बर्दिया क्षेत्र नम्बर १ : सञ्जय भर्सेज लक्ष्मण, भुसालको घन्टी र थारूको ढकिया पनि चर्चामा
चिसो बढ्दै गएको छ तर प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सरगर्मीले मौसमलाई तताएकोे छ । मंसिर ४ गते हुन गइरहेको चुनावमा कुन पार्टीले बाजी मार्ला ? मुलुकका चोक, चौतारी र चिया पसलहरूमा अहिले विभिन्न अड्कलबाजी भइरहेका छन् ।
बर्दियामा पनि चुनावी माहोल तातेको छ । मुलुकको पश्चिम क्षेत्रमा सबैभन्दा बढी चर्चामा रहने गरेको निर्वाचन क्षेत्र हो, बर्दिया क्षेत्र नम्बर १ । नेकपा एमालेका तात्कालीन उपाध्यक्ष वामदेव गौतमको निर्वाचन क्षेत्र भएकाले पनि विगतमा यो निर्वाचन क्षेत्र चर्चाको विषय बन्थ्यो । निरन्तर यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्दै आएका गौतमको हार होस् वा जित दुवैमा यो क्षेत्रको चर्चा हुन्थ्यो । आफू पनि परियो यही क्षेत्रको । राष्ट्रिय रुपमा आफ्नो क्षेत्रको चर्चाले को पो पुलकित नहोला र ?
अहिले वामदेव त चुनावी मैदानबाट बाहिरिइसकेका छन् । बर्दियाली आमजनताको मन जित्न नसकेपछि अघिल्लो सङ्घीय चुनावमा हारसँगै उनी बर्दियाबाटै पलायन हुनुपरेको हो । अहिले उनी करिब–करिब राजनीतिबाटै पलायन हुने अवस्थामा पुगेका छन् । वामदेव गौतम पलायन भएपछि यो क्षेत्रमा अब कसले बाजी मार्ला भन्ने कौतहुल भने आमनेपालीमा छँदैछ ।
विगतमा त्रिपक्षीय भीडन्त हुने गरेको यस क्षेत्रमा अहिले एमाले र गठबन्धनमा रहेको काँग्रेसबीच दुईपक्षीय भीडन्त हुने देखिन्छ । दुई निर्वाचन क्षेत्र रहेको बर्दिया क्षेत्र नम्बर १ बाट एक जना स्वतन्त्र उम्मेदवारसहित १० जनाले प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
वामलोकतान्त्रिक गठबन्धनका कारण संघमा नेकपा माओवादीसहितका दलहहरूको समर्थनमा काँग्रेस केन्द्रीय सदस्य सञ्जयकुमार गौतम चुनावी मैदानमा छन् भने एमालेका तर्फबाट केन्द्रीय सदस्य लक्ष्मणराज ज्ञवालीले प्रतिस्पर्धा गरिरहेका छन्् । सञ्जय यही क्षेत्रबाट आफ्ना थरबन्धु वामदेवलाई पराजित गर्दै अघिल्लो चुनावमा प्रतिनिधिसभा सदस्य बन्न सफल भएका थिए ।
अहिले यहाँको चुनावी प्रतिस्पर्धामा केही नयाँ अनुहार पनि थपिएका छन् । विशेष गरी युवा उम्मेदवारहरू यसपटक देखिएका हुन् । उनीहरू पनि चुनावमा हस्तक्षेपकारी भूमिकासहित देखा परेका छन् । स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी माहोल बन्न नसक्ने यहाँको अवस्थामा ती युवाहरू कुनै न कुनै पार्टीबाटै चुनावी प्रतिस्पर्धामा होमिएका हुन् ।
रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रवेश भुसाल क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । आइटी इन्जिनियरसमेत रहेका भुसाल ‘इनर्जेटिक’ युवा हुन् । छोटै समयमा निकै लोकप्रियता कमाएको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रूपमा भुसालको पनि लोकप्रियता बढिरहेको छ ।
त्यसै गरी, नागरिक उन्मुक्ति पार्टीका तर्पmबाट ठाकुरसिंंह थारू उम्मेदवार छन् । उनी लामो समयदेखि यस क्षेत्रमा पत्रकारिताका माध्यमले चिनिएका व्यक्ति हुन् । थारू र मधेसी समुदायमा यो पार्टीको राम्रो प्रभाव भएको मानिन्छ ।
त्यस्तै, राप्रपाको तर्फबाट सूर्यबहादुर सिंहले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । राजेन्द्र लिङ्देन राप्रपा अध्यक्ष निर्वाचित भएपछि देशव्यापी रूपमा यो पार्टीको सङ्गठनमा सकारात्मक प्रभाव परेको छ ।
हुन त नेपालको समग्र राजनीति नै अस्थिर र तरल अवस्थाको छ । कुनै पनि व्यवस्था, दल वा नेताको राजनीतिक भविष्य सुनिश्चित छैन । कुनै पनि नेताले आफ्नो निश्चित भूमि तयार गर्न सकेका छैनन् । कहिले कुन क्षेत्र त कहिले कुन क्षेत्रबाट नेताहरू चुनाव लड्नुको कारण पनि यही हो । अघिल्लो चुनावमा अत्यधिक मतसहित विजयी बनेका नेता लगत्तैपछिको चुनावमा त्यही क्षेत्रबाट नराम्रो हार व्यहोर्न बाध्य बनेका नजिर छन् ।
केन्द्रीय राजनीतिको प्रभाव यो क्षेत्रमा पनि नपर्ने कुरै भएन । यहाँ पनि कहिले एमाले, कहिले काँग्रेस त कहिले माओवादीले बाजी मार्दै आएका छन् । २०४८ सालपछिका चुनावहरूमा एमालेमय लाग्ने यो क्षेत्र, कुनैबेला माओवादीमय पनि भएको थियो । त्यस्तै, दुईपटक काँग्रेसले पनि यो क्षेत्रमा बाजी मार्न सफल भएको हो ।
अघिल्लो चुनावमा वामदेवलाई हराएर चर्चामा आएका सञ्जय गौतमको पक्षमा जुन माहोल देखिएको थियो, अहिले त्यो पाइँदैन । वामदेवप्रतिको बर्दिया क्षेत्र नम्बर १ का जनताको विकर्षण र एमालेभित्रको आन्तरिक कलहको लाभ सञ्जयले मजैले उठाएका थिए । तर ठीक त्यही अवस्थाको लाभ अहिले अरूले उठाउने सम्भावना छ ।
काँग्रेस पार्टीभित्र देखिएको आन्तरिक मतभेदको असर चुनावमा पनि पर्न सक्ने अड्कलबाजी भइरहेका छन् । सञ्जय पार्टीमा कोइराला प्यानलको पक्षपोषण गर्ने भएकाले संस्थापन पक्षको सहयोग उनलाई प्राप्त हुन्छ नै भन्ने निश्चित छैन । जबकि बर्दियामा संस्थापन पक्षको बाहुल्यता छ ।
त्यस्तै, वामदेवजस्तो चर्चित नेतालाई हराएर चर्चा कमाएका सञ्जयले पनि यो पाँच वर्षमा आफ्नो क्षेत्रका जनतामा खासै सकारात्मक प्रभाव पार्न सकेनन् । उनी पनि वामदेवजस्तै राजनीतिको भूमरीमा केन्द्रतिरै हराए ।
गठबन्धनको साझा उम्मेदवार बनेका सञ्जय अन्य दलहरूले आफूलाई जिताइ दिनेमा ढुक्क देखिन्छन् । तर अघिल्लो चुनावमा माओवादी मतदाताले वामदेवलाई ‘धोका’ दिएजस्तै यो चुनावमा सञ्जयले धोका पाउँदैनन् भन्ने कुनै ग्यारेन्टी छैन ।
अर्कातिर, राष्ट्रिय स्वतन्त्र पार्टीका भुसाल र नागरिक उन्मुक्ति पार्टीका थारूप्रति यहाँका युवा तथा थारू समुदायको आकर्षण बढेको पाइन्छ । चुनावी प्रचार–प्रसारलाई हेर्दा भुसालको घन्टी र थारूको ढकिया चुनाव चिह्नले निकै चर्चा बटुलेको छ । उनीहरू आफ्नो जित सुनिश्चित गर्न नसके पनि चुनावी परिणामलाई फेरबदल गर्न सक्ने अवस्थामा रहेको आकलन गर्न सकिन्छ ।
त्यसैगरी, एमालेका तर्फबाट प्रतिनिधिसभामा यहाँबाट उम्मेदवार बनेका ज्ञवाली पार्टीको बलमा नै उम्मेदवार बनेका हुन् र पार्टीकै बलमा चुनाव जित्ने तयारीमा छन् । पार्टी राजनीतिमा पुराना भए पनि उनी चुनावी प्रतिस्पर्धामा भने नयाँ हुन् । उनी आमजनता र मतदातासँग त्यति घुलमिल नभएका व्यक्ति हुन् । फेरि उनी वामदेव गौतमका बहिनीज्वाइँ हुन् । वामदेवलाई बर्दियामा मन नपराउने अधिकांश जनताले उनकै नातासम्बन्धि ज्ञवालीलाई कुन रूपमा लेलान् ! त्यो हेर्न बाँकी नै छ ।
सञ्जय व्यक्तिगत रूपमा पनि यहाँका अधिकांश मतदातासँग परिचित छन् । तर लक्ष्मणलाई भने पार्टी कार्यकर्ताबाहेक प्रायः यहाँका आममतदाताले चिन्दैनन् । त्यसैले, चुनावी रणनीतिका हिसाबले लक्ष्मणका लागि सञ्जय भारी पर्नेछन् ।
अहिले ठूलो युवापंक्ति दलीय राजनीतिप्रति वितृष्णा राख्छ । यो समग्र मुलुककै अवस्था हो । राजनीतिप्रति नयाँ पुस्तालाई खासै रुचि र आकर्षण छैन । गएको स्थानीय चुनावमा सचेत र जागरुक नागरिक बस्ने सहरहरूमै स्वतन्त्र उम्मेदवारहरूले लोकप्रिय मतसहित चुनाव जित्नुले पनि दलहरूप्रतिको आमजनता र मतादाताको विकर्षणलाई देखाउँछ ।
बर्दियाली जनतामा पनि दलहरूप्रतिको विकर्षण बढ्दो क्रममै छ । पाकापुराना र ‘टेस्टेड’ नेता र दलहरूप्रति आकर्षण घट्दै जानु र नयाँ दल र व्यक्तिप्रतिको आकर्षण बढ्नुले आमजनताको चाहनालाई प्रतिबिम्बित गर्छ ।
बर्दियाली जनताको विकास र समृद्धिको चाहनालाई यहाँका कुनै पनि दल र तिनका नेताले सम्बोधन गर्न नसक्नुकै परिणाम हो, अहिलेसम्मको चुनावी परिणामको अस्थिरता । नेताहरूले जनतालाई आफ्नो मातहतको ठान्नु र उनीहरूका आवश्यकता र चाहनाको बेवास्ता गर्नुकै परिणाम हो यो ।
अझ आफ्ना कार्यकर्तालाई त नेताले कारबाहीको डन्डा देखाएर हकारपकारै गर्ने तहसम्मको व्यवहार प्रदर्शन गर्छन् । नेताहरूको यो चरित्र र व्यवहारमा बदलाव ल्याउनु जरुरी छ । आमजनता, पार्टी कार्यकर्ता र मतदाता कसैका बँधुवा होइनन् । नेताहरूले बुझ्नुपर्छ ‘एक माघले जाडो जाँदैन’ । एकपटक जनता, कार्यकर्ता र मतदातालाई झुक्याउँदैमा सधैँ झुक्याउन सकिन्छ भन्ने भ्रम अब नपाले हुन्छ ।
नेतालाई जनताले जवाफ दिने सबभन्दा ठूलो अवसर निर्वाचन नै हो । त्यसैले आम मतदाताले यो अवसरको उपयोग गर्दै आफ्नो विवेक सही ठाउँमा प्रयोग गर्नु नै बुद्धिमानी हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’
-
आजको मौसम : पश्चिमी वायुको सामान्य, कहाँको तापक्रम कति ?