मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ का बहालवाला ९ मन्त्री मैदानमा, कसलाई सकस कसलाई सहज ?

पूर्वमुख्यमन्त्री र मन्त्रीको अवस्था कस्तो छ ?
बुधबार, ३० कात्तिक २०७९, १२ : १२
बुधबार, ३० कात्तिक २०७९

प्रदेश १ प्रदेशसभाको पहिलो ५ वर्षे कार्यकालमा तीन मुख्यमन्त्री बने भने ३० जना मन्त्री तथा राज्यमन्त्री बने । मुख्यमन्त्री तथा मन्त्रीहरू (बहालवाला तथा पूर्व) गरेर १८ जना पुनः आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार बनेका छन् । बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारका ९ मन्त्री चुनावी मैदानमा छन् भने शेरधन राई नेतृत्वको सरकारका ६ जना र भीम आचार्य नेतृत्वको सरकारका ३ जना मन्त्री चुनावी मैदानमा छन् ।

प्रदेश सरकारका २ पूर्वमुख्यमन्त्री शेरधन राई भोजपुरबाट र भीम आचार्य सुनसरीको २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । यस्तै बहालवाला प्रदेश १ का खानेपानी तथा सिंचाईमन्त्री रामकुमार राई खोटाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् ।

पूर्वमुख्यमन्त्री राईले सत्ता गठबन्धनका उम्मेदवार सुदन किरातीसँग प्रतिस्पर्धा गरिरहेका छन् भने अर्का पूर्वमुख्यमन्त्री आचार्यले पनि सत्ता गठबन्धनकै उम्मेदवार सिताराम मेहतासँग प्रतिस्पर्धा गरिरहेका छन् । बहालवाला मन्त्री राईले भने एमालेका उम्मेदवार विशाल भट्टराईसँग प्रतिस्पर्धा गर्दैछन् ।

गत स्थानीय तहमा दलहरुले वडामा प्राप्त गरेको मतलाई विश्लेषण गर्दा प्रदेश सरकारका बहालवाला मुख्यमन्त्रीसहित ७ जना मन्त्रीहरु आगामी चुनावमा सुरक्षित देखिन्छन् । मोरङ ५ (ख) बाट उम्मेदवार बनेका बहालवाला स्वास्थ्यमन्त्री जयराम यादव भने संकटमा देखिन्छन् । उनी नेकपा एमालेको समर्थनमा उम्मेदवार बनेका छन् ।

गत वैशाखमा भएको स्थानीय तहको मतलाई हेर्ने हो भने स्वास्थ्यमन्त्री जयराम यादवबाहेक सबै बहालवाला मन्त्री सुरक्षित देखिएका छन् भने अधिकांश पूर्वमन्त्रीका लागि भने यस पटकको निर्वाचनले राम्रो परिणाम दिनेमा आशङ्का छ ।

बहालवालाको अवस्था के छ ?

प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार भोजपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ‘क’ बाट उम्मेदवार छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव राईको प्रतिस्पर्धामा उनकै पूर्व कार्यकर्ता हरिबहादुर राई नेकपा एमालेबाट चुनावी मैदानमा छन् ।

सो क्षेत्रमा वडाध्यक्ष पदका उम्मेदवारहरुको मतका आधारमा गठबन्धन दल नेपाली कांग्रेसको १४ हजार २६७, माओवादी केन्द्रको ६ हजार १०२ र नेकपा एकीकृत समाजवादीको एक हजार ६६१ मत छ ।

जसअनुसार गठबन्धनको मत २२ हजार ३० हुँदा एमालेको १३ हजार ५०९ मत छ ।

यस्तै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पाँचथर ‘ख’ बाट प्रदेशसभामा उम्मेदवार बनेका छन् । उनी माओवादी केन्द्रबाट भावी मुख्यमन्त्रीको दाबेदार समेत हुन् । सो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्षका उम्मेदवारले १४ हजार २६ मत प्राप्त गर्दा कांग्रेसको १० हजार ८८८, माओवादी केन्द्रको ६ हजार ५६८ र एकीकृत समाजवादीको ८६२ सहित गठबन्धनको मत १८ हजार ३१९ छ । सो क्षेत्रमा एमालेले आइन्द्रसुन्दर नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

यस्तै प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्की उदयपुरको क्षेत्र नं. १ (ख) बाट प्रदेशसभामा उम्मेदवार बनेका छन् । कांग्रेस उदयपुरका सभापति रहेका उनले २०६४ को निर्वाचनमा वाम गठबन्धनलाई पराजित गरेका थिए ।

उदयपुरको त्रियुगा नगरपालिका नै उनको निर्वाचन क्षेत्र हो । नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धामा पनि कांग्रेस नै विजयी भएको थियो । क्षेत्रभरिका वडाध्यक्षको मत एमालेको ११ हजार २७१ छ भने गठबन्धनको मत ११ हजार ५३५ बढी अर्थात् २२ हजार ८०८ छ ।

क्षेत्रमा कांग्रेसको १३ हजार ६४३, माओवादीको ६ हजार २९६ र एकीकृत समाजवादीको २ हजार ८६९ मत छ । उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ईश्वरमणि राउत छन् ।

प्रदेश सरकारको खानेपानी तथा सिंचाईमन्त्री रामकुमार राई खोटाङबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् । २०६४ सालको निर्वाचनमा संविधानसभामा निर्वाचित भएका उनी २०७४ मा प्रदेशसभामा निर्वाचित भएका थिए । यसपटक उनले नेकपा एमालेका प्रमुख सचेतक रहिसकेका विशाल भट्टराईलाई टक्कर दिँदैछन् ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा खोटाङमा सत्तारुढ गठबन्धन धेरै बलियो छ । जिल्लामा एमालेको मत २८ हजार ७२९ छ भने गठबन्धनको मत त्योभन्दा १८ हजार ७१६ बढी अर्थात् ४७ हजार ५१३ छ । जिल्लामा कांग्रेसको मत २६ हजार ६३३, माओवादी केन्द्रको १८ हजार ७३६ र एकीकृत समाजवादीको २ हजार १४४ मत छ ।

विराटनगरमा कार्कीलाई पर्शुरामको टक्कर

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की मोरङको निर्वाचन क्षेत्र नम्बर ६ (ख) मा उम्मेदवार बनेका छन् । यो क्षेत्रमा एमालेको मत ६ हजार ३४२ छ भने गठबन्धनको मत १२ हजार ७७४ छ । सो क्षेत्रमा कांग्रेसको मत ९ हजार ६१५, माओवादीको एक हजार ९१४, एकीकृत समाजवादीको एक हजार २४५ र जसपाको २ हजार ९ मत छ । एमाले र जसपाको गठबन्धन बन्दा एमालेले सो क्षेत्र जसपालाई छाडे पनि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नेबेला जसपालाई धोका दिएर एमालेको तर्फबाट बस्नेतले उम्मेदवारी दर्ता गराएका थिए । क्षेत्रमा जसपाबाट राजेन्द्र गुप्ता उम्मेदवार छन् ।

प्रदेश १ की पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा इलामको क्षेत्र नम्बर १ (क) बाट उम्मेदवार बनेकी छन् । एकीकृत समाजवादीकी नेतृ उनीसँग एमालेले शोभा पराजुलीलाई मैदानमा उतारेको छ । सो क्षेत्रमा स्थानीय तहमा वडाध्यक्षले पाएको मत हेर्दा सत्तागठबन्धन १९ हजार १२५ मतसहित एमालेभन्दा ३ हजार ६०० मतले अगाडि छ । क्षेत्रमा एमालेको १५ हजार ५२५, कांग्रेसको १२ हजार ८६९, माओवादी केन्द्रको एक हजार ८ र एकीकृत समाजवादीको ५ हजार २४८ मत छ ।

प्रदेश सरकारका कृषिमन्त्री झलकबहादुर मगर झापाको ४ (क) बाट प्रदेशसभामा उम्मेदवार बनेका छन् । सो क्षेत्रमा गठबन्धन २ हजार १९४ मतले अगाडि छ । सो क्षेत्रमा एमालेले १४ हजार ११६, कांग्रेसले ११ हजार ८६२, माओवादी केन्द्रले २ हजार ७६६ र एकीकृत समाजवादीले ६८२ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा एमालेले पूर्वशिक्षक राधाकृष्ण खनाललाई उम्मेदवार बनाएको छ ।

उत्तरी मोरङमा पर्ने क्षेत्र नं. १(ख) बाट उम्मेदवार बनेका प्रदेश सरकारका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे नेकपा एमालेका पुराना नेता खड्गबहादुर बस्नेतसँग प्रतिस्पर्धा गर्दैछन् । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा सो क्षेत्रमा एमालेले १७ हजार ९६०, कांग्रेसले १७ हजार ४४०, माओवादी केन्द्रले ३ हजार ४८० र एकीकृत समाजवादीले ४६ मत प्राप्त गरेको छ । स्थानीय तह निर्वाचनका आधारमा यहाँ गठबन्धनको मत २० हजार ९७४ छ ।

२०७४ को निर्वाचनमा वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका स्वास्थ्यमन्त्री जयराम यादवलाई भने यसपटक एमालेको साथ पाउँदा पनि संकट देखिएको छ । यादवलाई सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रभावशाली नेता अमृत अर्यालले कडा टक्कर दिएका छन् । सो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ९ हजार १६६, एमालेले ६ हजार २०२, माओवादी केन्द्रले ५ हजार ३६३, एकीकृत समाजवादीले ६०८ र जनता समाजवादी पार्टीले ८ हजार ३५० मत प्राप्त गरेको थियो ।

सभामुखले टिकट पाएनन्, उपसभामुख भिड्दै

प्रदेश १ को प्रदेशसभाका सभामुख रहेका प्रदिपकुमार भण्डारीले उम्मेदवार बन्ने आकांक्षा राखे पनि टिकट पाएनन् भने उपसभामुख रहेकी सरस्वती पोखरेल सुनसरीको क्षेत्र नं. ३(क) बाट उम्मेदवार बनेकी छन् ।

२०७४ मा समानुपातिक सांसद चुनिएकी उनी यसपटक सत्तारुढ गठबन्धनको सहयोगमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी हुन् । सो क्षेत्रमा पोखरेलको प्रतिस्पर्धामा नेकपा एमालेका रोहितबहादुर कार्की चुनावी मैदानमा छन् । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा यो क्षेत्रमा गठबन्धनको मत १९ हजार ९७१ छ भने एमालेको मत १७ हजार ४४६ छ ।

पूर्वहरुको अवस्था के छ ?

भोजपुरबाट वाम गठबन्धनको उम्मेदवार भई प्रदेशसभामा निर्वाचित भएर ३ वर्ष ६ महिनाभन्दा बढी मुख्यमन्त्री रहेका शेरधन राई यसपटक प्रतिनिधिसभाको उम्मेदवार छन् । उनीसँगको प्रतिस्पर्धामा गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुदन किराती मैदानमा छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहमा दलहरूले पाएको वडागत मतका हिसाबले किरातीलाई सहज देखिन्छ । जिल्लामा सत्ता गठबन्धनको मत ४० हजार ३०५ मत छ भने नेकपा एमालेको २७ हजार ६५६ मतमात्र छ । जस अनुसार किराती १२ हजार ६४९ मतले अगाडि देखिन्छन् ।

नेकपा एमालेमा १० बुँदे सहमति पक्षधर भनेर चिनिने प्रदेश १ का पूर्वमुख्यमन्त्री भीम आचार्य सुनसरी–२ बाट प्रतिनिधिसभाको उम्मेदवार छन् । सुनसरी–२ मा २०७४ मा वाम गठबन्धन हुँदा पनि कांग्रेसका सिताराम मेहता निर्वाचित भएका थिए । गठबन्धनबाट यसपटक पनि उनी नै उम्मेदवार बनेका छन् । सो क्षेत्रमा गत स्थानीय तहको मतका आधारमा गठबन्धन ४ हजार १०४ मतले अगाडि छ । क्षेत्रमा कांग्रेसको मत ३७ हजार ७३७, एमालेको ३६ हजार ४७२, माओवादीको २ हजार ३५० र एकीकृत समाजवादीको २ हजार ११९ मत छ ।

मोरङ ४ (ख) बाट उम्मेदवार बनेका पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे भने स्थानीय तहको मतका आधारमा झिनो मतले अगाडि देखिन्छन् । सो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा वडा तहमा दलहरुले प्राप्त गरेको मत हेर्दा गठबन्धनको भन्दा एमालेको मत २०९ बढी छ । क्षेत्रमा एमालेले ११ हजार ८३ मत प्राप्त गरेकोमा कांग्रेसले ८ हजार ४६०, माओवादी केन्द्रले एक हजार ९१५ र एकीकृत समाजवादीले ४९९ मत प्राप्त गरेको छ । घिमिरेसँगको प्रतिस्पर्धामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुली उम्मेदवार छन् ।

मुख्यमन्त्री बन्ने प्रचारसहित प्रदेश  सरकारका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की झापाको क्षेत्र नं. ५(क) बाट उम्मेदवार बनेका छन् । गत स्थानीय तहको वडा तहमा दलहरुले प्राप्त गरेको मतका आधामा सो क्षेत्रमा गठबन्धन झिनो मतले अगाडि छ । सो क्षेत्रमा एमालेको १८ हजार ५२९, कांग्रेसको १३ हजार ६७२, माओवादीको ३ हजार २९७ र एकीकृत समाजवादीको एक हजार ९०४ मत छ । एमालेभन्दा गठबन्धन अगाडि भए पनि सो क्षेत्रमा राप्रपाले एमालेलाई सहयोग गरेकाले कार्कीको अवस्था बलियो देखिन्छ । कार्कीलाई सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जीवनकुमार राईले टक्कर दिइरहेका छन् ।

प्रदेश सरकारका पूर्व उद्योग, पर्यटन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैत सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार छन् । गत स्थानीय तहको मतका आधारमा सो क्षेत्रमा एमालेभन्दा गठबन्धन २ हजार ५२६ मतले अगाडि देखिएको छ । क्षेत्रमा कांग्रेसको मत २८ हजार ७५६, एमालेको २३ हजार ६१३, जसपाको ९ हजार ८६३, माओवादीको ३६४६ र एकीकृत समाजवादीको ३ हजार ७०० मत छ ।

प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ ओखलढुंगा ‘क’ बाट प्रदेशसभामा उम्मेदवार छन् । गत स्थानीय तहको मतका आधारमा क्षेत्रमा एमालेभन्दा गठबन्धन ५ हजार ८९४ मतले अगाडि छ । क्षेत्रमा एमालेको  १२ हजार ३०६, कांग्रेसको १३ हजार ५८२, माओवादीको ४ हजार ३६४ र एकीकृत समाजवादीको २५४ मत छ । क्षेत्रमा जनता समाजवादी पार्टीको पनि एक हजार ८९८ मत छ ।

प्रदेश सरकारमा भीम आचार्य नेतृत्वको सरकारमा उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री भएका उत्तमकुमार बस्नेत सोलुखुम्बु ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार छन् । महाकुलुङ गाउँपालिका, सोताङ गाउँपालिका, थुलुङ दूधकोशी गाउँपालिका र नेचा सल्यान गाउँपालिका समेटिएको सो क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका गोम्बु शेर्पा चुनावी मैदानमा छन् ।

स्थानीय तहको वडागत मतको आधारमा सो क्षेत्रमा सत्तारुढ गठबन्धनको मत एमालेको भन्दा झण्डै ३ गुणा छ । सो क्षेत्रमा एमालेले ६ हजार ६३१, कांग्रेसले ९ हजार ९४९, माओवादी केन्द्रले ८ हजार १३९ र एकीकृत समाजवादीले ५ मत पाएको छ । सो क्षेत्रमा एमालेको भन्दा सत्ता गठबन्धनको मत ११ हजार ४६२ ले बढी छ ।

प्रदेश सरकारका पूर्व कृषिमन्त्री रामबहादुर मगर इलामको क्षेत्र नं. २ (ख) बाट उम्मेदवार बनेका छन् । २०७४ को निर्वाचनमा क्षेत्र २ (क) बाट निर्वाचित भएका उनी यस पटक क्षेत्र फेरेर उम्मेदवार बनेका हुन् । सो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन २ हजार ४८० मतले अगाडि छ । जसमा एमालेको १४ हजार ४३२, कांग्रेसको १३ हजार २९९, माओवादी केन्द्रको ३ हजार २५४ र एकीकृत समाजवादीको ३५९ मत छ ।

कानुन व्यवसायीसमेत रहेका लिलाबल्लभ अधिकारी मोरङ क्षेत्र नं. २ (ख) बाट दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका छन् । यसअघि उनी सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए । उनी केही समय आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत बनेका थिए । सो क्षेत्रमा अहिले सत्तारुढ गठबन्धनबाट कांग्रेसका विनोद कार्की उम्मेदवार छन् । सो क्षेत्रमा एमालेको १६ हजार ५१, कांग्रेसको १४ हजार ८५९, माओवादीको ३ हजार २४० र एकीकृत समाजवादीको २२ मत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप