शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधुमेहका बिरामीले खानपानमा यसरी ध्यान दिऔँ

सोमबार, २८ कात्तिक २०७९, १४ : ०८
सोमबार, २८ कात्तिक २०७९

पछिल्लो नेपालमा डाइबिटिज अर्थात् मधुमेहका बिरामी बढ्दै गएका छन् । वीर अस्पतालमा मधुमेहको उपचार गराउन पुग्नेमध्ये युवाको संख्या ठूलो रहेको अस्पतालले जनाएको छ । वीर अस्पतालमा पाँच वर्षअघि मधुमेहका बिरामी दैनिक सरदर ३० देखि ३५ जना हुने गरेकोमा हिजोआज ३ सय देखि सवा ३ सयसम्म जाँच तथा उपचारका लागि पुग्ने गर्छन् । विगतमा ५५÷६० वर्ष उमेर समूहका व्यक्तिमा देखिने मधुमेह अचेल ३०/३५ वर्षका युवाहरुमै देखिएको मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा.दीपक मल्ल बताउँछन् ।

डा. मल्लका अनुसार मधुमेह हुँदा बिरामीका पिसाबमा सुगरको मात्रा देखिन्छ । त्यसैले यसलाई सुगर रोग पनि भनिन्छ । यो रोग लागेका बिरामीमा रगतमा सुगरको मात्रा बढी हुन्छ र पिसाबबाट बग्ने गर्छ । शरीरलाई सुगर चाहिन्छ, सुगरको मात्रा धेरै भयो भने यसलाई मधुमेह भनिन्छ । मधुमेह टाइप वान र टाइप टु गरी दुई थरीको हुन्छ । शरीरमा सुगर कन्ट्रोल गर्ने इन्सुलिन भन्ने तत्व हुन्छ । इन्सुलिन शरीरमा नभएको अवस्थालाई टाइप वान डाइबिटिज भनिन्छ ।

यस्तै, इन्सुलिन पनि छ, सुगर पनि छ । इन्सुलिनले राम्रोसँग काम गर्ने ठाउँ पाएन, इन्सुलिनको मात्रा शरीरमा धेरै कम हुँदै आएको छ भने यसलाई टाइप टु मधुमेह भनिन्छ । नेपाली समुदायमा प्रायःलाई टाइप टु डाइबिटिज लाग्ने गर्छ । टाइप वान डाइबिटिज प्रायः युवाहरूमा देखिने डा मल्लले बताए । 

विषेशत मधुमेह रोगबाट जोगिन खानपिनमै ध्यान दिनुपर्ने डा मल्लको सुझाव छ । मधुमेह रोगीले सामान्य खानपिन गर्नुपर्छ । तरकारी, फलफूल, सलाद नियमित सेवन गर्नुपर्छ । मोटोपनबाट बच्न सीमित खास गरी चिल्लो, तारेको तयारी खानेकुरा र पेय पदार्थ खानु हुँदैन ।

मानिसको बढ्दो उमेरमा हुने घट्दो शारीरिक गतिविधिअनुसार खानेकुराको मात्रा पनि घट्नुपर्छ । तरकारी कमभन्दा कम भएको सुप, काउली, बन्दागोभी, सागपात, फर्सी, भान्टा, परवर, च्याउ, सिमी आदि हरियो तरकारी र गाजर, मूला, काँक्रो, प्याज, गोलभेँडा, कागती आदि र फलफूल पर्याप्त मात्रा खानुपर्छ । कोलेस्ट्रोल बढाउने खानेकुरा, सबै प्रकारको तेल, घ्यु कम खानुपर्छ ।

मधुमेहको लक्षण

शारीरिक क्रियाकलापमा इच्छा कम हुन थाल्नु, मुख सुक्दै गएर तिर्खा धेरै लाग्ने, भोक धेरै लाग्ने, जति खाए पनि मान्छे दुब्लाउँदै जानेलगायत मधुमेहका सुरुवाती लक्षण हुन् ।

यस्तै, दिसा पिसाब गर्ने स्थानमा चिलाउने, पिसाब धेरै गनाउने, पिसाब छिन छिनमा आउने अथवा पिसाबमा फिँज आउने हुन सक्छ । यस्तो अवस्थामा आँखा धमिलो हुँदै जान्छ । यी लक्षण सुरुमै देखा पर्छ भन्ने हुँदैन । यस्ता खालको लक्षण नदेखीकन एकैपटकमा आँखा, मिर्गौलामा समस्या आउन पनि सक्छ । परिवारमा कसैलाई मधुमेह छ भने अझ होशियारी अपनाउन डा मल्लको सुझाव छ ।

डा मल्ल भन्छन्, ‘मधुमेहबाट जोगिने मुख्य उपाय भनेको शारीरिक अभ्यास गर्नु हो । मानसिक रुपले सबल हुनु हो । बेलाबेलामा रगत जाँच गर्नुपर्छ ।’ बाआमालाई मधुमेह भएमा २५/३० वर्षको उमेरमै सुगर जाँच गराउन डा मल्लको सुझाव छ ।

मधुमेहका बिरामीको जाँचमा तीन कुरा

मधुमेहका बिरामीको तीनवटा कुरा जाँच गरिन्छ । डा. मल्लका अनुसार आठ घण्टाको फास्टिङपछि रगत जाँच, खाना खाएको दुई घण्टापछि रगत जाँच, तीन तीन महिनामा सुगर जाँच अर्थात् १२० दिनको सुगर जाँच गर्नुपर्छ । सुरुमा औषधि चढाउनुभन्दा पहिला मिर्गौला, मुटुको जाँच पनि गर्नुपर्छ । सुरुवाती जाँच यही नै हो ।

मधुमेहका लागि सेवन गर्ने औषधिले असर पनि गर्न सक्छ । मिर्गौला पहिला नै खराब भएमा सुगरको औषधि चढाउन मिल्दैन । त्यसपछि जीवनशैलीलाई परिवर्तन गर्ने, औषधि सेवन गर्ने, तागतिलो खाना खाने, तनाव नलिएर सुगर लेबल घटाउन सकिने डा मल्लले बताए ।

मधुमेहका बिरामीले यस्तो खानेकुरा नखाऔँ 

मधुमेह भएकाले चुरोट, बिडी, सुर्ती, तमाखु, जर्दा आदि सूर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन । यस्तै, गुलियो पदार्थ जस्तै चिनी, ग्लुकोज, मिठाई, सख्खर, जाम, मह, टिनमा राखेको फलफूल, गुलियो पेय पदार्थ, आइसक्रिम, चकलेट, केक, गुलियो बिस्कुट आदि कम खान डा मल्लको सुझाव छ ।

चिनी र चिनी भएका गुलियो पेय तथा अन्य पदार्थले सुगर तुरुन्त बढाउने मात्र होइन कि अन्य विभिन्न हिसाबले पनि शरीरलाई खराब गर्न सक्छ । वजन र काम हेरी ठिक्क मात्रामा खानेकुरा खान डा मल्ल सुझाव दिन्छन् ।

सुख्खा रोटी, भात, दाल, आलु, मासु, माछा, दूध, दही, पाउरोटी, चाउचाउ, चिउरा, चना, अण्डा क्रिमक्रेकर बिस्कुट जस्ता खानेकुरा ठिक्क खानुपर्छ । यस्तै, मधुमेहका औषधि, विशेष गरी सल्फोनिलयुरिया समूहको खाने औषधि वा इन्सुलिनले रगतमा सुगरका मात्रा धेरै कम हुन सक्ने भएकाले त्यस्तो बेलाका लागि आफूसँग कुनै गुलियो पदार्थ, खानेकुरा सधैँ राख्न उनको सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप