शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिमा पहिलेपनि आकांक्षी थिइनँ र अहिलेपनि छैन : बाबुराम भट्टराई

सोमबार, २८ कात्तिक २०७९, १७ : ५४
सोमबार, २८ कात्तिक २०७९

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला गोरखामा छन् । गोरखा–२ मा प्रतिनिधि सभा सदस्य पदका लागि सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सोही क्षेत्रको प्रदेश ‘ख’ का उम्मेदवार फणीन्द्र देवकोटालाई भोट माग्न घरदैलो अभियानमा छन् । सोमबार बिहान पालुङ्टार नगरपालिका–१, खोप्लाङमा मतदातासँग घरदैलो गरिरहेको अवस्थामा डा. भट्राईसँग रातोपाटी संवाददाता शम्भु दंगालले गरेको संक्षिप्त कुराकानीः

तपाईं तीन तीन पटक निर्वाचित भएर पनि गोरखाको यो ठाउँको बाटो अझै धुलाम्मे रहेछ । बाबुरामले जितेपनि बाटो राम्रो भएन भन्ने यहाँका जनताको गुनासो रहेछ नि ?

बाटो पूर्ण नभएसम्म गुनासो गर्नु स्वाभाविक नै हो, त्यसलाई हामीले पूरा गर्नुछ । मूर्त रुपमा भन्नुपर्दा म सांसद भएको ६३ सालदेखि नै हालसम्म सांसद हुँदा यहाँ जति पनि बाटाघाटा, पुल पुलेसा जति बनेका छन्, यी मेरो पालामा नै सुरु भएका हुन् । यो भन्दा अझ राम्रो हुनुपर्यो भनेर जनताले माग गर्नु स्वाभाविक नै हो । मैले के भन्ने गरेको छु भने, मैले विकासको जग खन्ने काम गरेको छु, पिलरहरु पनि खडा गरिएको छ, खाली त्यसमा छाना हाल्ने काम बाँकी छ भनेर आग्रह गर्दै आएको छु ।

अहिलेको निर्वाचनमा पनि त्यही भनेर भोट मागिरहेको छु । अहिले म उम्मेदवार छैन, मैले जे जति गरेँ, जग खनेर पिलर मात्र उठाएको छु, अब यो घरलाई पूर्णता दिनका निम्ति अरु साथीहरुलाई मत दिनुस् भनिरहेको छु ।

तपाईंले पटक पटक चुनाव जितेको क्षेत्र अहिले किन छोड्नु भयो ?

यसको सिधा उत्तर के हो भने हाम्रो पुस्ताले लामो संघर्ष गरेर जनयुद्ध, जनआन्दोलन गरेर लोकतान्त्रिक गणतन्त्र ल्याएर संविधान सभाबाट संविधान ल्याएकोमा गर्व गर्छौ । अबको कार्यभार भनेको सुशासन, समृद्धि र विकासको हो । त्यो चाहना जनताको हो । त्यो काम एउटा लामो प्रक्रियामा जान्छ । सधैँभरी हामी सत्तामा रहेर मात्रै त्यो गर्छु भन्ने ठान्नु पनि हुँदैन ।

राजनीति भनेको सत्ता बाहिर रहेर पनि जनपरिचालन, विभिन्न प्रकारका सचेतना, दवावमार्फत् पनि काम गर्न सकिन्छ । मैले मेरो स्वविवेकले नै अब संसदमा मेरो पालो पुगेको छ र संसद बाहिर रहेर नै बाँकी काम पूरा गर्नुपर्छ भन्ने सोचका साथ स्वेच्छाका साथ छाडेर पुष्पकमल दाहाल प्रचण्डलाई यहाँको उम्मेदवार प्रस्तावित गरेको हुँ ।

प्रचण्डसँग भन्दा तपाईंसँग भेटघाट गर्न सजिलो हुन्थ्यो भन्ने यहाँका स्थानीयको चाहना रहेछ । उनीहरुको चाहना कसरी पूरा गर्नुहुन्छ ? 

यो विल्कुल स्वभाविक नै हो । अहिले हामीले पालुङ्टार नगरपालिका–१, खोप्लाङ, जहाँ कुरा गरिरहेका छौँ, यो म हुर्किएको ठाउँ हो । मैले पढेको अमरज्योति हाइस्कुल पनि यहीँ नजिक छ । म स्कुल पढ्दा पनि यही बाटो भएर चामल गुन्द्रुक, दाल बोकेर यही बाटो हिँडेको भएर यहाँका जनताले धेरै माया गर्नुहुन्छ ।

त्यसैले, यहीँको मान्छे हुँदा भेट्न सजिलो हुन्छ भन्नु त स्वाभाविक हो तर त्यो सधैँ सम्भव हुँदैन । बाबुराम सधैँ त बाँचिराख्दैन । कुनै न कुनै बेला बाबुरामले बिदा लिनुपर्छ । त्यसैले अर्को मान्छे आउँछ भनेर उहाँहरुले बिस्तारै बुझ्नुहुन्छ । उहाँहरुको त्यो भावनाको म सम्मान र कदर गर्छु । अब बाबुरामलाई बिदा दिने बेला आयो र नयाँ पात्रलाई चुन्ने बेला आयो भनेर उहाँहरुले बुझ्नुहुन्छ भन्ने मलाई लाग्छ ।

यसको मतलब अब तपाईं गोरखा फर्केर आउनुहुन्न ?

हैन हैन, त्यो विल्कुल गलत कुरा हो । मैले यहाँको विकासका लागि जग खनेर पिल्लर उठाएँ । अब यसलाई झ्याल, ढोका हाल्ने र छाना हाल्ने काम बाँकी छ । अब सरकारमा रहेर त्यसको नेतृत्व प्रचण्डले गर्नुहुन्छ । म भने जनस्तरमा रहेर यहाँका विकासका काम पूरा गर्नतिर लाग्छु । म निरन्तर रुपमा यहाँ आउँछु ।

स्थानीयलाई पनि थाहा  छ२०६५ सालदेखि हालसम्म निरन्तर प्रत्येक महिना म आफ्नो क्षेत्रमा आएको छु । म त्यस्तो एकमात्र सांसद होला, जसले यत्रो १२ वर्षसम्म एक महिना पनि नटुटाई आएको छ । त्यसमा मलाई गर्व छ र आगामी दिनमा पनि म बाँचुञ्जेल यहाँ आइराख्छु । यहाँ नजिकै मेरो घर छ । भूँइचालोले अलिकति भत्काएको मेरो पुरानो घर अहिले मर्मत गरेको छु । कमसेकम वर्षमा तीन चार महिना गोरखा आएर बस्ने मेरो अठोट छ ।

तपाईंले लामो समय संसदीय राजनीति गर्नुभयो, अब जनताले तपाईंलाई संसद भवनमा देख्न पाउने छैनन् । संसदीय चुनाव नलडेर गलत गरेँ भन्ने त लागेको छैन ? 

हैन, हैन । सांसद हुनु, मन्त्री हुनुमात्रै राजनीति गर्नु भन्ने गलत बुझाई हो । बहुदलीय लोकतन्त्रमा पार्टी हुन्छ, पार्टीमा कार्यकर्ता हुन्छन् । केन्द्र, प्रदेश र स्थानीय तहसम्म संगठन निर्माण गर्ने, जनपरिचालन गर्ने काम हुन्छ । तिनीहरूको बलमा मात्र संसदबाट र मन्त्रिपरिषदबाट नेताले काम गर्ने हो भन्ने कुरा बुझाउन पनि आवश्यक छ । त्यसैले, संसदभन्दा बाहिरको कर्मपनि राजनीति हो । समाज रुपान्तरण गर्ने काम राजनीति हुन्छ भन्ने बुझाउनका निम्ति पनि मैले यो प्रयत्न गरेको हुँ ।

संसद जाने बाटो आफैले बन्द गरेपछि अब डा. बाबुराम भट्टराईको राष्ट्रिय राजनीतिमा के भूमिका हुन्छ ?

म पूर्वप्रधानमन्त्री हुनुको नाताले, हिजोदेखि देश र जनताको पक्षमा लडेर आएको नाताले जनताले चिन्नुहुन्छ, माया गर्नुहुन्छ । म कुनै पदमा नरहेपनि देश र जनताको पक्षमा निरन्तर रुपमा क्रियाशील हुन्छु । यसलाई उहाँहरूले अवश्य पनि बुझ्नुहुन्छ । मैले गर्ने कर्ममा साथ दिनुहुन्छ भन्ने मलाई विश्वास छ ।

यो निर्वाचन सम्पन्न भएपछि अबको राष्ट्रपति तपाईं हो ? यस्तो हल्ला पनि चलिरहेको छ नि ?

हल्लाको पछि नलागौँ, म कुनैपनि पदको आकांक्षी छैन । मैले निःस्वार्थ भावले जिन्दगीभर सेवा गर्दै आएँ । अब बाँकी जीवन पनि जनताको सेवाबाहेक बाबुराम भट्टराईलाई कुनैपनि इच्छा आकांक्षा छैन । त्यो पदमा म पहिलेपनि आकांक्षी थिइनँ र अहिलेपनि छैन ।

अन्तमा अरु केही भन्नु छ कि ?

हाम्रो गाउँठाउँमा आएर जनतासमक्ष मेरो कुरा पुर्‍याइदिने काम गर्नुभयो, धन्यवाद । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप