मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

औद्योगिक वातावरण बनाउन उम्मेदवारलाई व्यवसायीको आग्रह

मङ्गलबार, २९ कात्तिक २०७९, १६ : ४४
मङ्गलबार, २९ कात्तिक २०७९

रुपन्देहीको औद्योगिक विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन् । औद्योगिक विकास, त्यसका माध्यमबाट रोजगारी सिर्जना, रोजगारीको लागि पलायन भइरहेको जनशक्तिलाई आफ्नै स्थानमा काम गर्ने वातावरण बनाउने उनीहरूको प्रतिबद्धता छ । 

रुपन्देहीको क्षेत्र नं. २ मा सत्ता गठबन्धन निकटका उद्योगी व्यवसायीहरुसँग सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार केशवबहादुर थापा, प्रदेश (क) का उम्मेदवार दीर्घबहादुर (कुमार) केसी र प्रदेश (ख) का उम्मेदवार बामदेव क्षेत्रीले यस क्षेत्रको आर्थिक विकासको लागि ठोस योजना र कार्यक्रम तर्जुमा गरी लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

यस्तै बुटवल रामनगरको औद्योगिक क्षेत्रको व्यवस्थापनमा सघाउ पुर्‍याउने, व्यवसायीका लागि सस्तो ब्याजदरमा सुलभ तरिकाले कर्जा उपलब्ध हुने वातावरण मिलाउने उनीहरूको प्रतिबद्धता छ । औपचारिक तथा अनौपचारिक क्षेत्रका मजदुरहरूको हितको लागि सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने व्यवस्था, न्यूनतम पारिश्रमिकको व्यवस्था, रोजगारी सिर्जना र श्रमिकमैत्री वातावरण बनाउन ठोस कार्यक्रम ल्याउने उनीहरूको प्रतिबद्धता छ । 

न्यून आय भएका गरिब तथा विपन्न वर्गका महिलाका लागि उद्यमशीलता कार्यक्रम, युवाहरूलाई स्वरोजगारतर्फ आकर्षित गर्न विशेष कार्यक्रम र छुट्टै स्वरोजगार कोषको व्यवस्था मिलाउने उनीहरुले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार केशवबहादुर थापाले यस क्षेत्रको औद्योगिक विकासको लागि गठबन्धन प्रतिबद्ध रहेको बताए । यस क्षेत्रमा औद्योगिक विकासको लागि मोतीपुर औद्योगिक क्षेत्रलाई व्यवस्थित गरेर पूर्णता दिने प्रतिबद्धता उनले व्यक्त गरे । बुटवल औद्योगिक क्षेत्र, बुटवल धागो कारखानालाई समेत व्यवस्थापन गर्ने उनको भनाई छ । त्यस्तै निजी क्षेत्रलाई प्रोत्साहन गरिने, औद्योगिक क्षेत्रको विकास तथा लगानीको वातावरण सिर्जना गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्न पहल गर्ने उनको भनाई छ । 

उक्त अवसरमा उद्योगी व्यवसायीहरूले पटक–पटक जितेका उम्मेदवारबाट औद्योगिक विकासको साटो वातावरण नै बिगार्ने काम भएकोले त्यसलाई सुधार गर्न आग्रह गरे । मोतीपुर औद्योगिक क्षेत्रलाई परिष्कृत गरेर भएपनि निर्माण गर्नुपर्ने भनाई उनीहरूको थियो । त्यस्तै लगानीको वातावरण, लगानी सुरक्षाको प्रत्याभूति, सरल र सहज कर्जाको व्यवस्था अपरिहार्य रहेको उनीहरूको भनाई थियो । 

सत्ता गठबन्धन उद्योगी व्यवसायी तथा पेसाकर्मी परिचालन समितिका संयोजक खिमबहादुर हमालले यहाँका सबै उद्योगी व्यवसायीहरू सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा रहेको र निर्वाचन जितेर गइसकेपछि व्यवसायीका समस्या सम्बोधन गरी समाधान गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप