सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

निर्वाचन सुरक्षा बुझ्न मुख्य सचिव कर्णालीमा

आइतबार, २७ कात्तिक २०७९, २२ : २९
आइतबार, २७ कात्तिक २०७९

कर्णाली प्रदेशको निर्वाचन सुरक्षा बुझ्न मुख्यसचिव शङ्करदास बैरागी नेतृत्वको उच्च अधिकारीहरूको आज टोली कर्णालीमा पुगेको छ । निर्वाचन अनुगमन तथा सुरक्षाको व्यवस्थाको अवस्था बुुझ्न मुख्य सचिव बैरागी, गृहसचिव विनोदप्रकाश सिंह, रक्षासचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देलसहितको टोली कर्णालीमा नेपाली सेनाको हेलिकप्टरमा जुम्ला पुगेको हो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले सचिवहरुको टोलीले जुम्लामा निर्वाचन र सुरक्षाको तयारीका विषयमा जिल्ला सुरक्षा समितिसँग छलफल तथा आवश्यक निर्देशनसमेत गरेको बताए । उनका अनुसार नेपाली सेनाको २४ नं वाहिनी जुम्लामा कर्णाली र जिल्लाको निर्वाचन तयारी तथा सुरक्षाको विषयमा छलफल सम्पन्न गरेको हो ।

छलफलमा नेपाली सेनाको २४ नं वाहिनीका वाहिनीपति रामचन्द्र केसीले साबिक कर्णालीको पाँच जिल्लाको सुरक्षा अवस्था र तयारीको तथा प्रमुख जिल्ला अधिकारी केशरीले जुम्ला जिल्लाको सुरक्षा अवस्था र तयारीबारे जानकारी गरेको जनाइएको छ । 

छलफलका क्रममा मुख्य सचिव बैरागीले अहिले सरकारको लक्ष्य नजिकिँदै गरेको निर्वाचन भएकाले जिल्लामा स्थानीय प्रशासनसहित सबै सुरक्षा निकायका प्रमुखलाई समन्वय सहकार्य गरेर अगाडि बढ्न निर्देशन गर्नुभएको प्रजिअ केसरीले जनाए । नेपाल सरकारको उच्चस्तरको सरकारी टोलीले निर्वाचन र सुरक्षाका विषयमा आवश्यक निर्देशनसमेत गरेको प्रशासनले जनाएको छ । 

नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाका अनुसार मुख्य सचिवसहितको उच्चस्तरको सरकारी अधिकारीहरूको टोली जुम्ला, हुम्ला हुँदै मुगु बस्ने तालिका रहेको छ । उनका अनुसार सोमबार उक्त टोली निर्वाचनको अनुगमन गर्न सुदूरपश्चिम प्रदेशतिर लाग्ने तालिका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप