बारा १ मा मन्त्री चौधरी र एमालेका मैनालीबीच रोचक प्रतिस्पर्धा
प्रतिनिधिसभा सदस्य पदका लागि बारा १ मा कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र एमाले पोलिटब्युरो सदस्य अच्युतप्रसाद मैनालीबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । चार वटा निर्वाचन क्षेत्र रहेको बारामा ४ प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य पदमा चुनाव हुँदैछ ।
बहालवाला मन्त्रीसमेत रहेका चौधरी वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् भने एमाले र जसपा तालमेलबाट मैनाली चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यस क्षेत्रबाट तीनपटक विजयी हासिल गरिसकेका चौधरी चौथो पटक जित निकाल्ने प्रयासमा छन् । यसअघि २०७४ मा चौधरीसँग २४ सय २० मतले पराजित भएका मैनाली यसपटक आफ्नो साख फर्काउने ध्याउन्नमा छन् ।
मन्त्री चौधरीले गाउँपालिका र नगरपालिकाका सबै वडालाई व्यवस्थित सडक सञ्जाल, खानेपानी, सिँचाइ, सुकुम्बासी समस्या समाधानलगायतका प्रतिबद्धता जनाउने गरेका छन् । मन्त्री चौधरीले थारु समुदायको बाहुल्यता रहेको क्षेत्र नं. १ मा आफ्नो जितमा कसैले रोक्ने नसक्ने दावी गरेका छन् । ०७४ को निर्वाचनमा विश्वास गरेकाहरूले अहिले पनि आफूलाई जिताउने र विकासको लहर ल्याउन बाटो खोल्नेमा आफू ढुक्क रहेको उनले बताएका छन् ।
यता शिक्षा, स्वास्थ, यातायात, भौतिक पूर्वाधार, सुकुम्बासी समस्या समाधान, पर्यटन प्रवर्द्धन, खेलकुद, चुरे तथा नदी नियन्त्रण, सिम्रौनगढको विकासलगायतका एजेन्डा लिएर घरदैलोमा एमाले उम्मेदवार मैनाली चुनावी दौडमा व्यस्त छन् । जनताको मन जितेर चुनावमा जित हासिल गर्ने दाबी गर्दै यस क्षेत्रका मतदाताले गठबन्धनको नाममा बढ्दो राजनीतिक विकृती तथा अराजनीतिक गतिविधिलाई अन्त्य गरी विकास र परिवर्तनका लागि एमालेलाई जनताले जिताउनेमा पूर्ण विश्वस्त रहेको मैनालीको भनाइ छ ।
बारा १ मा सबैभन्दा बढी मतदाता छन् । यस क्षेत्रमा कुल एक लाख १९ हजार ३ सय ७५ मतदाता छन् । जसमध्ये पुरुष ६३ हजार ४ सय ६४, महिला ५५ हजार ९ सय ६ र अन्य ५ मतदाता छन् । यस क्षेत्रका लागि ८६ मतदानस्थलमा एक सय ५५ मतदान केन्द्रको व्यवस्था गरिएको छ । प्रतिनिधिसभाका निम्ति राजनीतिक दलबाट १२ र स्वतन्त्र ६ गरी १८ जना चुनावी मैदान उत्रिएका छन् ।
न्युज कारखाना