जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै
मित्र राष्ट्र जापानका विदेश राज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै छन् ।
उनी निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लागेको नेपालस्थित जापानी दूतावासले जनाएको छ । नेपालमा यसअघि वि.सं २०७४ को आमनिर्वाचनमा जापान सरकारले पूर्व उपमन्त्री होरी इवाओ एचईको नेतृत्वमा निर्वाचन पर्यवेक्षण टोली पठाएको थियो ।
मन्त्री ताकेई जापानबाट नेपाल निर्वाचन पर्यवेक्षकका रूपमा पठाइने उच्च अधिकारी हुन् । “नेपालको थप विकास र समृद्धिका लागि लोकतान्त्रिक शासन व्यवस्था अपरिहार्य भएकाले आसन्न निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्णरूपमा सम्पन्न हुनुपर्ने आवश्यकतामा जापानले जोड दिएको छ”, दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
दुई दिने नेपाल बसाइका क्रममा उनले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ ।