बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

हुम्लामा प्रदेशका दुई पूर्वमन्त्री प्रतिनिधिसभामा भिड्दै

दल रावल र छिरिङ डुम्डुल लामाको आ–आफ्नै दाबी
मङ्गलबार, २९ कात्तिक २०७९, १७ : ००
मङ्गलबार, २९ कात्तिक २०७९

हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्य पदमा प्रदेशका दुई पूर्वमन्त्री प्रतिस्पर्धारत छन् । नेकपा एमालेबाट पूर्व मन्त्री दल रावल र नेकपा माओवादी केन्द्रबाट पूर्व मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) बीच प्रतिस्पर्धा हुने देखिन्छ ।

लामालाई गठबन्धनको साथ हुँदा रावललाई संघर्ष गर्नुपर्ने देखिन्छ । हुम्लामा दलभन्दा व्यक्तित्वलाई प्राथमिकता दिने गरिन्छ । जसले गर्दा चुनावी प्रतिस्पर्धा रोचक हुन्छ । लामा समुदायमा बलिया मानिएका छक्कबहादुर लामा एमालेबाट प्रदेशसभा (ख) का उम्मेदवार छन् । कार्चेन पनि कर्णाली सरकारमा ६ महिना मन्त्री भएका थिए ।

कार्चेन गठबन्धनको साथ र मतदातामा आफू लोकप्रिय रहेका कारण चुनाव जित्नेमा विश्वस्त छन् भने रावल जातीय ‘फ्याक्टर’ले काम नगर्ने र आफूले सहज रुपमा चुनाव जित्ने दाबी गर्छन् । स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा यहाँ माओवादी एक्लैको ६ हजार ४९३ मत छ भने एमालेको ६ हजार १४७ मत छ । यहाँ कांग्रेसको ४ हजार ७६४ र नेकपा एकीकृत समाजवादीको ८८८ मत  छ । गठबन्धनमा रहेका तीन दलको मत जोड्दा १२ हजार १४५ हुन आउँछ ।

चुनावी अभियानको क्रममा रहेका दल रावल र कार्चेन लामासँग रातोपाटीले निर्वाचन केन्द्रित रहेर कुराकानी गरेको छ । प्रस्तुत छ, उनीहरुसँग गरिएको कुराकानीको सम्पादित अंश -

हुम्लाबासीले प्रतिगमनकारीलाई साथ दिँदैनन् : कार्चेन लामा

प्रतिनिधिसभा सदस्य उम्मेदवार, हुम्ला

नेकपा माओवादी केन्द्र (सत्ता गठबन्धन)

चुनावको तयारी कस्तो छ ?

— हाम्रो पक्षमा माहोल गज्जब छ । जिल्लाका ७ वटा पालिकामा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरिसकेका छौँ । पुनः खार्पुनाथ, सिमिकोट र सर्केगाड गाउँपालिकामा घरदैलो कार्यक्रम चलाइरहेका छौँ ।

जनताले के भनिरहेका छन् त तपाईलाई ?

— निकै उत्साहजनक छ । किसान र मजदुरको नेता भएकाले मप्रति सहानुभूति देखाइरहनुभएको छ । जनताबाट सकारात्मक प्रतिक्रिया पनि पाइरहेको छु । अर्कोतिर गठबन्धन पनि भएकाले सहजता देखिएको छ ।

चुनाव जित्नुहुन्छ त ?

— त्यसमा त दुईमत छैन, मज्जाले चुनाव जित्छु । त्यो पनि फराकिलो र अत्याधिक बहुमतका साथ चुनाव जित्ने लक्ष्य लिएर मैदानमा छौँ ।

कति मत ल्याएर चुनाव जित्छु जस्तो लाग्छ ?

— ५ देखि ६ हजार मतान्तरले चुनाव जित्छु ।

तर तपाईका प्रतिस्पर्धी तथा एमालेका उम्मेदवार दल रावलले १५ हजार मत ल्याएर चुनाव जित्छु भन्नुभएको छ नि ?

— दल रावलले ७ हजार बढी ल्याउनुहुन्न । यहाँ हाम्रो गठबन्धनको २१ हजारभन्दा बढी मत छ । ८ हजार मतान्तरले फरक पर्छ लेखेर राख्नुहोस् । हाम्रो जित सुनिश्चित छ ।

त्यसको आधारचाहिँ के हो ?

— पहिलो त म पीडित हो । किसान, मजदुरबाट आएको उम्मेदवार हो । अर्कोकुरा, माओवादी पार्टीभित्र कर्मठ, इमानदार, निष्ठावान र कतै दायाँबायाँ नगर्ने व्यक्ति भएकाले पनि मप्रति यहाँका दाजुभाइ दिदीबहिनीको आकर्षण छ ।

अर्को कुरा, राष्ट्र र राष्ट्रियताको साथै अहंकारी प्रवृत्तिका विरुद्ध गठबन्धन भएकाले जनताले यो कुरा बुझेका छन् । प्रतिगमनलाई स्थान दिनुहुँदैन भन्ने कुरामा यहाँका जनता प्रस्ट छन् । यिनै आधारहरुका बीचमा हामी चुनाव जित्छौँ ।

हुम्लामा दलभन्दा व्यक्ति बलियो भन्छन्, छक्कबहादुर एमालेमा प्रवेशपछि माओवादीलाई धक्का लागिरहेको छ भन्छन् नि ?

— लामा समुदायको ९५ प्रतिशत भोट मलाई आउँछ । किनभने लामा समुदायमा सबैभन्दा सोझो र इमानदार नेता भनेको कार्चेन लामा हो भन्ने बुझेका छन् । प्रदेशसभा (ख) बाट रावलजीले १५ सयभन्दा बढी भोट ल्याउन सक्नुहुन्न ।

अर्को कुरा, छक्कबहादुर एमालेमा प्रवेश गरेर माओवादीलाई कुनै ‘इफेक्ट’ पर्दैन ।

‘कार्चेनजीको जातीय ‘फ्याक्टर’ले काम गर्दैन : दल रावल

प्रतिनिधिसभा सदस्य उम्मेदवार, हुम्ला

नेकपा एमाले

चुनावको तयारी कसरी गरिरहनुभएको छ ?

— माहोल एकदमै राम्रो छ । नाम्खा गाउँपालिकाबाट सुरु गरेको घरदैलो अभियान चङ्खेली गाउँपालिका आएको छ । सिमिकोट, ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिकाका ३ वटा वडामा घरदैलो सकिएको छ, अहिले चङ्खेलीमा छौँ ।

अभियानका क्रममा जनताको बुझाई कस्तो पाउनुभयो ?

— जनताको अपेक्षा मप्रति सकारात्मक देखियो । प्रदेश सरकारका रहँदा गरेका कामको जनताले प्रशंसा गर्नुभयो । भावी दिनमा पनि हुम्ली जनताका विषयलाई संसदमा पु¥याउने, विकास र समृद्धिका कुुराको नेतृत्व गर्ने तपाई नै हो भनेर भन्नुभएको छ । त्यसैले पनि उत्साहित छु र रिजल्ट सकारात्मक आउने देख्छु ।

उसो भए गठबन्धनलाई पराजित गर्छु भन्ने लाग्छ ?

— स्वाभाविक रुपमा पराजित गर्छु नि । उतातिर गठबन्धन छ भन्ने भ्रम होला, हामी त्यसलाई चिरेर भए पनि सहज रुपमा चुनाव जित्नेमा विश्वस्त छौँ ।

अर्को कुरा नेताहरुमा गठबन्धन होला, हुम्ली जनतामा छैन र जनताको गठबन्धन मसँग छ । आम मतदाताले मप्रति राम्रो ‘रेस्पोन्स’ दिनुभएको छ । हामीले लोेकप्रिय मत पाउँछौँ ।

त्यसो भए सहजै चुनाव जित्नु हुन्छ ?

— एकातिर गठबन्धन र अर्कोतिर एमाले हुँदा चुनाव प्रतिस्पर्धात्मक हुन्छ नै, तर म दाबीका साथ भन्छु कि चुनाव सहज तरिकाले जित्छु ।

त्यसको आधार के हो ?

— ३ वर्ष प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुँदा र पाँच वर्ष प्रदेशसभाको सदस्य हुँदा हुम्ली जनताको पक्षमा उठाएको आवाज र गरेको काम पहिलो आधार हो । मन्त्री र सांसद हुँदा हुम्लाको भौतिक, सामाजिक विकासका क्षेत्रमा मैले खेलेको भूमिकालाई जनताले राम्रोसँग बुझेका छन् ।

मैले यहाँका हरेक गाउँमा एउटा भएपनि योजना हालेर विकास गरेको छु । कोरोना महामारीको समयमा पनि मैले अब्बल तरिकाले गरेको कामप्रति जनता सकारात्मक छन् ।

अर्को आधार भनेको मेरो प्रतिस्पर्धी कार्चेनजी भन्दा संसदमा गएर हुम्लीको आवाज, यहाँको विकासबारे बोल्न सक्ने व्यक्ति भनेको दल रावल हो भन्ने जनताको बुझाइ छ । कार्चेनभन्दा दल रावलले केही काम गर्न सक्छ भन्ने जनताको मनोविज्ञान बनेको छ । कांग्रेसको उम्मेदवार नभएकाले लोकतन्त्रका सवाल उठाउन सक्ने र बुझेको मान्छे भनेको दल रावल नै हो भन्ने कांग्रेस कार्यकर्तामा पनि मनोविज्ञान बनेको छ भने माओवादीभित्र जनयुद्धमा घाइते, अपाङ्गहरु अझै पनि घरवारविहीन छन् । उनीहरुको परिवर्तनका लागि म बाटै सम्भव छ भन्ने उनीहरुको ठम्याई छ ।​

अंकगणितमा त तपाइँ झण्डै ५ हजार मतान्तरले पछि हुनुहुन्छ नि ?

— अंकगणित विगत हो तर पोलिटिकल साइन्सका कुराहरु मसँग छन् । मलाई एमालेमात्र नभई कांग्रेसका तमाम दाजुभाइ दिदीबहिनी भोट हाल्न आतुर हुनुहुन्छ ।

यस्तै माओवादीका साथीहरु पनि मलाई नै भोट हाल्न लालायित हुनुहुन्छ । त्यसो भएका कारण यो अंकगणितले काम गर्ने छैन । राजनीतिक शास्त्रका नियमहरु यसमा लागु हुने छैनन् । जनताको मनोविज्ञान पोजेटिभ छ, यस अर्थमा मलाई निर्वाचन जित्न कसैले रोक्ने छैन ।

उसो भए कति मतान्तरले जित्छु भन्ने आकलन छ ?

— मतान्तर त अहिलै नभनौँ, तर म १५ हजार मत ल्याएर चुनाव जित्छु ।

तर हुम्लामा दलभन्दा पनि व्यक्ति बलियो हुन्छ र लामा समुदायको वर्चश्व भएकाले त्यो समुदायको मत निर्णायक हुन्छ भनिन्छ नि ?

— अहिले कार्चेनजीको जातीयताको ‘फ्याक्टर’ले हुम्लामा काम गर्दैन । नाम्खा गाउँपालिकामा पूरै लामा समुदाय छ । त्यहाँबाट अधिकांश भोट मलाई आउँछ । अर्को कुरा, लामा समुदायले मलाई जन्मजातबाटै चिनेको छ नि ! लामा समुदायको सांस्कृतिक थलोका रुपमा चिनिने थुप्रै गुम्बा मेरो पहलमा बनेका छन् ।

लामाको छोरा भएर नजन्मिए पनि लामाको संस्कृति र परम्परा नजिकबाट बुझेको नेता भनेको दल रावल नै हो भन्ने लामा समुदायले बुझ्नुभएको छ । मलाई लामा समुदायबाटै अत्यधिक मत आउनेमा विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप