सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

खोटाङमा गठबन्धन र एमालेबीच  मुख्य प्रतिस्पर्धा

मङ्गलबार, २९ कात्तिक २०७९, ०८ : २७
मङ्गलबार, २९ कात्तिक २०७९

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ । 

गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’  र  नेकपा एमालेबाट विशाल भट्टराई उम्मेदवार छन् । विसं २०६४ मा  क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा (२)बाट राई निर्वाचित भएका थिए । विसं २०५६ र २०६४ को निर्वाचनमा पराजित भएका भट्टराई विसं २०७० र २०७४ मा विजयी भएका थिए । 

प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा (१)मा स्वतन्त्रसहित आठ–आठ तथा प्रदेशसभा (२)मा छ  नेता चुनावी मैदानमा उत्रिएका छन् ।

एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।  दश स्थानीय तह रहेको जिल्लामा गत स्थानीय तहको निर्वाचनमा आठ  स्थानीय तह वाम–लोकतान्त्रिक गठबन्धनले जितेका थियो ।  

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका लागि खसेको मतका आधारमा वाम–लोकतान्त्रिक गठबन्धनको ४७ हजार पाँच सय १३ मत छ । एमालेको २८ हजार सात सय ९७ मत रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । 

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा खसेको मतलाई आधार मानेर हेर्दा प्रदेशसभा ९१०मा कांग्रेस १६ हजार नौ सय ३४, माओवादी केन्द्रको आठ हजार चार सय २४ र एकीकृत समाजवादीको एक हजार एक सय २६ गरी गठबन्धनको २६ हजार चार सय ८४ मत छ । एमालेको १३ हजार दुई सय ५९ मात्र छ । 

स्थानीय तहको चुनावमा वडाध्यक्षको मतका आधारमा प्रदेशसभा (२) मा गठबन्धन नै अगाडि छ । माओवादीको १० हजार तीन सय १२, कांग्रेसको नौ हजार छ सय ९९ र एकीकृत समाजवादीको एक हजार १८ गरी २१ हजार २९ मत खसेको थियो । एमालेको भने १५ हजार पाँच सय ३७ मत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप