सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

मतदाताको मनस्थिति : विकल्प खोज्लान् कि मःमः रोज्लान् ?

बिहीबार, ०१ मङ्सिर २०७९, २१ : ०८
बिहीबार, ०१ मङ्सिर २०७९

बिहान–साँझको भेटमा छिमेकीसँग हामीमध्ये अधिकांशले सोध्छौँ– भात खानु भो ? खानामा रोटी, ढिँडो, आँटो, कन्दमूल आदि जेहोस्, सोधाइ र बुझाइमा ‘भात’ शब्द प्रचलित छ ।

होटल, रेस्टुरेन्टमा गएपछि के खाने भन्ने सम्बन्धमा मेनु हेरेर हामी प्रायःले केहीबेर छलफल गर्छौं, अन्ततः मःमः मगाउँछौँ । के यही ‘नेपाली प्रवृत्ति’ यसपालिको निर्वाचनमा देखिएला ?

चुनावी रिपोर्टिङका लागि रातोपाटी टिम सातै प्रदेशका खासखास क्षेत्रमा खटिएको थियो । केही स्थानीयसँग कुरा गर्दा, अधिकांशले पाका नेता र पुराना पार्टीप्रति वितृष्णा व्यक्त गरे– नेतालाई जिताएर पठायो, केही गर्ने होइन !

नेताले गर्नुपर्ने के हो ? सुविधाजनक सडक, बिजुली, स्कुल–कलेज, हस्पिटलको माग आफ्नै ठाउँमा छन् । यसबाहेक कृषकहरू मलबिउ र सिंचाइ माग गर्छन्, युवाहरू रोजगार–स्वरोजगार र भूमिहीनहरू गाँस, बास र कपासको अपेक्षा गर्छन् । आफ्नो क्षेत्रमा कसले जित्नुपर्छ, कसलाई भोट दिने भन्ने सम्बन्धमा कति त अनभिज्ञ छन्, कति बोल्न चाहन्नन् ।

मतदाताको आक्रोश, अपेक्षा र झुकाव

२० कात्तिकको बिहान, बाराको जितपुर सिमरा–१०, बेहराटोलमा ८० वर्षीया असरपतिदेवी घरअगाडि बाँधिएको एउटा बाख्रालाई घाँस हाल्दै थिइन् । हामीले उनीसँग सञ्चोबिसञ्चो सोध्यौँ, उनले भोजपुरीमा भनिन्– हमरा त दम फुली बा, दुःख होए बा, दम फुली । (मलाई त दम बढेको छ, पीडा हुन्छ ।)

हामीले नेपालीमा सोध्यौँ– घरमा को को हुनुहुन्छ ? उनले खै के बुझिन् ! खरले छाएको आफ्नो छाप्रो देखाउँदै भनिन्– ‘घर गिर गइल बा ।’ (घर बस्न नमिल्ने भएको छ भन्ने अर्थमा ।)

आफूलाई नेपाली बुझ्न कठिन भएपछि उनले छोरालाई बोलाइन् । उनका छोरा ४६ वर्षीय चन्द्रिका महतो अघिल्लो स्थानीय सरकारमा लोसपाबाट वडासदस्य थिए । अहिले उनी एकीकृत समाजवादीमा प्रवेश गरेका रहेछन् । आफ्नो नामको जमिन कम भएकाले उनले अरुको जमिनमा पनि अधियाँ गरेर जीविका चलाउँदै आएका छन् । ‘यहाँका युवा बेरोजगार छन् । स्वास्थ्य र शिक्षाको राम्रो व्यवस्था छैन,’ उनले भने, ‘अहिले त यहाँका मानिस चलाख भएका छन् । रोजगारी, सेवा–सुविधा नभएपछि कतिपयले भन्दैछन्– पार्टीलाई किन हेर्ने, अब स्वतन्त्र हेर्नुप¥यो ।’

यही टोलका ४५ वर्षीय मोहन दास काममा निस्कँदै थिए । सम्पत्तिको नाममा सानो छाप्रोमात्रै भएका उनले ज्याला मजदुरी गरेर जीविका चलाउँछन् । गरिबीका कारण उनका जेठा छोरा सुरजले पढ्न पाएनन् । २० वर्षीय सुरज अहिले भैरहवामा मजदुरी गर्छन् । ‘कान्छो छोरा पनि ८ कक्षा पढ्दापढ्दै छाडेर मजदुरी गर्न हिँडेको छ । अहिले ऊ नारायणघाटतिर छ,’ उनले भने, ‘हामीलाई रोजगारी चाहिएको छ ।’

राजनीतिक दल र चुनावप्रति उनलाई विश्वास छैन । मतदान गर्ने, नगर्ने वा कसलाई किन मत दिने भन्ने सम्बन्धमा उनी खुल्न चाहेनन् ।

कात्तिक २६ गते बिहान, इलामको कन्यामस्थित एक चियापसलमा चिया पिउँदै गर्दा हामी निर्वाचनका विषयमा केही स्थानीयसँग गफियौँ । उनीहरूले एक स्वरमा भने– ०४८ सालदेखि झलनाथ खनाललाई पटकपटक जितायौँ, भयो के ?

यसपालि मत दिने–नदिने, वा कसलाई किन दिने भन्ने सम्बन्धमा उनीहरू खुल्न चाहेनन् ।

बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका एकबाल मियाँ २० कात्तिक दिउँसो चुनावी प्रचारका क्रममा बारा, जितपुर सिमराको इनर्वासिरामा पुगेका थिए । यहाँका एक ४२ वर्षीय पुरुषले हामीसँग गुनासो गरे, ‘यसअघि पनि एकबालले जितेका हुन् । यहाँ आएर घर–घरमा कल राखिदिन्छु भनेका थिए, त्यसपछि मुखै देखाएनन् । कसलाई भोट हालेर के हुन्छ ?’

कैलाली, जोशीपुर गाउँपालिका–१ का खुसीराम चौधरी नेताप्रति रुष्ट छन् । रातोपाटीसँगको कुराकानीमा उनले नेताहरूप्रति आक्रोश व्यक्त गरे । ‘नेताहरूको कुरा सुन्दा एलर्जी हुन्छ । काम केही गर्ने होइनन् । सब लुट्नेमात्र हुन्,’ उनले भने, ‘जनतालाई कसैले हेरेन ।’

यसपालिको स्थानीय निर्वाचनमा उनले ढकिया (नागरिक उन्मुक्ति पार्टी) लाई मत दिएका रहेछन् । ‘गाउँपालिकामा उसको रमिता पनि देखियो,’ उनले भने, ‘त्यसैले मलाई मत हाल्ने मन छैन ।’

जोशीपुर–१ कै हरिप्रसाद ज्ञवाली ‘नो भोट’को पक्षमा छन् । उनी मतदानै नगर्ने मुडमा थिए । यस्तै, जोशीपुर–३ की गीतादेवी चौधरी कृषि कर्ममै व्यस्त थिइन्, उनलाई चुनावप्रति चासै थिएन ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ र ३ का विभिन्न स्थानमा रातोपाटी टिमले चुनावका सन्दर्भमा बुझेको थियो । कालिका नगरपालिका–४ का कृषक रुद्रप्रसाद पौडेल यसपालिको चुनावमा नयाँ पुस्तालाई मत दिने मनस्थितिमा छन् । ‘संघर्ष गरेका बुढा–पुराना नेता भनेर धेरैपटक विश्वास गरियो तर खासै उपलब्धि भएन,’ उनले भने, ‘हामी कृषकले मलबिउ समयमा पाउने होइन । बिरामी हुँदा भरतपुर नै धाउनुपर्छ ।’

भरतपुर महानगरपालिका–११ की देउमाया आचार्यलाई चुनावी रौनकले छोएको छैन । भोट माग्न आउँदा नेताहरूलाई आफ्ना समस्या सुनाए पनि जितेर गएपछि नेताहरू गाउँ नफर्कने गरेको उनको गुनासो छ ।

माडी नगरपालिका–७, जगन्नाथपुरका शिवराज बराल चुनावी प्रचारका क्रममा नेताहरू व्यक्तिगत गाली–गलौजमा उत्रिएकोप्रति असन्तुष्टि व्यक्त गर्छन् । जनताका समस्या एकातिर छाडेर आफ्नो स्वार्थका लागि नेताहरू आपसमा झगडा गर्न थालेको उनको बुझाइ छ ।

‘हाम्रो गाउँमा विद्यालयको कम्पाउन्ड छैन, धार्मिक महत्त्व भएको क्षेत्र भए पनि मन्दिर गतिलो छैन, नाला बनाउनुपर्ने छ, तटबन्धको कुरा छ, कसैले यस्ता कुरालाई चासो दिएका छैनन्,’ उनले भने ।

लमजुङ, बेसीसहर–३ दुलालटोलकी कमला दुलाल यसपालि मतदान नगर्ने मनस्थितिमा छन् । ‘चुनावका बेला जे पनि गरिदिन्छु भन्छन्, जितेपछि हाम्रो दुःख बुझेर काम गर्दैनन्,’ उनले भनिन् ।

रातोपाटीसँगको कुराकानीमा, आफ्नो क्षेत्रको विकास गर्ने केही पुराना नेताको नाम सर्वसाधारणले खुलेरै लिए । रवि लामिछाने नेतृत्वको नयाँ पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)को नाम लिने र समानुपातिकमा भए पनि भोट दिन चाहने सर्वसाधारण ठाउँठाउँमा भेटिएका थिए । अर्कोतिर, रोजगारीका लागि विदेशमा रहेका युवाले घरमा फोन गरेर ‘फलानो पार्टीलाई भोट हाल्नू’ भनेको पनि पाइयो ।

चुनावी रिपोर्टिङका क्रममा रातोपाटी टिमले कतिपय ठूला नेताको चुनावीसभा र घरदैलो कार्यक्रममा सर्वसाधारणको सहभागिता त्यति उत्साहजनक देखेन । केही नेताले ३०–३५ जनाको अगाडि भाषण गरिरहेका थिए ।

जनमत पार्टीका अध्यक्ष सीके राउत २३ कात्तिकमा सप्तरीको महादेवा–७, कजौलीमा घरदैलोमा व्यस्त थिए । उनको पछाडि कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति उत्साहजनक नै देखिन्थ्यो । रातोपाटीसँगको कुराकानीमा उनले जनतालाई सेवा प्रवाह गर्ने उद्देश्यले आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका थिए ।

 

गठबन्धन र तालमेलको चपेटामा दल समर्थक

झापा–३ मा राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताद्वय कृष्ण सिटौला र राजेन्द्र लिङ्देन चुनावी प्रतिस्पर्धामा छन् । यहाँ कांग्रेस नेता सिटौलालाई गठबन्धनको र राप्रपा नेता लिङ्देनलाई एमालेको साथ छ । यही क्षेत्रमा एमालेकै (अहिले एमालेले कारबाही गरिसक्यो) डम्बरबहादुर गिरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसपालिको स्थानीय चुनावमा हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देनसँग पराजित गिरीले चार हजार ६ सय ६६ मत पाएका थिए । यसपालि सूर्यमुखी चिह्न पाएका ३९ वर्षीय गिरीले केही भोट काट्ने आकलन गरिएको छ । एमाले समर्थक स्थानीयका अनुसार, यसपालि पनि राजेन्द्र लिङ्देनलाई जिताएर पठाउने हो भने यहाँ एमालेको संंगठन नै रहँदैन । त्यसैले यसपालि गिरीलाई भोट दिएर आफूहरूको अस्तित्व कायम राख्ने मुडमा कार्यकर्ता देखिन्छन् ।

पर्सा १ मा अजय द्विवेदी स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन् । २० कात्तिक दिउँसो रातोपाटी टिमसँगको भेटमा द्विवेदी स्थानीय केही जनप्रतिनिधि र स्थानीय कांग्रेस नेतासँग थिए । यस क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारका रूपमा लोसपा नेता ७५ वर्षीय लक्ष्मणलाल कर्ण चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसमा शेखर कोइराला निकट मानिने द्विवेदीलाई कांग्रेसले कारबाही गरिसकेको छ । यद्यपि उनीसँग चुनावी प्रचारमा हिँडेका कांग्रेस कार्यकर्ता भन्दै थिए– पार्टीले कहिले कोसँग, कहिले कोसँग गठबन्धन वा तालमेल गरेर यहाँ कांग्रेसको अस्तित्व संकटमा पारिसक्यो । हामीले द्विवेदीलाई नै मत दिन्छौँ ।

२७ कात्तिकको बिहान, धरान– १४ विजयपुरका कांग्रेस कार्यकर्ता प्रेमप्रसाद पराजुली एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका मनोज कुमार मेयाङ्बोको चुनावी प्रचारमा थिए । धरानको निराजन बस्तीमा उनले मेयाङ्बो पक्षमा भाषण गरे । रातोपाटीसँगको कुराकानीमा ५५ वर्षीय पराजुलीले भने, ‘म अहिले पनि कांग्रेस कार्यकर्ता हुँ । भजन जो गाउँछ, जसको गोजीमा पैसा छ, उसले टिकट पाउने प्रवृत्ति पार्टीहरूमा देखियो, यसको अन्त्य हुनुपर्छ ।’ विकल्पमा जाँदा आफूले स्वतन्त्र उम्मेदवार मेयाङ्बोलाई रोजेको उनी बताउँछन् ।

अघिल्लोपटक यहाँ कांग्रेसको समर्थनमा संघीय समाजवादी फोरमबाट अशोक राई उम्मेदवार थिए । यसपालि एमाले–जसपा तालमेलबाट जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई चुनावी मैदानमा छन् । एउटै व्यक्ति फरक–फरक गठबन्धनबाट चुनावमा आउनुलाई पनि पराजुली गलत प्रवृत्ति बताउँछन् ।

यी प्रतिनिधि दृश्य हुन् । गठबन्धन र तालमेलका कारण देशभर नै दल समर्थक सर्वसाधारण तथा कार्यकर्ता एक खालको अन्योलसँगै विद्रोहमा छन् । यसले पनि चुनावी परिणामलाई यताउता पार्न सक्ने आकलन गर्न सकिन्छ ।

ओलीको संसद् विघटन र एमाले इतरको गठबन्धन

तत्कालीन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि तत्कालीन नेकपा अध्यक्ष प्रचण्डले भनेका थिए– संविधानवाद, संघीय लोकतन्त्र र सार्वभौम नेपाली जनताका विरुद्ध गएर तपाईं (ओली)ले तरबार उज्याउनुभो र तपाईंले लडाइँ हार्नुभो ।

२०७७ माघ ६ मा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले भनेका थिए, ‘म केपीजीलाई के भन्छु भने गल्ती गर्नुभो, माधवजीलाई हेपेर र माधवजीको पक्षमा रहेका इमानदार कम्युनिस्ट क्रान्तिकारीलाई अपमानित गर्न खोजेर, प्रचण्डलाई उपयोग गर्छु भनेर तपाईंले ब्लन्डर गर्नुभो । प्रचण्डजस्तो मान्छेलाई ल्याएर मजाले घुमाएर जे भन्यो त्यही बनाउँछु भन्ने ठान्नुभो, ब्लन्डर गर्नुभो । तपाईं सिद्धिनुभो अब ।’

यसपछि राष्ट्रिय राजनीतिले अर्कै मोड लियो । अर्थात् संसदमा ६३ सिटसहित खुम्चिएको कांग्रेसले सरकार हाँक्ने र चुनाव गराउने परिस्थिति सिर्जना भयो । संसद् विघटन गरेर इतिहासमा ओलीले गल्ती गरेको प्रमाणित भइसकेको छ । त्यसमाथि दुईतिहाइको सरकारलाई नटिकाएर, नेकपालाई फुट्नबाट नरोकेर पनि ओलीले कम्युनिस्ट पार्टीहरूको इतिहासमा बाटो बिराएको छर्लंंग छ ।

एमाले र माओवादी तालमेल र एकतापछि बनेको दुईतिहाइको सरकार ढलेपछि जनतामा एक खालको निराशा छायो– यी नेताले गर्दैनन् । यही राष्ट्रिय राजनीतिको रुँदिलो आकाशमा यसपालिको चुनावले उडान भर्दै छ । एकातिर ८ सय ५६ स्वतन्त्र उम्मेदवार छन्, केही नयाँ दलले पनि चुनावी नाराको ‘घन्टा’ बजाइरहेछन् । अर्कोतिर, राजावादी अर्थात् प्रतिगमनकारी मानिएको पार्टी (राप्रपा)सँग एमालेले तालमेल गर्न पुगेको छ । कुनै बेलाका राजनीतिक शत्रु मानिने कांग्रेस र माओवादीले घाँटी जोड्न पुगेका छन् । एमालेबाट फुटेको एकीकृत समाजवादीलाई आकार पाउनु छ ।

०००

यी यावत् घटना र परिदृश्यमा यसपालिको चुनाव हुँदैछ । सातै प्रदेश घुम्दा, यसपालि चुनावको रौनक त्यति देखिएन, जति पहिले देखिन्थ्यो । अहिले सामाजिक सञ्जाल, फोनबाट भोट माग्ने प्रचलन बढेको छ । अर्कोतिर पार्टीहरूले मिडियामार्फत पनि विज्ञापन गरिरहेका छन् । सुन्नमा आउँछ, कहीँकतै पैसा बाँड्नेहरू पनि छन् ।

यसपालि दलहरूसँग खास एजेन्डा छैन, एक–अर्कोलाई सिध्याउनेबाहेक । स्वतन्त्र उम्मेदवारले दलहरूप्रतिको वितृष्णाबाहेक कुनै वैचारिक ठोस नीति बोकेको देखिँदैन । यद्यपि, सबैले आ–आफ्नो ढंगले आ–आफ्नो विज्ञापन गरिरहेकै छन् ।

विज्ञापनकै कमाल हुनुपर्छ, गाउँगाउँमा मोहीको ठाउँ कोक–फेन्टाले लिँदै छ । सहर–बजारका होटल–रेस्टुरेन्टमा भने लामै समयदेखि मःमःले राज गरिरहेको छ । थाहा छैन, यसपालिको निर्वाचनमा जनताले कस्तो ‘स्वाद फेर्ने’ हुन् ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप