शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवाद शब्दमा राष्ट्रिय सहमति आवश्यक छ : अर्थमन्त्री शर्मा

‘जुम्लाबाट १२ घण्टा काठमाडौँ पुग्ने सडक योजना अघि बढाएको छु’
मङ्गलबार, २९ कात्तिक २०७९, १९ : ५४
मङ्गलबार, २९ कात्तिक २०७९

अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले समाजवादमा राष्ट्रिय सहमति र परराष्ट्र नीतिलाई सन्तुलित बनाएर कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् । यी दुईवटा कुराहरुमा विभिन्न खालका ‘ल्याकिङ’ रहेकाले राष्ट्रिय सहमति हुनुपर्ने उनको तर्क छ ।

‘संविधानमा लेखिएको समाजवाद भन्ने अमूर्त शब्द छ, त्यो समाजवादको बारेमा राष्ट्रिय सहमति आवश्यक छ,’ शर्माले मंगलबार रुकुम पश्चिमको मुसिकोटमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘गठबन्धनमा आबद्ध दलहरुमा न्यूनतम् सहमति गराएर गरिबी, स्वास्थ्य, रोजगारीको अवस्था कहाँ, कसरी र कति हुन्छ ? दलहरुका आ–आफ्नै समाजवादका एजेण्डा छन्, त्यसमा राष्ट्रिय सहमति गराउने कुरामा मेरो पहलकदमी रहनेछ ।’

शर्माले परराष्ट्र नीतिमा पनि केही समस्या रहेको बताए । सन्तुलित परराष्ट्र नीति कार्यान्वयन गर्नका लागि पनि राष्ट्रिय सहमति आवश्यक रहेको र त्यो पहलमा आफू लाग्ने उनले बताए । रुकुम पश्चिमबाट गठबन्धनको साझा उम्मेदवार रहेका शर्माले रुकुमको सन्दर्भमा समाजवादको यात्रा थालनी भइसकेको बताए । उनले भने, ‘यहाँको गरिबी हटाउने र स्वरोजगार बनाउने योजना हामीसँग छ । जनताको गोजीमा पैसा आउने अवस्था सिर्जना हामीले गर्नुपर्छ, त्यो अभियानमा हामी लागिरहेका छौँ ।’

शर्माले व्यक्तिको जीवनमा आर्थिक परिवर्तन ल्याउने अभियान भनेकै ‘आर्थिक उत्पादन, रोजगारी र समृद्धि’ भएको बताए । यो मोडेलमा जनताको सहभागिता महत्वपूर्ण हुने उनको भनाइ छ । ‘नेतामा विचलन आयो भने नेताको विरोध र भण्डाफोर गर्न सक्ने जनता चाहिन्छ,’ उनले भने, ‘जसले नेतालाई पनि सही मार्गमा हिँड्न सिकाउँछ ।’ शर्माले समतामुलक समाज निर्माण आजको आवश्यकता रहेको बताउँदै त्यसका लागि रुकुममा सामाजिक सांस्कृतिक अभियान थालनी गरिएको बताए । त्यसले समाजमा हुने हिंसा, विभिन्न खालका विभेदको अन्त्य गर्ने छ भने सामाजिक न्यायमा आधारित समाजवादको आधारको रुपमा रुकुम पश्चिम चिनिने उनको तर्क छ ।

शर्माले कर्णालीको समृद्धिका लागि आफूले विभिन्न पहल गरिरहेको बताए । कर्णाली गरिब नभएको उल्लेख गर्दै उनले भने, ‘कर्णालीमा गरिबी छैन, कर्णाली आफै सुनको डल्लो हो, सुनको डल्लो पनि गरिब कसरी हुन्छ ? हुँदैन,’ उनले भने, ‘सुनको डल्लोलाई कानमा झुण्ड्याउन मिल्दैन । त्यसलाई गहनामा बदल्नका लागि कालिगढ आवश्यक पर्छ । स्रोत, साधनको उपयोग र प्रयोगमा ल्याउनका लागि कर्णालीमा कालिगढ चाहिएको छ ।’

अर्थमन्त्री शर्माले जुम्लाबाट १२ घण्टामा काठमाडौं पु¥याउने सडक योजना अघि बढाइएको बताए । उनले भने, ‘अहिले दुई दिन लाग्छ । जाजरकोट, रकुम पश्चिम हुँदै पोखरा र पर्वतको डाँडामा सुरुङ बन्ने छन् र त्यो बन्ने बित्तिकै मान्छे २ घण्टामा जुम्लाबाट रकुमको चौरजहारी आउँछ र १२ घण्टामा काठमाडौं पुगिन्छ । त्यसमा मेरो प्रमुखताका साथ पहल भइरहेको छ ।’ शर्माले अबको प्राथमिकता कर्णाली र विकासको केन्द्र पनि कर्णाली बन्ने बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप