शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘प्रगतिशील विचारधाराका मानिसले प्रतिगामी विचारधारावालालाई मत हाल्छ भन्ने मलाई लाग्दैन’

सोमबार, २८ कात्तिक २०७९, १३ : २०
सोमबार, २८ कात्तिक २०७९

झापा निर्वाचन क्षेत्र नम्बर–३ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कंग्रेसका नेता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका कृष्णप्रसाद सिटौला उम्मेदवार रहेका छन् । 

आफ्नो विजय सुनिश्चित रहेको बताउने सिटौला राजावादी विचारधारालाई यहाँका वामपन्थीले भोट नदिने जिकिर गर्छन् । प्रस्तुत छ सिटौलासँग रातोपाटीले गरेको कुराकानी :

चुनाव प्रचारप्रसार अभियानमा हुनुहुन्छ, कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

– एकदमै राम्रो, सकारात्मक प्रतिक्रिया मिलिरहेको छ, विजय सुनिश्चित छ ।

झापा क्षेत्र नं ३ लाई गणतन्त्र र राजतन्त्र पक्षको एक किसिमले मिनी जनमत सङ्ग्रहको रूपमा पनि हेरिएको छ । तपाईंले कसरी लिनु भएको छ ?

राजतन्त्र कुनै सापेक्षित सिद्धान्त होइन । मेरो बुझाइमा अहिले यसको भूत, प्रेतको कुरा गरेर केही फाइदा छैन । २००७ सालको क्रान्तिमा राणा शासनको अन्त्य भएपछि फेरि राणा शासन आउँछ भन्थे एकताका । अहिले फेरि राजा आउँछ भन्नु त्यस्तै हो ।

संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक शासन व्यवस्थामा यो राजावादी विचार विकृति र विसङ्गति मात्र हो । यसलाई जनताले साथ दिँदैनन् । ५ वर्षअगाडि एमाले, माओवादी दुवै मिलेर राप्रपा जिताएको हो । अब अहिले त्यो परिस्थिति छैन । यहाँका तमाम वामपन्थीहरूले आफ्नो अधिकार र विचारधाराको पक्षमा मत हाल्छन् । 

वामपन्थी विचारधारालाई दमन गर्ने प्रवृत्तिका राजावादी विचारधारालाई यहाँका वामपन्थीले भोट दिन्छन् भन्ने मलाई लाग्दैन ।

एमालेले राप्रपालाई मतदान गर्दैछ, उनीहरूलाई केही भन्नु छ कि ?

– यो कार्यकर्ता मात्रको कुरो होइन, विचारधारा हो । जसले परिवर्तन चाहन्छ, अग्रगामी सोच राख्छ । जनताको प्रगति चाहन्छ । प्रगतिशील विचारधाराका मानिसले प्रतिगामी विचारधारालाई कसरी मत हाल्छ ? त्यो गर्छ भन्ने लाग्दैन । हामीले बुझाउन नसकेको मात्र हो विगतमा । अहिले बुझेका छन् । यो मेरो आफ्नो विचार हो । 

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनको तथ्याङ्क हेर्दा गठबन्धनको मत कम जस्तो देखिन्छ नि ?

– मलाई त्यस्तो लाग्दैन । स्थानीय तहको निर्वाचन सानो परिवेशमा हुने हो । यो निर्वाचन भनेको देशको कानुन निर्माताहरूको निर्वाचन हो र यसलाई यसरी नै बुझ्न सक्नुपर्छ । समग्रमा राष्ट्रलाई नेतृत्व दिने निर्वाचन हो यो । राष्ट्रलाई हाँक्ने, नीति निर्माण गर्ने निर्वाचन हो । त्यसलाई जनताले बुझेका छन् र हामीले बुझाइरहेका पनि छौ ।

यस क्षेत्रको विकास निर्माणको तपाईंको एजेन्डा के के छ ?

– यहाँका विकास निर्माणको योजना थुप्रै छन् । विगत ५ वर्ष शून्य रह्यो । केन्द्रीय सरकारको तर्फबाट नयाँ र एक करोडको आयोजना पनि देखिएन । हामी त्यसरी रित्तो रहन दिँदैनौ । कम्तीमा पनि यहाँको सडक, खानेपानी, स्वास्थ्य, शिक्षाको क्षेत्रमा हामीले धेरै काम गर्न सक्नुपर्छ । 

यो निर्वाचन क्षेत्रमा मेचीपारी र बिरिङपारी पनि सानो गाउँ छ । मेचीपारीको गाउँलाई हामीले दोस्रो संविधानसभापछि झोलुङ्गे पुलबाट जोडेका छौ । बिरिङपारीको गाउँलाई झोलुङ्गे पुलले जोड्न सकिएको छैन । यो हामीले बनाउनै पर्छ । बिरिङ खोलालाई बलियो तटबन्ध गरेर बिरिङपारी रहेको पिन्डराबड गाउँमा समेत हामीले झोलुङ्गे पुल राखेर जोड्नुपर्नेछ । 

एमाले, माओवादी, जसको बलमा राप्रपाले जितिसकेपछि उहाँले कुनै पनि वामपन्थीलाई सम्झनु भएन । त्यो यहाँका वामपन्थीले राम्ररी बुझेका होलान् । यसकारण प्रष्ट विचार के हो भने यो निर्वाचन यदि जनताका लागि हो भने जनताले राजावादीलाई परास्त गरेर हामीलाई नै जिताउँछन् । 

तपाईंले नेतृत्व गरिरहेको गठबन्धन भित्रका पार्टीहरुबीच पनि असन्तुष्टि छ भन्ने सुनिन्छ । त्यसलाई कसरी म्यानेज गरिरहनु भएको छ ?

– म हाम्रो प्रतिस्पर्धी पार्टीभित्र धेरै प्रवेश गर्न खोजेको छैन । म स्पष्ट दृष्टिकोण राखेर हिँड्ने मानिस हो । सिद्धान्तविहीन राजनीति गर्नुहुँदैन । सिद्धान्त, नीतिमा आधारित राजनीतिले मात्र सही कार्यदिशा दिन सक्छ, देशलाई गन्तव्य र लक्ष्यमा पुर्‍याउन सक्छ भन्ने मेरो आफ्नो मान्यता हो । 

पद र कुर्सीका लागि सिद्धान्तहीन राजनीति गर्नु भनेको अनैतिकताको पराकाष्ठा हो । एक अर्थमा पापकारी हो । त्यसैले, वामपन्थी विचारधारा र प्रगतिशील विचारधारकालाई, लोकतन्त्रमा विश्वास गर्नेलाई, गणतन्त्रमा, संघीयतामा र समानुपातिक सिद्धान्तमा विश्वास गर्नेलाई जबरजस्ती राजावादीलाई भोट हाल भन्नु अनैतिकताको पराकाष्ठा हुन्छ । त्यो कुरा गणतन्त्रका पक्षधरले बुझेको हुनुपर्छ । 

यो निर्वाचन क्षेत्र सहिद भूमि पनि हो । भद्रपुर नगरपालिका यसैमा पर्छ । सदरमुकाममा २०४६, २०६२/०६३ को आन्दोलनमा धेरै सहिद भएका छन् । कैयौँ घाइते र अपाङ्ग भएर बाँचेका छन् । त्यो आन्दोलनको स्पीडलाई पनि यहाँका मतदाताले यस पटक सम्झन्छन् भन्ने मलाई लागेको छ । 

वामपन्थीहरूले आफैले पञ्चायती शासनविरुद्ध गरेको आन्दोलन बिर्सिँदैनन् होला । काँग्रेस, एमाले, माओवादीसहित मिलेर गरेको १२ बुँदे समझदारी, शान्ति प्रक्रिया, संविधान निर्माणलाई बिर्सिँदैनन् होला । त्यसको पक्षधर जुटेको म लगायत यो गठबन्धन जुन छ । ती सबैले गठबन्धनको पक्षमा मतदान गर्छन् भन्ने मलाई विश्वास छ । असन्तुष्टि भए मिल्दै जान्छ ।

केन्द्रमा केपी ओलीसँग तपाईंको एकदमै निकट सम्बन्ध रहेको जस्तो पनि देखिन्छ । यो क्षेत्रमा भने एमालेले बारम्बार तपाईं विरुद्ध असहयोग गर्दै आएको छ, किन ?

तपाईंले कहाँ निकट, कहाँ टाढा देख्नुभयो, मलाई थाहा भएन । म निर्वाचन हारेर ५ वर्ष त्यतिकै बसेको मानिस हो । व्यक्तिगत सम्बन्ध मेरो कसैसँग पनि तिक्ततापूर्ण छैन ।

त्यही त यहाँ तपाईं विरुद्ध किन लाग्छ एमाले ?

– मेरो स्वभाव सबैसँग सम्बन्ध राम्रो बनाउने खालको छ । जंगलमा बसेको प्रचण्डलाई त राम्रो सम्बन्ध हुन्छ है भनेर ल्याउने मान्छे म । पूर्व राजा ज्ञानेन्द्रसँग पनि मेरो राम्रो सम्बन्ध छ । अहिले भेट्दा पनि उहाँले साथीजस्तो व्यवहार गर्नुहुन्छ । मेरो सम्बन्ध कसैसँग पनि कटु छैन । 

तर सिद्धान्त, आदर्श र मूल्य मान्यताको कुरो हो । आफैले बनाएको संविधानको रक्षाको विषय हो । त्यसलाई छोडेर पदका लागि अर्कोसँग तालमेल र गठबन्धन गर्नुहुँदैन भन्ने मेरो आफ्नो प्रष्ट मान्यता हो । अबको दिन यो निर्वाचन क्षेत्रबाट आउने परिणाम भनेको हाम्रो विजय हो । 

म विरुद्ध एमाले यहाँ किन बारम्बार लाग्छ, केपी ओलीलाई नै सोध्नुस् ।

तपाईंको निर्वाचन क्षेत्रमा भूमिहीन, नागरिकताविहीन किसान पनि भेटिए । यिनको समस्या अव समाधान हुन्छ त ?

– समाधान हुन्छ । हामी समाधान गर्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप