सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

नेतासँग मतदाताको माग : जागिर र विकास देऊ

बिहीबार, ०१ मङ्सिर २०७९, २१ : १८
बिहीबार, ०१ मङ्सिर २०७९

तनहुको सदरमुकाम दमौलीबाट करिब १० किलोमिटर माथितिर लागेपछि व्यास नगरपालिकाको वडा नम्बर १० मा पर्ने बैरेनी पुगिन्छ । बैरेनी गाउँमा पुग्ने वित्तिकै बाटोमाथि तीन जना महिलारातोमाटे बारीमा खलो बनाएर मास कुट्दै गरेको देख्यौं । नजिकै भैसीको पाडो र ४/५ वटा बोकाबाख्रा चरिरहेका थिए । 

चुनावकोस्थलगत रिपोर्टिङका लागि गएका हामीले सोही विषयमा कुराकानी गर्न चाह्यौं । जनजाति जस्तो लवजमा देखिने उनीहरुले मासको धुलोबाट जोगिन मुख छोपेका थिए । आफूहरुले भोट हाल्न जाने ठाउ निकै टाढा भएको र जाने नजाने यकिन नै नभएको उनीहरुले बताए । यद्यपि, औपचारिक कुराकानीको लागि उनीहरु तयार भएनन् । त्यसैले हामीले उनीहरुको नाम सोधेनौं र फोटो पनि खिचेनौं ।

अलि अघि बढेपछि एउटा राम्रो बस्ती भेटियो । सडकको दाहिनेतिरको एक घरको आँगनमा ३ जना पुरुष गफिँदै गरेका देख्यौं । र, मोटरसाइकल रोकेर त्यही घरमा गयौं । चुनावी चहलपहल बारे सोध्यौं । सँगै हामीले त्यस क्षेत्रमा उम्मेदवारले गर्नुपर्ने कार्यका बारेमा पनि सोध्यौं । ‘हाम्रो नगरपालिका (व्यास) मा मोटरबाटो नपुगेको कुनै वडा छैन, अधिकांश सडक सबै मौसममा चल्ने खालका र कालोपत्रे गरिएका नै छन्, त्यसैले हाम्रो क्षेत्रको मुख्य समस्या रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य नै हो,’ घरधनी कृष्णबहादुर पौडेलले भने ।

उनी सरकारी सेवाबाट अवकाश पाएका पूर्व कर्मचारी रहेछन् । ‘पन्चायतकालमा चुनाव नै गराएको थिएँ, नेताले गर्ने बाँचा कस्ता हुन्छन् भन्ने त्यहीबेलादेखि थाहा छ, त्यो बेला सम्झँदा त अहिले धेरै विकास भएको छ, अझै गर्नुपर्ने भएपनि केही भएको छैन भन्ने कुरा सही होइन,’ पौडेलले भने । उनीसँगै गफिने अर्का व्यक्ति नेपाली सेनाबाट अवकाश पाएका प्रेमराज मिश्र थिए । उनले पनि आफ्नो क्षेत्रको सार्वजनिक शिक्षा सुधार गर्न जरुरी रहेको बताए । कृष्णबहादुरका छोरा सुदिप ‘सानोतिनो ठेक्कापट्टाको काम’ गर्दा रहेछन् । उनले सार्वजनिक सेवा प्रवाहलाई सहज र सुलभ बनाउनु पर्ने धारणा राखे ।

हामी बैरेनीबाट शेरा पुग्यौं । कालोपत्रे सडकमुनी घर भएका श्रीप्रसाद दरै विकास गर्ने नेतालाई भोट हाल्ने बताउँछन् । अर्थात् चुनाव जितेर जाने नेताले विकास गर्नुपर्ने छ । ‘सडकको ट्रयाक खोलिएको छ, त्यसलाई फराकिलो र कालोपत्रे बनाउन पर्यो, हाम्रा छोराछोरीले जागिर पाउनु पर्यो, यही त हो नि गर्नुपर्ने काम,’ दरैले भने । उनीसँगै रहेका तुल्सीराम कँडेलले दरैको कुरा सही थापे । व्यास नगरपालिका–७बोटेटारका बमबहादुर गुरुङ आफ्नो क्षेत्रमा ठूला नेता हुँदा पनि खासै विकास नगरेको बताउँछन् । उनको घर पिचरोडसँगै जोडिएको छ । उनले घरमा सानोतिनो किराना र मासु पसल पनि संचालन गरेका छन् ।हामी उनको घरमा पुग्दा उनी कुखुरो काट्न पानी तताउँदै रहेछन् । शान्तबहादुर गुरुङ र चन्द्रबहादुर परियार उनीसँग गफ गरेर बसिरहेका थिए ।

‘कलेस्ती बजार यो क्षेत्रकै पुरानो बजार हो, त्यसको विकास खासै भएको छैन, तपाईहरुले आउँदा बाटोमा देख्नुभयो पनि होला, बाटो राम्रो छैन, रोजगारीको समस्या छ, चुनाव जित्नेले गर्नुपर्ने काम यही हो,’ गुरुङले सुनाए । तनहुको स्थलगत रिपोर्टिङको लागि कात्तिक २० गते हामी दमौली पुगेका थियौं । दमौली पुगेको भोलिप्ट (कात्तिक २१ गते) हामी (सुबास श्रेष्ठ र म) दमौलीबाट मास्तिर लागेका हौं । मुग्लिनदेखि दमौलीसम्म सडक विस्तार कार्य भइरहेको रहेछ । त्यसैकारण होला, मुग्लिनदेखि दमौलीसम्मको सडकभन्दा दमौलीदेखि बोटेटारसम्मको सडक धेरै राम्रो, सफा र धुलो नउड्ने थियो ।

कात्तिक २० गते नै हामीले चुनाव जित्ने उम्मेदवारसँग दमौली बजार के चाहन्छ भनेर एउटा स्टोरी बनाइसकेका थियौं । दमौली बजारमा भेटिएका सुब्बा थापा रोजगारी सिर्जना नै तनहुको सबैभन्दा ठूलो चुनौति रहेको बताउँछन् । उनी पूर्व बृटिस गोर्खा पनि रहेछन् । ‘यहाँ जागिर पाइँदैन, जागिरको लागि विदेश जानुपर्छ, विदेश जानेको घर व्यवहार कस्तो भएको छ भन्ने तपाईहरुले पनि सुन्नुभएकै होला, त्यसैले जागिर चाहियो,’ थापाले भने । उनीसँगै रहेका इन्द्रबहादुर परियार पनि जागिर नपाएरको गुनासो गरिरहेका थिए ।

व्यास नगरपालिका–४ का जंगबहादुर दरै शितलचोक टोल विकास समितिको अध्यक्ष पनि हुन् । उनी आफ्नो क्षेत्रमा गतिलो सडक नभएको, ढल व्यवस्थापन नभएको, फोहोर मैला व्यवस्थापनमा कसैले ध्यान नदिएको र मादी नदी तटबन्धनको काम प्रभावकारी रुपमा नभएको गुनासो गर्छन् । विकास निर्माणका काम नभएको र भएका काम पनि गुणस्तरीय नभएको उनको गुनासो छ । कात्तिक २१ विहान हामीले व्यास नगरपालिकाको पहिलो नगर प्रमुख ताराबहादुर श्रेष्ठलाई भेटेका थियौं । उनी भएको विकासलाई व्यवस्थित र एकीकरण गर्नुपर्ने धारणा राख्छन् । भएका विकास आयोजना गुणस्तरीय बनाउने र रोजगारी सिर्जना नै अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको उनको भनाई छ ।

ताराबहादुर श्रेष्ठसँग कुरा गरेपछि हामीले दमौली बजारमा नै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई भेट्यौं । ‘मुख्य गरेर हामीसँग जनताले राखेको माग भनेको नै जागिर चाहियो भन्ने रह्यो,’ भोट माग्न जादा तपाईहरुसँग जनताले के मागे भन्ने प्रश्नमा भट्टराईले भने । भट्टराईसँगै चिया पिइरहेका भेटिए नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ । ‘यो क्षेत्रमा सबैलाई जागिर चाहिएको छ, उद्यमशीलताप्रति कसैको ध्यान छैन, जागिर खोज्ने र माग्ने मात्रै भेटिन्छ,’ श्रेष्ठले भने । दमौली बजारमा भेटिएका एमालेका स्थानीय नेता प्रदिप अधिकारीले त झन रमाइलो कुरा सुनाए । 

‘जोशी सर (गोविन्दराज जोशी) शिक्षा मन्त्री हुनुहुन्थ्यो, त्यतिबेला खुलेको शिक्षकको विज्ञापनमा उहाँको एक जना मानिसको नाम वैकल्पिकको २६ औं नम्बरमा निस्किएछ रे, अनि उनले जोशी सरलाई भेटेर कुरा गरेछन्, जोशी सरले बैकल्पिको ३० औं नम्बरसम्म नाम निस्किएका सबैलाई जागिर दिने नीतिगत निर्णय गराउनु भयो भन्ने हल्ला यहाँ छ, त्यसैले यो क्षेत्रका मानिसलाई जागिर चाहिएको छ, सांसदले चाह्यो भने सरकारी स्थायी जागिर मिलाइदिन सक्छ भन्ने मान्यता छ,’ अधिकारीले भने ।

लमजुङ सदरमुकाम बेसीशहरभन्दा माथि डाडामा पर्ने गाउँको नाम गाउँशहर हो । कात्तिक २२ गते हामी गाउँशहरमा पुग्दा सो क्षेत्रका नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभाको उम्मेदवार बनेका भेषबहादुर पौडेल सहितका गठबन्धनका नेता, कार्यकर्ताहरु घरघर पुगेर भोट माग्दै रहेछन् । भोट माग्ने टोली गइसकेपछि हामीले गाउँशहरको दुलालटोलकी कमला दुलालसँग केही कुराकानी गर्यौं । उनले पहिलो आवश्यकता नियमित आम्दानी हुने काम रहेको बताइन् । बाटोघाटो राम्रो बनाउनु पर्ने, सुलभ र गुणस्तरीय शिक्षा पाउनु पर्ने उनको भनाई छ ।

‘सबैले पैसा तिर्न सक्दैनन्, पैसा तिर्न नसक्नेले पनि आफ्ना सन्तानलाई राम्रो स्कुलमा बढाउन पाउनु पर्यो, बाटोघाटो राम्रो हुनुपर्यो, खेती किसानीबाट खासै आम्दानी हुँदैन, नियमित आम्दानी हुने व्यवस्था भइदिए हुन्थ्यो भन्ने लाग्छ,’ दुलाले भनिन् । गाउँशहरको विद्यालयभन्दा माथि डाँडामा सानो होटल रहेछ । त्यो होटलमा मानबहादुर खत्री, कुलबहादुर गुरुङ, शम्भुनारायण श्रेष्ठ र शान्ता गुरुङ पोट (लुडो) खेलेर बसिरहेका भेटिए । कुलबहादुर बीचमै उठे । उनको ठाउँमा बसिन् चिजमाया थापा ।

बेसीशहरबाट गाउँशहर जादा आधाबाटोसम्म कालोपत्रे गरिएको छ । सोभन्दा माथि कच्ची सडक छ । गाउँशहरमा भेटिका पाँचै जना स्थानीयले सडकको स्तरोन्नति आवश्यक भएको बताए । र, रोजगारीको अभाव नै लमजुङ जिल्लाको सबैभन्दा ठूलो समस्या भएको उनीहरुको भनाई छ । लमजुङका एमाले नेता राजेन्द्र बोहरा भने सो जिल्लामा भौतिक पूर्वाधारका विषयमा जनताले बढी माग गरेको बताउँछन् । सडक, जलविद्युत परियोजना, संचार जस्ता सुविधाको गुणस्तर बढाउनु पर्ने माग जनताबाट बढी आउने गरेको उनले सुनाए ।

‘लमजुङ जिल्लाबाट बृटिस गोर्खा, इन्डियन आर्मी र नेपाली सेना तथा प्रहरीमा जागिर खानेहरुको संख्या बढी छ, त्यसैले यो जिल्लाका जनताको लागि रोजगारी खासै मागको विषय होइन, यो जिल्लाका जनताले राम्रो सडक होस, विद्युत आयोजनाहरु बनुन्, संचार सेवा गुणस्तरीय होस् भन्ने जस्ता माग गर्ने गरेका छन्,’ बोहराले भने । परासी जिल्लाको बर्दघाट नगरपालिका–८ भुताहाका नरेशप्रसाद हरिजन साइकल पसल मर्मत सम्भाव र तथा विक्री गर्छन् । आफूले साइकलको ट्युव टालेर नकमाउने हो भने घरपरिवार नचल्ने उनको भनाई छ । ‘मैले साइकल टालेर कमाएको पैसाले मेरो घरपरिवार चल्छ, बुहारीले १२ पास गरेकी छ, तर राम्रो जागिर पाएकी छैन, हामीलाई योग्यता अनुसारको काम पाइने अवस्था भयो भने राम्रो हुन्छ,’ हरिजनले भने ।

बर्दघाट– सूर्यपुराका लालबहादुर रायलाई पनि जागिर नै पहिलो आवश्यकता हो भन्ने लागेको छ । उनकी बुहारीले ल्याव पढेकी छन् । अहिले उनी निजी ल्यावमा काम गर्छिन् । ‘मेरी बुहारी निजी ल्यावमा काम गर्छिन्, त्यहाँ तलब कम छ, उनको तलबले आउन जान र खाजा खान पनि पुग्दैन, सरकारीमा जागिर पाए अलि राम्रो कमाई हुन्थ्यो, मेरो बुहारी जस्ताले राम्रो कमाई हुने जागिर पाए हामीलाई राम्रो हुनेथियो,’ रायले भने । कक्षा १० सम्म पढेकी सूर्यपुराकै सुमित्रा चौधरी गृहिणी हुन् । उनलाई सबैभन्दा पहिला विद्यालय सुधार जरुरी छ भन्ने लाग्छ । यस्तै, सडक विस्तार, रोजगारी तथा राम्रो अस्पताल आफूहरुको आवश्यकता रहेको उनले बताइन् । 

हामीले तनहु, लमजुङ, परासी र नवलपुर जिल्लाको विभिन्न स्थानका सर्वसाधारणसँग कुरा गर्दा उनीहरुले पहिलो आवश्यकता रोजगारी रहेको बताए । रोजगारीमा पनि उनीहरु स्वरोजगार बन्ने चाहनामा देखिदैनथे । उनीहरुको पहिलो माग नै जागिर हुने गरेको थियो । यस्तै, जागिरपछि उनीहरुले सडक पूर्वाधारको गुणस्तर बृद्धिलाई प्राथमिकता दिएका पाइयो । यस्तै, शिक्षाको गुणस्तर बृद्धि र सुलभ मूल्यमा स्तरीय स्वास्थ्य सेवा आम जनताको मागको रुपमा देखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिव सत्याल
शिव सत्याल
लेखकबाट थप