अभिनेता प्रदीपले मागे विनोद चौधरीलाई भोट
आगामी मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा कलाकार पनि विभिन्न उम्मेदवारको पक्षमा खुल्न थालेका छन् । यस्तैमा अभिनेता प्रदीप खड्काले नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीलाई भोट मागेका छन् ।
मंगलवार नवलपरासीको बर्दघाट-१२ मा चुनावी सभामा सहभागी भएर उनले चौधरीलाई भोट मागेका हुन् । चौधरी नवलपरासी (ब.सु.प) क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । मंगलवार आयोजित वाम गठबन्धनको चुनावी सभामा सम्बोधन गर्न कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका नेताहरू पुगेका थिए भने उनीहरूसँगै प्रदीप खड्कालाई पनि अतिथिको रूपमा मञ्चमा आसन ग्रहण गराइएको थियो ।
चौधरीले आफ्नो फेसबुकमा राखेको तस्बिरमा प्रदीपले पनि सभालाई सम्बोधन गरेको देखिन्छ । उनले चौधरीलाई जिताउन त्यहाँका स्थानीयहरूलाई आग्रह गरेका छन् । विनोद चौधरीका छोरा तथा चौधरी ग्रुपका कार्यकारी निर्देशक वरुण चौधरीसँगको मित्रताका कारण उनी चौधरीको पक्षमा भोट माग्नका लागि चुनावी आमसभामा सहभागी भएका हुन् । चौधरी ग्रुपको एक विज्ञापनमा काम गरेपछि प्रदीपको वरुण र चौधरी परिवारसँग घनिष्ठता बढेको थियो । चाँडै चौधरी ग्रुप नेपाली फिल्म निर्माणमा पुनरागमन गर्ने तयारीमा छ, जसमा प्रदीप मुख्य भूमिकामा रहने बताइन्छ ।