आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोरखाबाटै आर्थिक विकासलाई गति दिनेछु : प्रचण्ड

मंसिर ४ को चुनाव संविधान रक्षक र विरोधीबीचको जनमत संग्रह हो
आइतबार, २७ कात्तिक २०७९, २३ : २७
आइतबार, २७ कात्तिक २०७९

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा आफ्नो उम्मेदवारी अवसर र चुनौतीको रुपमा रहेको बताएका छन् । आइतबार गोरखाको शहिद लखन थापा गाउँपालिका, घैरुङ पिपलछापको खेल मैदानमा आयोजित सत्ता गठबन्धनको चुनावीसभामा सम्बोधन गर्दै उनले गोरखावासीले बलियो साथ दिए गोरखाबाटै आफूले आर्थिक समृद्धिको अभियान सुरु गर्ने बताए । 

उनले आफू देशको सम्भावित नेतृत्वकर्ता समेत रहेकोे उल्लेख गर्दै गोरखाबाटै फेरि आर्थिक समृद्धिका कार्यक्रम अघि बढाउने बताए ।  उनले बुढीगण्डकी जलविद्युत आयोजना गोरखाको गेम चेन्जर आयोजना रहेकोले त्यसलाई अगाडि बढाउन लागिपर्ने बताए । उनले आफ्नोे भित्रदेखिको सपना बुढीगण्डकी जलविद्युत आयोजना पूरा गर्नु रहेको उल्लेख गर्दै त्यो पूरा गरि छाड्ने बताए ।  

उनले २०७४ सालमा आफू चितवनमा चुनाव लड्दा त्यहाँको बाटो धुल्लामे रहेकोमा ५ वर्षमा ६ सय ११ किलोमिटर बाटो पिच भएको बताए । उनले गोरखाका सबै धुले बाटो पिच गराउने प्रतिबद्धता समेत जनाए ।  उनले गोरखाका आवश्यक भौतिक पूर्वाधार निर्माण, कृषिका सम्भावनाहरूलाई अघि बढाउने उल्लेख गर्दै प्रदेश तर्फका कांग्रेस उम्मेदवार राजेन्द्र बजगाईं, माओवादी केन्द्रका कृष्ण धिताललाई निर्वाचित गराउन आग्रह गरे । उनीहरू दुवै उम्मेदवार प्रदेश सरकारको मन्त्री बनाउन पहल समेत गर्ने बताए । 

अध्यक्ष प्रचण्डले क्षेत्र नम्बर १ र २ ले कानुनी रुपमा मात्र फरक राख्ने भएपनि आफ्नो लागि गोरखा एउटै क्षेत्रको रुपमा रहेको बताए ।   अध्यक्ष प्रचण्डले मंसिर ४ गते सामान्य निर्वाचन मात्र नभइ एउटा जनमत संग्रहको रुपमा निर्वाचन हुन थालेको बताए । उनले भने– ‘२ वर्र्षअघि केपी ओली नेतृत्वको सरकारले संविधानलाई कुल्चने, गणतन्त्रलाई खोस्ने काम भयो । हामीले फेरि सडकमा जानुपर्छ भन्ने सोचिएको थिएन । राति राति संसद विघटन गर्ने अलोकतान्त्रिक काम भए, अनि हामी सडकमा जानुपर्ने अवस्था आयो । बुद्धिजीवी,राजनीतिक पार्टी सबै सडकमा गएपछि गठबन्धनको सुरुवात भएको हो । यो गठबन्धन यो चुनाव सम्मका लागि मात्र हैन आगामी ५ वर्षसम्म यसरी नै कायम रहन्छ ।’  

उनले एमालेको गठबन्धनले संविधान उल्ट्याउनका लागि मत मागिरहेको आरोप समेत लगाए । उनले भने– ‘हिजो संसद विघटन गर्नेलाई फेरि कसरी भोट दिने ? मंसिर ४ गतेको चुनाव संसदीय चुनाव मात्र हैन यो संविधान विरोधी शक्ति र संविधानको रक्षकबीचको जनमत संग्रहको रुपमा रहेको छ ।’ 

उनले माओवादीलाई रुख चिन्हमा भोट दिन अप्ठेरो नमान्न र कांग्रेसलाई हँसिया हथौडामा मतदान गर्न नहिच्किचाउन आग्रह गरे । विस्तृत शान्ति सम्झौताका बेला स्व.गिरिजाप्रसाद कोइरालालाई आफूले जय नेपाल भनेको र कोइरालाले आफूलाई लालसलाम भनेको प्रसंग उल्लेख गर्दै उनले भोट हाल्न आग्रह गरे । उनले क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र बजगाईं डायनामिक नेता भएकोले यहाँबाट जिताएर पठाएमा मन्त्री बनाएर पठाउने प्रतिबद्धता समेत जनाए । 


सो चुनावी सभामा गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र बजगाईंले अहिलेको गठबन्धन आगामी ५ वर्षसम्म निरन्तर जाने बताए ।  बजगाईंले माओवादी र कांग्रेसबीच गोरखामा विगतमा टकरावको अवस्था रहेपनि नेपालको राजनीतिक परिवर्तनमा एकजुट भएर लागेको बताए । उनले संविधान निर्माणकाको क्रममा कांग्रेस र माओवादीबीच गठबन्धन भएको उदाहरण दिँदै गठबन्धनलाई खुलेर मत दिन आग्रह गरे ।  

उनले भने– ‘यहाँ धेरै पूराना घाउहरु छन्, अब ती घाउ कोट्याउने हैन त्यसलाई पुर्दै जानुपर्छ । उनले अर्को ५ वर्षपछिको चुनावमा यो क्षेत्रमा कलम चिन्ह लिएर पनि प्रतिनिधिसभामा उम्मेदवार उठ्न सक्ने अवस्था छ । अहिले  कांग्रेसले माओवादीको उम्मेदवार उठेको भने प्रतिष्ठाको विषय बनाउन हुँदैन ।’ 

उनले गोरखा जिल्लाको विकासका लागि माओवादी केन्द्र र कांग्रेसबीच सहकार्य हुने बताउँदै आफू निर्वाचित भएमा सडक बनाएर मात्र पुल बनाउने बाचा गरे । उनले आफूले बाटो बिनाको पुल नबनाउने समेत उल्लेख गरे । 

कार्यक्रममा माओवादी केन्द्र क्षेत्र नम्बर १ का प्रदेश ‘क’ का उम्मेदवार कृष्ण धितालले बुढीगण्डकी जलविद्युत आयोजनालाई अगाडि बढाउने बताए । उनले आफू निर्वाचित भएपछि गोरखाका स्थानीय सडक र कृषि सडक विस्तारका लागि लागिपर्ने बताए । उनले आफूले त्यसका लागि प्रयास गर्ने र आफूले गर्न नसके प्रचण्डको साथ लिएर ती योजनाहरु पूरा गर्ने प्रतिबद्धता समेत जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप