लेखराजलाई राजनीतिमा उठ्न नसक्ने गरी हराउँछु : वीरबहादुर बलायर
मंसिर ४ को निर्वाचनमा कैलाली–४ मा सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा कांग्रेसका वीरबहादुर बलायरसँग मैदानमा छन् । उनलाई एमालेबाट उम्मेदवार बनेका लेखराज भट्टले चुनौती दिने देखिन्छ । उनै बलायरसँग चुनावी विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश–
कैलाली–४ मा गठबन्धनको साझा उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । प्रचारप्रसार कसरी अगाडि बढाउनुभएको छ ?
अहिलेसम्म मेरो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने ३० वटै वडामा करिबकरिब घरदैलो कार्यक्रम सकेका छौँ । अब हामी पुनः दोहोर्‍याउने क्रममा छौँ । सबै गठबन्धन दलका नेताहरु आ–आफ्ना वडामा सक्रिय भइ लाग्नुभएको छ ।
यहाँका मतदाताहरुको गुनासो र अपेक्षा के पाउनुभयो ?
यहाँ एउटै भनाइ छ,तपाई आउनुभयो,ठिकै छ तर विगतमा यहाँ जितेर जानेहरु जस्तै नगरिदिनुहोला । मत लिएर गएपछि नफर्किने,विकास निर्माणमा सहभागी नहुने जस्ता समस्या रहेछन् । हामीले प्रतिवद्धता व्यक्त गरेका छौँ । हामी त्यस्तो उम्मेदवारमा पर्दैनौं र हाम्रो त्यस्तो सोच पनि होइन । क्षमता अनुसारको काम गर्नेछौं भनेर जनतामाझ कुरा राखेका छौँ । मतदाता निकै उत्साहित छन् ।
तपाई के–कस्ता एजेण्डा लिएर मतदाताकहाँ गइरहनुभएको छ ? तपाई निर्वाचित भएपछि कैलाली निर्वाचन क्षेत्र नं. ४ मा के नयाँ हुन्छ ?
यहाँ हुने सबै काम नयाँ नै हुन्छ । अहिलेसम्म यहाँ कुनै काम नै भएकै छैन । अहिलेसम्म केही नभएका कारण अब केही हुन्छ भनेर मैले प्रतिवद्धता जाहेर गरेको छु । यहाँका पूर्वाधारहरु,खैराला सडक,डोटी जाने फास्ट ट्रयाक,चौकीडाँडा फल्टुडे सडक,कुनै पनि केन्द्रीय योजनामा छैनन् । हिजो हामी हुँदा खुटिया–दिपायल फास्ट ट्रयाक हामीले केन्द्रीय योजनामा राखेका थियौँ । तर अहिले त्यो पनि बन्द छ ।
यहाँका समस्या ज्यूँका त्युँ छन् । विगतमा जितेका यहाँका जनप्रतिनिधि जनताका समस्याबाट पर रहेको र म डोटीमा हुँदा गरेको कामबारे यहाँका जनताले बुझिसकेका छन् । विगतका जनप्रतिनिधि आफ्नो स्वार्थ केन्द्रित रहेको र दुई वर्षसम्म यो क्षेत्र जनप्रतिनिधिविहीन रहेकाले ममा जिम्मेवारी र चुनौती थपिएको छ ।
तपाईका प्रतिद्वन्द्वीले आफू यस क्षेत्रको स्थानीय भएको भन्दै यहाँको विकासका लागि आफ्नो जित अपरिहार्य रहेको भन्नु भएको छ । उहाँले तपाईको निर्वाचन क्षेत्रकै ठेगान छैन भन्नुभयो नि ?
उहाँ (लेखराज) यस क्षेत्रबाट ३ पटक निर्वाचन लड्नु भयो । २ पटक निर्वाचित हुनु भयो । उहाँ गरिबको झुपडीसँग कहाँ जोडिनुभयो ?उहाँ केवल कमाउनका लागि आउनुभएको छ । आयआर्जनको लागि,आफ्नो स्वार्थका लागि मन्त्री हुनु भयो । म उहाँलाई विकास कसरी गर्न सकिन्छ भन्ने देखाउन पनि चाहन्छु । अर्को कुरा,उहाँ पनि जन्मेको डोटी नै हो नि । म पनि डोटीमै जन्मेको हुँ । अगाडि पछाडि जन्मिँदा अपराध हुन्छ र ?यहाँको सामाजिक,आर्थिक,राजनीतिक परिवर्तनका लागि म यहाँबाट जेल हुने,व्यवस्था परिवर्तनका लागि लड्न हुने,चुनाव लड्न कैलाली–४ मा आउन किन नहुने ?
मेरा आमाबुबा यहाँ बित्न हुने तर उनीहरुको छोरो म टुरिस्ट ?त्यस्तो हुन्छ कहीँ ?उहाँले कुन चाहिँ परिभाषा भन्दै हुुनुहुन्छ ?उहाँले यहाँका जनतालाई गरिबी,उत्पीडनको बन्धनमा राखेको हुनाले त्यसबाट मुक्त गर्न म यहाँ आएको हुँ । उहाँमा शोषक र समान्त विचार छ । त्यसैले अधिनायकवादी ओलीजीसँग सहयात्रा गर्नु भयो ।
तपाईले कैलाली–४ नै आफ्नो राजनीतिक क्षेत्र हुन्छ भन्नेमा मतदातालाई विश्वस्त पार्नुभयो त ?
पारिसकेँ । मेरा लागि यो सौभाग्य हो । बाँकी जीवन यहीँ अर्पण गर्छु । मेरो बाउ,आमा यही बित्नु भयो । मैले मेरो बाउ आमा बितेको यो बाटोको तिलक लगाएर बाँकी मेरो जीवन यहाँको सामाजिक र राजनीतिक परिवर्तनका लागि खर्चने छु ।
कैलाली–४ मा कांग्रेसको सुदूरपश्चिम कमाण्डर तपाई र एमालेको प्रदेश कमाण्डर लेखराज भट्टबीच भिडन्त हुँदैछ । यो प्रतिस्पर्धालाई व्यक्तिगत रुपमा कसरी लिनुभएको छ ?
यो राजनीतिक प्रतिस्पर्धा हो । कसैलाई पनि अवमूल्यन गर्नु हुँदैन । उहाँको पार्टीभित्र उहाँ के हो भन्ने मलाई थाहा छैन । म त कांग्रेसको १४ औं महाधिवेशनबाट भोट पाएर निर्वाचित भएर आएको व्यक्ति हुँ ।
म के सुन्दैछु भने,उहाँ टीका लगाएर आएको हो । पार्टीका कार्यकर्तालाई फेस गर्न नसक्नेले जनतालाई फेस गर्छ भन्ने कुरामा म त्यति विश्वास गर्दिनँ । त्यसलै कति प्रतिस्पर्धा होला र ?जनताले मप्रति देखाएको शुभ संकेत छ । त्यो संकेत सत्यमा परिणत भयो भने तपाईहरुले जादु देख्नुहुनेछ ।
त्यसो भए तपाई आफूले जित्नेमा विश्वस्त हुनुहुन्छ ?
म विश्वस्त मात्रै छैन,यहाँ जादु हुँदैछ ।
त्यो जादु भनेको के हो ? स्पष्ट पार्दिनुस् न ?
कसैले आफ्नो बाँकी राजनीतिक जीवनबारे सोच्नुपर्ने छ,अगाडि बढौं,नबढौं,उठौं या थचक्क बसौं भन्ने गरी कसैलाई बाध्यात्मक रुपमा निर्णय गर्नुपर्ने परिस्थिति सिर्जना हुन्छ ।
कैलालीबाट प्रदेश राजधानी सार्न तपाईले चर्को जोडबल गर्नु भएको थियो । अहिले तपाई प्रदेश राजधानी भएकै ठाउँबाट चुनाव लड्न आउनुभएको छ । अब प्रदेश राजधानी कैलाली–४ मै रहनुपर्छ भन्नुहुन्छ कि डोटीमै सार्नुपर्छ भन्नुहुन्छ ?
म डोटीसँग नैतिक रुपमा बाँधिएको थिएँ । मैले राजनीतिक जीवन त्यहाँ बिताएको थिएँ । आफ्ना मतदाताका बीचमा गएर आफूलाई समर्पण गरेको थिएँ । भौतिक रुपमा भरिपूर्ण दिपायलमा राजधानी राख्नुपर्छ भन्ने नैतिक दायित्व थियो । त्यहाँकै ठूलो दलको प्रमुख नेता र त्यहीँबाट राजनीति गर्ने मान्छेले त्यो भन्नु स्वाभाविक हो । तर मन्त्री हुँदाहुँदै दिपायल राजधानी राख्न सकिएन । पछि चुनाव हारियो । चुनाव हारेको मान्छेको कति तागत हुन्छ ?तैपनि भन्दै थिएँ । अस्थायी राजधानी यहाँ तोकियो । प्रदेशको संसदको दुई तिहाइले यहाँ गोदावरीलाई राजधानी बनाएको छ । अहिलेसम्म कुन ठाउँमा बन्ने भनेर भोगाधिकारको निर्णय पनि भएको छैन ।
त्यसकारण भोगाधिकारको लागि केन्द्रीय सरकारसँग वार्ता गराइनेछ । एउटा पृथक खालको राजधानी बन्दैछ । अहिलेसम्म ६ वटा प्रदेशमा राजधानी बनिबनाउ सहरमा छन् । यहाँ एउटा नयाँ सहरको परिकल्पना गरेर राजधानी बनाउनुपर्ने छ ।
त्यसका लागि केन्द्र र प्रदेशको हैसियतले बन्ने परिस्थिति कम छ,त्यसकारण राष्ट्रिय र अन्तर्राष्ट्रिय दातृ निकायसँग पनि पहल गर्नुपर्ने अवस्था देखिएको छ । त्यसकारण त्यही क्षमताको मानिसको आवश्यकता छ ।
आफ्ना लागि मात्रै सोच्ने र पार्टीका पद परिवारका लागि मात्रै प्रदान गर्ने मानिसले केही काम गर्न सक्दैन । मानसिक रुपमा मानिस विक्षिप्त भइसकेपछि समाजबारे सोच्ने फुर्सद हुँदैन । उहाँ (भट्ट) मा त्यही किसिमको लक्षण देखिएको छ ।
गठबन्धनभित्रका दलबीच एक अर्कामा मत ट्रान्सफर हुन कठिन छ भनिन्छ, कैलाली–४ को अवस्था के छ ? माओवादी, समाजवादी र राष्ट्रिय जनमोर्चाका नेता–कार्यकर्ताले तपाईलाई कतिको स्वीकार गरिरहेका छन् ?
म त यहाँ तपाईभन्दा माथि गएर भन्छु,यहाँ माओवादी केन्द्रका उम्मेदवार छैनन् । गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेस र प्रदेशसभामा कांग्रेस र नेकपा एकीकृत समाजवादीको उम्मेदवारी छ तर यहाँ हाम्रो अभियानको प्रमुख अभियन्ता नै माओवादी छ । उहाँहरुले नेतृत्व गरिरहनुभएको छ । हामी एकआपसमा अंकमाल गरेर अगाडि बढेका छौँ । आत्मीयताको साथ गाँसिएका छौँ । हामी कांग्रेसीहरु ‘लाल सलाम’ भन्छौँ,उहाँहरु ‘जय नेपाल’ भन्नुहुन्छ । बरु गाह्रो त उहाँ (भट्ट)लाई छ,हिजो हँसिया हथौडामा गोलबद्ध कार्यकर्ता मै सँग हुनुहुन्छ । उहाँ त अर्काको घरमा भाडामा जानुभएको छ । अर्काको डेरामा बढी फूर्ति लगाए कान समातेर निकाल्छन् नि घरबेटीले !
हिजोका दिनमा भीम रावलप्रति तपाई चर्को सुनिनु हुन्थ्यो । अहिले उहाँप्रति साहनुभूति राखेर बोलिराख्नु भएको छ । भीम रावलको त्यति सारो माया लाग्छ ?
त्यस्तो होइन । ओलीका गलत गतिविधिप्रति असहमति राख्दैमा भीम रावललाई त्यसरी बाहिर पुर्‍याउनु हुन्छ ?सारा राजनीतिक जीवन प्रचण्डसँग बिताएर अवसरका लागि जाने मान्छेको अब बिचल्ली हुन्छ । उहाँ घर न घाटको हुने अवस्था आउँदै छ ।
सुदूरपश्चिमको कांग्रेस सभापति हुनुहुन्छ । यहाँ सत्ता गठबन्धनले कति सिट जित्ने अवस्था छ ?
कतै आक्कल झुक्कल एक–दुई सिटमा तलमाथि परे पनि बाँकी सबैमा जित्छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान