शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ग्राउण्ड जिरो दाङ–३ : ‘हेभीवेट’ दीपक र ‘सेलीब्रेटी’ कोमलबीच कडा टक्कर

बिहीबार, ०१ मङ्सिर २०७९, १६ : २२
बिहीबार, ०१ मङ्सिर २०७९

दाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ मा यसपटक चुनावी प्रतिस्पर्धा विगतभन्दा भिन्न छ । पाँच दलीय गठबन्धनको साझा उम्मेदवारका रुपमा कांग्रेसका दीपक गिरिसँग एमालेले ‘सेलिब्रेटी’ उम्मेदवार कोमल वलीलाई मैदानमा उतारेको छ ।

दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको पनि चर्चा भए पनि मुख्य प्रतिस्पर्धा भने गठबन्धन र एमालकै उम्मेदवारबीच हुने देखिन्छ । कांग्रेसका प्रभावशाली नेता गिरि २०५१ सालदेखि दाङ– ३ मा चुनावी प्रतिस्पर्धा गर्दै आएका छन् ।

संसदीय चुनावमा गिरि पहिलो पटक ०५१ को मध्यावधि निर्वाचनमा एमालेका महासचिव शंकर पोखरेलसँग प्रतिस्पर्धामा उत्रिएका थिए । तर त्यतिबेला पोखरेल विजयी भए ।

२०५६ को आमचुनावमा गिरि चुनावी प्रतिस्पर्धामा आएनन् । यहाँबाट उनी ०६४ मा माओवादीका कृष्णबहादुर महरासँग हारे भने ०७० मा गिरिका लागि संसदको ढोका खुल्यो । उनी सिंचाई मन्त्री बन्न पनि सफल भए ।

०७४ मा उनी वाम गठबन्धनका हिराचन्द्र केसीसँग पराजित भए । अहिले उनले ‘सेलिब्रेटी’ उम्मेदवार वलीलाई प्रतिस्पर्धीका रुपमा पाएका छन् ।

रेडियो नेपालको समाचारवाचन, गायन सबै छाडेर वली २०७३ सालबाट राजनीतिमा छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीतिमा इन्ट्री गरेकी उनी उक्त पार्टीको केन्द्रीय सदस्यसम्म भइन् ।

२०७४ को आमचुनावको मुखमा वली राप्रपा छाडेर एमालेमा प्रवेश गरेकी थिइन् । एमालेका तत्कालीन उपाध्यक्ष वामदेव गौतमले पार्टीमा भित्र्याएकी वलीले ०७४ मै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन लड्न नपाएपछि बागी उम्मेदवारी दिइन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा ल्याउने आश्वासन दिएपछि उनी ‘ब्याक’ भइन् । अध्यक्ष ओलीले उनलाई राष्ट्रियसभा सदस्य पनि बनाए । ४ वर्षको कार्यकाल सकिएपछि ०७८ फागुन १९ गते राष्ट्रियसभाबाट बिदा भएकी वली यस पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेकी हुन् ।

पुराना नेता पन्छाएर टिकट हात पारेकी वलीका लागि गिरिसँग लडाइँ सहज छैन । पार्टीभित्रको पुरानो पुस्ताबाट वलीमाथि अन्तरघात हुनसक्ने दाङका एमालेजनमा चिन्ता छ ।

दाङका चार पालिका मिलेर बनेको क्षेत्र नम्बर ३ मा भौगोलिक हिसाबले सुगम थोरै र दुर्गम भूूभाग धेरै छ । जहाँ अन्य जातीको तुलनामा मगर, थारु र क्षेत्री समुदायका मतदाताको बसोबास धेरै छ ।

कुनै समय कांग्रेसको गढ मानिएको दाङमा अहिले एमाले र माओवादी पनि कांग्रेसकै हाराहारीकै शक्तिका रुपमा स्थापित छन् । स्थानीय निर्वाचनमा एमालेले तुलसीपुर उप–महानगरपालिकामा गठबन्धनलाई हराएर आफ्नो पकड देखाएको छ ।

दाङ–३ मा तुलसीपुर उपमहानगरपालिका, दशीशरण, बबई र शान्तिनगर गाउँपालिका गरी ३६ वटा वडा छन् । स्थानीय निर्वाचनमा एमालेले तुलसीपुर उपमहाननगरपालिका प्रमुख, उपप्रमुखसहित १७ वटा वडाध्यक्ष जितेको छ ।

कांग्रेसले बबई, शान्तिनगर  र दंगीशरण गाउँपालिकामा प्रमुख÷उपप्रमुखसहित १४, माओवादीले ४ र स्वतन्त्रले १ वटा वडा जितेको छ ।

स्थानीय निर्वाचनको मत परिणामलाई हेर्दा तुलसीपुर एमालेले २, ३, ६, ८, १०, ११, १३ र १५ नम्बर वडा जितेको छ ।

यस्तै दंगीशरण गाउँपालिकाको ७ वटा वडामध्ये २, ४, ५ र ७ जित्दा बबई गाउँपालिकामा ७ वटा वडामध्ये १, ३ र ४ जितेको छ भने शान्तिनगर गाउँपालिकाको ७ वटा वडामध्ये ४ र ६ नम्बर वडा जितेको छ ।

कांग्रेसले तुलसीपुर उपमहानगरका ५, ७, ९ र १४ जितेको छ भने दंगीशरण गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित १, ३ र ६ वडा जितेको छ । त्यस्तै बबई गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्षसहित २, ५, ६ र ७ र शान्तिनगर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित ३, ५ र ७ वडा जितेको छ ।

माओवादी केन्द्र चार स्थानीय तहमा ४ वटा वडा मात्रै जितेको छ । माओवादीले शान्तिनगर गाउँपालिकाको वडा नम्बर १, तुलसीपुर उपमहानगरको १, ४ र १२ नम्बर वडा जितेको छ भने शान्तिनगर २ मा स्वतन्त्र उम्मेदवारले जितेको छ ।

दाङ–३ मा गठबन्धनको १८, एमालेको १७ र स्वतन्त्रले एक वडाध्यक्ष जितेको देखिन्छ । वडाध्यक्षका उम्मेदवारले पाएको मतअनुसार एमालेको ३८ हजार ६५८, कांग्रेसको ३० हजार ९८९, माओवादीको १२ हजार ८८०, एकीकृत समाजवादीको एक हजार ९३८, राप्रपाको एक हजार ४४४ र जसपाको १८२ मत छ ।

जसका आधारमा वलीभन्दा गिरि ७ हजार  १४९ मतले अघि देखिन्छन् । तर रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी लगायतले दाङ–३ को स्थानीय मतको हिसाब गोलमाल गरिदिने खतरा छ ।

कांग्रेस, एमाले, माओवादी लगायतका ठूला दलप्रति असन्तुष्ट र केही युवा जमातको झुकाव रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारप्रति देखिन्छ । त्यसमा पनि तुलसीपुर बजारमा स्वतन्त्र पार्टीको चर्चा बढ्ता सुनिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी पनि एमाले समर्थक भएकाले वलीमाथि अर्को चुनौती थपिएको छ । गठबन्धनको भन्दा सुवेदीले एमालेको धेरै भोट काट्न सक्ने आकलन छ । गिरि र वलीको प्रतिस्पर्धामा नागरिक उन्मुक्ति पार्टीका कुमार चौधरीको इन्ट्रीले रौनकता थपेको छ ।

थारु समुदाय बस्तीमा चौधरी ढकिया बोकेर छिरेपछि गिरि र वलीको ढुकढुकी बढेको बुझन् गाह्रो छैन । यद्यपि, नागरिक उन्मुक्तिको बेग रोक्न गठबन्धन दलबाट दाङ ३ (क)मा थारु नेता डिल्ली चौधरी मैदानमा छन् ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री चौधरीमार्फत थारु मत रोक्ने गठबन्धनको दाउ छ । यता एमालेले भने प्रतिनिधि र प्रदेशसभा गरी तीनै सिटमा थारु उम्मेदवार खडा गरेको छैन । यहाँ पनि नागरिक उन्मुक्ति पार्टीले गठबन्धनभन्दा एमालेकै थारु मत बढी काट्ने चर्चा छ ।

गिरि परिवारमा एकता, वलीको लोभलाग्दो प्रचार

दाङ–३ मा कांग्रेसमा गिरि परिवारभित्र टकराव छ । जसको एक पात्र दीपक गिरि हुन् भने अर्काे पात्र उनका दाजु गेहेन्द्र गिरि । यस पटक भने दीपक र गेहेन्द्रबीचको प्रतिष्ठाको लडाइँ केही कम देखिएको छ ।

कांग्रेसको संस्थापन र इतर पक्षको गुटको चिरा दाङ–३ मा गिरि परिवारभित्र पनि छ । गेहेन्द्र कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने दीपकको निकटता शेखर कोइरालासँग छ ।

कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाका विश्वासपात्र गिरिले घरमा भने देउवाको फोटो टाँसेका छन् । अन्तर्वार्ताका लागि गिरिको निवासमा पुग्दा देउवाको फोटो राखेको देखेपछि हामीले उनलाई जिज्ञासा राख्यौँ ।

उनले मुस्कुराउँदै जवाफ दिए– उहाँ हाम्रो सभापति त हो नि ! चुनावका बेला गिरिको निवासको भित्तामा टाँगिएको देउवाको फोटोको राजनीतिक अर्थ देखिन्छ । गिरिले देउवा पक्षका डिल्ली चौधरीलाई आफ्नो मुख्य सारथि बनाएर पार्टी एकताको सन्देश प्रवाह गरेका छन् ।

नेकपा एमालेभित्र पनि चरम असन्तोष छ । दाङ–३  एमालेभित्र पनि थुपै्र पुराना अनुहार पन्छाएर वलीले टिकट हात पारेकी थिइन् । अहिले नयाँ र पुराना अनुहारबीचको तिक्तता चुनावी मैदानमा पनि देखिन्छ । उक्त तिक्तताबीच पनि वलीको चुनावी प्रचार भने आक्रमक देखियो । पूर्व सञ्चारकर्मी तथा गायिका वली मतदातामाझ जमेकी छन् ।

घरदैलोमा एमालेका पुराना नेता खासै हिँडेका नदेखिए पनि महिला र युवा पुस्तामा भने वलीको क्रेज राम्रो देखिन्छ । कात्तिक २७ गते बिहान ११ बजेतिर तुलसीपुरस्थित वलीको घरमा पुग्दा उनी खाना खाँदै थिइन् ।

खाना खाइसकेपछि वलीसँग हामीले चुनावी संवाद गर्‍यौँ । त्यसपछि घरदैलोमा निस्किएकी वलीलाई केही समय हामीले पछ्यायौँ । उनको भोट माग्ने तरिका लोभलाग्दो थियो । उनले मतदातामाझ भोट माग्दा सुन्दर अभिनय गरेको भान हुन्थ्यो ।

उनीसँग मतदाताको एउटै माग थियो– चुनाव जितेपछि पनि यसरी नै घरदैलोमा आउनु ।

विगतका जनप्रतिनिधि जस्तो चुनाव जितेपछि फेरि अर्को चुनावमा मत माग्न आउने प्रवृत्ति नदोहोर्‍याउने बाचा चाहन्थे वलीसँग मतदाता । उनले आफू चुनाव जितेपछि नहराउने बाचा गर्थिन् ।

दाङ–३ को चुनावी चर्चाबारे कांग्रेसका दीपक गिरि र एमालेकी कोमल वलीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ–

कोमल वलीको चुनौती छैन : दीपक गिरि

उम्मेदवार, नेपाली कांग्रेस

चुनावको मिति नजिकिएको  छ ? तपाईंको चुनावी प्रचार–प्रसार कस्तो छ ?

चुनावी मिति नजिकिएसँगै प्रचार–प्रसारको काम पनि निकै तीव्रताका साथ चलेको छ । म निरन्तर दाङ–३ मा चुनाव लड्दै आइरहेको छु । जनताको समस्या के हुन् भनेर मसिनो गरी बुझेको छु ।

म निर्वाचन लड्दै गर्दा जनता उत्साहित छन् । मतदाता हामी तपाईंलाई जिताउँछौँ भन्छन् । तपाईं पनि यहाँ आउनु भएको छ, जनताले के भनिरहेका छन्, त्यो बुझ्नुस न !

अहिले प्रमुख राजनीतिक दल र उम्मेदवारप्रति देशव्यापी रुपमा जनताको वितृष्णा पैदा भएको देखिन्छ । तपाईंलाई किन मत दिने भन्ने प्रश्न उठेको देखिन्छ नि ?

म पहिलो पटक संविधानसभाको सदस्यको भूमिकासहितको जिम्मेवारी समाल्दै गर्दा यहाँका थुप्रै समस्या थिए । सडक समस्या, बिजुली बत्तीको समस्या, सिँचाइको समस्या, स्वास्थ्यका समस्या थुप्रै थिए ।

मैले ती समस्याहरुलाई समाधान गर्नुपर्छ भन्ने थियो । तुलसीपुर–पुरन्धारा सडक पश्चिम दाङको मेरुदण्ड हो । जो ग्राभेल भएको थियो, त्यो बाटो कालोपत्रे गर्न सकँे । पश्चिम दाङको विकाससँग जोडिएको दाङ–सुर्खेत सडक पूर्णता दिने काम गरेँ ।

पश्चिम दाङको सबैभन्दा ठूलो समस्याका रुपमा रहेको सिँचाइ हो । मैले सयौँ सिँचाइका योजनासहित दाङको कृषि क्षेत्रको बृहत्तर विकास लागि बृहत दाङ सिँचाइ आयोजना स्थापना गरेँ । खानेपानीका आयोजनाहरु थुप्र्रै गरेँ । जसका कारण पश्चिम दाङको विकासप्रेमी नेताका रुपमा म स्थापित भएको छु । मैले गर्न नसकेको, नगरेको भन्ने केही छैन । तर म पछि आएका नेताहरुले बरु केही गर्न नसकेको देख्छु म । यो गर्नु भएन भन्ने जनताको कुनै गुनासो मैले केही भेटेको छैन ।  युवा स्वरोजगारका क्षेत्रमा मैले धेरै काम गरेको छु ।

अघिल्लो कार्यकालमा तपाईंबाट पश्चिम दाङले के पायौँ ? तपाईं नहुँदा के गुमायो ? अब  तपाईं आगामी ५ वर्षका लागि निर्वाचित भए पश्चिम दाङले के पाउँछ ?

मैले तपाईंबाट यही प्रश्न आओस् भन्ने चाहेको थिएँ । यहाँ विकासका रेखाङ्कन गरिएका धेरै योजनाहरु मपछि आएकाहरुले धेरै प्रभावित पारे । अझ यो तुलसीपुर उमहानगरपालिका नाम मात्रैको उपमहानगरपालिका भयो ।

यहाँ थुप्रै समस्या छन् । पश्चिम दाङको समस्या भनेको स्वास्थ्य सेवा हो । प्रादेशिक अस्पतालमा बेहाल छ । जहाँ विशेषज्ञ चिकित्सक सहितको सेवा प्रवाह गर्न दाङको नमूना अस्पतालको विकास गर्नेछु ।

अर्काे कुरा, दाङको टरिगाउँ विमानस्थल एउटा इतिहास बोकेको विमानस्थल हो । जसको स्तरोन्नति हुन सकेको छैन । म टरिगाउँ विमानस्थलाई ‘ए क्लास डोमोष्टिक’ विमान बस्ने विमानस्थलका रुपमा विकास  गर्नेछु । विमानस्थल अभावका कारण दाङले हरेक क्षेत्रको विकासमा अभाव व्यहोर्नु परेको छ । मेरो यी कुरा पहिलो लक्ष्य हुन् ।

टरिगाउँ विमानस्थलको विकास प्रभाव पार्ने गतिविधि पनि केही भएका छन् । तर यसको विकास गरेर म देखाउँछु । रह्यो कुरा अन्तर्राष्ट्रिय विमानस्थल नारायणपुरमा बनाउने कुरा, त्यसमा मेरो कुनै विमति छैन । बनाउनेहरुले बनाए हुन्छ । मेरो पूरै सहयोग रहने छ ।

एउटा कुरा, डोमेष्टिक विमानस्थलपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्छन् । डोमेष्टिक विमान बस्न सकेको छैन । अन्तर्राष्ट्रियस्तरको कुरा गरे कहाँ हुन्छ ? विमानस्थलको स्तरवृद्धिका लागि तत्कालीन समयको तत्कालीन मूल्यसहित मुआब्जा दिएर भए पनि टरिगाउँ विमानस्थल बन्छ ।

अर्काे कुरा, दाङले के गुमायो भन्ने तपाईंले देखिसक्नुभएको छ । यो लमहीदेखि तुलसीपुरसम्मको चारलेन सडक आयोजना निर्माणको जिम्मा भारतको तथ्य इन्जिनियरिङ निर्माण कम्पनीले लिएको थियो । त्यसले अर्कालाई दियो ।  अर्काले के गर्‍यो भन्ने कुरा पनि जनताले बुझेका छन् ।

अर्काे, राजमार्ग जोडिएको राप्ती लोकमार्गको स्तरोन्नतिको रेखाङ्कन भएको छ । त्यसलाई पूर्णता दिइ तुलसीपुरलाई पश्चिम दाङसहित सल्यान, रुकुम, डोल्पाको व्यापारिक केन्द्रका रुपमा विकास गर्ने लक्ष्य राखेको छु । जसका कारण पश्चिम दाङको वृहत्तर विकास, कृषिमा आत्मनिर्भर बनाउनु छ ।

तपाईं पाँच दलीय गठबन्धनको साझा उम्मेदवारका रुपमा रहनुभएको छ । तपाईंले एमालेसँगको चुनावी प्रतिस्पर्धालाई कति चुनौतीका रुपमा लिनुभएको छ ?

मैले उहाँ (कोमल वली)लाई चुनौतीमा रुपमा लिएकै छैन । पार्टीगत रुपमा प्रतिस्पर्धी एमाले नै हो । हामी गठबन्धनमा छौँ । गठबन्धनले अहिले एमालेसँगको चुनावी प्रतिस्पर्धालाई चुनौतीका रुपमा लिएको छैन । किनभने हामी स्थानीय तहको परिणामका आधारमा एमालेभन्दा बलियो र सुरक्षित छौँ । हामीले हाम्रो क्षेत्रमा तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुख मात्रै गुमाएका हौँ । त्यो पनि प्राविधिक कारण, मतदाता शिक्षा अभावका कारण हो ।

तपाईंविरुद्ध एमाललेले सेलीब्रेटी उम्मेदवार कोमल वलीलाई मैदानमा पठाएको छ । उहाँसँग प्रतिस्पर्धालाई कसरी लिनु भएको छ ?

के सेलिब्रेटीले भन्ने ?  गीत गाउँदैमा सेलीब्रेटी भइन्छ र ? उहाँलाई मैले हेप्न खोजेको पनि हैन । तर कुरा के हो भन्ने जनताले सबैका हरेक कुरा हेरिरहेका हुन्छन् । उहाँले दाङका लागि के गर्नुभयो ? गीत गाउँदै, कहिले कता, कहिले कता हुँदै एमालेमा हुनुहुन्छ । हामी पञ्चायत विरुद्धको आन्दोलनमा होमियौँ । जनताको अधिकार स्थापित गरेका छौँ । विकास र समृद्धिका कुरामात्रै होइन, त्यो आन्दोलनमा लाग्दै गर्दा उहाँले के गर्नु भएको हो ? त्यसकारण मैले के भन्छु भने उहाँ गायक पनि जनताको होइन, व्यक्तिको गायक हुनुहुन्थ्यो हिजोका दिनमा । तर के गरौँ, अहिले उहाँ यहाँ हुनुहुन्छ । अहिले उहाँकै पार्टीका मान्छेले के भन्छन्, थाहा छ ? ‘पोइल जान पाम, पोइल जान पाम’ भन्नेले पो पड्काए त अपर हाउस भन्छन् । वामपन्थी आन्दोलनमा योगदान गरेका पुराना अनुहार छन् यहाँ । तर के गर्ने, त्यो पार्टी नै उस्तै रहेछ ।

तपाईं चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ ?

जनताको मायाले म ढुक्क छु ।

***

चुनाव जित्ने पोजेटिभ संकेत पाएकी छु : कोमल वली

उम्मेदवार, नेकपा एमाले

एमालेको उम्मेदवारको रुपमा पहिलो पटक प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ । दाङ–३ का ३६ वटै वडामा पुग्दा मतदाताको रेस्पोन्स के पाउनु भएको छ ?

राम्रो छ । चारैतिर कोमल वली खोजिराख्नु भएको छ । म घर–घरमा पुग्न सकेको छैन । त्यसले गर्दा कति जनासँग भेटघाट हुन सकेको छैन । तर दाङ–३ का मतदाता कोमल वलीलाई निर्वाचित गराएर पठाउनेमा मानसिक रुपमा तयार भइसक्नु भएको छ । मैले पोजेटिभ भाइब्स पाएकी छु ।

यहाँ जनताको अपेक्षा के छ ? मत दिन्छु भन्ने मतदाताले तपाईंबाट के आशा र अपेक्षा राखेको पाउनु भयो ?

विकास निर्माण, शिक्षा र स्वास्थ्य सेवाको बढी अपेक्षा राखेको पाएँ । मैले पनि दुईवटा कुरालाई फोकस गरेको छु । मान्छे बदल्न चाहन्छु, ठाउँ बदल्न चाहन्छु भनेकी छु । मान्छे शिक्षाले मात्र बदलिन सक्छ ।

त्यसैले गुणस्तरीय शिक्षाका लागि मैले काम गर्ने छु । शिक्षाले मान्छे बदलिन्छ, बदलिएको मान्छेले समाज बदल्छ । उसले विकास गर्छ, स्वास्थ्य राम्रो बनाउँछ । नेपाली माटो अनुसारको शिक्षा, नैतिक शिक्षा, रोजगारी मुलुक शिक्षामा हामीले फोकस गर्नुपर्छ ।  मैले यी कुरा नीति निर्माण गर्ने ठाउँमा उठाउने छु । मैले ठाउँ पनि बदल्छु । बाटो, पुल, सिँचाइजस्ता पूर्वाधारका कुरा छन् । स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने सोच बनाएकी छु ।

प्रत्येक निर्वाचनमा उम्मेदवारले यस्तो आश्वासनका पुलिन्दा जनतालाई नदिएका होइनन् । तर त्यसको १५–२० प्रतिशत पनि काम भएको पाइँदैन । हिजोका प्रतिनिधिभन्दा तपाईं के कुरामा अब्बल देखिनुहुन्छ ? तपाईंका एजेण्डा कार्यान्वयन हुने आधार के छ ?

राष्ट्रियसभामा हुँदा मैले दाङका तमाम मुद्दालाई उठाएकी छु । यहाँको एयरपोर्ट, इन्धन डिपो निर्माण लगायत दाङका मुद्दा व्यापक रुपमा उठाएकी छु । संघीय सरकारबाट मेरो पहलमा यहाँ धेरै सडक, पुल निर्माण भइरहेका छन् ।

मेरो पहलमा करिब एक दर्जन झोलुङ्गे पुल निर्माणको प्रक्रियामा छन् । बबई नदी, पातु खोला, गुहार खोलामा तटबन्ध बनाउने काम गरेकी छु । यहाँ धेरै ठाउँमा बोरिङ राखिदिएकी छु ।

यहाँ मेरो प्रयासमा तमाम योजना अगाडि बढेको जनताले महसुस गर्नु भएको छ । मलाई जिताउँदा आगामी दिनमा पनि तमाम काम हुने यहाँको जनताको विश्वास छ । ‘म जे कुरा गर्छु, त्यो पुरा गर्छु’ भन्ने मेरो नारा हो ।

गाउँमा जाँदा मतदाताले सानोसानो कुरा खोज्नुभएको छ । तपाईं त फर्केर आउनु हुन्न होला । भोट कसरी दिने ? हिजो जितेका मान्छे अहिलेसम्म फर्केर आएन । हाम्रो फोन उठाउनु हुन्न होला भन्ने खालका कुरा गर्नु हुन्छ । जनताको ठूलो माग छैन ।

घर अगाडि चिल्लो बाटो होस्, खेतमा पानी आओस्, हाम्रो बाँध पक्की होस्, तटबन्ध होस् भन्ने भौतिक पूर्वाधारका विषयमा उहाँको जोड छ ।

दाङ–३ का मतादाताका यी समस्या सम्बोधनका लागि पहल गर्न निर्वाचित हुनु पर्ला । तर तपाईंका अगाडि पाँच दलीय सत्ता गठबन्धन चुनौतीको पहाड झै खडा भएको छ । कांग्रेसका ‘हेभीवेट’ नेता दीपक गिरिसँगको प्रतिस्पर्धालाई कत्तिको चुनौती ठान्नु भएको छ ?

चुनौती त भइनै हाल्छ । जनाधार मसँग छ । कोमल वलीलाई जिताउनुपर्छ भन्ने सबैको इच्छा छ । राष्ट्रियसभामा मैले उठाएका मुद्दा र सम्बोधनबाट उसमा परिपक्वता छ, संघर्ष गरेर आएकी छोरी हो भन्ने मेरोप्रति आम बुझाइ छ ।

म विगत पाँच—सात वर्षदेखि यहाँ जनताको बीचमा छु । हामीलाई बुझ्ने नेतृ रहेछ, हाम्री छोरी, चेलीबेटी पनि हो भन्ने खालको कुरा छ । सबैको मनोविज्ञान कोमल वलीतिर छ । हाम्रो ठाउँमा नआउनु भए पनि हुन्थ्यो, हामीले कोमल वलीलाई मत हाल्ने मन बनाइसकेका छौँ भन्नु हुन्छ । त्योभन्दा म गद्गद् हुन्छु । धेरै वर्षदेखि एउटै मान्छेलाई के भोट दिइराख्ने भन्ने पनि छ । उहाँ ४८ सालदेखि राजनीतिमा हुनुहुन्छ । जित–हार त हुन्छ नै । म सबैको विश्वासिलो उम्मेदवार हुँ । हाम्रो एजेण्डा पनि बलियो छ ।

एमालेमा लामो संघर्ष गरेका पुराना नेतालाई पन्छाएर नेतृत्वको विश्वास जितेर टिकट हत्याएपछि केही नेताले तपाईंलाई स्वीकारेको अवस्था छैन भन्ने छ । अवस्था त्यस्तै हो ?  

यहाँ कोही उम्मेदवार नै हुनुहुन्थेन । उम्मेदवारी सिफारिस गर्दा हामीले युवराज ज्ञवालीज्यूलाई सम्मान स्वरुप पठाएका थियौँ । साथै घनश्याम पाण्डे र कोमल वलीको नाम पनि सिफारिस भएको थियो । एक नम्बरमा सिफारिस गरिएका युवराज ज्ञवालीज्यू चुनाव लड्न तयार हुनु भएन । त्यसपछि हामी २ जना थियौँ ।

अहिले महिलालाई स्थान दिनु पनि पर्‍यो त । म चुनाव लड्न चाहन्छु, जित्न चाहन्छु, जनतासँग जान चाहन्छु भनेर जो अगाडि आउँछ, उसलाई अवसर पनि दिनुपर्छ । त्यसमा पनि म पार्टीको सबै तहबाट सिफारिस भएकी हुँ । अहिले पार्टी पंक्तिका कुनै द्विविधा छैन ।

मेरो उम्मेदवारीमा पार्टी पंक्ति खुसी छ । हाम्रो जिल्ला अध्यक्ष हुकुम बस्नेत ३ नम्बर क्षेत्रको (ख)बाट उम्मेदवार हुनुहुन्छ भने पहिलाको मेयर अनुभवी युवा नेता घनश्याम पाण्डे प्रदेश (क)को उम्मेदवार हुनुहुन्छ । हाम्रो एकदमै केमिस्ट्री मिलेको छ ।

चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ ?

हामी राम्रोसँग चुनाव जित्छौँ । आमाबुबा दाइभाइ, दिदीबहिनीको विश्वास कोमल वलीमाथि छ । हुकुम बस्तेतमाथि छ, घनश्याम पाण्डेमाथि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप