तीन दिनभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको योजना
आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । निर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन भएको तीन दिन अर्थात् मङ्सिर ७ गते बेलुकासम्ममा प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गरिसकिने कार्ययोजना बताए ।
“सबै मतपेटिकाहरू सङ्कलन भएको लगत्तैदेखि मतगणना प्रारम्भ हुनेछ”, उहाँले भने– “तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौँ ।” मङ्सिर २२ गतेभित्र निर्वाचनको सम्पूर्ण नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउन चाहेको जनाउँदै उनले भने– “निर्वाचन प्रक्रियामा सबैको प्रतिबद्धता र सहयोग भएको खण्डमा त्यो सम्भव हुन्छ भन्नेमा आयोग ढुक्क छ ।” अस्वाभाविक रूपले मतदान भएका केन्द्रलाई आयोगले विशेष सूचीमा राख्ने जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा तीन वटा सुरक्षा घेरा रहने व्यवस्था गरिएको बताए ।
उनले कुनै केन्द्रमा अप्रिय घटना भएमा ३० मिनेटभित्र नेपाली सेना पुग्ने व्यवस्था मिलाइएको जानकारी दिए । बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराख्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिँदै उनले वारेसका आधारमा मतदान गर्ने प्रवृत्तिलाई निस्तेज तुल्याइने बताए ।
आगामी दुई दिनभित्र मतदान केन्द्र निर्माणको कार्य पूरा भइसक्ने आयोगले जनाएको छ । प्रजातन्त्रको मेरुदण्डका रूपमा रहेको आवधिक निर्वाचनको मुख्य सरोकार पक्ष भनेको उम्मेदवार र मतदाता नै हुन् । सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएकाले विगतका जस्तो तडकभडक नभएको आयोगले जनाएको छ ।
यही मङ्सिर ४ गते देशभर एकै चरणमा हुने उक्त निर्वाचनको लगभग सम्पूर्ण तयारी पूरा भएको सो अवसरमा जानकारी दिइयो । उक्त निर्वाचनमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता कायम छन् । यही मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका बालिग मतदाताले निर्वाचनमा मतदान गर्न पाउनेछन् ।
मतदानका लागि १० हजार आठ सय ९२ मतदान स्थलमा २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । यस्तै एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन
-
पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
-
काठमाडौँ महानगरले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने
-
मधेसमा जनमत नेतृत्वको सरकारलाई ‘रिप्लेस’ गर्न चाहन्छ कांग्रेस
-
कीर्तिपुरमा पुरुषको शव फेला, घटनास्थलमा किटनाशक औषधीको बट्टा पनि भेटियो
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा विस्तार गर्ने