सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव जित्ने पोजेटिभ संकेत पाएकी छु : कोमल वली

बिहीबार, ०१ मङ्सिर २०७९, १६ : ३०
बिहीबार, ०१ मङ्सिर २०७९

दाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ मा यसपटक नेकपा एमालेले ‘सेलिब्रेटी’ उम्मेदवार कोमल वलीलाई मैदानमा उतारेको छ । रेडियो नेपालको समाचारवाचन, गायन सबै छाडेर वली २०७३ सालबाट राजनीतिमा छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीतिमा इन्ट्री गरेकी उनी उक्त पार्टीको केन्द्रीय सदस्यसम्म भइन् ।

२०७४ को आमचुनावको मुखमा वली राप्रपा छाडेर एमालेमा प्रवेश गरेकी थिइन् । एमालेका तत्कालीन उपाध्यक्ष वामदेव गौतमले पार्टीमा भित्र्याएकी वलीले ०७४ मै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन लड्न नपाएपछि बागी उम्मेदवारी दिइन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा ल्याउने आश्वासन दिएपछि उनी ‘ब्याक’ भइन् । अध्यक्ष ओलीले उनलाई राष्ट्रियसभा सदस्य पनि बनाए । ४ वर्षको कार्यकाल सकिएपछि ०७८ फागुन १९ गते राष्ट्रियसभाबाट बिदा भएकी वली यस पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेकी हुन् । प्रस्तुत छ वलीसँग रातोपाटीले गरेको कुराकानी :​

एमालेको उम्मेदवारको रुपमा पहिलो पटक प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ । दाङ–३ का ३६ वटै वडामा पुग्दा मतदाताको रेस्पोन्स के पाउनु भएको छ ?

राम्रो छ । चारैतिर कोमल वली खोजिराख्नु भएको छ । म घर–घरमा पुग्न सकेको छैन । त्यसले गर्दा कति जनासँग भेटघाट हुन सकेको छैन । तर दाङ–३ का मतदाता कोमल वलीलाई निर्वाचित गराएर पठाउनेमा मानसिक रुपमा तयार भइसक्नु भएको छ । मैले पोजेटिभ भाइब्स पाएकी छु ।

यहाँ जनताको अपेक्षा के छ ? मत दिन्छु भन्ने मतदाताले तपाईंबाट के आशा र अपेक्षा राखेको पाउनु भयो ?

विकास निर्माण, शिक्षा र स्वास्थ्य सेवाको बढी अपेक्षा राखेको पाएँ । मैले पनि दुईवटा कुरालाई फोकस गरेको छु । मान्छे बदल्न चाहन्छु, ठाउँ बदल्न चाहन्छु भनेकी छु । मान्छे शिक्षाले मात्र बदलिन सक्छ ।

त्यसैले गुणस्तरीय शिक्षाका लागि मैले काम गर्ने छु । शिक्षाले मान्छे बदलिन्छ, बदलिएको मान्छेले समाज बदल्छ । उसले विकास गर्छ, स्वास्थ्य राम्रो बनाउँछ । नेपाली माटो अनुसारको शिक्षा, नैतिक शिक्षा, रोजगारी मुलुक शिक्षामा हामीले फोकस गर्नुपर्छ ।  मैले यी कुरा नीति निर्माण गर्ने ठाउँमा उठाउने छु । मैले ठाउँ पनि बदल्छु । बाटो, पुल, सिँचाइजस्ता पूर्वाधारका कुरा छन् । स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने सोच बनाएकी छु ।

प्रत्येक निर्वाचनमा उम्मेदवारले यस्तो आश्वासनका पुलिन्दा जनतालाई नदिएका होइनन् । तर त्यसको १५–२० प्रतिशत पनि काम भएको पाइँदैन । हिजोका प्रतिनिधिभन्दा तपाईं के कुरामा अब्बल देखिनुहुन्छ ? तपाईंका एजेण्डा कार्यान्वयन हुने आधार के छ ?

राष्ट्रियसभामा हुँदा मैले दाङका तमाम मुद्दालाई उठाएकी छु । यहाँको एयरपोर्ट, इन्धन डिपो निर्माण लगायत दाङका मुद्दा व्यापक रुपमा उठाएकी छु । संघीय सरकारबाट मेरो पहलमा यहाँ धेरै सडक, पुल निर्माण भइरहेका छन् ।

मेरो पहलमा करिब एक दर्जन झोलुङ्गे पुल निर्माणको प्रक्रियामा छन् । बबई नदी, पातु खोला, गुहार खोलामा तटबन्ध बनाउने काम गरेकी छु । यहाँ धेरै ठाउँमा बोरिङ राखिदिएकी छु ।

यहाँ मेरो प्रयासमा तमाम योजना अगाडि बढेको जनताले महसुस गर्नु भएको छ । मलाई जिताउँदा आगामी दिनमा पनि तमाम काम हुने यहाँको जनताको विश्वास छ । ‘म जे कुरा गर्छु, त्यो पुरा गर्छु’ भन्ने मेरो नारा हो ।

गाउँमा जाँदा मतदाताले सानोसानो कुरा खोज्नुभएको छ । तपाईं त फर्केर आउनु हुन्न होला । भोट कसरी दिने ? हिजो जितेका मान्छे अहिलेसम्म फर्केर आएन । हाम्रो फोन उठाउनु हुन्न होला भन्ने खालका कुरा गर्नु हुन्छ । जनताको ठूलो माग छैन ।

घर अगाडि चिल्लो बाटो होस्, खेतमा पानी आओस्, हाम्रो बाँध पक्की होस्, तटबन्ध होस् भन्ने भौतिक पूर्वाधारका विषयमा उहाँको जोड छ ।

दाङ–३ का मतादाताका यी समस्या सम्बोधनका लागि पहल गर्न निर्वाचित हुनु पर्ला । तर तपाईंका अगाडि पाँच दलीय सत्ता गठबन्धन चुनौतीको पहाड झै खडा भएको छ । कांग्रेसका ‘हेभीवेट’ नेता दीपक गिरिसँगको प्रतिस्पर्धालाई कत्तिको चुनौती ठान्नु भएको छ ?

चुनौती त भइनै हाल्छ । जनाधार मसँग छ । कोमल वलीलाई जिताउनुपर्छ भन्ने सबैको इच्छा छ । राष्ट्रियसभामा मैले उठाएका मुद्दा र सम्बोधनबाट उसमा परिपक्वता छ, संघर्ष गरेर आएकी छोरी हो भन्ने मेरोप्रति आम बुझाइ छ ।

म विगत पाँच—सात वर्षदेखि यहाँ जनताको बीचमा छु । हामीलाई बुझ्ने नेतृ रहेछ, हाम्री छोरी, चेलीबेटी पनि हो भन्ने खालको कुरा छ । सबैको मनोविज्ञान कोमल वलीतिर छ । हाम्रो ठाउँमा नआउनु भए पनि हुन्थ्यो, हामीले कोमल वलीलाई मत हाल्ने मन बनाइसकेका छौँ भन्नु हुन्छ । त्योभन्दा म गद्गद् हुन्छु । धेरै वर्षदेखि एउटै मान्छेलाई के भोट दिइराख्ने भन्ने पनि छ । उहाँ ४८ सालदेखि राजनीतिमा हुनुहुन्छ । जित–हार त हुन्छ नै । म सबैको विश्वासिलो उम्मेदवार हुँ । हाम्रो एजेण्डा पनि बलियो छ ।

एमालेमा लामो संघर्ष गरेका पुराना नेतालाई पन्छाएर नेतृत्वको विश्वास जितेर टिकट हत्याएपछि केही नेताले तपाईंलाई स्वीकारेको अवस्था छैन भन्ने छ । अवस्था त्यस्तै हो ?  

यहाँ कोही उम्मेदवार नै हुनुहुन्थेन । उम्मेदवारी सिफारिस गर्दा हामीले युवराज ज्ञवालीज्यूलाई सम्मान स्वरुप पठाएका थियौँ । साथै घनश्याम पाण्डे र कोमल वलीको नाम पनि सिफारिस भएको थियो । एक नम्बरमा सिफारिस गरिएका युवराज ज्ञवालीज्यू चुनाव लड्न तयार हुनु भएन । त्यसपछि हामी २ जना थियौँ ।

अहिले महिलालाई स्थान दिनु पनि पर्‍यो त । म चुनाव लड्न चाहन्छु, जित्न चाहन्छु, जनतासँग जान चाहन्छु भनेर जो अगाडि आउँछ, उसलाई अवसर पनि दिनुपर्छ । त्यसमा पनि म पार्टीको सबै तहबाट सिफारिस भएकी हुँ । अहिले पार्टी पंक्तिका कुनै द्विविधा छैन ।

मेरो उम्मेदवारीमा पार्टी पंक्ति खुसी छ । हाम्रो जिल्ला अध्यक्ष हुकुम बस्नेत ३ नम्बर क्षेत्रको (ख)बाट उम्मेदवार हुनुहुन्छ भने पहिलाको मेयर अनुभवी युवा नेता घनश्याम पाण्डे प्रदेश (क)को उम्मेदवार हुनुहुन्छ । हाम्रो एकदमै केमिस्ट्री मिलेको छ ।

चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ ?

हामी राम्रोसँग चुनाव जित्छौँ । आमाबुबा दाइभाइ, दिदीबहिनीको विश्वास कोमल वलीमाथि छ । हुकुम बस्तेतमाथि छ, घनश्याम पाण्डेमाथि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप