मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

पशुपालन सर्वेक्षण : नेपालमा साढे ६ हजार पशुपालन फार्म

साढे ४४ हजार गाई÷गोरु र साढे ३४ हजार राँगा/भैंसी पालन
मङ्गलबार, २९ कात्तिक २०७९, १८ : २२
मङ्गलबार, २९ कात्तिक २०७९

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुपालन व्यवसायको एकीकृत सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । विश्व खाद्य तथा कृषि संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा कृषि मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालयको संयुक्त आयोजनामा सो प्रतिवेदन तयार गरी सार्वजनिक गरिएको हो ।

सर्वेक्षणअनुसार नेपालमा ६ हजार ४८६ वटा व्यावसायिक पशुपालन फार्म सञ्चालनमा रहेको पाइएको छ । त्यसमध्ये एक हजार २३३ वटा गाईपालन, ९१४ वटा भैंसीपालन, ४३ वटा राँगापालन, दुई हजार २९५ वटा बाख्रा/च्यांग्रापालन फार्म, ५७२ वटा भेँडापालन फार्म छन् । त्यस्तै, ११८ वटा मासु प्रयोजनका लागि र ३६४ वटा पाठापाठी उत्पादनका लागि सुँगुरपालन फार्म रहेको प्रतिवेदनमा उल्लेख छ । केही मिश्रित फार्म पनि छन् । जसमा गाई/भैंसीपालन ४८३ वटा, बाख्रा/च्यांग्रा/भेडापालन  १९८ वटा र गाई/भैंसीपालन तथा बाख्रा/च्यांग्रा/भेडापालन फार्म २६५ छन् ।

यी व्यावसायिक पशुपालन फार्म सबभन्दा बढी एक हजार २७० प्रदेश नम्बर १ मा छन् भने सबैभन्दा कम मधेस प्रदेशमा ४०४ वटा फार्म छन् । सर्वेक्षणबाट प्राप्त प्रतिवेदनअनुसार नेपालमा जम्मा ४४ हजार ८७३ वटा गाई/गोरु व्यावसायिक रुपमा पालिएका छन् । त्यसमध्ये उन्नत जातका गाई/गोरुको संख्या ३३ हजार ७५७ छ । त्यसमध्ये दूध दिनेको संख्या १५ हजार ३८० छ भने दूध नदिनेको संख्या ९ हजार १०४ छ ।यसैगरी, नेपालमा जम्मा ३४ हजार ६५३ वटा राँगा/भैंसी व्यावसायिक रुपमा पालन भइरहेको सर्वेक्षणले देखाएको छ । त्यसमध्ये उन्नत जातका राँगा/भैंसीको संख्या २४ हजार ४४७ छ । त्यसमध्ये दूध दिनेको संख्या १० हजार ८४१ र दूध नदिने भैंसीको संख्या ६ हजार ९३१ छ । सर्वेक्षणले सबैभन्दा बढी ११ हजार ४६९ वटा भैंसी गण्डकी प्रदेशमा र सबैभन्दा कम एक हजार ६३० वटा सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ ।

नेपालमा एक लाख ५० हजार ५६८ वटा बाख्रा व्यावसायिक रुपमा पालिएका छन् र त्यसमध्ये उन्नत जातका बाख्राको संख्या ६७ हजार ६७ छ । यी उन्नत जातका बाख्रामध्ये बोर जातका बाख्रा सबैभन्दा बढी ३१ हजार ६३७ छन् भने जमुनापारी जातका २३ हजार ६६३ छन् । सबैभन्दा बढी प्रदेश नम्बर १ मा ३३ हजार २१६ वटा बाख्रा छन् भने सबभन्दा कम मधेस प्रदेशमा ६ हजार ५०२ वटा छन् । नेपालमा व्यावसायिक रुपमा पालिएका भेँडाको संख्या ८८ हजार ४२१ देखिएको छ, जसमध्ये बरुवाल जातका भेँडा सबैभन्दा बढी १३ हजार ३३४ संख्यामा छन् भने त्यसपछि कागे जातको संख्या ६ हजार २४८ छ ।

सर्वेक्षणले सबैभन्दा बढी अर्थात् ३४ हजार ९७५ वटा भेँडा कर्णाली प्रदेशमा र सबैभन्दा कम ३९५ वटा मधेस प्रदेशमा रहेको देखाइएको छ । त्यस्तै, नेपालमा व्यावसायिक रुपमा पालिएका सुँगुरको जम्मा संख्या ३८ हजार ३६० देखाइएको छ । त्यसमध्ये उन्नत जातका सुँगुरको संख्या ३५ हजार २३० छ । सबैभन्दा बढी सुँगुर प्रदेश १ मा १६ हजार ८८४ वटा छन् भने सबभन्दा कम मधेस प्रदेशमा ५२८ वटा छन् ।

यसैगरी सर्वेक्षणले १५ हजार ३८० वटा दूध दिने गाईबाट दूध दिने अवधिमा जम्मा चार करोड ५८ तीन हजार ४५७ लिटर दूध उत्पादन भएको छ । जात अनुसार होलिस्टिन/होलिस्टिनक्रसब्रिड जातको गाईबाट सबैभन्दा बढी दूध उत्पादन भएको छ । गाईको दूध उत्पादनमा बागमती प्रदेश अग्रस्थानमा रहेको सर्वेक्षणले देखाएको छ । यसैगरी सर्वेक्षणले यी व्यावसायिक फार्मबाट दुई करोड ३२ लाख ३१ हजार ९१ लिटर भैंसीको दूध उत्पादन भएको देखाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप