शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

संघ र सातै प्रदेशमा दुई तिहाइको गठबन्धन सरकार : नेता पुन

आइतबार, २७ कात्तिक २०७९, १९ : ३१
आइतबार, २७ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले ४ मंसिरको निर्वाचनमा सत्तारुढ गठबन्धनले संघ र सातवटै प्रदेशमा दुई तिहाइ बहुमत प्राप्त गर्ने बताएका छन् । पुनले संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने बताए ।

केपी ओलीले जनमतको अपमान गरी पटकपटक संसद् विघटन गरेका कारण संविधान र लोकतन्त्र बचाउन वर्तमान गठबन्धन बनेको पुनको भनाइ थियो । उनले चुनाव जित्न र सत्ता स्वार्थका लागि मात्र गठबन्धन नभएको उल्लेख गरे । ‘जित्नकै लागि चुनावमा सहभागी हुने हो, तर सत्ता स्वार्थका लागि मात्र गठबन्धन भएको होइन’, पुनले भने, ‘केपी ओलीको पटकपटकको प्रतिगमनका कारण यो गठबन्धन बनेको हो । सत्ता स्वार्थका लागि मात्र भएको होइन ।’ 

पुनले गठबन्धनले जनमतको सम्मान गर्ने भन्दै कुनै पनि हालतमा पाँच वर्षे कार्यकालको बीचैमा प्रतिनिधिसभा विघटन नहुने प्रतिबद्धता जनाए । उनले जनताको जनमतलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता पनि जनाए । संविधानको रक्षा, राजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धिका लागि गठबन्धन बनेको भन्दै पुनले  जनताले छिटोछरितो रूपमा घरदैलोमै प्रशासनिक सेवा प्राप्त गर्ने वातावरण बनाइने उल्लेख गरे । भौतिक तथा मानवीय पूर्वाधार, जनताको आयमा वृद्धि र जीवन स्तरमा सुधार नै असली अर्थमा समृद्धि भएको चर्चा गर्दै पुनले त्यसका लागि संघीय सरकार, सातवटै प्रदेश सरकार तथा स्थानीय तहबीच एकीकृत र समन्वयात्मक ढंगले काम गरिने प्रतिबद्धता जनाए । जनताले व्यवस्था परिवर्तन गरी लोकतन्त्र र गणतन्त्रका लागि पटकपटक संघर्ष गरेको स्मरण गर्दै उनले अब भने अवस्था परिवर्तनको समय आएको चर्चा गरे । पुनले निरंकुशता र प्रतिगमन रोक्न काँग्रेस–माओवादी एकै ठाउँमा उभिनुपर्ने वाध्यता सिर्जना भएको भन्दै विगतका तीतामिठा घटना बिर्सिएर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए ।  

पुनले रोल्पा प्रदेशसभा ९ख० मा बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका पूर्वजिल्ला इन्चार्ज दिपेन्द्र पुनलाई मतदान नगर्न कार्यकर्ता र मतदातालाई अपिल गरे । पुनले सत्ता गठबन्धनका साझा उम्मेदवार काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई विजयी गराउनु आफूहरूको राजनीतिक धर्म भएको बताए । फरक प्रसंगमा पुनले रोल्पामा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा नै नहुने दाबी गरे । स्थानीय निर्वाचनमा वडाअध्यक्षहरुले पाएको मतका आधारमा गठबन्धनसँग ६६ हजार र एमालेसँग १५ हजार मात्र मत रहेको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप