मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

मतदाता भन्छन् : खानेपानी, बिजुली, स्वास्थ्योपचारमा सहुलियत चाहियो

सोमबार, २८ कात्तिक २०७९, १२ : ३०
सोमबार, २८ कात्तिक २०७९

रामपुर नगरपालिका–४ देवीस्थान बस्ने ६० वर्षीय नरबहादुर खाण विकास र समृद्धिको आशैआशमा मतदान गर्दै जाँदा उमेरले डाँडापारिको घाम बनेका छन् । उनले खानेपानी, बिजुली, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्ने दलका उम्मेदवारको प्रलोभनमा परी धेरैपटक मतदान गरे । अहिलेसम्म आधारभूत समस्या पूरा गर्न नसक्ने नेतृत्वले जनता सधैँ मारमा परिरहेको गुनासो सुनाए ।

“हामीलाई ठूला विकास निर्माणभन्दा पनि खानेपानी, बिजुली महसुलमा छुट, स्वास्थ्योपचार निःशुल्क गर्दिनुपर्यो”, उनले भने, “गरिब विपन्न परिवारका नागरिकले सामान्य आधारभूत समस्यामा नै जीवन गुजारा कतिञ्जेलसम्म चलाउने हो ।” 

आर्थिक अवस्था नाजुक भएका परिवारलाई विशेष प्राथमिकता दिएर सामान्य आधारभूत आवश्यकताको परिपूर्ति गर्ने योजना ल्याउने उम्मेदवारका पक्षमा मतदान गर्ने उनी छन् । बिहान साँझ हातमुख जोड्न धौधौ पर्ने उनको परिवारमा खानेपानी, विद्युत महसुल शुल्क, स्वास्थ्योपचार जस्ता समस्याले सधैं पिरोल्ने गर्दछ । 

अहिलेको परिवेशमा पनि गाउँका नागरिक ठूला सपनाभन्दा पनि सामान्य आधारभूत समस्यामा नै पछाडि परिरहेका छन् । सबै गाउँबस्तीमा विद्युत सुविधा, खानेपानीको राम्रो प्रबन्ध, गाउँमै आधारभूत स्वास्थ्योपचारको व्यवस्था, प्राविधिक शिक्षा, सडक स्तरोन्नति गर्न मतदाताले घरदैलोमा पुगेका उम्मेदवारसमक्ष माग गरिरहेका छन् । 

रामपुर– ६ किसानटोल बस्ने ७७ वर्षीय जयनारायण न्यौपाने नेतृत्वले आफ्नो स्वार्थमा मात्रै कार्य गर्ने तर जनताको इच्छा भावनाअनुसार काम नगरेकाले उनीहरुको कार्यशैलीप्रति नागरिक सन्तुष्ट नरहेको बताउँछन् । निर्वाचनमा मत माग्न घरमा आउने उम्मेदवारसमक्ष उनले जनताले देशमा परिवर्तन चाहेको र सबै जनताको मर्म र भावनाअनुसार काम गर्ने नेतृत्वको खोजीमा रहेको बताए ।

“देशमा परिवर्तन हुन्छ कि भन्ने आशमै उमेर ढल्कियो, जनताले चाहेअनुसार काम नै हुन सकेन, लगातार एउटै नेतृत्वले परिवर्तन हुन सकेन, अब हामी नागरिकको समस्या सुल्झाउने नयाँ नेतृत्व मतदाताले चुन्नुपर्छ”, उनले भने ।
 उनले देशमा २००७ सालको राणाशासन अन्त्यपश्चात् हालसम्म विभिन्न व्यवस्था परिवर्तन भए पनि गाउँका कुनाकाप्चामा बसोवास गर्ने नागरिकको अवस्थामा सुधार नआएको बताए । राम्रा व्यक्तिभन्दा पनि हाम्रा व्यक्तिको पछाडि मतदाता लागेका कारण जनताले चाहना गरेअनुसारको काम नभएको न्यौपानेको भनाइ छ ।

रम्भा गाउँपालिका– ३ पीपलडाँडा बस्ने कृष्णप्रसाद बस्यालले विधि र सिद्धान्तअनुसार नेतृत्वले काम नगरेकाले त्यसको सजाय जनताले भोग्नु परिरहेको बताए । आजको एक्काइसौं शताब्दीमा पनि सामान्य आधारभूत समस्यामै जनता गुज्रनुपर्ने अवस्था रहँदा मतको सही सदुपयोग नभएको बस्यालको भनाइ छ । 

उनी भन्छन्, “पानी आउँदा हिलाम्य र घाम लाग्दा धुलाम्मे सडकको सास्ती कहिलेसम्म खेप्नुपर्ने, गाउँमा सामान्य औषधोपचार नपाएर नागरिकले अकालमै ज्यान गुमाउनुपरेको छ, अझै पनि घण्टौँ हिँडेर पानी बोकेर खानुपर्ने बाध्यता कायमै छ, गाउँमा बिजुली सुविधा पुग्न सकेको छैन, ती टुकीका भरमा बसेका नागरिकले कहिले पाउँछन् विद्युतको उज्यालो ?” 

चुनावी चहलपहलले गाउँकेन्द्रित भएका उम्मेदवार, दलका नेता कार्यकर्तालाई मतदाताले अघिल्ला निर्वाचनका वाचा र प्रतिबद्धताबारे झस्काइरहेका छन् । सही र सक्षम नेतृत्वको पखाइमा रहेका मतदाता चुनावी परिवेशमा मात्रै गाउँ फर्कने उम्मेदवार, नेता कार्यकर्ताले मतदातालाई भोट बैँकका रुपमा लिएकामा आपत्ति जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप