शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फिलिपिन्समा जन्मियो विश्वको ‘आठ अर्बौँ’ बच्चा

बुधबार, ३० कात्तिक २०७९, १४ : ५४
बुधबार, ३० कात्तिक २०७९

फिलिपिन्सको मनिलाको डा. जोसे फाबेला मेमोरियल अस्पतालमा नोभेम्बर १५ को बिहान जन्मेकी शिशुलाई ‘प्रतीकात्मक’ आठ अर्बौँ व्यक्तिको रूपमा तोकिएको छ ।

मारिया मार्गरेट भिल्लोरेन्टेबाट जन्मेकी भिनिस मबानसागको जन्ममा जनसंख्या र विकास आयोग (पपकम) का प्रतिनिधिहरू उपस्थित थिए ।

‘विश्वले फिलिपिन्सको डेल्पान, टोन्डोका भिनिस मबानसागलाई प्रतीकात्मक ८ अर्बौँ बच्चाको रूपमा स्वागत गर्दछ,’ पपकमको राष्ट्रिय राजधानी क्षेत्र डिभिजनले बेबी भिनिस स्थानीय समयानुसार बिहान १ः२९ मा जन्मेको जानकारी दिएको छ । यसबारे पपकमको आधिकारिक फेसबुक पेजमा समेत जानकारी दिइएको छ ।

बेबी भिनिसको जन्म हुनु अघि, संयुक्त राष्ट्र (यूएन) ले संसारको आठ अर्बौं व्यक्तिको जन्म ‘यस ग्रहका लागि मानवताको साझा जिम्मेवारीलाई विचार गर्दै विविधता र प्रगतिहरू मनाउन कोसेढुङ्गा’ भएको प्रक्षेपण गरेको थियो ।

एजेन्सीले यो वृद्धिलाई सार्वजनिक स्वास्थ्य, पोषण, व्यक्तिगत स्वच्छता र औषधिका साथै उच्च प्रजनन दरमा सुधारको श्रेय दिएको छ ।

जनसङ्ख्या वृद्धिले स्रोतसाधनको अत्यधिक उपभोग गर्ने भएकोले आर्थिक विकासमा असर पार्न सक्ने चिन्ताका बाबजुद संयुक्त राष्ट्र सङ्घीय जनसंख्या कोष (युएनएफपीए) की रचेल स्नोले विश्वको जनसंख्या वृद्धिदर नाटकीय रूपमा घटेको बताइन् ।

संयुक्त राष्ट्रसंघले सन् १९६२ र १९६५ बीचको वार्षिक वृद्धि २.१ प्रतिशतबाट २०२० मा १ प्रतिशतभन्दा तल झरेको र सन् २०५० सम्ममा ०.५ प्रतिशतसम्म झर्ने अनुमान गरेको छ । यसले सन् २०३० मा जनसंख्या ८.५ अर्ब र २०५० मा ९.७ अर्ब पुग्ने प्रक्षेपण गरेको छ । साथै २०८० मा जनसंख्या १०.३ अर्बको आसपास हुने अनुमान गरिएको छ  ।

फिलिपिन्समा यूएनएफपीएकी देशीय प्रतिनिधि डा. लीला साजी जौदानेले आजका ११ करोड फिलिपिन्सले आफ्नो पूर्ण क्षमता र मानवअधिकारको अनुभूति गर्नु अत्यन्तै महत्त्वपूर्ण रहेको बताइन् ।

संयुक्त राष्ट्रले पाँच अर्बौँदेखि सात अरबौँको संख्यामा जन्मिएका बच्चाबारे जानकारी दिएको छ । बीबीसीले उनीहरुबारे जानकारी दिएको छ ।

७ अर्बौँ व्यक्तिको जन्म कहिले भएको थियो ?

बीबीसीको एक रिपोर्ट अनुसार सन् २०११ मा ७ अर्बौँ व्यक्तिको जन्म भएको थियो । त्यतिबेला एउटी बालिका नै विश्वको ७ अर्बौँ व्यक्ति बनेकी थिइन् । ती बालिकाको नाम सादिया सुल्ताना ओशी हो ।

अहिले सादिया ११ वर्षकी भइन् । हाल उनी आफ्नो परिवारसँग बंगलादेशको ढाका बाहिर बस्छिन् । उनी आफ्नो परिवारको ‘लकी चार्म’ पनि मानिन्छिन् । उनका २ दिदीबहिनी छन् ।

मध्यरातपछि करिब एक मिनेटको सी–सेक्शन डेलिभरीमार्फत ओशी संसारमा आएकी थिइन् । त्यसपछि दिउँसो उनलाई सात अरबौँ व्यक्ति घोषित गरिएको थियो । उनको जन्मलगत्तै, सादियालाई स्थानीय अधिकारीहरू र टिभी टोलीहरूले घेरेका थिए। सादियाको जन्मदेखि, बंगलादेशको जनसंख्यामा १७ मिलियन भन्दा बढी मानिसहरू थपिएका छन् ।

सादिया भविष्यमा डाक्टर बन्न चाहन्छिन् । एक अन्तरवार्तामा, उनका बुबाले भने, ‘हामी त्यति सम्पन्न छैनौँ र कोभिडले स्थिति झनै बिगारेको छ । तर, उसको सपना साकार पार्न म सबै गर्छु ।’

विश्वको ६ अर्बौँ व्यक्ति को हुन् ?

यदि ६ अर्बौँ व्यक्तिको कुरा गर्ने हो भने, उनी बोस्नियाका अदनान मेभिक हुन्  । उनको जन्म अक्टोबर १२, १९९९ मा मध्यरातको दुई मिनेटपछि भएको थियो। अहिले उनी साराजेभो बाहिर आफ्नी आमा फातिमासँग बस्दै आएका छन् ।

अदनानकी आमा फातिमाले आफ्नो छोरो जन्मेको दिनको स्मरण गर्दै भनिन्, ‘मैले केही असामान्य अवस्था महसुस गरेँ किनभने डाक्टर र नर्सहरू वरपर भेला भइरहेका थिए तर के भइरहेको थियो भनेर मैले भन्न सकिनँ ।’ उनले आफूलाई विश्वको ६ अर्बौँ बच्चाको नाम दिनका लागि तत्कालीन संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नान आएको बताइन् । उनले थपिन्, ‘म धेरै थाकेको थिएँ, मलाई थाहा छैन मलाई कस्तो लाग्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप