आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

देशव्यापी रुपमा गठबन्धन सफल भइसक्यो : पुन

बिहीबार, ०१ मङ्सिर २०७९, ०९ : २९
बिहीबार, ०१ मङ्सिर २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ गठबन्धन सफल भएको बताएका छन् । धेरैले गठबन्धन बीचैमा टुट्ने बताए पनि उनले गठबन्धन थप बलियो भएको र चुनावमा एकअर्का दललाई सतप्रतिशत मत ‘ट्रान्सफर’ हुने अवस्था निर्माण भएको बताए । 

नेताहरुको सत्ता स्वार्थका कारण नभइ आफूहरुले केपी ओलीको निरंशुकता र प्रतिगमनविरुद्ध सैद्धान्तिक गठबन्धन निर्माण गरेको उनको भनाइ थियो । देशव्यापी रुपमा देखिएको जनलहर देखिएको भन्दै उनले गठबन्धनका उम्मेदवारहरुको विजयको औपचारिक घोषणामात्र बाँकी रहेको उल्लेख गरे ।

 ‘धेरैले सत्ता स्वार्थका लागि गरिएको गठबन्धन धेरै दिन नटिक्ने भनेका थिए । जनताले त्यस्तो दाबीलाई अस्वीकृत गरेका छन् । यो गठबन्धन केपी ओलीको प्रगितमनविरुद्धको गठबन्ध हो । दुई दुईपटक संसद विघटन गरेपछि गरिएको सैद्धान्तिक गठबन्धनले हो’, गृहजिल्ला रोल्पाको लिवाङमा आयोजित घरदैलो कार्यक्रमपछिको सभालाई सम्बोधन गर्दै पुनले भने, ‘गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गरेको छ ।  जसले केपी ओलीको स्वेच्छाचारिता, निरंकुशता र तानाशाही प्रवृत्तिविरुद्ध संघर्ष गरेको छ । राष्ट्रव्यापी रुपमा गठबन्धनमा पक्षमा देखिएको जनलहरले गठबन्धन सफल भएको पुष्टि भइसकेको छ ।’ 

ओलीले सबैलाई गाली गर्ने र होच्याउने काम मात्र गरेको उनको टिप्पणी  थियो । पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले मुलुकको अर्थतन्त्र संकटग्रस्त हुनुमा ओली जिम्मेवार रहेको आरोप लगाए । ओली प्रधानमन्त्री बन्नुअघि सात खर्ब हाराहारीमा रहेको वैदेशिक ऋण बढेर २१ खर्ब पुगेको तथ्याङ्क उनले प्रस्तुत गरे । 

‘विगतमा सात खर्ब हाराहारीमा रहेको ऋण ओली प्रधानमन्त्री भएपछि २१ खर्ब पुगेको छ । झन्डै झन्डै ओलीले ७० हजारको हाराहारीमा ऋण बढाउने काम गरेका छन्’, पुनले भने, ‘जनताले बैंकबाट पैसा लिएर व्यवसाय गर्छु भन्न पाउँदैन । बैंकमा पैसा छैन । हामी गठबन्धनको सरकार बनेपछि बैंकमा पर्याप्त मौज्दात हुने वातावरण बनाउछौं । राज्यले गर्नुपर्ने खर्च नगरेर जनताको गोजी रित्याउने काम हुँदैन ।’ 

राज्यले पैसा खर्च गरेपछि जनताले सस्तोमा ऋण पाउँने र अर्थतन्त्र चलायमान हुने उनको भनाइ थियो । ‘पैसा सरकारको ढुकुछटीमा थुपारेर राख्ने होइन । जनताको आयस्तर बढाउन उद्योग र ठूला आयोजनाहरु निर्माण गर्नुपर्छ’, पुनले भने । पुनले आफूहरु ओलीको जस्तो गफ मात्र नगर्ने भन्दै जनतालाई सडक, खानेपानी, विद्यालय, अस्पताल र कृषिमा आधुनिकीकरण चाहिएको बताए । 

सत्ता गठबन्धन कम्तीमा पाँच वर्ष टिक्ने भन्दै उनले राजनीतिक स्थायित्व, सुशासन, विकास र सम्बृद्धिका लागि काम गर्ने बताए । उनले ओलीले जस्तै आफूहरुले  संसद विघटन नगर्ने र लोकतन्त्रका नाममा निर्वाचित तानाशाही प्रवृत्ति नदेखाउने प्रतिबद्धता जनाए । ‘ओली तन्त्रमा जस्तो सरकार र नेताले गल्ती गर्दा आलोचना गर्न र लेख्न नपाउने अवस्था गठबन्धन सरकारका कारण आउँदैन’, पुनले भने, ‘लोकतन्त्र नेताको पेवा र सत्ता स्वार्थका लागि दुरुपयोग गर्ने वस्तु होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप