बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

कैलाली–४ ग्राउण्ड जिरो : प्रदेश राजधानीमा डोट्याली भिडन्त

सोमबार, २८ कात्तिक २०७९, १७ : १५
सोमबार, २८ कात्तिक २०७९

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कैलाली–४ मा दुई जना डोट्यालीबीच प्रतिस्पर्धा हुँदैछ । डोटीको लाटामाण्डौका वीरबहादुर बलायर र गडसेराका लेखराज भट्ट पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।​ कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बलायर र एमालेका प्रदेश इन्चार्ज लेखराज भट्टबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । बलायरलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको दरिलो साथ छ भने भट्ट एमालेको एकल बलमा चुनावी मैदानमा छन् ।

पहाड र तराई मिलेर बनेको कैलाली–४ मा ६३ वर्षीय भट्ट र ५७ वर्षीय बलायर भोट माग्न उकाली–ओराली गरिरहेका छन् । बलायर विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । पञ्चायतविरोधी चेत राख्ने बलायर विद्यार्थीकालमै कांग्रेस निकट नेविसंघमा आबद्ध भए । डोटीको सीताराम उच्च माध्यमिक विद्यालयबाट २०३३ सालबाट बलायरको राजनीतिक यात्रा सुरु भएको हो । सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरमा उनी स्ववियु सदस्य भएका थिए । २०३६ सालतिर काठमाडौं आएपछि बलायरले राजनीतिक उचाइ लिन थाले ।

४ वर्ष बन्दी जीवन बिताएका बलायरले ०४६ सालको जनआन्दोलनमा थप चर्चा कमाए । त्यसपछि उनी त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा नेविसंघ अध्यक्ष भए । २०४९ सालमा त्रिविमा स्ववियु सभापति पदमा उनी पराजित भए । त्यसपछि बलायरलाई नेविसंघ अध्यक्ष बन्ने अवसर मिलेन ।

०५६ मा विराटनगरमा आयोजित नेविसंघको महाधिवेशनमा बलायरले सभापतिमा उम्मेदवारी घोषणा गरे पनि गोविन्द भट्टराईलाई अध्यक्ष बनाइयो । विद्यार्थी राजनीतिपछि उनी गृह जिल्लाबाट पार्टी राजनीतिमा छिरे । उनी नेपाली कांग्रेस डोटीको पूर्वसभापतिसमेत हुन् । ०६४ मा संसदीय राजनीतिको यात्रा थालेका बलायरले चुनाव जित्न सकेनन् । तर, ०७० को संविधानसभा निर्वाचनमा उनी डोटीको तत्कालीन क्षेत्र नम्बर १ बाट निर्वाचित भए । त्यसपछि उनी देउवा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्रीसमेत बने ।

पार्टीको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका उनी १४ औं महाधिवेशनबाट कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो सभापति बन्न सफल भए । पाँच दलीय गठबन्धनमा डोटी एकीकृत समाजवादीको भागमा परेपछि बलायर भट्टसँग भिड्न कैलाली–४ आइपुगेका छन् ।

भट्ट २०३० सालदेखि राजनीतिमा लागेका हुन् । २०५१ सालमा तत्कालीन नेकपा माओवादीको पूर्णकालीन सदस्य भएका भट्ट २०५७ सालमा केन्द्रीय सदस्य हुँदै पोलिटब्यूरो सदस्य बने । माओवादीले थालेको सशस्त्र विद्रोहका समयमा उनी ६ महिना जेल परेका थिए ।

२०६४ सालको संविधानसभा चुनावमा भट्ट कैलाली–५ बाट विजयी भए । तर २०७० सालको चुनावमा भने त्यही क्षेत्रबाट कांग्रेसका दीर्घराज भाटसँग पराजित भएका उनले २०७४ मा भने कांग्रेसका सुनिलकुमार भण्डारीलाई पराजित गर्न सफल भए ।

प्रचण्ड नेतृत्वको सरकारमा श्रम मन्त्री बनेका उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति मन्त्री भए । लामो समय माओवादीको सुदूरपश्चिम प्रदेश कमाण्ड सम्हालेका भट्टको काँधमा अहिले एमालेको प्रदेश कमाण्ड छ । ०७५ मा एमाले र माओवादी मिल्दा बनेको नेकपामा ‘डिजास्टर’ भएर पूर्ववत् अवस्थामा फर्किँदा उनी एमालेमै बसे । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा उद्योगमन्त्री रहेका उनी सांसद पद त्याग्न तयार भए, तर माओवादीमा फर्किएनन् ।

०७४ मा ‘हसियाँ हथौडा’बाट चुनाव लडेका भट्टको अहिले चुनाव चिह्न सूर्य छ । यसपटक उनको चुनाव चिह्न, पार्टीमात्र होइन, समीकरण पनि फेरिएको छ । भट्टले अहिले कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्बद्ध गठबन्धनका उम्मेदवारको सामना गर्नुपरेको छ ।

०७४ मा एमाले–माओवादीका तत्कालीन साझा उम्मेदवार हुँदा करिब ११ हजार मतान्तरले जितेका उनी स्थानीय निर्वाचनको मतअनुसार अहिले १७ हजार मतले पछि छन् । कैलाली–४ नम्बर क्षेत्रमा पर्ने गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ मा स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा उक्त तथ्य निकालिएको हो ।

यस क्षेत्रमा पर्ने महोन्याल गाउँपालिकाको ५ नम्बर वडा कांग्रेसले जितेको छ भने गौरिगंगा नगरपालिकाको प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस विजयी भएको छ ।

गौरिगंगाका ११ वडा मध्ये कांग्रेसले १, , , ६ र १० जित्दा माओवादीले ६, , ९ र ११ नम्बर वडा जितेको छ । यहाँ एकीकृत समाजवादीले २ र एमाले ३ नम्बर वडा जितेको छ ।

चुरे गाउँपालिका अध्यक्ष एमाले र उपाध्यक्ष कांग्रेसले जितेको छ । यहाँका ६ वटा वडामध्ये एमालेले २, , ५ र ६ नम्बर वडा जित्दा १ र ३ मा कांग्रेस विजयी भएको छ । गोदावरी नगरपालिकामा भने कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको छ ।

१२ वडा रहेको गोदावरीमा कांग्रेसले, , , , , , , १० र १२ गरी ७ वडाध्यक्ष जितेको छ । एमालेले ५, , ७ र ८ गरी ४ वडाध्यक्ष जित्दा ११ नम्बरमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

यहाँ कांग्रेसको २२ हजार ९९७, एमालेको २० हजार ८१, माओवादीको १० हजार १२३, नेकपा एकीकृत समाजवादीको ४ हजार २९, राप्रपाको ३ हजार २३४, नागरिक उन्मुक्ति पार्टीको १६४ र जसपाको ६४ मत छ ।

आगामी मंसिर ४ को निर्वाचनका लागि यहाँ एक लाख ४ सय ५२ मतदाता छन् । यहाँ डोटीबाट बसाइसराइ गरेर आएकाहरुको बाहुल्यता छ । अछाम, बझाङ, बैतडी, डडेलधुरा लगायतका पहाडी जिल्लाबाट कैलाली झरेकाहरु २०–२५ प्रतिशतको हाराहारीमा छन् । यही क्षेत्रमा थारु समुदाय करिब ३० प्रतिशत छन् ।

के भन्छन् मतदाता ?

चुरे गाउँपालिका–५ खानीडाँडामा होटल व्यवसाय गर्दै आएका रविन्द्र भाट लेखराजले चुनाव जित्ने हिसाब सुनाउँछन् । कैलाली–४ मा बलायर र प्रदेशसभा (ख) मा प्रकाश बमको उम्मेदवारीले लेखराजलाई सहज भएको उनको तर्क थियो ।

मोहन्याल–३ का रमेश जोशीले पनि भाटकै अनुमानमा सहमति जनाए । विगतमा धेरै काम गर्न नसके पनि स्थानीय उम्मेदवारका रुपमा लेखराजलाई मत दिने उनीहरुको सोच छ ।

यस्तै गोदावरी–८ स्याउले बजारका फुलाराम चौधरीले अहिले नै कसले जित्छ भनेर भनिहाल्ने अवस्था नरहेको बताए । फुलारामलाई पुरानाभन्दा नयाँले केही काम गर्छन् भन्ने छ । धनगढी–दिपायल फास्ट ट्रयाक सधैंको एजेण्डा बने पनि अहिलेसम्म बन्न नसकेकोमा फुलारामको गुनासो छ ।

गोदावरी–८, स्याउ बजारका पुष्पराज पाठक भने पाँच दलीय गठबन्धनले चुनाव जित्ने बताउँछन् । ०७४ मा वाम गठबन्धनका लेखराजलाई मत हालेका पाठक यसपटक बलायरलाई मत दिने मुडमा छन् ।

यहाँकै टेकबहादुर देउवा पनि पाठककै जस्तो मुडमा छन् । गौरिगंगा नगरपालिका वडा नम्बर ७ का दुखीराम चौधरीको रोजाइ रेशम चौधरीको नागरिक उन्मुक्त पार्टी बनेको छ । जसपा छाडेका उनी नागरिक उन्मुक्ति पार्टीको जित निश्चित रहेको बताउँछन् ।

सोही वडाको माहदेव गाउँका राजेन्द्र चौधरी भने बलायर जित्नेमा विश्वस्त देखिए । माओवादीका कार्यकर्ता राजेन्द्रले आफ्नो पूर्व नेता लेखराजप्रति गुनासो पोखे । जनतालाई धुलोमा फालेर व्यक्तिगत स्वार्थका लागि लेखराज एमालेमा गएको उनको आरोप छ । कैलाली–४ को विकासका लागि बलायरले जित्नुपर्ने राजेन्द्रको भनाइ छ ।

रातोपाटीले कैलाली–४ मा एमालेबाट उम्मेदवार बनेका लेखराज भट्ट र गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका वीरबहादुर बलायरसँग चुनाव केन्द्रित रहेर संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीहरुसँग गरिएको कुराकानीको सम्पादित अंश–

म सबैको नेता हुँ : लेखराज भट्ट

उम्मेदवार, नेकपा एमाले​

चुनावी प्रचार प्रसार कसरी अगाडि बढेको छ ?

निर्वाचन क्षेत्रलाई दुई भागमा बाँडेर प्रचारप्रसार अगाडि बढाएका छौँ । यसमा खासगरी प्रचारप्रसार मुल समितिका साथै केही उपसमिति गठन गरी अगाडि बढेका छौँ ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनको साझा उम्मेदवार हुनुहुन्थ्यो र निर्वाचित पनि हुनुभयो । तर अहिले समीकरण फेरिएको छ । अहिलेको अवस्थामा कति सहज पाउनुहुन्छ आफूलाई ?

गठबन्धन एकातिर छ, भने अर्कोतिर एमालेमात्रै । एक्लै प्रतिस्पर्धा गर्न नसकेपछि गठबन्धन भएको हो राष्ट्रियस्तरमा । यहाँ गठबन्धनसँग लड्दा मेरो मुख्य तागत भनेको म यहाँको स्थानीय हो । विगतदेखि म यहाँ काम गर्दै आएको छु । जुन कारण मलाई त्यति असहजजस्तो लाग्दैन । यहाँ सबैमाझ परिचित छु । मलाई कुनै पार्टीभन्दा सबैको नेताको रुपमा हेरिन्छ ।

कैलाली–४ बाट पटकपटक जितेर जानु भयो । विगतको निर्वाचनमा गरेका बाचा कति पूरा गर्नु भयो ? मतदाताको गुनासो र माग के छ ?

विकासका भन्दर्भमा खासै गुनासो छैन । तपाई निर्वाचनपछि जनतामाझ आउनु भएन भन्ने छ । उद्योगमन्त्री भएँ । यहाँ आउने समय मिलेन । पछि कोरोना महामारीमा नागरिकको जीवन रक्षाका लागि जुट्नु पर्‍यो ।

यहाँ दुई डोट्यालीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ, यो भिडन्तलाई कसरी लिनुभएको छ ?

मेरो जन्म डोटी भए पनि म यहाँको पुरानो बासिन्दा हो । हामीभन्दा पुरानो यो गाउँमा कोही पनि छैन । यहाँ दुई डोट्याली भने पनि म यहाँकै हो । तर उहाँ चाहिँ चुनाव लड्नमात्र आउनुभएको हो । चुनावपछि उहाँ फेरि डोटी नै फर्कनु हुन्छ । गठबन्धनका कारण उहाँ बाध्य भएर यहाँ सर्नु भयो । उहाँले अहिले डोटी छोडिसक्नु भयो, भोलि कहाँ जानु हुन्छ, थाहा छैन । जिल्ला खोज्दै जानुपर्ने अवस्था छ ।

जस्तै, प्रचण्डले मलाई जनताले बोलाए भन्दै अहिले सर्दासर्दै गोरखा पुग्नु भएको छ । त्यस्तै, हाम्रो बलायर पनि सर्दै जानुहोला । उहाँको ठेगान छैन । तर म त आफ्नो क्षेत्रमा अडिग भएर बसेको छु ।

स्थानीय तह निर्वाचनलाई नियाल्दा एमाले प्रतिकूल अवस्थामा देखिन्छ । आफ्नो जितको आकलन कसरी गर्नुभएको छ ?

हिजो एकताको निरन्तरतामा थियाँै । भावनात्मक रुपम मिलेको पनि थिएनौं । भर्खर पार्टी निर्माणमा लागेका थियौँ । त्यसले स्थानीय तहमा असर गर्‍यो । अहिले विगतका कमी कमजोरी सच्याएर अगाडि बढेका छौँ । पार्टी एकताबद्ध छ । त्यसकारण स्थानीय तह निर्वाचनको मत र अहिलेको मतमा धेरै अन्तर हुन्छ भन्ने लागेको छ ।

अहिले पनि एमालेभित्र असन्तुष्टिको स्वर सुनिन्छ । केहीले पार्टीबाट राजीनामा पनि दिए । मंसिर ४ सम्म यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

होइन, इच्छा राख्नु राम्रो कुरा हो । उसको अधिकारको कुरा हो । अन्तिम त पार्टीको निर्णय नै हो । निर्णयलाई मान्नु उसको दायित्वभित्र पर्छ । सबै जना अहिले लाग्नुभएको छ । कसैमाथि शंका गर्नुपर्ने अवस्था छैन ।

तपाई निर्वाचन जित्नेमा ढुक्क हुनुहुन्छ ?

म त ढुक्क छु ।

कैलाली–४ का लागि तपाईले अगाडि सारेका योजना के–के हुन् ? तपाई जित्दा आगामी पाँच वर्षमा यस निर्वाचन क्षेत्रले के पाउँछ ?

हिजोका दिनमा मैले यहाँ बिउ रोपेको छु । अब त्यो बिउलाई फलाउने र भित्र्याउने अवस्था छ । मेडिकल कलेजको लागि मेरै पहलमा योजनामा हालियो । संरचना तयार भएको छ । अब यसलाई मेडिकल विश्वविद्यालयको रुपमा स्थापना गर्ने भनेका छौँ । यसले यस क्षेत्रमा स्वास्थ्यको हबका रुपमा काम गर्नेछ ।

धनगढी–अत्तरिया औद्योगिक करिडोरको कुरा छ । डीपीआर भइ अगाडि बढेको छ । हरैयाको विशेष आर्थिक क्षेत्र छ । यहाँ यो महत्वपूर्ण छ । चुरे क्षेत्र सम्भावनाले भरिएको छ । यहाँ विश्वकै राम्रो कफी उत्पादन हुनसक्छ भन्ने माटोको परीक्षणले देखाउँछ । अमिलो सुन्तला र अदुवा उत्पादनको हबको रुपमा विकास गर्न सकिन्छ । सुरुवात पनि गरेका छौँ । बुढीतोला र खानीडाँडालाई पर्यटकीय क्षेत्रको रुपमा, गोदावरीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा गौरीगंगालाई गहुँ र धान उत्पादन पकेट क्षेत्रको रुपमा पहिले नै अगाडि बढाएका छौँ ।

शैक्षिक रुपमा अगाडि बढाएका छौँ । म आफ्नो निर्वाचन क्षेत्रमा मात्रै सीमित छैन, समग्र प्रदेशको विकास र समृद्धिको लागि लागिपरेको छु । दैजी छेला औद्योगिक क्षेत्र, सिमेन्ट, रासायनिक मल फ्याक्ट्रीको पनि सम्भावना अध्ययन भएको छ ।

२०७४ मा पनि यिनै मुद्दालाई तपाईले अगाडि बढाउनुभएको थियो । १५÷२० प्रतिशत पनि कार्यान्वयन भएनन् । अहिले अघि सारेका एजेण्डाहरु पूरा हुन्छन् भनेर यहाँका जनताले कसरी विश्वास गर्ने ?

मुल पक्ष त्यसको कार्यान्वयनमा गएको छ । जस्तो मेडिकल कलेजको ८० प्रतिशत काम भइसक्यो । खाली सञ्चालन गर्न बाँकी हो ।

दैजी छेलाको शिलान्यास भइसकेको छ । यस्ता धेरै छन् । मैले पाँच वर्ष काम गर्न पाएको होइन । बीचमा सांसद पद खोसियो र सरकारबाट बाहिरिएपछि कुनै पनि काम गर्न पाएको छैन ।

एमाले सुदूरपश्चिमको नेतृत्व तपाईको काँधमा छ । यो प्रदेशका एमालेको अवस्था के देख्नु भएको छ ?

एमालेको अवस्था धेरैै राम्रो छ । कमजोर छैैन । हामी १६ सिटमध्ये कम्तीमा १० सिट जित्दैछौँ ।

स्थानीय निर्वाचनको मत हेर्दा सत्ता गठबन्धनसँग सुदूरपश्चिमको एउटा सिटमा पनि एमाले अगाडि छैन । १० सिट जित्ने आत्मविश्वासको आधार के हो ?

जनता हो । जनताभन्दा अर्को के आधार हुन्छ र !

पहिलो र तेस्रो शक्ति कांग्रेस र माओवादीबीच गठबन्धन छ । त्यसैमा एमालेले विभाजित छ । विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पनि गठबन्धनमै छ । १० सिट एमालेले जित्ला र ?

एमाले फुटे पनि माओवादीसँग ठूलो हिस्सा यता आएको छ । सुदूरपश्चिममा म लगायत थुप्रै माओवादीहरु जोडिएका छन् । हामीले त्यो पाटोलाई हेरिरहेका छैनौं । बाहिर गरिएको आकलनजस्तो एमाले कमजोर छैन । साथै गठबन्धन स्थायी हुँदैन । एमालेलाई एकल बहुमत दिएर जानुपर्छ भन्ने देशैभरिको रुझान छ ।

यसअघि बहुमत दिँदा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले जोगाउन सक्नु भएन । एमालेलाई बुहमत दिँदा पाँच वर्ष सरकार चलाउँछ भन्ने के ग्यारेन्टी छ ?

हिजो र आजको परिस्थिति भिन्न छ । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल पार्टीमा हुनुहुन्थ्यो । उनीहरुमा आत्मा केन्द्रित महत्वाकांक्षा बढेर जाँदा पाँच वर्ष सरकार चल्न सकेन । अहिले केपी शर्मा ओली निर्विकल्प हुनुहुन्छ । उहाँलाई चुनौती दिने मान्छे पार्टीमा मैले देखेको छैन ।

सुदूरपश्चिममा भीम रावल फ्याक्टरले एमालेलाई ठूलो क्षति हुने चर्चा छ । एमालेको स्थापित नेतालाई तपाईहरुले यसरी बाइपास गर्दाको क्षति थेग्न सक्नुुहुन्छ त ?

रावलजी पार्टीमा हुनुहुन्छ । उहाँ आफ्नो विचार राखिराख्नु भएको छ । त्यसको अर्थ उहाँले पार्टीलाई नै पराजित गर्ने खालको गतिविधि गर्नु भएको देखेको छैन ।

उहाँले एमालेका लागि मत पनि माग्नु भएको छैन । बरु पत्रकार सम्मेलन गरेर एमालेको चुनावी नीतिको भण्डाफोर गर्नु भएको छ । यो एमालेलाई पराजित गर्न पर्याप्त छैन र ?

उहाँको जनता र कार्यकर्ताले राम्रैसँग मूल्यांकन गर्नु होला । उहाँबारे म धेरै टिप्पणी गर्दिन । उहाँ एमालेविरुद्ध बोलिराख्नु भएको छ । उहाँ भोलि यहाँ बस्ने हो भने त एमालेलाई हराउनु भनेको उहाँलाई नै नोक्सान हुनु हो ।

०००००००००००००​

लेखराजलाई राजनीतिमा उठ्न नसक्ने गरी हराउँछु : वीरबहादुर बलायर

उम्मेदवार, नेपाली कांग्रेस

कैलाली–४ मा गठबन्धनको साझा उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । प्रचारप्रसार कसरी अगाडि बढाउनुभएको छ ?

अहिलेसम्म मेरो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने ३० वटै वडामा करिबकरिब घरदैलो कार्यक्रम सकेका छौँ । अब हामी पुनः दोहोर्‍याउने क्रममा छाँै । सबै गठबन्धन दलका नेताहरु आ–आफ्ना वडामा सक्रिय भइ लाग्नुभएको छ ।

यहाँका मतदाताहरुको गुनासो र अपेक्षा के पाउनुभयो ?

यहाँ एउटै भनाइ छ, तपाई आउनुभयो, ठिकै छ तर विगतमा यहाँ जितेर जानेहरु जस्तै नगरिदिनुहोला । मत लिएर गएपछि नफर्किने, विकास निर्माणमा सहभागी नहुने जस्ता समस्या रहेछन् । हामीले प्रतिवद्धता व्यक्त गरेका छौँ । हामी त्यस्तो उम्मेदवारमा पर्दैनौं र हाम्रो त्यस्तो सोच पनि होइन । क्षमता अनुसारको काम गर्नेछौं भनेर जनतामाझ कुरा राखेका छाँै । मतदाता निकै उत्साहित छन् ।

तपाई के–कस्ता एजेण्डा लिएर मतदाताकहाँ गइरहनुभएको छ ? तपाई निर्वाचित भएपछि कैलाली निर्वाचन क्षेत्र नं. ४ मा के नयाँ हुन्छ ?

यहाँ हुने सबै काम नयाँ नै हुन्छ । अहिलेसम्म यहाँ कुनै काम नै भएकै छैन । अहिलेसम्म केही नभएका कारण अब केही हुन्छ भनेर मैले प्रतिवद्धता जाहेर गरेको छु । यहाँका पूर्वाधारहरु, खैराला सडक, डोटी जाने फास्ट ट्रयाक, चौकीडाँडा फल्टुडे सडक, कुनै पनि केन्द्रीय योजनामा छैनन् । हिजो हामी हुँदा खुटिया–दिपायल फास्ट ट्रयाक हामीले केन्द्रीय योजनामा राखेका थियौँ । तर अहिले त्यो पनि बन्द छ ।

यहाँका समस्या ज्यूँका त्युँ छन् । विगतमा जितेका यहाँका जनप्रतिनिधि जनताका समस्याबाट पर रहेको र म डोटीमा हुँदा गरेको कामबारे यहाँका जनताले बुझिसकेका छन् । विगतका जनप्रतिनिधि आफ्नो स्वार्थ केन्द्रित रहेको र दुई वर्षसम्म यो क्षेत्र जनप्रतिनिधिविहीन रहेकाले ममा जिम्मेवारी र चुनौती थपिएको छ ।

तपाईका प्रतिद्वन्द्वीले आफू यस क्षेत्रको स्थानीय भएको भन्दै यहाँको विकासका लागि आफ्नो जित अपरिहार्य रहेको भन्नु भएको छ । उहाँले तपाईको निर्वाचन क्षेत्रकै ठेगान छैन भन्नुभयो नि ?

उहाँ (लेखराज) यस क्षेत्रबाट ३ पटक निर्वाचन लड्नु भयो । २ पटक निर्वाचित हुनु भयो । उहाँ गरिबको झुपडीसँग कहाँ जोडिनुभयो ? उहाँ केवल कमाउनका लागि आउनुभएको छ । आयआर्जनको लागि, आफ्नो स्वार्थका लागि मन्त्री हुनु भयो । म उहाँलाई विकास कसरी गर्न सकिन्छ भन्ने देखाउन पनि चाहन्छु । अर्को कुरा, उहाँ पनि जन्मेको डोटी नै हो नि । म पनि डोटीमै जन्मेको हुँ । अगाडि पछाडि जन्मिँदा अपराध हुन्छ र ? यहाँको सामाजिक, आर्थिक, राजनीतिक परिवर्तनका लागि म यहाँबाट जेल हुने, व्यवस्था परिवर्तनका लागि लड्न हुने, चुनाव लड्न कैलाली–४ मा आउन किन नहुने ?

मेरा आमाबुबा यहाँ बित्न हुने तर उनीहरुको छोरो म टुरिस्ट ? त्यस्तो हुन्छ कहीँ ? उहाँले कुन चाहिँ परिभाषा भन्दै हुुनुहुन्छ ? उहाँले यहाँका जनतालाई गरिबी, उत्पीडनको बन्धनमा राखेको हुनाले त्यसबाट मुक्त गर्न म यहाँ आएको हुँ । उहाँमा शोषक र समान्त विचार छ । त्यसैले अधिनायकवादी ओलीजीसँग सहयात्रा गर्नु भयो ।

तपाईले कैलाली–४ नै आफ्नो राजनीतिक क्षेत्र हुन्छ भन्नेमा मतदातालाई विश्वस्त पार्नुभयो त  ?

पारिसकेँ । मेरा लागि यो सौभाग्य हो । बाँकी जीवन यहीँ अर्पण गर्छु । मेरो बाउ, आमा यही बित्नु भयो । मैले मेरो बाउ आमा बितेको यो बाटोको तिलक लगाएर बाँकी मेरो जीवन यहाँको सामाजिक र राजनीतिक परिवर्तनका लागि खर्चने छु ।

कैलाली–४ मा कांग्रेसको सुदूरपश्चिम कमाण्डर तपाई र एमालेको प्रदेश कमाण्डर लेखराज भट्टबीच भिडन्त हुँदैछ । यो प्रतिस्पर्धालाई व्यक्तिगत रुपमा कसरी लिनुभएको छ ?

यो राजनीतिक प्रतिस्पर्धा हो । कसैलाई पनि अवमूल्यन गर्नु हुँदैन । उहाँको पार्टीभित्र उहाँ के हो भन्ने मलाई थाहा छैन । म त कांग्रेसको १४ औं महाधिवेशनबाट भोट पाएर निर्वाचित भएर आएको व्यक्ति हुँ ।

म के सुन्दैछु भने, उहाँ टीका लगाएर आएको हो । पार्टीका कार्यकर्तालाई फेस गर्न नसक्नेले जनतालाई फेस गर्छ भन्ने कुरामा म त्यति विश्वास गर्दिनँ । त्यसलै कति प्रतिस्पर्धा होला र ? जनताले मप्रति देखाएको शुभ संकेत छ । त्यो संकेत सत्यमा परिणत भयो भने तपाईहरुले जादु देख्नुहुनेछ ।

त्यसो भए तपाई आफूले जित्नेमा विश्वस्त हुनुहुन्छ ?

म विश्वस्त मात्रै छैन, यहाँ जादु हुँदैछ ।

त्यो जादु भनेको के हो ? स्पष्ट पार्दिनुस् न ?

कसैले आफ्नो बाँकी राजनीतिक जीवनबारे सोच्नुपर्ने छ, अगाडि बढौं, नबढौं, उठौं या थचक्क बसौं भन्ने गरी कसैलाई बाध्यात्मक रुपमा निर्णय गर्नुपर्ने परिस्थिति सिर्जना हुन्छ ।

कैलालीबाट प्रदेश राजधानी सार्न तपाईले चर्को जोडबल गर्नु भएको थियो । अहिले तपाई प्रदेश राजधानी भएकै ठाउँबाट चुनाव लड्न आउनुभएको छ । अब प्रदेश राजधानी कैलाली–४ मै रहनुपर्छ भन्नुहुन्छ कि डोटीमै सार्नुपर्छ भन्नुहुन्छ ?

म डोटीसँग नैतिक रुपमा बाँधिएको थिएँ । मैले राजनीतिक जीवन त्यहाँ बिताएको थिएँ । आफ्ना मतदाताका बीचमा गएर आफूलाई समर्पण गरेको थिएँ । भौतिक रुपमा भरिपूर्ण दिपायलमा राजधानी राख्नुपर्छ भन्ने नैतिक दायित्व थियो । त्यहाँकै ठूलो दलको प्रमुख नेता र त्यहीँबाट राजनीति गर्ने मान्छेले त्यो भन्नु स्वाभाविक हो । तर मन्त्री हुँदाहुँदै दिपायल राजधानी राख्न सकिएन । पछि चुनाव हारियो । चुनाव हारेको मान्छेको कति तागत हुन्छ ? तैपनि भन्दै थिएँ । अस्थायी राजधानी यहाँ तोकियो । प्रदेशको संसदको दुई तिहाइले यहाँ गोदावरीलाई राजधानी बनाएको छ । अहिलेसम्म कुन ठाउँमा बन्ने भनेर भोगाधिकारको निर्णय पनि भएको छैन ।

त्यसकारण भोगाधिकारको लागि केन्द्रीय सरकारसँग वार्ता गराइनेछ । एउटा पृथक खालको राजधानी बन्दैछ । अहिलेसम्म ६ वटा प्रदेशमा राजधानी बनिबनाउ सहरमा छन् । यहाँ एउटा नयाँ सहरको परिकल्पना गरेर राजधानी बनाउनुपर्ने छ ।

त्यसका लागि केन्द्र र प्रदेशको हैसियतले बन्ने परिस्थिति कम छ, त्यसकारण राष्ट्रिय र अन्तर्राष्ट्रिय दातृ निकायसँग पनि पहल गर्नुपर्ने अवस्था देखिएको छ । त्यसकारण त्यही क्षमताको मानिसको आवश्यकता छ ।

आफ्ना लागि मात्रै सोच्ने र पार्टीका पद परिवारका लागि मात्रै प्रदान गर्ने मानिसले केही काम गर्न सक्दैन । मानसिक रुपमा मानिस विक्षिप्त भइसकेपछि समाजबारे सोच्ने फुर्सद हुँदैन । उहाँ (भट्ट) मा त्यही किसिमको लक्षण देखिएको छ ।

गठबन्धनभित्रका दलबीच एक अर्कामा मत ट्रान्सफर हुन कठिन छ भनिन्छ, कैलाली–४ को अवस्था के छ ? माओवादी, समाजवादी र राष्ट्रिय जनमोर्चाका नेता–कार्यकर्ताले तपाईलाई कतिको स्वीकार गरिरहेका छन् ?

म त यहाँ तपाईभन्दा माथि गएर भन्छु, यहाँ माओवादी केन्द्रका उम्मेदवार छैनन् । गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेस र प्रदेशसभामा कांग्रेस र नेकपा एकीकृत समाजवादीको उम्मेदवारी छ तर यहाँ हाम्रो अभियानको प्रमुख अभियन्ता नै माओवादी छ । उहाँहरुले नेतृत्व गरिरहनुभएको छ । हामी एकआपसमा अंकमाल गरेर अगाडि बढेका छौँ । आत्मीयताको साथ गाँसिएका छौँ । हामी कांग्रेसीहरु ‘लाल सलाम’ भन्छौँ, उहाँहरु ‘जय नेपाल’ भन्नुहुन्छ । बरु गाह्रो त उहाँ (भट्ट)लाई छ, हिजो हँसिया हथौडामा गोलबद्ध कार्यकर्ता मै सँग हुनुहुन्छ । उहाँ त अर्काको घरमा भाडामा जानुभएको छ । अर्काको डेरामा बढी फूर्ति लगाए कान समातेर निकाल्छन् नि घरबेटीले !

हिजोका दिनमा भीम रावलप्रति तपाई चर्को सुनिनु हुन्थ्यो । अहिले उहाँप्रति साहनुभूति राखेर बोलिराख्नु भएको छ । भीम रावलको त्यति सारो माया लाग्छ ?

त्यस्तो होइन । ओलीका गलत गतिविधिप्रति असहमति राख्दैमा भीम रावललाई त्यसरी बाहिर पुर्‍याउनु हुन्छ ? सारा राजनीतिक जीवन प्रचण्डसँग बिताएर अवसरका लागि जाने मान्छेको अब बिचल्ली हुन्छ । उहाँ घर न घाटको हुने अवस्था आउँदै छ ।

सुदूरपश्चिमको कांग्रेस सभापति हुनुहुन्छ । यहाँ सत्ता गठबन्धनले कति सिट जित्ने अवस्था छ ?

कतै आक्कल झुक्कल एक–दुई सिटमा तलमाथि परे पनि बाँकी सबैमा जित्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप