शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था'

बिहीबार, ०१ मङ्सिर २०७९, १६ : १६
बिहीबार, ०१ मङ्सिर २०७९

निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था मिलाएको बताएको छ । निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाइसकेको बताएको हो ।

निर्वाचनको सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनले ३० मिनेटभित्र मतदान केन्द्रमा पुग्न सक्नेगरी सुरक्षाकर्मीको रिजर्भ फोर्सकोसमेत व्यवस्था गरिएको बताए । त्यस्तै निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने लगायतका गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको उनले उल्लेख गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले जोखिमका आधारमा सुरक्षा गस्ती परिचालन गरिने र संवेदनशीलतालाई ध्यान दिँदै अधिकार सम्पन्न घुम्ती टोली परिचालन गरिने जानकारी दिए । उनले मतदान केन्द्रमा असर पु¥याउने खालका कुनैपनि प्रकारका गतिविधि भएमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक लगायत जसले पनि सूचना दिन र अनुचित क्रियाकलाप गरोकी कानूनी कारबाही गर्न निर्देशन दिएको बताए ।  

आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको जनाएको छ । १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । यस्तै १४१ अस्थायी मतदान केन्द्र रहेको र ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने उनले बताए । थपलियाकाअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् भने प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीमा २ हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम गरिएको छ  । त्यस्तै प्रदेश सभाको प्रत्यक्षतर्फ ३ हजार २२४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीमा ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचिमा कायम गरिएको छ ।

थपलियाले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र छपाई गरी ढुवानी गरिएको बताए । त्यस्तै प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि ३ करोड ९८ लाख १६ हजार ५०० मतपत्र छपाई गरी ढुवानी गरिएको उनले उल्लेख गरे । उनले निर्वाचन पर्यवेक्षणका लागि ४४ वटा राष्ट्रिय संस्था र २ वटा अन्तर्राष्ट्रिय संस्थाले आयोगबाट अनुमति पाएको र पर्यवेक्षकले प्रतिनिधि सभा र प्रदेश सभाका  सबै निर्वाचन क्षेत्रमा पर्यवेक्षण गर्ने बताए ।  आयोगले करिव ७ हजार ५०० जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराएको जानकारी दिए ।  

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिव २ लाख ४६ हजार ९६० कर्मचारी तथा सुरक्षाकर्मी मतदानस्थल पुगिसकेका बताए । मतदान शुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण निषेध गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप