शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाली– १ मा रामजनम र तपेन्द्रको ढुकढुकी बढाउने ‘ढकिया’

बिहीबार, ०१ मङ्सिर २०७९, १९ : २२
बिहीबार, ०१ मङ्सिर २०७९

सुदूर तराईको कैलालीमा ०७४ को आम चुनावदेखि राजनीतिक चित्र बदलिएको छ । परम्परागत प्रतिस्पर्धी दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको चुनावी भिडन्तमा थारु सेन्टिमेन्ट पसेपछि चुनाव रोचक बनेको हो ।

२०१५ सालको आम निर्वाचनमा साबिकको कैलाली–कञ्चनपुर (क्षेत्र नम्बर ६५) बाट कांग्रेसका लोकेन्द्रबहादुर शाह विजयी भएका थिए । यस्तै, ०४८ मा कैलाली–१ बाट कांग्रेसका गंगाबहादुर कुँवर, ०५१ मा एमालेका हिमाञ्चलराज भट्टराई, ०५६ मा कांग्रेसका  सुशीला कुँवर ०६४ मा माओवादीका रुपा सोसी चौधरी, ७० मा तत्कालीन मधेसी जनअधिकार फोमका जनक चौधरी र ०७४ मा राजपाका रेशम चौधरी निर्वाचित भएका थिए ।

२०७२ सालको टीकापुर घटनापछि कैलाली–१ को राजनीतिमा थारु सेन्टिमेन्ट हाबी हुँदा रेशम चौधरी भारी विजयी भए । भूमिगत अवस्थामै तत्कालीन राजपाबाट रेशमले कांग्रेस र एमाले उम्मेदवारलाई दोब्बर मतले हराए ।

अहिले थरुहट आन्दोलनका क्रममा नौ जनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका रेशमले आफ्नी पत्नी रञ्जिताको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन गरेर कैलाली–१ मा बर्चश्व जमाएको अवस्था छ ।

गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कैलालीका ४ वटा पालिका जितेर जिल्लामा पहिलो बनेको छ । नागरिक उन्मुक्तिले टीकापुर  र भजनी नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका जितेको छ ।

टीकापुर नगरपालिकाका ९ वटै वडा, भजनी नगरपालिकाका २ वडा, जानकी गाउँपालिकाका ५ वडा र जोशीपुर गाउँपालिकाका ७ गरी २३ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्छन् । एक लाख ६ हजार ७ सय ३ मतदाता रहेको कैलाली–१ मा प्रतिनिधिसभातर्फ ११ चुनावी मैदानमा छन् ।

स्थानीय तह निर्वाचनमा टीकापुरमा उपमेयरबाहेक यी सबै पालिकाको प्रमुख र उपप्रमुख नागरिक उन्मुक्तिले जितेको थियो । कैलाली–१ लागि सबैभन्दा सुरक्षित ठानेर रेशमले पत्नी रञ्जितालाई चुनावी मैदानमा उतारेका छन् ।

रञ्जितासँगको प्रतिस्पर्धामा कांग्रेसले पूर्वमन्त्री रामजनम चौधरी र एमालेले टीकापुरका पूर्व मेयर तपेन्द्र रावललाई उम्मेदवार बनाएको छ । रामजनमलाई माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा राष्ट्रिय जनमोर्चाको साथ छ भने तपेन्द्रलाई जसपाले समर्थन गरेको छ ।

गठबन्धनबाट कांग्रेसका उम्मेदवार चौधरी यसअघि तत्कालीन कैलालीको–३ बाट ०४८, ०५१, ०५६ र ०७० मा निर्वाचित भएका थिए । गठबन्धनको सहमतिअनुसार क्षेत्र नम्बर ३ माओवादीको भागमा परेपछि चौधरीले क्षेत्र नम्बर १ रोजेका हुन् । थारु र अछामबाट कैलाली झरेकाहरुको बाक्लो बसोबास रहेको यो क्षेत्रमा रामजनमको पनि बलियो प्रभाव छ ।

थारु मत रञ्जिता र रामजनमबीच तानातान हुँदा पहाडी मत बटुल्ने तपेन्द्रको रणनीति छ । रञ्जिता, रामजनम र तपेन्द्र तीनै जनाले टीकापुर घटनालाई मुख्य चुनावी मुद्दा बनाएको पाइन्छ । एमालेका उम्मेदवार तपेन्द्र रावलले पनि यसै घटनालाई चुनावी एजेन्डा बनाएका छन् ।

यो मुद्दाले चुनाव जित्नेमा रञ्जिता श्रेष्ठ चौधरी ढुक्क छिन् । ०७४ मा आफ्नै आह्वानमा रेशमले चुनाव जितेको रञ्जिताको दाबी छ । ‘हिजोको दिनमा रेशमजीले उम्मेदवारी दिँदै गर्दा पनि म आफै जनतामाझ मैदानमा थिएँ,’ उनी भन्छिन्, ‘हिजो पनि मेरै आह्वानलाई स्वीकारेर उहाँहरूले रेशमजीलाई जिताउनुभएको हो । म ढुक्क छु कि मैले जित्नेछु ।’

२०७२ सालमा भएको टीकापुर घटना आपराधिक नभई राजनीतिक घटना भएको उनको दाबी छ । ‘०७२ सालको घटना भइसके पश्चात मानवअधिकार आयोगले प्रतिवेदन निकालेको छ, त्यो अहिलेसम्म सार्वजनिक भएको छैन,’ उनले भनिन् ।

नागरिक उन्मुक्ति पार्टीले जितेर संसदमा गइसकेपछि यो विषयमा पनि आवाज उठाउने उनको भनाइ छ । यता गठबन्धनका साझा उम्मेदवार रामजनम गठबन्धनले जितेमात्रै टीकापुरका मुद्दाले निकास पाउने बताउँछन् । ‘क्षेत्र नम्बर १ को विकास, टीकापुर घटनाको निकास’ भन्ने रामजनमको मुख्य नारा छ ।

उनले टीकापुर घटना जटिल भएको भन्दै यसको निकासका लागि बहुमतीय सरकारको आवश्यक रहेको बताए । उनले भने, ‘टीकापुर घटनाको निकास दिनका लागि बहुमतीय सरकार नबनेसम्म सम्भव छैन । त्यसका लागि मैले जित्नुपर्छ ।’

रञ्जितासँग टीकापुर घटनाको निकास दिने ल्याकत नभएको रामजनमले बताए । ‘उहाँहरुले स्थानीय तह निर्वाचनमा तपाईको छोरो, भतिजो जेलमा छ भनेर भोट माग्नुभयो । ठीक छ, साथीहरु जेलमा छन्, उनीहरुको मुद्दाको सुरक्षित अवतरणको निकास के हो ?,’ रामजनमको प्रश्न छ, ‘त्यो कुरा भन्नु हुन्न । उहाँहरुसँग टीकापुर घटनालाई निकास दिने ल्याकत छैन ।’

स्थानीय निर्वाचनमा पाएको मत परिणामले नागरिक उन्मुक्तिका नेता–कार्यकतामा घमण्ड र रवाफ देखिएको उनको भनाइ छ । ‘सांसद जितेपछि त झन् के हुन्छ ? पछिल्लो घटनाक्रमले उहाँहरुको ग्राफ निरन्तर खस्किरहेको छ । हाम्रो ग्राफ माथि गइरहेको छ,’ रामजनम भन्छन् ।

टीकापुर मुद्दाको निकास र विकासका लागि गठबन्धनले जित्नुको विकल्प नभएको रामजनमको भनाइ छ । यस्तै एमालेका तपेन्द्रले पनि स्थानीय चुनावमा देखिएको नागरिक उन्मुक्ति पार्टीप्रतिको आकर्षणमा परिवर्तन आइसकेको दाबी गरे । ‘विगतमा यो क्षेत्रमा उन्मुक्ति पार्टीको ३४ हजार मत थियो । अहिले स्थानीय तहको मतपरिणामअनुसार १७ हजारमा झरेको छ, यो वितृष्णाको पहिलो कारण हो,’ उनले भने । तर स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धन अगाडि देखिन्छ ।

वडाध्यक्षका उम्मेदवारको मतनुसार नागरिक उन्मुक्तिले १७ हजार १९३, कांग्रेसले ११ हजार ६४२, एमालेले १० हजार ३३२, माओवादीले ६ हजार ९५७, राप्रपाले चार हजार ६ र समाजवादीले दुई हजार २३२ मत पाएका थिए  । यस आधारमा रामजनम ३ हजार ६३८ मतले अगाडि भए पनि नागरिक रुझान कतातिर लाग्छ, भन्न सकिने अवस्था छैन ।

थारु सेन्टिमेन्टबाट जन्मिएको नागरिक उन्मुक्तिमा अहिले प्रमुख पदमा पहाडी समुदायका नेता छन् । पार्टीको पदाधिकारी थारुविहीन भएपछि नागरिक उन्मुक्तिभित्र चुनावको मुखमा चर्को किचलो देखिन्छ । नेताहरु लक्ष्मण थारु, सुरेन्द्र चौधरी लगायतलाई चुनाव लगत्तै कारबाही गर्ने रेशमको तयारीले नागरिक उन्मुक्ति तरंगित छ ।

कैलाली–१ मा पत्नी रञ्जिता र बर्दिया–२ मा बाबु लालवीरलाई उम्मेदवार बनाएपछि रेशममाथि परिवारवादको आरोप लागेको छ । यो आरोपलाई प्रतिवाद गर्न नसकेर रञ्जिता मिडियामा आउन छाडेकी छिन् । नागरिक उन्मुक्तिमा आन्तरिक किचलो भए पनि थारु बस्तीमा ‘ढकिया’को रवाफ देखिन्छ । यसले रामजनम र तपेन्द्रको ढुकढुकी बढाएको बुझ्न गाह्रो छैन ।

रामजनमाथि नागरिकको गुनासो पनि चर्को छ । पटक–पटक अवसर पाउँदा पनि कैलालीका लागि केही गर्न नसकेको उनीमाथि आरोप छ । तर कांग्रेस र माओवादीको गठबन्धन भने रामजनमले कसिलो बनाएको पाइयो ।

टीकापुरका मेयर हुँदा तपेन्द्रले पनि राम्रो काम गर्न नसकेको मतदातामा गुनासो छ । सत्ता गठबन्धन, नागरिक उन्मुक्तिको बेग र पार्टी विभाजनको मनोविज्ञान चिर्नुपर्ने तपेन्द्रमाथि चुनौती छ ।

प्रदेशसभातर्फ १९ जनामा पनि कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीबीच नै उच्च प्रतिस्पर्धा हुने देखिन्छ । प्रदेशसभा (क) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका दीर्घराज बिनाडी, एमाले–जसपा गठबन्धनबाट जसपाका भगतराम चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट कैलाली अध्यक्ष कैलाश चौधरीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश सभा (ख) मा सत्ता गठबन्धनबाट कांग्रेसका नेता एवम् सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री डा. रणबहादुर रावल, एमालेका द्वारिका न्यौपाने र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीबीच मुख्य भिडन्त हुनेछ । प्रदेशतर्फ पनि कांग्रेस, एमाले, माओवादी र जसपाका उम्मेदवारले मुख्य चुनौती ‘ढकिया’लाई नै मानेको देखिन्छ ।

कैलाली १ मा ढकियाको ग्राफ डाउन छ, मैले चुनाव जित्छु : रामजनम चौधरी

कैलाली–१ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी चुनावी प्रतिस्पर्धामा छन् । एक लाख ६ हजार ७ सय ३ मतदाता रहेको कैलाली–१ मा प्रतिनिधिसभातर्फ ११ र प्रदेशसभातर्फ १९ जना चुनावी मैदानमा छन् ।

रामजनमको मुख्य प्रतिस्पर्धीका रुपमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी र एमालेका नेता तपेन्द्र रावल छन् । कैलाली–१ को चुनावी सेरोफेरोमा केन्द्रित रहेर रामजनम चौधरीसँग गरिएको कुराकानीको सम्पादित अंश –

सत्तारुढ गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । चुनावी गतिविधि कसरी अगाडि बढिरहेको छ ?

चुनावी गतिविधि, प्रचारप्रसार एकदमै राम्रो छ । आमजनताको एकदमै राम्रो प्रतिक्रिया छ भन्ने मैले बुझेको छ ।

आम नागरिकका अपेक्षा के–के छन् ? के–के एजेण्डा दिइरहनुभएको छ ?

दुई वटा कुरा छ । यहाँ पहिलो नम्बरमा टीकापुर घटना हो । उहाँहरु भन्नुहुन्छ, जेलमा रहेका हाम्रो साथीहरु कहिले छुट्छन् ? र, दोस्रोमा विकास निर्माण हो । म पनि तिनै दुई एजेण्डा बनाएर अगाडि बढेको छु ।

टीकापुर घटनाको निकास, वास्तविक कुराको चिरफार गर्दै अगाडि बढेको छु । कोही साथीहरु यहाँ भन्दै हुनुहुन्छ, हामीलाई भोट दिनुस्, हामी जेलबन्दीलाई छुटाएर ल्याउँछौं । तर छुटाउने प्रक्रिया के–के हुन्, त्यो भन्दैनन् । म चाहिँ प्रक्रियागत कुरा भन्दै आएको छु ।

विकास निर्माणको कुरा गर्दा आगामी पाँच वर्ष यहाँ नयाँ कुरा के हुन्छ ? के पाउँछन् यहाँका जनताले ?

यहाँ मुख्य समस्या बाटो–घाटोकै हो । साथसाथै मेरो दृष्टिकोण यो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने हो । पर्यटन पनि उद्योग नै हो । जस्तै टीकापुर पार्कको आधुनिकीकरण जरुरी छ । यहाँ एयरपोर्ट र बाटो जरुरी छ– कर्णाली कोरिडोरदेखि खक्रौला हुँदै भारतको दिल्लीसम्म ।

हामीले यहाँ भारतीय पर्यटकलाई भित्र्याउन सक्यौँ भने यहाँको आर्थिक विकास निश्चित छ । यहाँका लिंक रोडहरुलाई विस्तारसहित कालोपत्रे गर्ने हो । टीकापुर अस्पतालको स्तरोन्नति गरी १०० बेडको बनाउने मेरो दृष्टिकोण हो ।

संसदीय चुनावी प्रतिस्पर्धाको तपाई भेट्रान खेलाडी हुनुहुन्छ । २०४८ देखि लामो समयसम्म कैलालीबाट प्रतिनिधित्व गर्दै आउनुभयो । अघिल्लो निर्वाचनमा कैलाली–३ मा वाम गठबन्धनका उम्मेदवारसँग तपाई पराजित हुनुभयो । अहिले कैलाली–१ बाट उम्मेदवारी दिनुभएको छ । तपाईको चुनाव जित्ने आधार के–के हुन् ?

दुई वटा आधार छ । अस्तिको गठबन्धन थियो, त्यसमा काम गर्न गाह्रो थियो । किनभने एमाले र माओवादी केन्द्रबीचको गठबन्धन भयो । सबै ठाउँमा उहाँहरुले जित्नुभयो । जनताले हामीलाई राम्रै मत दिनुभयो । आज तिनै ठाउँमा नागरिक उन्मुक्तिको बाहुल्यता छ । पहिले र अहिलेमा नागरिक उन्मुक्तिको अवस्थामा फरक छ । जस्तो कि, २०७४ मा रेशमजी चुनाव लड्दै गर्दा ३४ हजार मत ल्याउनुभएको थियो भने अहिलेको स्थानीय तह निर्वाचनमा १७ हजार भोट छ । उहाँहरुको ग्राफ डाउन छ ।

उहाँहरुको वडा सदस्य, वडाध्यक्ष, गाउँपालिका अध्यक्षले एउटै कुरा गर्दै आउनुभएको थियो, जेलबन्दीलाई रिहा गछौं भनेर । तर त्यो स्थिति रहेन । जनताले विश्वास गरे पनि उहाँले सक्नु हुन्न । किनकि, यो मुद्दा प्रक्रियागत रुपमा गएको छ । पुरानो नजिर पनि छ । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले गरेको निर्णय एउटा नजिर छ । त्यो निर्णयलाई टेकेर गयो भने, संविधान, ऐन, नियम, कार्यविधि संशोधन गर्नुपर्छ । जबसम्म ती ऐन, नियमहरु संशोधन हुँदैन, तबसम्म हाम्रा राजबन्दीहरु रिहा हुने सम्भावना म देख्दिनँ ।

दोस्रो प्रक्रिया भनेको अदालती प्रक्रिया हो । जुन ढंगले जिल्ला अदालत, उच्च अदालतबाट हामीले न्याय पाउँछौ, भनेर सोचेका थियौँ, त्यो पाएनौँ । अदालती प्रक्रियाबाट गयौं भने, एउटा गाह्रो कुरा के छ भने, २७ जनामध्ये १५ जनाको मात्रै अपिल दर्ता भएको छ ।

१२ जनाको अपिल दर्ता किन भएन भने उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याइदियो । तीन वर्ष जेल बसेर आएकाहरुलाई पनि सजाय तोकिएको छ । जबसम्म उनीहरु जाँदैनन् तबसम्म, उनीहरुको अपिल दर्ता हुँदैन । अहिले सर्वोच्चमा १५ जनाको मात्रै मुद्दा चलिरहेको छ । ३१ जना फरार लिस्टमा छन् । जबसम्म सर्वोच्चको अन्तिम फैसला आउँदैन, तबसम्म त्यो मुद्दा तामेली छ । त्यसको लागि तिनीहरु पुनः जेल जानुपर्ने अवस्था देखिन्छ । जुनकारण अदालती प्रक्रियामा गाह्रो छ ।

तर सजिलो प्रक्रिया कल्याण श्रेष्ठले गरेको निर्णयको नजिर छ । कल्याण श्रेष्ठले २०७२ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्राईले गरेको निर्णयलाई उल्ट्याउनु भयो । ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आगजनी, चोरी, डकैती जस्ता मुद्दालाई मन्त्रिपरिषदले फिर्ता लिने हो भने कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ अर्थात् संविधान, ऐन, कानुन संशोधन गर्नुपर्ने छ । नत्र निर्णय नै बदर हुन्छ ।

टीकापुर घटनाको अवस्था पनि यही हो । अहिलेको संसदबाट बनेको कानुनमा एक तहको अदालतले निर्णय गरेपछि मुद्दा फिर्ता हुँदैन भन्ने प्रावधान छ । जुनकारण टीकापुर घटनामात्रै होइन, देशभरका अन्य घटनाहरु पनि कानुन संशोधनको प्रक्रियाबाट मात्रै निकास पाउने देखिन्छ । चाहे त्यो, मधेस आन्दोलनको घटना होस्, चाहे आदिवासी जनजातिको आन्दोलनको घटना किन नहोस् ।

हालै त्यसको निकासको लागि सम्मानीय प्रधानमन्त्रीज्यूले ट्रयाक खोलिदिनुभएको छ । दुई महिना पहिले मन्त्रिपरिषदबाट अर्धन्यायिक निकाय र अदालती प्रक्रियामा गएका मुद्दाहरु कानुन संशोधन गरेर निकास दिने निर्णय भएको छ । अब निर्वाचनपछि त्यसको निकासको लागि ती प्रक्रियामा गयौँ भने देशैभरका ती बास्केटमा रहेका त्यस्ता मुद्दाहरु सुल्झिने छन् ।

तपाईले नै भन्नुभयो, यहाँ नागरिक उन्मुक्तिको जबरजस्त उपस्थिति छ । अब तपाई नागरिक उन्मुक्तिको उपस्थितिलाई कसरी चिर्नुहुन्छ ?

उहाँहरुले स्थानीय तह निर्वाचनमा तपाईको छोरो, भतिजो जेलमा छ भनेर भोट माग्नुभयो । तर एजेण्डा के हो ? ठीक छ, साथीहरु जेलमा छन्, उनीहरुको मुद्दाको सुरक्षित अवतरणको निकास के हो ? त्यो कुरा भन्नु हुन्न । उहाँहरु खाली हामीमाथि खनिनुभएको छ । व्यक्तिगत रुपमा गाली गर्दै हिँड्नुभएको छ । तर म उहाँहरुसँग फेस टु फेस मुद्दामा केन्द्रित भइ बहस गर्न तयार छु ।

तपाईप्रति पनि नागरिकको गुनासो छ । लामो समय यहाँबाट जितेर गए पनि विकास केही गर्नु भएन भन्ने छ नि ?

मैले विकासको काम बाटोबाट सुरुवात गरे । लम्की–खक्रौला रोड, सडकपुर–बौनिया रोड, जोशीपुर हुँदै लालबोझी रोड, सुखड–भजनी रोड, मरियाघाट, सुतैयाहुँदै–चुहा रोड, गुलरादेखि मुनुवा रोड, मसुरिया–हसुलिया रोड हामीले को¥यौँ ।

यहाँ बिजुली थिएन, बिजुलीको लागि डेनिस सरकारसँग हामीले काम ग¥यौं । कैलाली–कञ्चनपुरमा ग्रामीण विद्युतीकरण ग¥यौं । गाउँ–गाउँमा सडक स्तरोन्नति भएको छ । काठे पुललाई विस्थापन गरी पक्की पुल बनाएका छौँ ।

प्रत्येक वडामा विद्यालय, स्वास्थ्य चौकी खोलेका छौँ । मेरो समयमा यहाँ क्याम्पस थिएन, पढ्नका लागि धनगढी या नेपालगञ्ज जानु पर्थ्यो । हामीले यहाँ ठाउँ–ठाउँमा प्लस टु स्थापना गरेका छौँ । हाम्रै पालोमा मुक्तकमैया घोषणा गरायौँ । म गम्भीरपूर्वक भन्छु, म एकदमै ग्रास लेबलबाट काम गरेको छु । तर यहाँ मान्छेहरु मप्रतिको भ्रम सिर्जना गरेका छन्, रामजनमले केही गरेन भनेर ।

५/६ वर्षदेखि निकास नपाएको टीकापुर घटना तपाई निर्वाचित हुने बित्तिकै चमात्कारै हुन्छ र ?

अवश्य पनि, हामीले २०७२ मै यो मुद्दालाई टुंग्याउन लागेका थियौँ । तीन सदस्यीय हाई लेबलको समिति गठन भएको थियो । तत्कालीन कानुन मन्त्री अग्नि खरेल, गृहमन्त्री शक्ति बस्नेत र स्वास्थ्य मन्त्री रामजनम चौधरी समितिमा थिए । सदस्य सचिवमा तत्कालीन एटोनी जर्नल हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की हुनुहुन्थ्यो । समितिले देशभर भएका आन्दोलनको क्रममा लागेका मुद्दाहरु ल्याउने क्रममा ५२५ जनामा त्यस्ता मुद्दा लगाएको भन्ने प्रमाण आयो ।

हामीले छोड्ने प्रक्रियामा रहेको बेला तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले गरेको निर्णय आयो । आइसकेपछि त्यसमा स्पष्ट रुपमा के थियो भने, बाबुराम भट्राईले आफ्नो कार्यकालमा २५० जना माओवादी नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय बदर गरिएको थियो । कानुनी प्रक्रिया पूरा गरेरमात्रै निर्णय सदर हुने त्यो निर्णय थियो ।

कानुनको कुन दफा र नियमावली संशोधन गर्नुपर्ने हो भनेर माग्दा खेरि अदालतको पूर्णपाठ आएको थिएन । अदालतबाट निर्णय हुने बित्तिकै फुल टेक्स (पूर्ण पाठ) आउँदैन । पछि आउँछ । कुन कानुनको कुन धारामा के लेखिएको छ भन्ने कुरा जानकारी नहुँदा हामीले कानुन संशोधन गर्न सकेनौँ । तर अहिले आइसकेको छ ।

यत्रो पाँच वर्षसम्म किन कानुन संशोधन गर्न सक्नुभएन ? दुई वर्षसम्म त तपाईकै पार्टीले सरकारको नेतृत्व गरिरहेको छ नि ? चुनावको बेलामा भावनात्मक कुरा गरेर हुन्छ ?

मैले भावनात्मक कुरा गरेको छैन । सत्य कुरा भन्दैछु । उहाँले २०७४ मा चुनाव जित्नु भयो । चुनाव जितेपछि मुद्दा खारेज गराउँछु भन्ने नारा दिएर उहाँ चुनाव जित्नुभयो । तर पाँच वर्षसम्म केही भएन । यहाँको बारेमा बोल्ने साथीहरु पनि भएनन् । जितेर गएहरुले कुनै दवाब दिन सकेनन् । मैले त चुनाव हारेको थिएँ । गाउँमा थिएँ । २÷३ पटक त मैले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उहाँलाई भेटर यहाँको मुद्दाबारे कुरा राखेँ । तर दुर्भाग्य, माथिल्लो तहमा प्रेसर गर्ने कोही भएन ।

टीकापुर घटनापछि यहाँको टीकापुर बजार शून्य जस्तै देखिन्छ । तपाई जितिसकेपछि यहाँको बजारले पुनर्जीवन पाउँछ ?

सबैभन्दा पहिले हामी यहाँ सद्भाव कायम गर्न मेरै पहलमा टीकापुरको कान्छी बजारमा थारु–पहाडी समुदायबीच सांस्कृतिक कार्यक्रमसहितको कार्यक्रम ग¥यौँ । थारुको पसलमा पहाडी नजाने, पहाडीको पसलमा थारु नजाने अवस्था थियो । अब धेरै कुरा मिलेको छ । धेरै समस्या छैन ।

तपाई चुनावी मैदानमा होमिएको बेला रञ्जिता श्रेष्ठसँगको प्रतिस्पर्धालाई कसरी लिनुभएको छ ?

उहाँको अर्को पार्टी छ, मेरो अर्को पार्टी छ । चुनाव एजेण्डाको आधारमा हुन्छ । उहाँहरुको स्पष्ट एजेण्डा नै छैन । मिडियादेखि उहाँ भाग्दै हिँड्नुभएको छ । खाली मलाई गालीगलौज बाहेक केही छैन ।

चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ ?

हेर्नुस्, चुनावमा कन्फिडेन्टका साथ लाग्नुपर्छ । कुनै पनि लडाइँमा ओभर कन्फिडेन्ट भएर जानुहुँदैन । ओभर कन्फिडेन्टले लडाइँ जितिन्न । स्थानीय तह निर्वाचनमा पाएको मत परिणामले उहाँहरुमा अलग्गै घमण्ड छ । रवाफ छ । सांसद जितेपछि त झनै के हुन्छ ? तर उहाँहरुको गतिविधिले आमनागरिक स्पष्ट भइसकेका छन् । पछिल्लो घटनाक्रमले उहाँहरुको ग्राफ निरन्तर खस्किरहेको छ । हाम्रो भने माथि गइरहेको छ । यहाँको मुद्दा, विकास तथा समग्र मुलुकै विकासको लागि गठबन्धनको विकल्प छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप