शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देही–५ का मतदातालाई मल र सिँचाइको चिन्ता

बिहीबार, ०१ मङ्सिर २०७९, १४ : २३
बिहीबार, ०१ मङ्सिर २०७९

बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ मा लामो समयदेखि नेपाली कांग्रेसका भरत शाहले प्रतिनिधित्व गर्दै आएका छन् । २०५६ सालको संसदीय निर्वाचनदेखि लगातार चुनाव लड्दै आएका उनले २०६४ सालबाहेक हरेक निर्वाचनमा  जित हासिल गर्दै आएका छन् ।

अहिले शाहका मुख्य प्रतिस्पर्धी रुपन्देही तिलोत्तमा नगरपालिका पूर्व मेयर वासुदेव घिमिरे छन् । तिलोत्तमा क्षेत्र नम्बर २ मा परे पनि घिमिरे क्षेत्र नम्बर ५ मा पुगेर शाहलाई टक्कर दिँदैछन् ।

शाह नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनी विरुद्ध एमाले–राप्रपा–जसपा गठबन्धनले एमालेका घिमिरेलाई प्रतिस्पर्धामा उठाएको छ ।

शाह र घिमिरेलाई प्रचार अभियानका क्रममा मतदाताले ठुला योजनाभन्दा पनि आफूहरूलाई मलखाद र सिँचाइ र पिउने पानी जस्तामा मुद्दामा जसले ध्यान दिन्छ, त्यसैलाई मतदान गर्ने सुनाएका छन् । उक्त क्षेत्रको गौडहवा गाउँपालिका–३, मागलपुरका सडक छेउमा चिया पसलमा भेट भएका ३९ वर्षका राम अचल कहारले विकासको लागि आशावादी नेताको रूपमा भरत शाह भए पनि आफूलाई मलखादको समस्या पर्दा ध्यान दिनुपर्ने माग राखे ।

चुनाव प्रचारका क्रममा आएका कांग्रेस नेता शाहलाई उनले भने, ‘हजुरले अन्य धेरै विकास गर्नु भएको छ, हामीलाई खेती लगाउने बेलामा मलखाद, सिँचाइमा विशेष ध्यान दिनुहोला, मेरो ३ बिगाहा जग्गामा सिँचाइ र मलखादको समस्याले गर्दा राम्रो उब्जनी हुन सकेको छैन ।’

एमालेका उम्मेदवार वासुदेव घिमिरेसँग पनि मतदाताले यस्तै सानातिना समस्या सुनाए । उनलाई मलको समस्या, सिँचाइको समस्या मतदाताले सुनाएका छन् ।

रुपन्देही क्षेत्र नम्बर ५ मा स्वतन्त्रसहित १७ जना उम्मेदवार छन् । तर मुख्य प्रतिस्पर्धा शाह र घिमिरेबीच नै हुने देखिएको छ ।

सत्ता गठबन्धनका उम्मेदवार शाह रुपन्देही–५ मा आफूले धेरै विकास गरेको बताउँछन् । उनले शिक्षा, स्वास्थ्य, विकास र बेरोजगारी हटाउने आफ्ना एजेण्डा भएको बताए । उनले आफू अर्थ राज्यमन्त्री रहँदा राज्यको बजेट परिचालन गरी बनाएका पुल, बाटो र खानेपानीलगायतका योजनाका कारण आफूलाई मतदाताले विजयी गराउने विश्वास व्यक्त गरे । अझै पनि धेरै काम गर्न बाँकी रहेको भन्दै उनले बाँकी काम पूरा गर्न मतदाताले आफूलाई फेरि पनि जिताउने दाबी गरे ।

एमाले गठबन्धनका उम्मेदवार घिमिरेले विश्व शान्तिको मुहान लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देही–५ मा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, र सरसफाइलाई प्राथमिकता दिने बताए ।

उनले तिलोत्तमा नगरपालिकामा जस्तै क्षेत्र नम्बर ५ मा पनि विकासका काम गरेर देशमै परिचित बनाउन शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास योजनालाई आफूले प्राथमिक एजेण्डा बनाएको बताए ।

उनले कञ्चन, लुम्बिनी सांस्कृतिक, गैडहवा र सैनामैनाको उर्बर भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउने, पर्यटन क्षेत्रबाट आर्थिक विकासमा विशेष योजना ल्याउने र स्थानीयको जीवनस्तर विकास गर्ने आफ्नो प्राथमिकता रहेको बताए ।

रुपन्देही क्षेत्र नम्बर ५ मा सैनामैना नगरपालिकाका ५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्म, मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिका पर्छन् ।

स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतअनुसार यहाँ एमाले पहिलो दल हो । गठबन्धन हुँदा पनि सत्तारुढ दलहरूभन्दा एमाले गठबन्धन ६ हजारभन्दा बढी मतले अगाडि छ ।

वडाध्यक्षमा आएको मतअनुसार एमालेको २७ हजार १४५, जसपाको ९ हजार ३३७ र राप्रपाको २ हजार ८१३ मत छ । तीनै पार्टीको मत जोड्दा ३९ हजार २९५ हुन्छ । त्यस्तै कांग्रेसको २६ हजार ८८८, माओवादीको ४ हजार ६२६ र नेकपा एसको १ हजार १६३ मत छ । सत्ता गठबन्धनको कुल मत ३२ हजार ६७७ हुन्छ ।

सत्ता गठबन्धनमा रहेको लोसपाको यहाँ ३ हजार ५५६ मत छ । जनमत पार्टीको ५ हजार ६५६ मत देखिन्छ । तर जनमत पार्टी यहाँ कुनै गठबन्धनमा छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप