गिरिजाप्रसादलाई टक्कर दिएका एमालेका जगदीश कांग्रेसका ज्ञानेन्द्रसँगको प्रतिस्पर्धामा
सुनसरी क्षेत्र नम्बर-४ को चुनावी अंकगणित २०७४ सालमा काँग्रेसको पक्षमा थियो । वाम गठबन्धन गरेर चुनावमा होमिएका एमाले र माओवादीलाई काँग्रेस नेता तथा हालका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जसपाको समर्थनमा एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए ।
अहिले परिस्थिति फेरिएको छ । एमालेबाट उम्मेदवार बनेका जगदीशप्रसाद कुसियैतलाई उपेन्द्र यादवको पार्टी जनता समाजवादी पार्टीले समर्थन गरेको छ भने त्यस बेलाको वाम गठबन्धनको प्रमुख घटक माओवादी र एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले कार्कीलाई समर्थन गरेको छ ।
संसदीय निर्वाचनमा भोजपुरबाट पटकपटक पराजित भएर सुनसरी झर्नेबित्तिकै कार्कीले ०७४ सालमा निर्वाचन जितेका थिए । अहिले उनै कार्कीलाई सोही क्षेत्रबाट पटकपटक संसदीय निर्वाचन लड्दै जित्दै–हार्दै गरेका कुसियैतले टक्कर दिइरहेका हुन् ।
दुवैको दाबी छ, ‘मैले विगत ५ वर्षे कार्यकालमा गरेका कामको मूल्यांकन गर्दै पुनः जनताले जिताउँछन् ।’ कुसियैत वाम गठबन्धनबाट त्यसबेला सोही क्षेत्रको प्रदेश (१)बाट प्रदेश सांसद जितेका थिए ।
कार्की झण्डै डेढवर्षदेखि देउवा नेतृत्वको संघीय सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचारमन्त्री छन् भने कुसियैत झण्डै साढे ३ वर्ष प्रदेश १ को उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री बनेका थिए । दुवैले आफू शक्तिमा रहँदा थुप्रै कामको थालनी गरेको फेहरिस्त सुनाउँछन् । ‘मैले यो क्षेत्रमा ५ वर्षको अवधिमा झण्डै १० अर्बको योजना ल्याएको छु, अहिले पनि काम धमाधम भइरहेको छ,’ सुनसरी क्षेत्र नम्बर ४ को नेपाल भारतसीमा क्षेत्र बंगाली टोलमा कार्यक्रम व्यस्त संचारमन्त्री कार्कीले प्रतिक्रिया दिँदै भने, ‘मैले गरेको विकासको काम यहाँका जनताले देख्नु भएको छ, निर्वाचन परिणाम के हुन्छ भन्ने कुरा ७ गते सुन्न आउनु होला, मैले कति हजारको अन्तरले जित्छु त्यहाँ थाहा हुन्छ ।’ कार्की आत्मविश्वासका साथ आफू जित्ने बताउँछन् ।
यता, गिरिजाप्रसाद कोइरालासँग पनि निर्वाचन लडेका कुसियैत पनि निर्वाचन जित्नेमा ढुक्क जस्तै देखिन्छन् । ‘चुनावी अभियान सन्तोषजनक छ । प्रदेश सरकारमा भएको बेला ३२ वटा वडामा करोडौंको बजेट ल्याएर काम गरेको छु । विकासको यो मोडल देखेर यस पटक मलाई जिताउने देखेको छु । मलाई यहाँको माटोले चिनेको छ, भूगोलले चिनेको छ । मलाई सबै व्यक्ति व्यक्तिले चिनेका छन्,’ कुसियैत भन्छन्, ‘जसपासँगको गठबन्धनले पनि हामीलाई जित सहज देखिएको छ ।’ ०७४ सालमा जसपाले पनि सहयोग गरेको कारण काँग्रेसले जितेको कुसियैतको दाबी छ ।
संचारमन्त्री कार्कीको व्यस्तता उक्त क्षेत्रमा निक्कै छ । कार्की बिहान ५ बजेदेखि रातिेसम्म फिल्डमै हुन्छन् । ‘कार्यक्रमको व्यस्तता धेरै छ । बिहानको ५ बजेदेखि राती ११ बजेसम्म खाली छैन,’ उनी भन्छन्, ‘सबै क्षेत्रका साथीहरुलाई एक पटक ज्ञानेन्द्रलाई भेटिहालौं, देखिहालौं भन्ने रहेको कारण म धेरै व्यस्त भएको छु ।’ उता कुसियैतलाई पनि निर्वाचनको दौडले एकछिन फुर्सद छैन ।
सुनसरी-४ को निर्वाचन इतिहास
सुनसरी ४ नम्बर क्षेत्रको निर्वाचनमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाले काँग्रेसबाट उम्मेदवार बनेर पटकपटक जितेका थिए । कुसियैतले पनि जितेका छन् । २०४८ सालमा नेकपा एमालेको तर्फबाट तत्कालिन नेता उपेन्द्र यादव उम्मेदवार थिए । काँग्रेसका डाक्टर खलि अजाद साहले यादवलाई भारी मतले पराजित गरे ।
०५१ सालको निर्वाचनमा गिरिजाप्रसाद कोइरालासँग उनै जगदीश कुसियैत पराजित भए । ०५३ सालको उपनिर्वाचनमा कुसियैत निर्वाचित भए । त्यसबेला काँग्रेसका उम्मेदवार हरि सापकोटा पराजित भए । त्यसबेला आफूले झण्डै १० हजार बढी मतले चुनाव जितेको उनी बताउँछन् । ०५६ सालमा कुसियैत मालेतिर लागेपछि सो क्षेत्रबाट एमालेले महबुब अन्सारीलाई काँग्रेसका गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरायो । निर्वाचन भने कोइरालाले नै जिते ।
त्यसपछि ०६४ सालमा एमालेबाट उम्मेदवार बनेका महबुब अन्सारी र काँग्रेस नेतृ तथा गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालालाई तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पराजित गरे । ०७० सालमा पुनः उनै कुसियैत चुनाव लडे । उनलाई यादवले पराजित गरे । ०७४ सालमा बाम गठबन्धनबाट उम्मेदवार बनेका रमेश श्रेष्ठलाई काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले पराजित गरेका थिए । यस पटक भने जसपाले एमालेलाई समर्थन गरेको छ । अघिल्लो पटक कार्कीलाई नै जसपाले समर्थन गरेको थियो ।
स्थानीय तहको मतको अवस्था
सुनसरी क्षेत्र नम्बर ४ मा रामधुनी नगरपालिकाको वडा नम्बर ४, बराह नगरपालिकाको वडा नम्बर ६, ७, ८, ९, १० र ११, इनरुवा नगरपालिकाको वडा नम्बर ३, ४ र ८, भोक्राहा र कोशी गाउँपालिका सिङ्गै तथा हरिनगरा गाउँपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र ७ नम्बर वडा पर्दछ ।
सुनसरी ४ नम्बर क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा नेपाली काँग्रेस सबैभन्दा ठूलो दल हो । त्यहाँ काँग्रेसले २८ हजार ७५६ मत पाएको छ । यस्तै एमाले २३ हजार ६१३, जसपाले जसपा ९ हजार ८६३, नेकपा एसले एस ३ हजार ७००, माओवादीले ३ हजार ६४६, राप्रपाले ३ हजार ४५७ र लोसपाले १ हजार ५०४ मत ल्याएको छ ।
यही मतका आधारमा भन्ने हो भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका संचारकर्मी कार्कीको पक्षमा ३७ हजार ६०६ मत पुग्छ । यस्तै एमाले र जसपाको मत भने त्यहाँ ३३ हजार ४७६ मत रहेको छ ।
सोही क्षेत्रमा पर्ने वडाहरुमा रामधुनी ४ मा एमालेका वडाध्यक्ष छन् । यस्तै बराहक्षेत्रको ६ वटै वडामा काँग्रेस, इनरुवा नगरपालिकाको ३ र ८ नम्बर वडामा एमाले, ४ नम्बर वडामा लोसपाले जित निकालेको छ ।
यस्तै भोक्राहा नरसिंह गाउँपालिकाको ४ वटा वडामा काँग्रेस, ३ वटामा राप्रपा र एउटामा नेकपा एकीकृत समाजवादीले जितेको छ । यस्तै कोशी गाउँपालिकाको ४ वटा वडामा काँग्रेस, जसपा २ वडामा तथा माओवादी र नेकपा एमालेले १–१ वडामा जित निकालेका छन् । ४ नम्बर क्षेत्रमा पर्ने हरिनगरा गाउँपालिकाको २–२ वडामा एमाले र काँग्रेस तथा एक–एक वटामा जसपा र नेकपा एकीकृत समाजवादीले जित निकालेका छन् ।
२०७४ सालको निर्वाचनमा सुनसरी ४ बाट काँग्रेसबाटै उम्मेदवार बनेका कार्कीले बाम गठबन्धनका उम्मेद्वार एमालेका रमेश श्रेष्ठलाई झण्डै ७ हजार मत अन्तरले पराजित गरेका थिए । श्रेष्ठले २५ हजार ७५० मत ल्याउँदा कार्कीले ३२ हजार २४७ मत ल्याएर विजयी बनेका थिए । यस्तै राष्ट्रिय जनता पार्टी नेपालका राम नरायण यादवले ५ हजार २० मत ल्याएका थिए ।
जनतामा असन्तुष्टि
हरिनगरा ५ बसन्तटोलका दिनेश कुमार मेहतालाई मनैदेखि खुसी भएर कुनै पनि नेतालाई भोट हाल्न मन छैन । उनले ४ विगाहा लगाएको धान गत वर्ष कार्तिकमा आएको सुनसरी खोलाको बाढीले बगायो ।
क्षतिपूर्तिको लागि पालिकामा निवेदन पनि दिए । उनले बाढीले ४ विगाहा जग्गामा लगाएको धानको १० लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका थिए । तर, क्षतिपूर्ति आएन । त्यसपछि उनी नेताहरु र पार्टीसँग रुष्ट छन् । उनी मात्रै होइन हरिनगरा ६ का रामु मेहताले पनि सोही कारण रुष्ट बनेका छन् ।
‘गत वर्ष कार्तिकको बाढीले डुबेको धानको क्षतिपूर्तिका लागि फारम भराइयो । तर, क्षतिपूर्ति एक रुपैयाँ पनि आएन,’ मेहता भन्छन्, ‘नेताहरुले घुस्कीमा आएर भाषण गरेका थिए । त्यसबेला क्षतिपूर्ति दिन्छु भनेका थिए । तर अहिलेसम्म आएन ।’ निर्वाचनको अभियानमै रहेका नेताहरुले भने क्षतिपूर्ति दिनका लागि विभिन्न प्रक्रियागत झण्झट भएको कारण किसानले पाउन नसकेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन