आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङका मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पठाउन तयार

सोमबार, २८ कात्तिक २०७९, २१ : १०
सोमबार, २८ कात्तिक २०७९

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङमा सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाएर मतदान केन्द्रमा पठाउने मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एउटा मात्रै निर्वाचन क्षेत्र भएको मनाङमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई दिन तालिम प्रदान गरिसकिएको छ । जिल्लाका मतदान केन्द्रमा ५८ जना मतदान र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरी केन्द्रमा पठाउने कार्यालय प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । तालिममा कानूनी, व्यावहारिक र सैद्धान्तिक पक्षबारे जानकारी दिइएको थियो । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाका विषयमा जानकारी गराइएको उनले बताए । मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको छ ।

मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले निर्वाचनमा खटिने अधिकृतसहित कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर जिम्मेवारी पूरा गर्न आग्रह गरे । उनले आचारसंहितामा बाँधिएर निर्वाचन सम्पन्न गर्न अनुरोध गरे । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सुरक्षा अवस्था सुदृढ बनाइएकोले ढुक्क भएर निर्वाचनमा सहभागी भई मताधिकार उपयोग गर्न आग्रह गरे । मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्यरूपमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ आचार्यले बताए ।  “कात्तिक २९ गतेदेखि मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाउने काम हुन्छ, मङ्सिर १ गते साँझसम्म सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगिसक्नुपर्ने हुन्छ,” उनले भने । 

 निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री प्याकिङ गरेर पठाउनका लागि तयारी अवस्थामा राखिएको छ । प्रतिमतदान केन्द्रमा ६१ प्रकारका सामग्री पठाइनेछ । निर्वाचनका लागि मनाङमा २०० कर्मचारी निर्वाचन अधिकृतको कार्यालयबाट खटाइनेछ ।  एउटा मात्रै प्रतिनिधसभा निर्वाचन क्षेत्र र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा छ हजार सात सय ७९ मतदाता रहेका छन् । चार वटा गाउँपालिका रहेको जिल्लामा एक अस्थायी केन्द्रसहित २९ वटा मतदान केन्द्र रहेका छन् । प्रदेशसभा ‘१’ मा दुई हजार छ सय २४ र प्रदेशसभा ‘२’ मा चार हजार एक सय ५५ मतदाता रहेका छन् । निर्वाचन कार्यालयले मङ्सिर ४ गतेका लागि सामग्री पठाउने तयारीमा जुटेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप