालसम्मको चुनावी अभियानमा देखिएको चर्चा परिचर्चाले मतमा खासै धेरै अदलबदल हुने देखिन्न । किनकि सत्ता गठबन्धन दलहरुको पक्षमा अचाक्ली माहोल आएको पनि छैन र विपक्षी गठबन्धनमा पनि त्यस्तो उभार कतै देखिएको छैन । दुवै पक्षमा सकारात्मक र नकारात्मक टिका टिप्पणी गर्न पर्याप्त आधार देखिन्छन् ।

एउटाले अर्कोलाई आलोचना जति गरे पनि आफू पनि चोखो कुनै नदेखिएको अहिलेको निर्वाचनको संघारमा नयाँ त्यस्तो कुनै शक्ति पनि चुनावी परिणामलाई उथल पुथल पार्ने अवस्थामा देखिँदैन । त्यसकारण स्थानीय तहमा आएको मत नै यस पटकको परिणामको प्रमुख आधार र सम्भावित परिणाम हो ।

प्रतिनिधिसभातर्फ ६ वटा निर्वाचन क्षेत्रको तुलनात्मक अवस्था

क्षेत्र नम्बर १

मोरङका १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि १४ जना प्रतिस्पर्धामा छन् । जसमध्ये सत्ता गठबन्धनबाट कांग्रेसका डिगबहादुर लिम्बू र एमाले गठबन्धनबाट नेता घनश्याम खतिवडाको मुख्य प्रतिस्पर्धा छ । यस्तै सो क्षेत्रबाट ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदका उम्मेदवारले पाएको मतको अवस्था गठबन्धनको पक्षमा छ ।

त्यहाँ एमाले ३२ हजार ३६६, कांग्रेसले ३१ हजार ४१३, माओवादीले ६ हजार ५८३, राप्रपाले २ हजार ८९०, नेकपा एकीकृत समाजवादीले १ हजार ९३ र जसपाले ४९४ मत ल्याएका छन् ।

मोरङ क्षेत्र नम्बर २

मोरङको क्षेत्र नम्बर २ मा भने ३ जना स्वतन्त्रसहित १३ जना उम्मेदवार छन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला उम्मेदवार छिन् । यसअघि उक्त क्षेत्रमा कांग्रेसका डा. मिनेन्द्र रिजाल विजयी भएका थिए । कोइरालाको प्रतिस्पर्धामा एमाले गठबन्धनबाट ऋषिकेश पोखरेल छन् । अघिल्लो पटकको निर्वाचनमा पोखरेल रिजालसँग पराजित भएका हुन् । सो क्षेत्रमा स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार एमाले ३१ हजार ३३०, कांग्रेसले २८ हजार ६१७, माओवादीले ७ हजार २७१ मत ल्याएका छन् ।

मोरङ क्षेत्र नम्बर ३

मोरङको क्षेत्र नम्बर ३ मा भने १९ जना स्वतन्त्रसहित ३३ जना उम्मेदवार बनेका छन् ।

उक्त क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डाक्टर सुनिल शर्मा उम्मेदवार छन् । यसअघि उक्त क्षेत्रमा कांग्रेसका डा. शर्मा एमाले नेता भानुभक्त ढकालसँग पराजित भएका थिए । अहिले पनि प्रतिस्पर्धामा एमाले गठबन्धनबाट ढकाल नै छन् । ढकाल र शर्माबीच प्रतिस्पर्धा हुने ठानिएको भए पनि राप्रपाबाट सो क्षेत्रमा उम्मेदवार बनेकी रेखा थापा दुवै उम्मेदवारको लागि अहिले टाउको दुखाइ बनेकी छन् ।

सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतअनुसार एमालेको ३७ हजार ४१०, कांग्रेसको ३६ हजार ९१६, माओवादीको ७ हजार ३७३, राप्रपाको २ हजार १२१, नेकपा एकीकृत समाजवादीको १ हजार ८५५ मत छ ।

मोरङ क्षेत्र नम्बर ४

मोरङको क्षेत्र नम्बर ४ मा ६ जना उम्मेदवारसहित १६ जनाबीच प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धन दलका तर्फबाट माओवादी नेता अमनलाल मोदी र एमाले गठबन्धनका तर्फबाट विनोद ढकाल उम्मेदवार बनेका छन् ।

अघिल्लो निर्वाचनमा पूर्वमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई फराकिलो मत अन्तरले पराजित गर्दै सांसद बनेका माओवादी नेता मोदीले यस पटक एमाले नेता ढकालसँग कडा प्रतिस्पर्धा गर्दैछन् ।

मोरङ ४ नम्बर क्षेत्रमा बेलबारी नगरपालिकाको वडा नं. ५, ६ र ७, ग्रामथान गाउँपालिका पूरै, कटारी नगरपालिका र विराटनगर महानगरपालिकाको वडा नं. १, २, ३, ८, १० र १९ नम्बर वडा पर्छ । उक्त क्षेत्रमा ५६ हजार ६१७ पुरुष तथा ५३ हजार ४७६ महिला गरी १ लाख १० हजार ९३ जना मतदाता छन् ।

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा सत्ता गठबन्धन दलहरुको मत जोड्दा भने एमालेको भन्दा बढी हुनजान्छ । गठबन्धनको मत ३३ हजार १३९ छ भने एमालेको २५ हजार ७३० छ । जसपाको ३ हजार ११२ मत पनि एमालेलाई गएको खण्डमा त्यहाँ एमाले–जसपा गठबन्धनको मत २८ हजार ८४२ पुग्छ । यता, राप्रपाले पनि आफ्नो छुट्टै उम्मेदवार खडा गरेको छ । उक्त क्षेत्रमा राप्रपाले ४ हजार ६७४ मत ल्याएको छ ।

मोरङ क्षेत्र नम्बर ५

मोरङको निर्वाचन क्षेत्र ५ मा ८ जना स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट माओवादी नेता शिवकुमार मण्डल उम्मेदवार बन्दा एमाले र जसपाका संयुक्त उम्मेदवार राजकुमार यादव प्रतिस्पर्धामा छन् । अघिल्लो पटक कांग्रेसका अमृत अर्याललाई पछि पार्दै मण्डल विजयी भएका थिए । सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल भने नेकपा एमालेका नेता हुन् । जसपासँगको सहमतिमा एमालेले सो क्षेत्र छोडेपछि उनले असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा कांग्रेस १९ हजार ४९८, एमाले १५ हजार ६८०, जसपा १३ हजार २४९ र माओवादीले ११ हजार ६२८ मत ल्याएका छन् ।

मोरङ क्षेत्र नम्बर ६

मोरङको क्षेत्र नम्बर ६ मा यस पटक पुरानै प्रतिस्पर्धीको रोचक भिडन्त हुने भएको छ । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता डा. शेखर कोइराला र एमाले गठबन्धनबाट लालबाबु पण्डित उम्मेदवार छन् ।

पण्डितले कोइरालालाई २०७४ सालको निर्वाचनमा पराजित गरेका थिए । त्यसको बदला लिने दाउमा कोइराला छन् । अघिल्लो निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका पण्डितले ६ सय मतले कोइरालालाई पराजित गरेका थिए । यस पटक भने माओवादीसहितको गठबन्धनबाट उम्मेदवार बनेका कोइरालाले बाजी मार्ने सम्भावना छ । सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत अनुसार नेपाली कांग्रेसको २७ हजार ८६ मत छ । यस्तै एमालेको २४ हजार ५५६, माओवादीको ४ हजार ९९६, जसपाको ३ हजार ९३९, राप्रपाको ३ हजार ११५ र नेकपा एकीकृत समाजवादीको २ हजार ३५५ मत छ ।

प्रदेशसभा तर्फ १२ निर्वाचन क्षेत्रको तुलनात्मक अवस्था

मोरङ क्षेत्र नं. १(क)

मोरङकोे क्षेत्र नम्बर १ (क) प्रदेशसभामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलप्रसाद साम्बा (कुशल) उम्मेदवार बनेका छन् । उनीसँग नेकपा एमालेका उम्मेदवार उमाकान्त गौतमले प्रतिस्पर्धा गर्दैछन् । यस क्षेत्रमा वडाध्यक्षहरुले पाएको मतको आधारमा हेर्ने हो भने गठबन्धनका उम्मेदवारलाई सहज छ । गठबन्धनको कूल मत १८ हजार १४१ हुँदा एमालेको मत १४ हजार ४३६ छ ।

यो क्षेत्रमा उर्लाबारी नगरपालिकाका सबै वडा तथा मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर २, ३, ६, ७, ८ र ९ रहेको छ । यसअघि पनि सोही क्षेत्रबाट प्रदेशसभामा विजयी बनेका साम्बालाई विकासप्रेमी नेताको रुपमा चिनिन्छ ।

मोरङ क्षेत्र नं. १(ख)

उत्तरी मोरङमा पर्ने क्षेत्र नं. १(ख) बाट उम्मेदवार बनेका प्रदेश सरकारका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे नेकपा एमालेका पुराना नेता खड्गबहादुर बस्नेतसँग प्रतिस्पर्धा गर्दैछन् । मोरङको लेटाङ नगरपालिका, केराबारी गाउँपालिका र मिक्लाजुङ गाउँपालिकाको १, ४ र ५ नम्बर वडा समेटिएको सो क्षेत्रमा पनि एमालेभन्दा गठबन्धन ३ हजार १४ मतले अगाडि छ ।

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा सो क्षेत्रमा एमालेले १७ हजार ९६०, कांग्रेसले १७ हजार ४४०, माओवादी केन्द्रले ३ हजार ४८० र एकीकृत समाजवादीले ४६ मत प्राप्त गरेको छ । स्थानीय तहकै गठबन्धनको मत २० हजार ९७४ रहेको  र आगामी निर्वाचनमा त्योभन्दा धेरै मत आफूले प्राप्त गर्ने भएकोले चुनावमा प्रतिस्पर्धा नै नरहेको घिमिरे दावी गर्छन् ।

तत्कालीन जाँते गाविसमा दुई कार्यकाल अध्यक्ष भएका घिमिरेसँग प्रतिस्पर्धामा उत्रिएका बस्नेत जिल्ला विकास समितिका पूर्वसभापति हुन् । सो क्षेत्रमा डिल्लीराम घिमिरेले उम्मेदवार नबनाएको भन्दै पार्टी परित्यागको घोषणा गरेका थिए । एमालेभित्रको असन्तुष्टिले घिमिरेलाई थप बलियो बनाएको देखिएको छ ।

मोरङ क्षेत्र नं. २(क)

यो क्षेत्रमा रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकाको ६, ७, ८ र ९ नम्बर वडा पर्दछन् । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका प्रदेश १ सचिव गणेश उप्रेती सुशील उम्मेदवार बनेका छन् । उनलाई नेकपा एमालेबाट उम्मेदवार बनेका दानबहादुर कार्कीले टक्कर दिइरहेका छन् । तुलनात्मक रुपमा राजनीतिक व्यक्ति र तीक्ष्ण वैचारिक क्षमता भएका उप्रेतीका लागि मेनपावर व्यवसायी कार्कीसँगको प्रतिस्पर्धा सहज देखिन्छ । कार्कीको उम्मेदवारीलाई लिएर एमालेभित्र असन्तुष्टि बढ्नु र गठबन्धन दलहरुको गत स्थानीय तहमा पाएको मत बढी हुनुले उप्रेतीलाई अझै सहजता थपेको छ । गत स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा गठबन्धनको पक्षमा १८ हजार ९४७ मत हुँदा एमालेको मत १५ हजार २७९ मात्रै छ । उक्त क्षेत्रमा राप्रपाको १ हजार ४३३ र जसपाको २ हजार ४७२ मत छ ।

मोरङ क्षेत्र नं. २(ख)

कानुन व्यवसायीको पृष्ठभूमिबाट प्रदेशसभा सदस्य भएका मोरङका लिलाबल्लभ अधिकारी मोरङ क्षेत्र नं. २ (ख)बाट दोस्रो कार्यकालको लागि उम्मेदवार बनेका छन् । सुनवर्षी नगरपालिकाको १, २, ३, ४ र ५, कानेपोखरी गाउँपालिकाको १, २ र ३, पथरी शनिश्चरे नगरपालिकाको ५ र ६ तथा रंगेली नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडा समेटिएको सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका विनोद कार्की उम्मेदवार छन् ।

सो क्षेत्रमा गत स्थानीय तहको मतका आधारमा गठबन्धन २ हजार ७० मतले अगाडि छ । क्षेत्रमा एमालेको १६ हजार ५१, कांग्रेसको १४ हजार ८५९, माओवादीको ३ हजार २४० र एकीकृत समाजवादीको २२ मत छ ।

तुलनात्मक रुपमा मतदाताबीचमा गइरहने र सहयोगी व्यवहारका कारण अधिकारी बलियो उम्मेदवारको रुपमा चिनिन्छन् । तर, सुनकाण्डको विवादित पृष्ठभूमि र १० बुँदे पक्षधर भएकाले उनले एमालेको सबै मत पाउँछन् कि पाउँदैनन् भन्ने यकिन छैन । कांग्रेसका उम्मेदवार कार्की पनि क्षेत्रबाहिर बस्ने भएकाले मतदाताको रुचीमा परेको देखिएको छैन ।

मोरङ क्षेत्र नं. ३ (क)

मोरङको ३ (क) मा पथरीशनिश्चरे नगरपालिकाको १, २, ३, ४, ७, ८, ९ र १० नम्बर वडा, बेलबारी नगरपालिकाको ८ र १० तथा कानेपोखरी गाउँपालिकाको ४, ५, ६ र ७ नम्बर वडा पर्दछ । यो क्षेत्रबाट सत्ता गठबन्धन दल नेपाली कांग्रेसका नेता मानबहादुर लिम्बू उम्मेदवार बनेका छन् । यो क्षेत्रबाट उम्मेदवारी दिएका कांग्रेस नेता तथा प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएपछि लिम्बूले कांग्रेसबाट टिकट पाएका हुन् । उनलाई एमालेबाट पथरीशनिश्चरेका पूर्व प्रमुख दिलिप राईले टक्कर दिइरहेका छन् । राई पनि एमालेमा १० बुँदे पक्षधर भनेर चिनिन्छन् । एमाले विभाजन भएर बनेको पार्टीमा अन्तिम सनाखत गर्ने बेलामा राई पछि हटेका थिए । पार्टी अध्यक्ष केपी ओलीका आलोचक तथा विगत ५ वर्ष नगरप्रमुख हुँदा बनेको विवादित छवि नै राईका लागि भारी पर्नसक्ने कतिपय बताउँछन् ।

यता, सत्ता गठबन्धनका उम्मेद्वार लिम्बू भने सादगी र निष्ठावान नेता मानिन्छन् । यो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा पाएको मत अनुसार गठबन्धन नै अगाडि छ । वडाध्यक्षको मत अनुसार सो क्षेत्रमा सत्ता गठबन्धनको २० हजार ९२३ र एमालेको १८ हजार ६०६ मत छ । एकल रुपमा उम्मेदवारी दिएको राप्रपाको १ हजार १५५ र जसपाको २६१ मत छ ।

मोरङ क्षेत्र नं. ३ (ख)

यो क्षेत्रमा बेलवारी न.पा. वडा नं. १, २, ३, ४, ९ र ११ तथा सुन्दर हरैंचा न.पा. वडा नं. १, ८, ९, १०, ११ र १२ नम्बर वडा पर्दछन् । यो क्षेत्रमा भने सत्ता गठबन्धनको भागबण्डामा नेकपा एकीकृत समाजवादीले पाएको थियो । नेकपा एकीकृत समाजवादीले यो क्षेत्रमा लक्ष्मीकुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ शिक्षा क्षेत्रमा लामो समयदेखि काम गरिरहेका सामाजिक व्यक्ति हुन् ।

यस्तै एमालेले भने सो क्षेत्रमा बेलबारीका पूर्व प्रमुख ज्ञानेन्द्र सुवेदीलाई उम्मेदवार बनाएको छ । क्षेत्रमा पनि वडाध्यक्षहरुले पाएको मत जोड्दा सत्ता गठबन्धन दलको मत एमालेको भन्दा झण्डै ५ हजार बढी छ । गठबन्धनको मत २३ हजार ३४८ रहँदा एमालेको मत १८ हजार ८०४ छ । यस्तै राप्रपाको मत ९ सय ६६ हुँदा यो क्षेत्रमा जसपाको मत २०२ मात्रै छ ।

मोरङ क्षेत्र नं. ४(क)

मोरङ क्षेत्र नम्बर ४ (क) मा बेलबारी न.पा. वडा नं. ५, ६, ७, ग्रामथान गा.पा., कटारी न.पा. वडा नं. ४, ५, ६, ७ र विराटनगर म.न.पा. वडा नं. १९ पर्दछन् । यो क्षेत्रमा नेपाली कांग्रेसबाट चर्चित युवा नेता गुरुराज घिमिरे उम्मेदवार छन् । भावी मुख्यमन्त्रीको रुपमा समेत चर्चामा रहेका घिमिरेले एमालेबाट उम्मेदवार बनेका ग्रामथानका जयप्रकाश चौधरीसँग प्रतिस्पर्धा गरिरहेका छन् । नेपाली कांग्रेसभित्रको अन्तरविरोध र जातीगत सन्तुलन मिलाउन सकेको खण्डमा घिमिरेको जितका लागि अंकगणित धेरै सहज छ ।

क्षेत्रमा वडाध्यक्षहरुले पाएको मतका आधारमा गठबन्धन दल ६ हजार मतले अगाडि छ । यहाँ सत्ता गठबन्धनको १८ हजार ९६९ मत हुँदा एमालेको १२ हजार ९८० मतमात्रै छ । एक्लै उम्मेदवारी दिएको राप्रपाको ५७४ र जनता समाजवादी पार्टीको यो क्षेत्रमा एक हजार २७१ मत छ ।

मोरङ क्षेत्र नं. ४(ख)

मोरङ ४ (ख) बाट उम्मेदवार बनेका प्रदेश १ का पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे भने स्थानीय तहको मतका आधारमा झिनो मतले अगाडि देखिन्छन् । उनी पनि एमालेबाट भावी मुख्यमन्त्रीको दाबेदार हुन् ।

कटहरी गाउँपालिकाको १, २ र ३ तथा विराटनगर महानगरपालिकाको १, २, ३, ८ र १० नम्बर वडा समेटिएको सो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा वडा तहमा दलहरुले प्राप्त गरेको मत हेर्दा गठबन्धनको भन्दा एमालेको मत २०९ बढी छ ।

क्षेत्रमा एमालेले ११ हजार ८३ मत प्राप्त गरेकोमा कांग्रेसले ८ हजार ४६०, माओवादी केन्द्रले एक हजार ९१५ र एकीकृत समाजवादीले ४९९ मत प्राप्त गरेको छ । क्षेत्रमा पर्ने ८ वडा वडामध्ये ७ वटामा एमाले विजयी भएकोले आफू सहजै चुनाव जित्ने घिमिरे दावी गर्छन् ।

सो क्षेत्रमा घिमिरेसँगको प्रतिस्पर्धामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुली उम्मेदवार छन् । स्थानीय तहमा कांग्रेसभित्रको किचलोको कारण वडाहरुमा एमाले विजयी भएको भए पनि यसपटक त्यो अवस्था नरहने पराजुलीको दाबी छ । मोरङ क्याम्पसको स्ववियु सभापति हुँदै राजनीतिमा सक्रिय पराजुलीले अहिलेसम्म उम्मेदवार भएका कुनै पनि निर्वाचन हारेका छैनन् । यद्यपि उनलाई कांग्रेसभित्रको किचलो चुनौतीपूर्ण बनिरहेको छ ।

मोरङ क्षेत्र नं. ५ (क)

यो क्षेत्रमा रंगेली नगरपालिकाको वडा नं. ४, ५, ६, ७, धनपालथान गाउँपालिका तथा जहदा गाउँपालिकाको वडा नं. ५ र ६ पर्दछ । यो क्षेत्रमा एमालेले सन्तोषकुमार साहलाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनबाट भने नेपाली कांग्रेसले गयानन्द मण्डल (गनगाईं)लाई उम्मेदवार बनाएको छ । लामो राजनीतिक इतिहास बोकेका गनगाईका लागि निर्वाचन जित्न अंकगणितले साथ दिएको छ । क्षेत्रमा पनि गठबन्धनको मत अगाडि छ । स्थानीय तहको मतका आधारमा गठबन्धन दल यो क्षेत्रमा एमाले र जसपाका संयुक्त उम्मेद्वार भन्दा २ हजार मतले अगाडि देखिन्छ । त्यहाँ सत्ता गठबन्धन दलको मत १६ हजार ५९७ हुँदा जसपा र एमालेको गठबन्धनको मत १४ हजार ३७७ मत छ । यो क्षेत्रमा राप्रपाको मत भने १९२ छ ।

मोरङ क्षेत्र नं. ५ (ख)

२०७४ को निर्वाचनमा वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका स्वास्थ्यमन्त्री जयराम यादवलाई यसपटक भने एमालेको साथ पाउँदा पनि संकट देखिएको छ । विराटनगर महानगरपालिकाको ६ वटा र जहदा गाउँपालिकाको ५ वटा वडा समेटिएको निर्वाचन क्षेत्रमा यादवलाई सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रभावशाली नेता अमृत अर्यालले कडा टक्कर दिएका छन् । अर्याल भावी मुख्यमन्त्रीको दाबेदार पनि मानिन्छन् ।

सो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले १५ हजार १३७ मत प्राप्त गर्दा जसपा र एमालेले ५८५ कम अर्थात् १४ हजार ५५२ मत प्राप्त गरेका थिए । निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ९ हजार १६६, एमालेले ६ हजार २०२, माओवादी केन्द्रले ५ हजार ३६३, एकीकृत समाजवादीले ६०८ र जनता समाजवादी पार्टीले ८ हजार ३५० मत प्राप्त गरेको थियो ।

मोरङ क्षेत्र नं. ६ (क)

यो क्षेत्रमा सुन्दरहरैंचा नगरपालिकाको वडा नं. २, ३, ४, ५, ६ र ७,  बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकाको वडा नं. ४ पर्दछ । यो क्षेत्रमा सत्ता गठबन्धनले माओवादीका केन्द्रीय सदस्य तथा युवा नेता जीवन आचार्यलाई उम्मेदवार बनाएको छ । आचार्यलाई एमाले गठबन्धनकी रिता न्यौपानेले टक्कर दिइरहेकी छन् । सामाजिक छवि र उम्मेदवारको स्टाटसलाई लिएर पनि आचार्यले निर्वाचन जित्ने धेरैले अनुमान गरिरहेका छन् । आचार्यका लागि गठबन्धन दलहरुले पाएको मतले राहत दिए पनि कांग्रेस समर्थक मतदाताले हँसिया हथौडामा मत नहाल्ने हुन् कि भन्ने चिन्ता छ । यद्यपि यो क्षेत्रमा सत्ता गठबन्धन दलहरुले स्थानीय तह निर्वाचनमा २२ हजार २५२ मत ल्याएका छन् भने एमालेले १८ हजार ८९४ मत ल्याएको छ । जसपाले सो क्षेत्रमा १ हजार ५७७ मत ल्याएको छ भने राप्रपाले २ हजार १३४ मत ल्याएको छ ।

मोरङ क्षेत्र नं. ६ (ख)

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की मोरङको निर्वाचन क्षेत्र नम्बर ६(ख) मा उम्मेदवार बनेका छन् । विराटनगर महानगरपालिकाको ५, ६, ७, ९, ११ र १२ नम्बर वडा समेटिएको सो क्षेत्रमा स्थानीय तहको मतपरिणाम हेर्दा गठबन्धनको मत एमालेको भन्दा करिब दोब्बर बढी छ ।

क्षेत्रमा एमालेको मत ६ हजार ३४२ छ भने गठबन्धनको मत १२ हजार ७७४ छ । सो क्षेत्रमा कांग्रेसको मत ९ हजार ६१५, माओवादीको एक हजार ९१४, एकीकृत समाजवादीको एक हजार २४५ र जसपाको दुई हजार ९ मत छ । एमाले र जसपाको गठबन्धन बन्दा एमालेले सो क्षेत्र जसपालाई छाडेको भए पनि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नेबेला जसपालाई धोका दिएर एमालेको तर्फबाट बस्नेतले उम्मेदवारी दर्ता गराएका थिए । क्षेत्रमा जसपाबाट राजेन्द्र गुप्ता उम्मेदवार छन् ।

स्थानीय तहको मतको आधारमा कार्की बलियो देखिए पनि कांग्रेसभित्रको समस्याको दबाब उनीमाथि छ । कांग्रेसको गुटबन्दीको कारण कतिपय कांग्रेसकै कार्यकर्ताले कार्कीलाई सहयोग गरिरहेका छैनन् भने सो क्षेत्रबाट कांग्रेसकै प्रदेश समिति सदस्य गोपाल रेग्मी स्वतन्त्र उम्मेदवार बनेका छन् । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहिसकेका उनीसँगै कांग्रेसकै कार्यकर्ता जनार्दन निरौला सोही क्षेत्रमा कांग्रेस बीपीबाट उम्मेदवार बनेका छन् । दुईको उम्मेदवारले बस्नेतलाई उत्साही बनाएको छ । तर, मतान्तर ठूलो रहेको र आफू हरेक मतदातासँग परिचित रहेकोले ढुक्कले चुनाव जित्ने कार्कीको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप