शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

झापामा राजेन्द्र लिङ्देनलाई पछ्याउँदा...

बिहीबार, ०१ मङ्सिर २०७९, १२ : २९
बिहीबार, ०१ मङ्सिर २०७९

आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि झापा क्षेत्र ३ मा कृष्ण सिटौला र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा छन् । यस अघिको निर्वाचनमा सिटौला लिङ्देनबाट पराजित भएका हुन् । लोकतन्त्रवादी सिटौला र राजावादी लिङ्देन दुवै झापाबाटै उदाएका नेता हुन् । कांग्रेस नेता सिटौला पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन् भने राप्रपा नेता लिङ्देनलाई एमालेको साथ छ ।  अहिले उनीहरू जुन क्षेत्रमा चुनाव लड्दै छन्, त्यहाँ अधिकांश उत्पीडित जनता भूमिहीन र नागरिकताविहीन अवस्थामा छन् । 

शनिबार बाह्रदशी गाउँपालिका– १, वडाचोक (डिग्लीबारी) मा भइरहेको अष्टजाम पूजामा लिङ्देनले उपस्थिति जनाउने कार्यक्रम थियो । रातोपाटी टिमलाई लिङ्देनले त्यही ठाउँमा समय दिएका थिए । चुनावी प्रचार–प्रचारको व्यस्तताका बीच लिङ्देनले अष्टजाम पूजा कार्यक्रममा उपस्थिति जनाए र त्यहाँबाट फर्कंदै गर्दा दिउँसोको २ बजेतिर हामीलाई गाडीमै अन्तर्वार्ता दिए । 

उनलाई पर्खंदै गर्दा हामीले त्यस वरपरका बस्ती नियालेका थियौँ, वडाचोक (डिग्लीबारी)मा सन्थालहरूको बस्ती छ । यहाँका ७० वर्षीय भोला मर्डी (सन्थाल)को नाममा कुनै जमिन छैन । साहुको जग्गामा छाप्रो बनाएर बसेको उनको परिवारले अरुको जग्गामा अधियाँ गरेर जीविका चलाउँछ । आठ परिवारका अभिभावक मर्डी भन्छन्, ‘हामीलाई त जग्गा, घर चाहियो । जग्गा दिने भनेर पञ्चायतकालदेखि हामीलाई फारम भराएका हुन् तर जग्गा पाएका छैनौँ ।’ 

यही टोलका २९ वर्षीय चरण मर्डी (सन्थाल) अरुको जग्गामा अधियाँ गरेर जीविका चलाउँछन् । उनको तीनजनाको परिवार मालिकले दिएको जग्गामा बस्दै आएको छ । उनका अनुसार, जग्गा उपलब्ध गराउन यस टोलका भूमिहीनलाई वडाले ५० रुपैयाँ शुल्क लिएर फारम भराए पनि जग्गा उपलब्ध भएको छैन । ‘हामीलाई त गाँस, बास र कपास चाहिन्छ,’ कक्षा १० सम्म पढेका चरण भन्छन्, ‘ट्युसन पढ्ने पैसा नभएकाले मैले एसएलसी दिन सकिनँ । खानका लागि अरुको जग्गामा खेती गर्नैपर्छ । आधा साहुलाई बुझाएर कति नै हुन्छन् र ?’ उनका अनुसार, यहाँ नागरिकताविहीनहरू धेरै छन् । उनका बुवा माझी मर्ली अहिले ८० टेके, बुवाले ०६३ सालमा मात्रै नागरिकता पाएको उनी बताउँछन् । 

३४ वर्षीय सुकोल मुर्मु (सन्थाल) अघिल्लो स्थानीय सरकारमा एमालेका तर्फबाट वडा १ का वडा सदस्य थिए । उनका अनुसार, वडा १ मा डेढ सय जनाजतिको नागरिकता छैन । सत्तासँग पहुँच नभएकैले यहाँका सन्थाल लगायतसँग जमिन र नागरिकता नभएको उनी बताउँछन् । ‘हाम्रो पालामा यहाँका भूमिहीनलाई फारम भराएका थियौँ । त्यसको प्रमाणीकरण हुन नपाउँदै हाम्रो कार्यकाल सकियो,’ उनले भने, ‘भूमिहीनलाई जग्गा उपलब्ध गराउन केन्द्र सरकारले नै पहल गर्नुपर्छ ।’  

एसएलसी पास गरेका पूर्ववडासदस्य मुर्मु पनि भूमिहीन हुन् । उनी यहाँका जनतालाई मात्रै होइन, देशभरि जति पनि भूमिहीन र नागरिकताविहीन व्यक्ति छन्, उनीहरूलाई राज्यले नागरिकता दिएर गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने बताउँछन् । 

बाह्रदशी गाउँपालिकाका प्रवक्ता तथा वडा १ का वडाध्यक्ष टेकबहादुर सिंह राजवंशीका अनुसार, अघिल्लो सरकारले बाह्रदशी गाउँपालिकाका भूमिहीनहरूलाई फारम भराए पनि सबै वडाको प्रमाणीकरण भएको छैन । ‘यो निर्वाचनपछि यस सम्बन्धी कामलाई अगाडि बढाउनेछौँ,’ उनले भने । 

राजेन्द्र लिङ्देन भने केही प्रतिगमनकारी मुद्दासहित चुनावी मैदानमा छन् । उनले रातोपाटीसँगको कुराकानीमा भने, ‘प्रदेशको खारेजी, समानुपातिक सांसदले मन्त्री हुन नपाउने व्यवस्था, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, अभिभावकीय संस्थाको रुपमा राजा रहने, केन्द्र र बलियो स्थानीय तह रहने, ०४६ सालपछिका उच्च पदस्थ नेता कर्मचारीहरूको सम्पत्तिको छानबिन, समयमै मल बिउको उपलब्धता, मल कारखानाको स्थापना, स्वास्थ्य र शिक्षा निःशुल्क, समान न्याय, देशभित्रै सशक्त उद्योग धन्दाहरूको स्थापना भएर रोजगारीको सिर्जना हुने– यी विषय हामीले उठाएका छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप