मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रेखा थापा वास्तविक उम्मेदवार नै होइन : डाक्टर शर्मा

मङ्गलबार, २९ कात्तिक २०७९, २१ : २६
मङ्गलबार, २९ कात्तिक २०७९

लोकतान्त्रिक वाम गठबन्धनका मोरङ ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डाक्टर सुनिल शर्माले राप्रपाकी उम्मेदवार रेखा थापा वास्तविक उम्मेदवार नभएको बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले राप्रपाले भोट काट्नका लागि मात्र थापालाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको उल्लेख गरे । 

निर्वाचनलाई आफ्ना प्रतिनिधि छान्ने अवसरका रूपमा प्रयोग गरी मतदाताले विवेक पु¥याएर जनताका पक्षमा काम गर्नेलाई मत दिनुपर्ने उनको भनाइ थियो । २०७४ को निर्वाचन जितेर गएका एमाले उम्मेदवार भानुभक्त ढकालले सांसद हुँदै मन्त्रीसम्म बन्दासमेत आफ्नो क्षेत्रका जनताको हितमा कुनैपनि काम नगरी भ्रष्टाचारमा लिप्त भएको डा.शर्माले बताए ।

आफूले भने सोही निर्वाचनमा हार व्यहोरेर पनि जनताको सेवा जारी राखेकाले मतदाताले काम गर्ने व्यक्तिलाई नेतृत्वमा पु¥याउनुपर्ने उनले उल्लेख गरे । नेतृत्वमा नरहेकै अवस्थामा पनि जनकल्याणका लागि अहोरात्र खट्ने व्यक्तिलाई नेतृत्वमा पुर्‍याए त्यसबाट देश नै लाभान्वित हुने उनको भनाइ थियो ।

आफ्नो क्षेत्रका जनताको स्वास्थ्य सुरक्षाको सम्पूर्ण जिम्मा आफूले लिने बताउँदै डा.शर्माले पैसा नभएकै कारणले कसैले पनि ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरे । आफूले नीतिगत सुधार गरी स्वास्थ्य बीमाको रकम एक लाखबाट पाँच लाखमा पुर्‍याउने बताउँदै उनले त्यसो गर्न तत्काल सम्भव नभए निजी स्रोतबाट भएपनि उपचार सेवा प्रवाह गर्न आफू तयार रहेको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप