बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवले जोगाउलान् गजेन्द्रनारायण सिंहको विरासत ?

मङ्गलबार, २९ कात्तिक २०७९, १६ : ४०
मङ्गलबार, २९ कात्तिक २०७९

मधेस प्रदेशमा सबभन्दा बढी चर्चाको क्षेत्र हो सप्तरी–२ । त्यहाँ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् ।

सप्तरी–२ स्व.गजेन्द्रनारायण सिंहको क्षेत्र हो । त्यो रामराजा प्रसाद सिंहको क्षेत्र पनि हो । त्यो ठाउँ कांग्रेसका रामेश्वर प्रसाद सिंह र सशस्त्र आन्दोलनमा लागेका जयकृष्ण गोइतको पनि हो । सो क्षेत्रबाट यसअघि पनि जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेका थिए । यसपटक पनि उनी त्यहीँबाट उम्मेदवार छन् । अध्यक्ष उपेन्द्र यादवको विरुद्धमा सीके राउतले उम्मेदवारी दिएपछि सो क्षेत्र झन चर्चामा छ ।

गजेन्द्र सिंह २०३८ (जनमत संग्रह), २०४३ (राष्ट्रिय पञ्चायत), २०४८ (संसदीय चुनाव) र २०५१ (मध्यावधी) मा लगातार त्यहाँबाट चुनाव जितेका हुन् । २०५६ को चुनावमा उनी त्यहाँबाट चुनाव हारेका थिए र कांग्रेसका रामकुमार चौधरी १७ भोटले जितेका थिए । त्यतिबेला गजेन्द्रनारायण सिंहसँग काम गरेका शैलेश चौधरी भन्छन्, ‘गजेन्द्रनारायण सिंहलाई त्यतिबेला बडो षड्यन्त्रपूर्वक हराइएको थियो, उहाँको विरुद्धमा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति पनि लागेका थिए । तै पनि १७ भोटले मात्र हारेका थिए ।’

गजेन्द्रनारायण सिंह सप्तरीबाट चुनाव हारेपछि काठमाडौंमा कांग्रेसीहरुले दीपावली मनाएका थिए भने हेटौंडामा मधेसीहरुमाथि दुर्व्यवहार भएको उनी बताउँछन् । उनी भन्छन्, ‘यसैबाट बुझ्न सकिन्छ कि त्यतिबेला गजेन्द्रनारायण सिंहलाई हराउनका लागि कति मेहनत भएको थियो । उपेन्द्र यादवका लागि पनि त्यस्तै षड्यन्त्र भइरहेको छ ।’

२०६४ मा भएको संविधानसभा चुनावमा गजेन्द्रनारायण सिंहकै पार्टी नेपाल सद्भावना पार्टीबाट महेश यादव विजयी भएका थिए । त्यसपछि २०७० मा भएको दोस्रो संविधानसभा चुनावमा माओवादी केन्द्रका नेता उमेश यादवले जितेका थिए । २०७४ मा भएको प्रतिनिधिसभा चुनावमा जसपाका अध्यक्ष उपेन्द्र यादवले जितेका थिए । अहिले पुनः उनी उम्मेदवार बनेका छन् ।

२०५६ को चुनावमा जसरी गजेन्द्रनारायण सिंह चुनाव हारेका थिए, त्यस्तै अवस्था दोहोरिने हो कि भन्ने आशंका सप्तरीमा भइरहेको छ । गजेन्द्रनारायण सिंह त्यतिबेला स्थानीय विकास मन्त्री थिए । मन्त्रीमा बहाल भएकै बेला उनी चुनाव लडेका थिए । गजेन्द्रनारायण सिंहसँग लामो समय काम गरेका दिलिप सिंह भन्छन्, ‘त्यतिबेलाको अवस्था र अहिलेको अवस्था फरक छ, गजेन्द्रनारायण सिंह मधेस अधिकार, मधेसको मुक्तिका लागि काम गरिरहनु भएको थियो तर अहिले उपेन्द्र यादवले सप्तरीमा विकासका साथै मधेसको पहिचानका लागि पनि लडिरहनु भएको छ ।’

जसपाका अध्यक्ष उपेन्द्र यादवले राजविराजमा अस्पताल, कलेज, मेडिकल कलेज, सडक सञ्जाललगायत थुप्रै क्षेत्रमा काम गरेकाले उनको चर्चा यो क्षेत्रमा निकै सुनिएको बताउँदै उनले उपेन्द्र यादवले गजेन्द्रनारायण सिंहको विरासत सम्हाल्न नसक्ने टिप्पणी गरे ।

उनले भने, ‘उपेन्द्रजीमा गजेन्द्रजीको विकल्प खोज्न सकिँदैन, गजेन्द्रनारायण सिंहले मधेसको कुरा गर्नुहुन्थ्यो भने उपेन्द्र यादवले राष्ट्रिय कुरा गर्नुहुन्छ । उहाँले आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउनुको साथै राष्ट्रिय मुद्दाहरु पनि उठाउनु हुन्छ । त्यसैले उपेन्द्र यादव गजेन्द्रको विकल्प हुनसक्दैन ।’

गजेन्द्रनारायण सिंहले जीवनभर मधेसको मुक्तिबाहेक अरु केही सोचेनन्, घरपरिवारको बारेमा पनि सोचेनन् भन्दै उनले उपेन्द्र र गजेन्द्रको मिसन एउटै भए पनि दुई फरक धारमा रहेको विश्लेषण गरे ।

तर गजेन्द्रनारायण सिंहको बारेमा थुप्रै अध्ययन अनुसन्धान गरी पुस्तकहरु प्रकाशन गरेका विकास तिवारीले गजेन्द्रनारायण सिंहको विकल्पमा उपेन्द्र यादवलाई लिन सकिनेमात्र होइन, सप्तरीका जनताले त्यही रुपमा हेरिरहेको दाबी गरे ।

गजेन्द्रनारायण सिंह संघीयतावादी, गणतन्त्रवादी, मधेसको मुक्तिका लागि जतिखेर पनि संघर्ष गरिरहने, नागरिकता तथा भाषाको कुरा उठाइरहन्थे, ठिक उपेन्द्र यादवले पनि त्यही काम गरिरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘गजेन्द्रनारायण सिंहपछि उपेन्द्र यादवले मात्र मधेसको मुक्तिको कुरा उठाउनु भयो, संघीयता र गणतन्त्रको लागि संघर्ष गर्नुभयो, नागरिकता र भाषाको कुरा उठाउनु भयो । त्यसैले गजेन्द्रनारायण सिंहको विकल्प उपेन्द्र यादव नै हुनुहुन्छ ।’

अब उनी गजेन्द्रनारायण सिंहको विरासत र उनको पदचापमा चल्न सक्छन् कि सक्दैनन्, त्यो अहिले भन्न सकिने अवस्था नरहेको बताउँदै उनले हालसम्म उपेन्द्र यादवले गजेन्द्रनारायण सिंहले उठाएको मुद्दालाई नै निरन्तरता दिइरहेको बताए ।

गजेन्द्रनारायण सिंहका साथमा काम गरेका रामऔतार यादव भन्छन्, ‘२०५६ मा गजेन्द्रनारायण सिंह हारेपछि मधेसलाई धेरै क्षति भएको थियो, मधेसीमाथि झन् विभेद बढेको थियो, मधेसीलाई हेप्ने काम भइरहेको थियो, फेरि पनि सप्तरीका जनताले त्यही गल्ती गर्लान् जस्तो मलाई लाग्दैन ।’

उपेन्द्र यादव जस्तोसुकै व्यक्ति भए पनि मधेसको मुद्दाप्रति इमानदार रहेको भन्दै उनले उपेन्द्रलाई गजेन्द्रनारायण सिंह जस्तै हराउनका लागि सप्तरीका जनताले नचाहेको बताए । उपेन्द्र यादव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि बनाइ सकेका व्यक्ति भएको र सप्तरीका लागि गौरवको विषय रहेको उनले बताए ।

उपेन्द्र यादवले जसरी सप्तरीमा विकासका काम गरे, त्यसले गर्दा गजेन्द्रनारायण सिंहको विकल्प उपेन्द्र यादव नै रहेको उनको भनाइ छ । उनले भने, ‘मुद्दाको हिसाबले पनि गजेन्द्रनारायण सिंह र उपेन्द्र यादवको धेरै कुरा मिलिरहेको छ ।’ अहिले मधेसमा गजेन्द्रनारायण सिंहको जसरी अभाव महसुस भइरहेको छ, त्यसरी नै उपेन्द्र यादव हारेपछि त्यसरी नै अभाव महसुस हुने उनले बताए ।

दिलिप सिंहले सीके राउत पनि चर्चित व्यक्ति रहेको तर उनको चर्चा र उपेन्द्र यादवको चर्चामा फरक रहेको विश्लेषण गरे ।

सुरुमा मधेस अलग गर्ने भनि आन्दोलन गरेर चर्चामा आएका सीके राउत जेल परेपछि हतास मनस्थितिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जेलमै वार्ता गरेर तत्कालीन सरकारसमक्ष आत्मसमर्पण गरेका थिए । त्यसपछि उनी कहिले भ्रष्टाचारको मुद्दा, त कहिले मल, बिउको मुद्दा, त कहिले नागरिकताको मुद्दा उठाएर सडक संघर्षमा रहे तर हालसम्म कुनैमा अडिग रहेनन् । उनले सुरुदेखि नै अन्योलको राजनीति गरेको बताउँदै दिलिप सिंहले सीके राउत र उपेन्द्र यादवको तुलना गर्न नसकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप