बिहीबार, २९ कात्तिक २०८१
ताजा लोकप्रिय

गाउँबासीसँग बाबुरामको गफगाफ, ‘केही पर्दा प्रचण्डलाई भेट्न गाह्रो छैन, म छु नि’

मङ्गलबार, २९ कात्तिक २०७९, ०९ : २३
मङ्गलबार, २९ कात्तिक २०७९

समय : बिहानको १० बजे, सोमबार । 
स्थान : गोरखा, पालुङ्टार–१, खोप्लाङ । 

गाउँको सानो पसलमुनिको खाली भागमा एउटा कुर्सीमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफ्ना गाउँ ठाउँका केही व्यक्तिसँग कुरा गरेर बसिरहेका थिए । उनका स्कुलका सहपाठी जो उनीसँगै कक्षा ८ सम्म पढेका बाबुराम पोखरेलले फूलको थुङ्गा दिएर भट्टराईप्रति आत्मीयता दर्साए । उनीसँगै पुगेका गाउँका अन्य स्थानीयले पनि त्यसैगरी एक थुङ्गा फूल दिएर उनीप्रति आदरभाव व्यक्त गरे । 

भट्टराई कुर्सीमा नबसी केही क्षण उभिए । उनका क्लासमेट र एउटै नाम भएका पोखरेलको घुँडा दुख्ने समस्या रहेछ । उनलाई बसेरै बात मार्न मन रहेछ । उभिएका भट्टराईलाई पोखरेलले भने, ‘हजुर पहिला बस्नुस् न । तपाईंलाई उभ्याएर बस्न पनि मिलेन । मेरो त घुँडा दुख्ने समस्या छ ।’ 

साथीको आग्रहपछि भट्टराई कुर्सीमा बसे । त्यसपछि पोखरेलले पनि नजिकै रहेको कुर्सी तानेर बसे । 

सोमबार बिहान १० बजे पालुङटार नगरपालिका वडा नम्बर १, खोप्लाङमा हामी पुग्दा बाबुराम भट्टराई स्थानीयसँग भेटघाट र छलफलका लागि त्यहाँ उपस्थित भएका थिए । भट्टराईको वरिपरि खासगरी नेपाली कांग्रेसनिकट कार्यकर्ता र मतदाताको बाहुल्यता थियो । उनीहरूमध्ये कतिपय भट्टराई चुनावमा नउठेकोमा थकथक मानेजस्तो गरिरहेका थिए । उनीहरू भट्टराईलाई सो क्षेत्रमा गर्नुपर्ने धेरै काम अधुरा रहेका र केही नयाँ काम गर्नुपर्ने बताइरहेका थिए । त्यहाँको खारखोलाको बाढीले खेत कटान गरेको र सो खोलामा पुल नभएका कारण स्थानीयले समस्या पाएको र भट्टराईले पहल गरे ती काम सम्पन्न हुने उनीहरूको भनाई थियो ।  

उनको कुरा सुनेपछि डा. भट्टराई नोस्टालजियामा फर्किए । अलिकति भावुक भएर उनले आफ्नो बाल्यकालका सम्झनाको पोको फुकाउँदै भन्न थाले –‘म दुनियाँभर डुलेँ, राति देख्ने सपनामा यहीँको ठाउँ देखिन्छ । संसारभर घुमियो, अमेरिका पुगियो, बच्चा बेलामा जुन बाटो हिँडियो, जहाँ ठेस लागेको थियो, त्यो नै सपनामा देखिरहेको हुन्छु ।’

बाबुरामसँग कक्षा १ देखि ८ कक्षासम्म सँगै पढेका साथी बाबुराम पोखरेल नेपाली कांग्रेसप्रति आस्था राख्दा रहेछन् । उनले डा.भट्टराईलाई सुनाए–‘एमालेका मान्छेहरू बाबुराम नै उठेको भए केही गर्थे कि भन्दै थिए ।’

बाबुरामले जवाफमा त्यो एमालेको ‘छुल्याहा प्रवृत्ति’ हुनसक्ने बताए ।  भट्टराईका साथी पोखरेलले भने–‘छुल्याहा प्रवृत्ति हुनसक्छ, भित्री आत्माबाट पनि भनेको हुनसक्छ । बाबुराम भट्टराई यही जन्मनुभयो, यही हुर्कनुभयो, हजुर प्रधानमन्त्री हुँदा हामी फलानाको छोरो, फलानाको नाति भनेर भेट्न जान सकिन्छ । प्रचण्डलाई भेट्नलाई सचिवलाई भन्नुपर्‍यो, पिएलाई भन्नुपर्‍यो, त्यो फरक पर्ने भयो ।’

बाबुरामले भने, ‘त्यसको लागि त हामी छँदै छौँ । कुनै कामका लागि प्रचण्डलाई भेट्नुपर्‍यो भने मैले सहजीकरण गरिहाल्छु ।’

स्थानीय कपिल न्यौपानेले भने–‘यो ५ वर्षमा यो झेदीखोला, खारखोला र फाँउदे खोलाको तटबन्ध र यो बाटोको काम गरिदिए पुग्यो । यो खोलामा पुल हालेर यो बाटो ठिक भए हामीलाई पुग्यो ।’

डा. भट्टराईका साथी बाबुराम पोखरेलले भने, ‘मध्यपहाडी लोकमार्ग त बन्छ तर हामीलाई यहाँको खोलो र पल्लोले धेरै खेतमा क्षति गरेको छ । यी दुई खोलामा तटबन्ध गर्नुपर्ने भयो ।’

भट्टराईले भने, ‘प्रदेश सरकारसँग समन्वय गरेर हामी यी काम गर्छौँ ।’ उनीहरूले गाउँको स्थानीय खोलामा दरौदीको भन्दा ठुलो बाढी आउने बताए । उनका साथी पोखरेलले घरनजिकको खारखोलामा आफूले जीवनमा भोगेको मध्ये सबैभन्दा ठुलो बाढी आएको बताए । २०११ सालमा त्यो खोलामा ठुलो बाढी आएको र यो वर्ष ठुलो बाढी आएर खेत कटान गरेको उनीहरूले भट्टराईलाई सुनाए । 

जवाफमा भट्टराईले भने –‘अहिलेको शासकीय पद्धति संघ, प्रदेश र स्थानीय तहमा विभाजन भएको छ । यी ३ वटै तहको संयोजन भयो भने काम गर्न सजिलो हुन्छ । संघ एकातिर, प्रदेश अर्कोतिर, स्थानीय तह अर्कोतिर भयो भने काम हुँदो रहेनछ । अहिले हाम्रो के सम्भावना छ भने, यो गठबन्धनले चुनाव जित्छ, चुनाव जितेपछि संघ प्रदेश र स्थानीय तहको सहकार्य हुन्छ । आउँदो ५ वर्षमा धेरै कुरा गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । मेरो सपना पनि त्यही छ ।’

भट्टराईले अगाडि थपे, ‘धेरैले बाबुरामले प्रचण्डलाई किन ल्यायो भनिरहेका छन्, प्रचण्डलाई यहाँ किन ल्याएको भने हाम्रो प्रचण्डजी, सुरेन्द्र पाण्डे, फडिन्द्र देवकोटाको यो टिम मिल्यो भने उहाँहरूले संघ र प्रदेशबाट यो क्षेत्रका लागि बजेटको पहल गर्नुहुन्छ । म त यहाँको स्थानीय पनि भएँ, यहाँको पहिलो सांसद पनि भएँ, त्यसको संयोजन मैले गर्न सक्छु । गठबन्धनले चुनाव जित्दा केही गर्न सकिन्छ भनेर मैले समन्वय गर्न खोजेको हुँ । उहाँ (बाबुराम पोखरेल)ले भनेको जस्तो प्रचण्डलाई भेट्न त गाह्रो होला, भोलि उहाँ प्रधानमन्त्री बन्नुहोला, यहाँ आइरहन त गाह्रो होला तर म त्यसको संयोजन गर्न सक्छु ।’

कुराकानीकै सिलसिलामा डा.भट्टराईसँगै ८ कक्षा पढेका सहपाठी पोखरेलले बेरोजगारीका कारण धेरै युवा विदेश गएको कुरा उठाए । उनले गुनासो गर्दै  भने –‘अहिले गाउँमा त ५ प्रतिशत मात्रै युवाहरू छन् । ९५ प्रतिशत युवाहरू त विदेशमा छन् । गाउँमा केवल बुढाबुढीहरु मात्रै छन् । बिरामी पर्‍यो भने बोकेर अस्पताल लैजाने मान्छे कोही छैनन् । एम्बुलेन्स नै बोलाउनुपर्छ । एम्बुलेन्स जाने ठाउँ भएन भने त आपत् नै पर्छ ।’

स्थानीय कपिल न्यौपानेले भने –‘हाम्रो नातागोता यता उता अरू कोही छैन, हाम्रो छर–छिमेकी, हामीले च्याप्ने भनेकै डा. बाबुराम भट्टराई हो । भन्नलाई अरू कोही छैन हामीसँग । हाम्रो नजिकको मान्छे भनेकै तपाईं हो ।’

उनको कुरा सुनेपछि डा. भट्टराई नोस्टालजियामा फर्किए । अलिकति भावुक भएर उनले आफ्नो बाल्यकालका सम्झनाको पोको फुकाउँदै भन्न थाले –‘म दुनियाँभर डुलेँ, राति देख्ने सपनामा यहीँको ठाउँ देखिन्छ । संसारभर घुमियो, अमेरिका पुगियो, बच्चा बेलामा जुन बाटो हिँडियो, जहाँ ठेस लागेको थियो, त्यो नै सपनामा देखिरहेको हुन्छु ।’

कुराकानीमा स्थानीय डा.ले भट्टराईसँग पानी र सिँचाइका लागि केही गर्नुपर्ने सुझाए । उनले यहाँका खोलानालाबाट ‘लिफ्टिङ्’ गरेर सिँचाइ र खानेपानीका लागि पानीको प्रबन्ध गर्न सकिने बताए । सबैतिर बिजुली पुगेकोले खोलाको पानी तान्न र प्रशोधन गरेर पिउने पानीको व्यवस्था गर्न गाह्रो नहुने बताए । स्थानीयले बाटो सुधारका लागि राखेको प्रस्तावमा उनले मुख्य बाटो केन्द्र सरकार, शाखा बाटोहरू र मध्यमस्तरका बाटोहरू प्रदेश सरकार र गाउँटोलमा जाने बाटो स्थानीय तहसँगको समन्वयमा सुधार गर्न आफूले पहल गर्ने बताए । 

कुराकानीकै सिलसिलामा डा.भट्टराईसँगै ८ कक्षा पढेका सहपाठी पोखरेलले बेरोजगारीका कारण धेरै युवा विदेश गएको कुरा उठाए । उनले गुनासो गर्दै  भने –‘अहिले गाउँमा त ५ प्रतिशत मात्रै युवाहरू छन् । ९५ प्रतिशत युवाहरू त विदेशमा छन् । गाउँमा केवल बुढाबुढीहरु मात्रै छन् । बिरामी पर्‍यो भने बोकेर अस्पताल लैजाने मान्छे कोही छैनन् । एम्बुलेन्स नै बोलाउनुपर्छ । एम्बुलेन्स जाने ठाउँ भएन भने त आपत् नै पर्छ ।’

पोखरेल लगतै स्थानीय कृष्णप्रसाद पोखरेल बोले –‘युवाहरूलाई बाहिर जानबाट रोक्न सक्नुपर्‍यो । अहिलेको ठुलो समस्या यही छ । जब पढ्यो, नेपालमा बस्नै चाहँदैनन्, मेरा दुइटा बच्चा छन्, दुबैजना बाहिर गए । म एक्लै बस्नुपरेको छ । उनीहरू यहाँ बस्नै मान्दैनन् । भोलिका लागि यो खतराको स्थिति हो । बेलायत छ छोरो, छोरी अस्ट्रेलिया छे । यहीँ बस भनेको मान्दै मानेनन् । पढाइ राम्रो छ उनीहरूको । यहाँ पैसा नै छैन भने । बोर्डिङमा पढाएको जम्मा १६ हजार दिन्छ रे । बेलायतमा फेरी त्यहाँ कमाएको पैसा त्यहीँ लिँदो रहेछ । ट्याक्स काट्ने, के–के काट्ने सिस्टम हुँदो रहेछ । त्यहाँबाट अलिकति थोरै पठाउँला यहाँ धेरै हुने त्यतिमात्रै रहेछ ।’

भट्टराईले कुरा गरिरहेको ठाउँमा २ जना स्थानीय महिलाहरू थपिए र गाउँमा उनी आएको थाहा पाएपछि गाउँको समस्या राख्नुपर्‍यो भनेर उनीहरू आएका थिए । उनीहरूले गाउँ छेउ बग्ने खारखोलाबाट बस्ती जोगाउन आग्रह गरे । उनीहरूले खोला आसपासका गाउँमा वर्षायाममा खोलाले धेरै क्षति पुर्‍याउने भएकोले त्यसलाई व्यवस्थित गर्न माग गरे । उनीहरूसँग अरू स्थानीयले गत वर्षायाममा सो खोलाले २ जनालाई बगाएको पनि डा.भट्टराईलाई सुनाए । 

स्थानीयको कुरा सुनेपछि उनले भने–‘तपाईंहरु धेरै नआत्तिनुस् यो ५ वर्षमा यो क्षेत्रमा धेरै काम गर्ने मैले सोचेको छु । केन्द्र र प्रदेशसँग समन्वय नभएका कारण पनि यस्तो भएको हो । केन्द्रमा एउटा सरकार छ, प्रदेश र स्थानीयमा अर्को सरकार छ, त्यसले गर्दा पनि अन्योल भइरहेको छ । त्यसको म समन्वय गरेर यहाँ के के गर्न सकिन्छ गर्छु ।’

डा. भट्टराईको कुरा सुनेपछि स्थानीय महिलाले भनिन्–‘आजभोलि त नयाँलाई भोट दिनुपर्छ भन्ने कुरा पनि चलिरहेको छ गाउँमा ।’ डा. भट्टराईले आफ्नो छेउमा उभिएका गोरखा क्षेत्र नम्बर २ को ‘ख’का उम्मेदवार फडिन्द्र देवकोटालाई देखाउँदै भने–‘उहाँ पनि त नयाँ उम्मेदवार त हो नि । नयाँ भन्ने तर केही पनि नबुझेको आएछ भने के गर्ने ?’

नेपाल समाजवादी पार्टीका केन्द्रीय समिति सदस्यसमेत रहेका देवकोटा माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर प्रदेश ‘ख’मा उम्मेदवार बनेका छन् । डा.भट्टराईको बोलीमा लोली मिलाउँदै उनले पनि भने, ‘हामीले नयाँ भन्दै गर्दा केही पनि थाहा नभएको आउनु र हामी आउनुमा धेरै फरक हुन्छ । हामी विचारमा सधैँ नयाँ छौँ ।’

डा.भट्टराईले थपे–‘कोही म नयाँ हुँ भन्दै आउँछ भने उसलाई सोध्नु कि विकास गर्न पैसा कसरी ल्याउँछौ भनेर । कि पैसा बोटमा फलेको हुन्छ, कहाँबाट पैसा ल्याउने बुझ्नुपर्‍यो । यो बाटो बन्न कति खर्ब पैसा लाग्छ, त्यो बुझ्नुपर्‍यो । त्यो पैसा कहाँबाट ल्याउँछौ भनेर त्यसलाई सोध्नुपर्‍यो । यो पनि गर्छु, त्यो पनि गर्छु भन्नलाई त बढो सजिलो छ नि ।’

उम्मेदवार देवकोटाले भने–‘नयाँ भन्नेलाई यहाँको वास्तविक समस्या के हो त्यो पहिचान गर्न गाह्रो छ । हामी यहीँ जन्मेर खेलेर हुर्केको मान्छेलाई त तपाईंहरु कसरी काम गर्ने हो भनेर प्रश्न उठाउनुहुन्छ भने नयाँ भन्ने मान्छेलाई यहाँको माटो कस्तो छ थाहा छैन, यहाँको जनतालाई चिन्दैन ।’

डा.भट्टराईले थपे, ‘म त यहीँ जन्मे हुर्केको मान्छे, मलाई यहाँको सबै ढुङ्गा माटो थाहा छ, यहीँबाट गएर देशको अर्थमन्त्री, प्रधानमन्त्रीसम्म हुने अवसर पाएँ । त्यो पोष्टमा पुग्दा त यहाँ काम गर्न, यो क्षेत्रका लागि बजेट मिलाउन कति गाह्रो भयो, ऐन कानुन, अनेक थोक मिलाउने झमेला पार लाउन गाह्रो भयो भने अहिले भर्खरको केटो आएको छ केही पनि बुझेको छैन । कहाँ पढेर आएँ भन्छ, विषय एकथोक पढेको छ । गर्नुपर्ने काम के के हो थाहा पनि छैन तर मलाई भोट देऊ भन्छ, बढो हाँस उठ्छ । भनौँ भने के भन्ने, गर्न त्यति सजिलो छ । गर्छौँ कसरी भाइ भन्दा यसरी गर्छु भन्ने कुनै तरिका थाहा छैन । नियम कानुन यस्तो छ तिमी एक्लैले बदल्छौ कसरी ? बहुमत नभई कानुन बदल्न सजिलो छैन ।’

सो क्षेत्रका प्रदेशका उम्मेदवार देवकोटाले हिजोका दिनमा राजनीतिक दल नमिल्दा भाइ भाइ फुटेको जस्तो अवस्था भए पनि अहिले सबै राजनीतिक दलहरू मिलेको बेला केन्द्र, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर गोरखाको विकासका लागि धेरै काम गर्न सकिने बताए । फडिन्द्रका स्कुले साथीसमेत रहेका कपिल न्यौपानेले अब विजयी भएमा उनलाई नै समस्या समाधानका लागि झकझक्याउन आउने बताए । उनले पछि सबैसँग मिलेर समस्या समाधान तथा विकासका काममा आफू लागिपर्ने प्रतिबद्धता जनाए । 

डा.भट्टराईले भने, ‘देवकोटाजी म अर्थमन्त्री भएका बेला र प्रधानमन्त्री भएका बेला पनि मेरो स्वकीय सचिव भएर बस्नुभएको हो । उहाँले धेरै प्रक्रियाहरू बुझ्नुभएको छ । कसरी काम गर्ने भन्ने पनि थाहा छ । यो ५ वर्ष हामी पनि मेहनत गर्छौँ ।’

डा. भट्टराईका सहपाठी पोखरेलले फडिन्द्रलाई जिताउने स्थानीयवासीको जिम्मा भएको बताउँदै सो क्षेत्रमा खारखोलासहितका दुईवटा खोलाले पुर्‍याउने क्षति रोक्न उनी निर्वाचित भएपछि पहल गर्नुपर्ने बताए । स्थानीयको मुख्य चासो खोलाबाट खेत कटान जोगाउन काम गर्नुपर्ने र सो क्षेत्रको बाटो सुधार गर्नुपर्ने कुरामा बढी जोड थियो ।’

भट्टराईले आफू संसदबाहिर रहेर पनि सो क्षेत्रका लागि के के गर्न सकिन्छ लागिपर्ने बताउँदै त्यसका लागि सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरिरहेका थिए । 

आफ्नै गाउँका स्थानीय साथीभाइसँग गफगाफ गरेपछि डा. भट्टराईले सानो कोणसभालाई सम्बोधन गरे । उनले त्यहाँ आफू मात्रै कति उम्मेदवार बनिरहनु भनेर नयाँ नेतृत्वलाई अवसर दिएको  बताए । सो कोणसभापछि उनी गोरखाको पालुङटार बजारमा सत्ता गठबन्धनले गरेको आमसभामा सहभागी हुन त्यसतर्फ लागे । सभामा पनि भट्टराईले आफूलाई ३ पटक विजयी गराएकोमा गोरखावासीलाई धन्यवाद दिँदै आफू संसदीय चुनावमा नलडे पनि गठबन्धनबाट उम्मेदवार बनेका प्रचण्ड लगायतका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै आफू संसद् बाहिर रहेर पनि गोरखाको विकास र समृद्धिका लागि लागिपर्ने वाचा गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप