आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पञ्चेश्वर आयोजना अगाडि बढ्छ : प्रधानमन्त्री देउवा

बुधबार, ३० कात्तिक २०७९, २० : ४३
बुधबार, ३० कात्तिक २०७९

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढ्ने बताएका छन् । बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजित सत्ता गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उनले भन, “पञ्चेश्वर आयोजना बन्छ, पञ्चेश्वर बनेमा यहाँको विकास हुन्छ ।  यसलाई अवश्य अगाडि बढाउँछौँ । पञ्चेश्वरलाई अगाडि बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू पनि सकारात्मक हुनुहुन्छ ।”

यसका साथै उनले पाटन–पञ्चेश्वर सडकखण्ड छिट्टै कालोपत्र हुने बताए । बैतडीको तल्लोस्वराड क्षेत्रमा पहिलेभन्दा अहिले धेरै विकास भएको भन्दै उहाँले अझै अधुरा विकास निर्माणका कार्य अगाडि बढाइने स्पष्ट पारे । उनले भने, “धर्मघाटमा पुल, पाटन–उग्रतारा–मेलौली सडकखण्ड निर्माणलगायतका बाँकी विकास निर्माणका कार्य अगाडि बढाउनेछौँ ।” 

बैतडी सहिद दशरथचन्द र द्वारीकादेवी ठकुरानीको जिल्ला रहेकाले यहाँ गठबन्धनले जित्नु आवश्यक रहेकामा प्रधानमन्त्री देउवाको जोड थियो । “दशरथ चन्द जन्मेको र द्वारीकादेवी ठकुरानीको ठाउँमा आउँदा निकै खुसी छु”, उनले भने, “सहिद दशरथचन्द र द्वारीकादेवी ठकुरानीको जिल्ला रहेकाले यहाँ गठबन्धनका उम्मेदवारले जित्न आवश्यक छ ।”

देश महत्वपूर्ण मोडमा उभिएकाले गठबन्धनलाई विजय गराउन आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । उनले भने, “केपी ओलीले दुई पटक संसद् विघटन गरेकाले यो गठबन्धन बनेको हो । गठबन्धनका उम्मेदवारलाई जिताउनुस्, यो गठबन्धन १०–१५ वर्षसम्म जान्छ । गठबन्धन सरकार लामो समयसम्म अगाडि बढे देश समृद्ध बन्नेछ, देशमा विकास हुनेछ ।” 

सोही सभालाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवाले देशको विकास र आर्थिक समृद्धिका लागि गठबन्धनलाई जिताउन आग्रह गरे । प्रधानमन्त्री देउवा दोस्रोपटक बैतडी पुगेका हुन् । यसअघि कात्तिक २३ गते पनि बैतडीको पाटनमा आयोजना गरिएको चुनावी सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका थिए ।

बैतडीमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) संयुक्त गठबन्धन गरेर चुनावी मैदानमा रहेका छन् । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा रहेका छन् । प्रदेश सभा (१) मा नेपाली कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२)मा नेपाली कांग्रेसका शिवराज भट्ट चुनावी मैदानमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप