बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मतदाताले काम गर्ने व्यक्तिलाई चुन्नु हुन्छ : बालकृष्ण खाँण

बिहीबार, ०१ मङ्सिर २०७९, ०७ : १२
बिहीबार, ०१ मङ्सिर २०७९

 

रुपन्देही-३ लाई यस चुनावमा विशेष महत्वका साथ हेरिरहेका छन् । यस क्षेत्रबाट सत्तारुढ गठबन्धनबाट बालकृष्ण खाण उम्मेदवार रहेका छन् भने एमाले, राप्रपा र जसपाबाट दीपक बोहोरा साझा उम्मेदवार बनेका छन् । यी दुई नेताबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यसै सन्दर्भमा  चुनावी सेरोफेरोमा केन्द्रित रहेर गृहमन्त्री खाँणसँग गरिएको कुराकानी प्रस्तुत छ​ :

रुपन्देहीमा ६ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार हुनुहुन्छ, चुनावी प्रचार–प्रसार कसरी अगाडि बढेको छ ? 

चुनावी परिचालनमा हामीले सम्पर्क कार्यालय स्थापना गर्‍यौँ । पार्टी कार्यकर्ताहरूको भेला गर्‍यौँ । कार्यकर्ताहरूको प्रशिक्षण पनि विभिन्न चरणमा भयो । भ्रातृ संस्थाको भेला तथा प्रशिक्षण भएका छन् । प्रत्यक्ष जनतासँग सरोकार राख्ने कार्यक्रमहरू भेला, कोणसभा, घरदैलो हुँदैछ ।

कोणसभा र घरदैलोमा जनतासँग जोडिँदा जनताको अपेक्षा के के पाउनु भयो ?

अहिले नेपालको लागि विकास चाहिएको छ । जनताको लागि अवस्थाको परिवर्तन चाहियो । जनताको जीवनस्तर उकास्नु पर्‍यो । रोजगारी चाहियो । गरिबी नेपालबाट हट्नु पर्‍यो । उस्तै व्यावहारिक देखियोस् भन्ने छ ।

जनताको त्यो मागलाई सम्बोधन गर्न खास के एजेन्डा लिएर चुनावी प्रतिस्पर्धामा जानु भएको छ ? 

अहिले खास गरेर नेपाली नेपाली कांग्रेस र वामपन्थी बीचमा सहमति हुँदा नेपालमा धेरै ठूला–ठूला राजनीति उपलब्धि भएका छन् ।

जनताले चुनेको प्रतिनिधिबाट संविधान बनेको छ । व्यवस्था बदलियो, अब अवस्था बदल्नु छ । त्यसकारण हाम्रो मूल एजेन्डा नै विकास र आर्थिक वृद्धि हो ।

रुपन्देही–३ मा विगतमा तपाईं जनप्रतिनिधि हुँदा के भयो ? तपाईं जित्दै गर्दा आगामी दिनमा के हुन्छ ? 

यहाँ हिजो पञ्यायती शासनकालमा भौतिक पूर्वाधारको विकास  सुरुवात मात्रै भएको थियो । धेरै विकास भएको छैन । अहिले धेरै बाटो बनेको छ । पुल बनेको छ । स्वास्थ्यको लागि धेरै काम भएको छ । यहाँ भौतिक विकास तीव्र रूपमा अगाडि बढेको छ । तर अझै चित्त बुझ्दो रूपमा छैन । अझै थप्नुपर्छ ।

यहाँ सत्ता गठबन्धन सँगै विपक्षीले पनि गठबन्धन गरेर अगाडि आएको छ । विपक्षीसँगको चुनावी प्रतिस्पर्धालाई कसरी लिनु भएको छ ? 

निर्वाचन जहिले पनि चुनावी प्रतिस्पर्धा नै हुन्छ । त्यो प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिँदै जनताको माझमा जाने र जनताको विश्वास लिएर आगाडि जाने हो । जनताले जसलाई पत्याउँछ, त्यो निर्वाचित हुन्छ भन्ने मेरो मान्यता हो । त्यसको लागि काम भइरहेको छ ।

स्थानीय तहको मत आधारमा सत्ता गठबन्धन पछाडि देखिन्छ । साथै ६ दलीय गठबन्धनमा मत ट्रान्सफरको समस्या पनि होला । त्यो चुनौतीलाई कसरी लिनुहुन्छ ?

स्थानीय तहको निर्वाचन एउटा परिस्थितिमा भएको थियो । त्यो बेला वडा अध्यक्ष, नगर, गाउँपालिका सदस्यहरूको व्यक्तित्व, जनसम्पर्क, त्यो उहाँहरूले गरिएको चुनावी परिचालनले प्रभाव पारेको थियो होला । स्थानीय चुनावमा जे मत आएको छ, त्यो मत सदाका लागि रहिरहन्छ भन्ने होइन । बढ्न पनि सक्छ, घट्न पनि सक्छ । 

त्यसो भए चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ ?

जनता माझमा जाँदा सद्भाव र सहयोग छ । रुपन्देही जिल्लाको गौरवको लागि काम गर्नु भएको छ, विकास निर्माण पनि थुप्रै गर्नु भएको छ, धेरै विकास योजनाहरू अगाडि बढाउनु भयो भन्ने कुरा यहाँका मतदाताले गर्नुभएको छ ।

आउने दिनमा यी आयोजनाहरूलाई आगडि बढाउनु होला, हामीलाई रोजगारी उपलब्ध हुने खालको वातावरण तयार गर्नुहोला भनेर यहाँका हाम्रो ज्येष्ठ नागरिकहरू र युवा साथीहरूले भनिराख्नु भएको छ । यसले मलाई उत्साहित बनाएको छ । चुनाव जित्नेमा द्विविधा छैन । ६ हजार मतान्तरले चुनाव जित्न सक्ने अहिलेसम्मको रिपोर्ट छ । चुनावका दिनसम्म अझै यो बढ्छ ।

तपाईंले ६ हजार मतान्तरले हामी अगाडि छौँ भन्नु भयो, यसको आधार के हो ?

अहिलेसम्म ६ हजारले अगाडि छौँ । आन्तरिक मत सर्वेको आधारमा हाम्रो मत बढिरहेको छ । यहाँ मतदाता बोल्ने र काम गर्ने उम्मेदवार चुन्न आतुर हुनुहुन्छ ।

तपाईंको प्रतिस्पर्धीले चुनावको निष्पक्षतामाथि आशंका गरिराख्नु भएको छ । त्यसलाई यहाँले के भन्नुहुन्छ ?

हामी अहिले निर्वाचन पूर्ण रूपमा निष्पक्ष, भयरहित रूपमा गर्नका लागि प्रतिबद्ध छौँ । अहिले म सरकारको गृहमन्त्री छु । संविधानले हामीलाई पनि चुनावमा उठ्ने अधिकार दिएको छ । त्यही अधिकार प्रयोग गरेर म उठेको हो । उम्मेदवार भएर घरदैलोमा जाँदा पनि उम्मेदारको रूपमा गइरहेको हो । अहिले सरकारी सवारी साधनको प्रयोग पनि गरेको छैन । झन्डा पनि प्रयोग गरेको छैन । एउटा उम्मेदवार जुन सामान्य खालको सवारी साधन प्रयोग गर्छ, त्यही खालको प्रयोग गरेका छौँ । त्यसमा धेरै नियाल्नु पर्ने अवस्था छैन । कुनै आशंका नगरे हुन्छ ।

मुलुकमा मंसिर ४ गते हुने निर्वाचन निष्पक्ष र भयरहित गराउन सुरक्षा संयन्त्र कसरी परिचालन भएको छ ? निर्वाचन सुरक्षामा ढुक्क हुने अवस्था छ ?

हामी निष्पक्ष चुनाव गराउन प्रतिबद्ध छौँ । नेपालमा सबैजसो संसदीय चुनाव नेपाली कांग्रेसको नेतृत्वमा भएका छन् । ती सबै चुनाव स्वतन्त्र र निष्पक्ष रूपमा भएका छन् ।

हालै हामीले स्थानीय तहको निर्वाचन गरेका छौँ । त्यो निर्वाचन पनि स्वतन्त्र, निष्पक्ष र भयमुक्त रूपमा नै भयो । हाम्रो लक्ष्य नै निर्वाचन स्वतन्त्रपूर्वक नै गर्ने हो । त्यसमा हामी प्रतिबद्ध नै हो । हामीलाई विश्वास पनि निर्वाचनमाथि छ । लोकतन्त्र पद्धतिमाथि हामीलाई विश्वास छ ।

तपाईं सत्ता गठबन्धनको प्रभावशाली नेता पनि हो । आगामी निर्वाचनको परिमाण कस्तो आउने आँकलन गर्नु भएको छ ? 

नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ । सत्ता गठबन्धन सुविधा सम्पन्न बहुमतमा पुग्छ । निर्वचनलाई सहजतापूर्वक नै लिएका छौँ । अहिलेको सत्ता गठबन्धन चुनावपछि पनि जारी रहन्छ ।

मत ट्रान्सफरलाई एक खालको समस्याको रूपमा हेरिएको छ । मत ट्रान्सफर नहुँदा कसरी बहुमत आउँला ?

मत ट्रान्सफरमा समस्या भए पनि अधिकांश मतदाताले गठबन्धनलाई मत दिनुहुन्छ । मतदाताहरूले गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सहयोग पुर्‍याउनुहुन्छ । गठबन्धनका उम्मेदवारहरुले सजिलै बहुमत पुर्‍याउने गरी जित्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप