ट्राफिक प्रहरीलाई चुनावमा खटाएपछि उपत्यकामा बढ्यो ट्राफिक जाम
काठमाडौं उपत्यकामा केही दिनयता ट्राफिक जाम बढेको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलका कार्यकर्ता र शुभचिन्तकहरू धमाधम उपत्यका बाहिर जाँदै छन् ।
तरपनि जाम घटेको छैन । पछिल्ला दिनमा जाम बढ्न थालेको स्विकार्छिन्, उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख (डिआइजी) मिरा चौधरी । ‘धेरैजसो ट्राफिक प्रहरी चुनावका लागी उपत्यका बाहिर गएका छन्’ डिआइजी चौधरीले भनिन्–‘उपलब्ध जनशक्तिलाई प्रयोग गरेर सवारी जाम व्यवस्थापन गर्दै छौं ।’
निर्वाचन सुरक्षामा प्रहरी प्रधान कार्यालयले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई विभिन्न जिल्लामा परिचालन गरेको छ । जनशक्ति कम भएपछि ट्राफिक जामको समस्या देखिएको हो । उपत्यकामा १७ सय ५० जना ट्राफिक प्रहरी कार्यरत थिए । तीमध्ये अहिले ४ सय १२ जना मात्र कार्यरत रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले जानकारी दिए । उनले भने–‘चोकमा पहिले ४ जना खटाउने ठाउँमा अहिले १ जना खटाएका छौं, पिक आवरमा सवारी चाप बढेको छ ।’
एसएसपी भट्टका अनुसार लामो समय रोक्ने बसलाई हटाउन बस पकेटमा परिचालन गर्ने जनशक्ति छैन । कतिपय चोकमा ट्राफिक प्रहरी नै देखिँदैनन् । पहिले जाम नहुने ठाउँमा पनि जाम भएको छ । बागमती प्रदेशमा १६ लाख सवारी दर्ता छन् । तीमध्ये करिब करिब १२ लाख हाराहारी सवारी काठमाडौंमा चल्ने आकलन गरिएको छ । ४ सय १२ जना ट्राफिक प्रहरीले सो सवारी व्यवस्थापन सहज छैन । ट्राफिक व्यवस्थापनमा म्यादी प्रहरी, नगर प्रहरी र जनपद प्रहरीले सहयोग गरिरहेका छन् ।
‘नगर प्रहरी, जनपद र म्यादीले हामीलाई सहयोग गरेका छन्’ एसएसपी भट्ट भन्छन्–‘नेपाल रेडक्रस सोसाइटीका भोलेन्टर र विद्यार्थी भोलेन्टरले पनि सहयोग गर्नुभएको छ ।’ आजभोलि काठमाडौंमा बेलुकाको पिक आवरमा जाम निकै बढेको छ । ‘ट्राफिक प्रहरी नदेखे नियम नमान्ने प्रवृत्तिले गर्दा प्रेसर छ’ एसएसपी भट्ट भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता