आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

म सबैको नेता हुँ : लेखराज भट्ट

सोमबार, २८ कात्तिक २०७९, १७ : २१
सोमबार, २८ कात्तिक २०७९

मंसिर ४ को निर्वाचनमा कैलाली–४ मा एमालेबाट उम्मेदवार बनेका लेखराज भट्ट गठबन्धनका साझा उम्मेदवार कांग्रेसका वीरबहादुर बलायरसँग प्रतिस्पर्धा गर्दैछन् ।  उनै भट्टसँग चुनाव केन्द्रित विषयमा गरिएको कुराकानीको सम्पादित अंश–

चुनावी प्रचार प्रसार कसरी अगाडि बढेको छ ?

निर्वाचन क्षेत्रलाई दुई भागमा बाँडेर प्रचारप्रसार अगाडि बढाएका छौँ । यसमा खासगरी प्रचारप्रसार मुल समितिका साथै केही उपसमिति गठन गरी अगाडि बढेका छौँ ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनको साझा उम्मेदवार हुनुहुन्थ्यो र निर्वाचित पनि हुनुभयो । तर अहिले समीकरण फेरिएको छ । अहिलेको अवस्थामा कति सहज पाउनुहुन्छ आफूलाई ?

गठबन्धन एकातिर छ,भने अर्कोतिर एमालेमात्रै । एक्लै प्रतिस्पर्धा गर्न नसकेपछि गठबन्धन भएको हो राष्ट्रियस्तरमा । यहाँ गठबन्धनसँग लड्दा मेरो मुख्य तागत भनेको म यहाँको स्थानीय हो । विगतदेखि म यहाँ काम गर्दै आएको छु । जुन कारण मलाई त्यति असहजजस्तो लाग्दैन । यहाँ सबैमाझ परिचित छु । मलाई कुनै पार्टीभन्दा सबैको नेताको रुपमा हेरिन्छ ।

कैलाली–४ बाट पटकपटक जितेर जानु भयो । विगतको निर्वाचनमा गरेका बाचा कति पूरा गर्नु भयो ? मतदाताको गुनासो र माग के छ ?

विकासका भन्दर्भमा खासै गुनासो छैन । तपाई निर्वाचनपछि जनतामाझ आउनु भएन भन्ने छ । उद्योगमन्त्री भएँ । यहाँ आउने समय मिलेन । पछि कोरोना महामारीमा नागरिकको जीवन रक्षाका लागि जुट्नु पर्‍यो ।

यहाँ दुई डोट्यालीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ, यो भिडन्तलाई कसरी लिनुभएको छ ?

मेरो जन्म डोटी भए पनि म यहाँको पुरानो बासिन्दा हो । हामीभन्दा पुरानो यो गाउँमा कोही पनि छैन । यहाँ दुई डोट्याली भने पनि म यहाँकै हो । तर उहाँ चाहिँ चुनाव लड्नमात्र आउनुभएको हो । चुनावपछि उहाँ फेरि डोटी नै फर्कनु हुन्छ । गठबन्धनका कारण उहाँ बाध्य भएर यहाँ सर्नु भयो । उहाँले अहिले डोटी छोडिसक्नु भयो,भोलि कहाँ जानु हुन्छ,थाहा छैन । जिल्ला खोज्दै जानुपर्ने अवस्था छ ।

जस्तै,प्रचण्डले मलाई जनताले बोलाए भन्दै अहिले सर्दासर्दै गोरखा पुग्नु भएको छ । त्यस्तै,हाम्रो बलायर पनि सर्दै जानुहोला । उहाँको ठेगान छैन । तर म त आफ्नो क्षेत्रमा अडिग भएर बसेको छु ।

स्थानीय तह निर्वाचनलाई नियाल्दा एमाले प्रतिकूल अवस्थामा देखिन्छ । आफ्नो जितको आकलन कसरी गर्नुभएको छ ?

हिजो एकताको निरन्तरतामा थियाँै । भावनात्मक रुपम मिलेको पनि थिएनौं । भर्खर पार्टी निर्माणमा लागेका थियौँ । त्यसले स्थानीय तहमा असर गर्‍यो । अहिले विगतका कमी कमजोरी सच्याएर अगाडि बढेका छौँ । पार्टी एकताबद्ध छ । त्यसकारण स्थानीय तह निर्वाचनको मत र अहिलेको मतमा धेरै अन्तर हुन्छ भन्ने लागेको छ ।

अहिले पनि एमालेभित्र असन्तुष्टिको स्वर सुनिन्छ । केहीले पार्टीबाट राजीनामा पनि दिए । मंसिर ४ सम्म यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

होइन,इच्छा राख्नु राम्रो कुरा हो । उसको अधिकारको कुरा हो । अन्तिम त पार्टीको निर्णय नै हो । निर्णयलाई मान्नु उसको दायित्वभित्र पर्छ । सबै जना अहिले लाग्नुभएको छ । कसैमाथि शंका गर्नुपर्ने अवस्था छैन ।

तपाई निर्वाचन जित्नेमा ढुक्क हुनुहुन्छ ?

म त ढुक्क छु ।

कैलाली–४ का लागि तपाईले अगाडि सारेका योजना के–के हुन् ? तपाई जित्दा आगामी पाँच वर्षमा यस निर्वाचन क्षेत्रले के पाउँछ ?

हिजोका दिनमा मैले यहाँ बिउ रोपेको छु । अब त्यो बिउलाई फलाउने र भित्र्याउने अवस्था छ । मेडिकल कलेजको लागि मेरै पहलमा योजनामा हालियो । संरचना तयार भएको छ । अब यसलाई मेडिकल विश्वविद्यालयको रुपमा स्थापना गर्ने भनेका छौँ । यसले यस क्षेत्रमा स्वास्थ्यको हबका रुपमा काम गर्नेछ ।

धनगढी–अत्तरिया औद्योगिक करिडोरको कुरा छ । डीपीआर भइ अगाडि बढेको छ । हरैयाको विशेष आर्थिक क्षेत्र छ । यहाँ यो महत्वपूर्ण छ । चुरे क्षेत्र सम्भावनाले भरिएको छ । यहाँ विश्वकै राम्रो कफी उत्पादन हुनसक्छ भन्ने माटोको परीक्षणले देखाउँछ । अमिलो सुन्तला र अदुवा उत्पादनको हबको रुपमा विकास गर्न सकिन्छ । सुरुवात पनि गरेका छौँ । बुढीतोला र खानीडाँडालाई पर्यटकीय क्षेत्रको रुपमा,गोदावरीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा गौरीगंगालाई गहुँ र धान उत्पादन पकेट क्षेत्रको रुपमा पहिले नै अगाडि बढाएका छौँ ।

शैक्षिक रुपमा अगाडि बढाएका छौँ । म आफ्नो निर्वाचन क्षेत्रमा मात्रै सीमित छैन,समग्र प्रदेशको विकास र समृद्धिको लागि लागिपरेको छु । दैजी छेला औद्योगिक क्षेत्र,सिमेन्ट,रासायनिक मल फ्याक्ट्रीको पनि सम्भावना अध्ययन भएको छ ।

२०७४ मा पनि यिनै मुद्दालाई तपाईले अगाडि बढाउनुभएको थियो । १५÷२० प्रतिशत पनि कार्यान्वयन भएनन् । अहिले अघि सारेका एजेण्डाहरु पूरा हुन्छन् भनेर यहाँका जनताले कसरी विश्वास गर्ने ?

मुल पक्ष त्यसको कार्यान्वयनमा गएको छ । जस्तो मेडिकल कलेजको ८० प्रतिशत काम भइसक्यो । खाली सञ्चालन गर्न बाँकी हो ।

दैजी छेलाको शिलान्यास भइसकेको छ । यस्ता धेरै छन् । मैले पाँच वर्ष काम गर्न पाएको होइन । बीचमा सांसद पद खोसियो र सरकारबाट बाहिरिएपछि कुनै पनि काम गर्न पाएको छैन ।

एमाले सुदूरपश्चिमको नेतृत्व तपाईको काँधमा छ । यो प्रदेशका एमालेको अवस्था के देख्नु भएको छ ?

एमालेको अवस्था धेरैै राम्रो छ । कमजोर छैैन । हामी १६ सिटमध्ये कम्तीमा १० सिट जित्दैछौँ ।

स्थानीय निर्वाचनको मत हेर्दा सत्ता गठबन्धनसँग सुदूरपश्चिमको एउटा सिटमा पनि एमाले अगाडि छैन । १० सिट जित्ने आत्मविश्वासको आधार के हो ?

जनता हो । जनताभन्दा अर्को के आधार हुन्छ र !

पहिलो र तेस्रो शक्ति कांग्रेस र माओवादीबीच गठबन्धन छ । त्यसैमा एमालेले विभाजित छ । विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पनि गठबन्धनमै छ । १० सिट एमालेले जित्ला र ?

एमाले फुटे पनि माओवादीसँग ठूलो हिस्सा यता आएको छ । सुदूरपश्चिममा म लगायत थुप्रै माओवादीहरु जोडिएका छन् । हामीले त्यो पाटोलाई हेरिरहेका छैनौं । बाहिर गरिएको आकलनजस्तो एमाले कमजोर छैन । साथै गठबन्धन स्थायी हुँदैन । एमालेलाई एकल बहुमत दिएर जानुपर्छ भन्ने देशैभरिको रुझान छ ।

यसअघि बहुमत दिँदा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले जोगाउन सक्नु भएन । एमालेलाई बुहमत दिँदा पाँच वर्ष सरकार चलाउँछ भन्ने के ग्यारेन्टी छ ?

हिजो र आजको परिस्थिति भिन्न छ । प्रचण्ड,माधव नेपाल,झलनाथ खनाल पार्टीमा हुनुहुन्थ्यो । उनीहरुमा आत्मा केन्द्रित महत्वाकांक्षा बढेर जाँदा पाँच वर्ष सरकार चल्न सकेन । अहिले केपी शर्मा ओली निर्विकल्प हुनुहुन्छ । उहाँलाई चुनौती दिने मान्छे पार्टीमा मैले देखेको छैन ।

सुदूरपश्चिममा भीम रावल फ्याक्टरले एमालेलाई ठूलो क्षति हुने चर्चा छ । एमालेको स्थापित नेतालाई तपाईहरुले यसरी बाइपास गर्दाको क्षति थेग्न सक्नुुहुन्छ त ?

रावलजी पार्टीमा हुनुहुन्छ । उहाँ आफ्नो विचार राखिराख्नु भएको छ । त्यसको अर्थ उहाँले पार्टीलाई नै पराजित गर्ने खालको गतिविधि गर्नु भएको देखेको छैन ।

उहाँले एमालेका लागि मत पनि माग्नु भएको छैन । बरु पत्रकार सम्मेलन गरेर एमालेको चुनावी नीतिको भण्डाफोर गर्नु भएको छ । यो एमालेलाई पराजित गर्न पर्याप्त छैन र ?

उहाँको जनता र कार्यकर्ताले राम्रैसँग मूल्यांकन गर्नु होला । उहाँबारे म धेरै टिप्पणी गर्दिन । उहाँ एमालेविरुद्ध बोलिराख्नु भएको छ । उहाँ भोलि यहाँ बस्ने हो भने त एमालेलाई हराउनु भनेको उहाँलाई नै नोक्सान हुनु हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप