बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

हामी दोब्बर मतान्तरले जित्छौँ : स्वाती थापा

बिहीबार, ०१ मङ्सिर २०७९, ०७ : १५
बिहीबार, ०१ मङ्सिर २०७९

रुपन्देही-३ लाई यस चुनावमा विशेष महत्वका साथ हेरिरहेका छन् । यस क्षेत्रबाट सत्तारुढ गठबन्धनबाट बालकृष्ण खाण उम्मेदवार रहेका छन् भने एमाले, राप्रपा र जसपाबाट दीपक बोहोरा साझा उम्मेदवार बनेका छन् । यी दुई नेताबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यसै सन्दर्भमा चुनावी सेरोफेरोमा केन्द्रित रहेर संयुक्त निर्वाचन परिचालन कमिटी रुपन्देही-३ की संयोजक​ तथा राप्रपा नेतृ स्वाती थापासँग गरिएको कुराकानी :

​​रुपन्देही–३ का राप्रपा उम्मेदवार दीपक बोहरा बोल्न नसक्ने अवस्था रहेछ । खास भएको के हो ?

उहाँलाई पोष्ट कोभिडका कारण बोल्नका लागि समस्या भएको हो । डाक्टारको सुझाव सल्लाह अनुसार स्पिच थेरापी गरिराख्नु भएको छ । कुनै दीर्घकालीन समस्या होइन । हालको लागि समस्या हो । अरु कुनै प्रकारको रोग छैन ।

हामीले काठमाडौं, दिल्लीमा चेक गराउँदा कुनै समस्या छैन । उहाँ बिहानदेखि रातिसम्म पूर्ण रुपमा निर्वाचन परिचालन गरिराख्नु भएको छ । हामी अहिले राप्रपा, एमाले र जसपाको तालमेल र सहकार्यमा छौँ । उहाँले सबै परिचालन गरिराख्नु भएको छ । उहाँको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता गर्नु पर्ने केही छैन ।

उहाँ कहिलेसम्ममा बोल्न सक्ने हुनुहुन्छ ?

उहाँलाई अझै एक दुई महिना लाग्ला । बिस्तारै सुधार हुँदैछ ।

दीपक बोहराले अगाडि सारेका खास एजेण्डा के छन् ?

यो ठाउँमा विकास कामहरु सडक, विद्युतीकरण, सिँचाइको लागि भैलो भुज परियोजना उहाँकै नेतृत्वमा भएको हो । यस्तै विगतमा बुटवलको दीपनगर भन्ने ठाउँमा सुकुमबासी समस्या समाधान गर्न उहाँको नामबाट दीप नगर भन्ने बस्ती नै बसाल्नु भएको हो ।

उहाँले स्थानीय तह, राष्ट्रिय तहमा शिक्षा, स्वास्थ्यको लागि थुप्रै योजनाहरु लिएर काम गर्नु भएको छ । उहाँ पटक पटक मन्त्री बन्दा पनि धेरै काम गर्नु भएको छ । गौतमबुद्ध विमानस्थलको स्तरोन्नति उहाँकै पहलमा भएको हो । शिक्षाको क्षेत्रमा, स्वास्थ्य बिमाको काम भएको छ ।

 ​बोहरालाई रुपन्देहीका मतादाताले किन मतदान गर्ने ?

म फेरि पनि भन्छु, ५० वर्षदेखिको राजनीतिक निरन्तरता, स्थानीय विकास निर्माण र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय राजनीतिमा पहुँच र प्रभाव राख्न सक्ने क्षमता उहाँमा छ । सबै पार्टीका शीर्ष नेताहरूसँग पनि सम्बन्ध राम्रो छ ।

दीपक बोहराले विगतमा धेरै राष्ट्रिय गौरवको आयोजनाहरू, एडीबीको कार्यक्रमहरू रुपन्देही क्षेत्र नम्बर ३ मा ल्याउन सफल हुनुभएको हो । राप्रपाको वरिष्ठ नेता बोहरा, जसपाको केन्द्रीय नेता महेन्द्र यादव र एमालेको केन्द्रीय नेता तुलसी चौधरीको पक्षमा यति बेला रुपन्देही क्षेत्र नम्बर ३ मा माहौल तयार भइसकेको छ ।

 जितको आधार के छ ?

जितको मुख्य आधार हाम्रो संयुक्त प्रतिबद्धता हो । हामी हाम्रो क्षेत्र, जिल्ला, प्रदेश र सिङ्गो देशका जनताको जीवनस्तर कसरी उकास्ने भन्ने विषयमा दशकदेखि योजना, नीति र छलफल चलाएर अगाडि बढेका राष्ट्रवादी शक्तिहरूको तालमेल र जनविश्वास नै हाम्रो जितको आधार हो ।

अर्कोतर्फ गणितीय हिसाब गर्दा पनि हामीले जितिसकेका छौँ । हाम्रो तीन दलीय सहकार्य र तालमेल अत्यन्तै व्यवस्थित छ । यी तीनै पार्टी यो क्षेत्रमा अलगअलग हुँदा पनि बलिया छन् । एकै ठाउँ भएपछि त्यसको परिणाम झन् सशक्त भएको छ । यसैले हामी दोब्बर मतले जित्दैछौँ ।

०७० मा रुपन्देही–३ मा राप्रपाले जितेको, ०७४ मा एमालेले जितेको इतिहास छ । स्थानीय निर्वाचनमा यो क्षेत्रका पालिकामा यी तीन पार्टीले पाएको प्राप्त मत विश्लेषण गर्दा पनि हामी १२ हजार ७ सय बढी मतले अगाडि छौँ ।

बहालवाला गृहमन्त्रीसँग प्रतिस्पर्धा हुँदैछ । त्यसलाई राप्रपाले कसरी लिएको छ ? 

यहाँ गृहमन्त्रीज्यू चुनाव लडिरहनु भएको छ । यहाँ प्रशासन परिचालन चित्त बुझ्दो छैन । शक्तिको दुरुपयोग भएको छ । चुनावलाई फेयर रूपमा गर्नुपर्छ । चुनाव निष्पक्ष रूपमा हुन्छ भन्नेमा हामी सशंकित छौँ । शक्ति र सत्ता दुरुपयोग गर्न भएन, अहिले म यति नै भन्न चाहन्छु । उहाँ चुनावी मैदानमा आउँदा गृहको बलमा आउन हुँदैनथ्यो । तर हामी जनताको बलले अगाडि बढेका छौँ । 

राप्रपाले चुनाव जित्छ ?

हामीले भारी मतले जित्छौँ । हामीले विकासका काम गरेका छौँ । उहाँहरूले विकासका काम गर्नु भएको छैन । उहाँले काम केही गर्नु भएको छैन । उहाँहरूबाट खाली यो पद दिन्छु, त्यो पद दिन्छु मात्रै भन्ने काम भएको छ । त्यसको आधारमा कसरी चुनाव जित्न सकिन्छ ? 

देशभर ५ दलीय गठबन्धन हुँदा रुपन्देहीमा मात्रै ६ दलीय गठबन्धनमा छ । त्यो लडाइँलाई कसरी हेर्नु भएको छ ?

यो दलीय गठबन्धन, विचार सिद्धान्त कसरी मिल्यो भन्ने कुरा अर्को पाटो भयो । यहाँ मिल्दै मिल्न नसक्ने मान्छेहरू मिल्नु भएको छ । त्यही नै अचम्मलाग्दो कुरा हो । तर हामी एमाले, राप्रपा र जसपाको तालमेल छ, त्यो नै लोकप्रिय र पवित्र काम भएको छ ।  

सिद्धान्तको कुरा उठाउनु भयो । एमाले, जसपा र राप्रपाको सिद्धान्तमात्र होइन, उद्देश्य र लक्ष्यसमेत मिल्दैन । त्यो तालमेल कसरी पवित्र भयो ?

 राष्ट्रमा बेथिति धेरै भए । राष्ट्र धेरै सङ्कटमा भएकाले हामी राष्ट्र बचाउन एक भएर हिँडेका छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप