‘हाया’ कार्डमार्फत विश्वकप फुटबलका लागि कामदार पठाउने निर्णय
विश्वकप फुटबल लक्षित कामका लागि ‘हाया’ कार्ड पाएका नेपाली कामदारले कतार जान पाउने भएका छन् । भिसा समस्याका कारण विश्वकप लक्षित गरेर नेपाली कामदार पठाउन समस्या भएको थियो । वैदेशिक रोजगार विभागले ‘हाया’ कार्ड पाएका कामदारलाई पनि कतार पठाउने निर्णय गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विश्वकप फुटबल लक्षित कामका लागि नेपाली श्रमिकलाई कतार पठाउने सरकारले निर्णय गरेको थियो । तर, भिसा समस्याका कारण पूर्व श्रम स्वीकृति लिएकाहरू जान पाएका थिएनन् । भिसामा देखिएको समस्या समाधान गर्नको लागि विभागले हाया कार्ड पाएकालाई पनि कतारमा कामको लागि पठाउने निर्णय गरेको हो । विभागको उक्त निर्णयसँगै पूर्व श्रम स्वीकृति लिएका २ हजार नेपाली कामदार कतार जान पाउने भएका हुन् ।
कतार विश्वकपका लागि भनेर सरकारले सिजनल वर्कर पठाउने निर्णय गरेको थियो । सोही आधारमा उनीहरू ‘हाया’ कार्ड मार्फत कतार जाने भएका थिए । तर, नेपालको कानून अनुसार वैदेशिक रोजगारीमा जान १ वर्षभन्दा कम अवधिको श्रम स्वीकृति दिन नमिल्ने भएपछि उनीहरू जान पाएका थिएनन् । वैदेशिक रोजगार कार्यालयमार्फत झण्डै २ हजार जनाले पूर्व स्वीकृति लिएका थिए । ति मध्ये १५० जना यसअघि नै कतार गइसकेका थिए । भने बाँकी भिसाको समस्याका कारण जान पाएका थिएनन् । यो विषयमा के गर्ने भनेर वैदेशिक रोजगार कार्यालय ताहाचलले विभागलाई पत्र लेखेको थियो । विभागले हाया कार्ड पाएकाहरूलाई समेत कतार जान दिने निर्णय गरेको कार्यालयका सूचना अधिकारी तथा निर्देशक बसन्त बहादुर बोहराले जानकारी दिए ।
विभागले कात्तिक २८ गते हाया कार्ड मार्फत पनि कामदार पठाउने निर्णय गरेको थियो । निर्णय गरेकै दिन विभागले कार्यालयलाई पत्राचार गरेको थियो । सोही आधारमा कार्यालय तयारी अवस्थामा रहेको निर्देशक बोहराले बताए । ‘हाया’ कार्डमा पनि पठाउने निर्णय भएको तर, कार्यान्वयनमा समस्या देखिएको उनको भनाई छ । ‘श्रम स्वीकृति लिने मान्छेहरू आइसकेका छैनन् । धेरै संख्यामा कामदार ल्याएको एउटा मेनपावर थियो । त्यसले ९०० जना जति ल्याएको थियो । त्यसमा नभएर अहिले १८८ जना मात्रै छ भनेको थियो,’ बोहराले भने, ‘उनीहरूलाई पनि कागजमा पेश गरेको छैन । टिकट नपाउने समस्याले गर्दा अलि गाह्रो छ । स्वीकृतिका लागि आयो भने हामी यहाँबाट स्वीकृत गरिदिन्छौं । नत्र हुँदैन ।’
कतार जानेहरू नोभेम्बर ४ भित्र पुगिसक्नुपर्छ । त्यसका लागि उनीहरूले तत्कालै कार्यालयको सम्पर्कमा आउनुपर्छ । आजसम्म कोही पनि सम्पर्कमा नआएको निर्देशक बोहराले बताए । कतारले ‘हाया’ कार्डलाई विश्वकप हेर्नको लागि जारी गरेको थियो । सोही आधारमा धेरै नेपालीका ‘हाया’ कार्ड मार्फत भिसा आएको थियो । तर, नेपाली कानून अनुसार पठाउन नसकिने भएपछि रोकिएको थियो । ‘हाया’ कार्ड विश्वकप हेर्न जानका लागि प्रवेषज्ञा हो । उक्त कार्ड मार्फत कामदार पठाउन सकिँदैन । त्यसका लागि एयरपोर्टमा क्यूआर कोड स्क्रिनिङ गर्दा ‘हाया’ कार्ड मार्फत जानेलाई श्रमिक नदेखाउने समस्या थियो ।
गत जनवरी २०२१ मा नेपाल र कतारको ज्वाइन्ट कमिटीको बैंठक बसेको थियो । उक्त बैठकमा नेपालबाट विश्वकप लक्षित सिजनल वर्कर पठाउने निर्णय गरेको थियो । सिजनल वर्कर पठाउने मिल्ने कानूनी व्यवस्था नभएपछि सरकारले विशेष निर्णय गरेको थियो । सोही आधारमा कामदार पठाउन खोजेको थियो । तर, भिसा समस्याका कारण पूर्व स्वीकृति लिएकाहरू जान पाएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता