आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

महिलाका मुद्दामा सचेत हुन आग्रह

आइतबार, २७ कात्तिक २०७९, १८ : २३
आइतबार, २७ कात्तिक २०७९

रुपन्देहीका महिला अधिकारकर्मीले महिलाका मुद्दामा अधिकांश दलहरू सचेत नभएकाले बताएका छन् । अब महिला सशक्तीकरणमा ध्यान दिनेहरूलाई मत दिने अधिकारकर्मीहरूले उल्लेख गरे । 

देशमा भएका परिवर्तनसँगै हरेक चरणका निर्वाचनको प्रचारमा महिलाको सक्रियता बढी हुने गरेकाले यसको मूल्यांकन हुनुपर्ने उनीहरूको माग छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा नेकपा एमाले निर्वाचन परिचालन कमिटी बुटवल १३ ले आयोजना गरेको महिला भेला तथा मतदाता शिक्षा कार्यक्रमका सहभागीले महिलाका मुद्दामा अधिकांश दलहरू गम्भीर नदेखिएको गुनासो गरे । अन्य दलका तुलनामा एमालेले महिला हक र अधिकारलाई जोड दिँदै आएकाले यो निर्वाचनमा एमाले उम्मेदवारको पक्षमा मतदान गर्ने उनीहरूको भनाइ छ । देशमा भएका पटकपटकका आन्दोलनले व्यवस्था परिवर्तन भएपनि अब महिलाको अवस्था परिवर्तन गर्न प्रतिबद्ध दलका उम्मेदवारलाई भोट हाल्ने महिलाहरूले बताए ।

भेलामा रुपन्देही क्षेत्र नम्बर २(२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले निर्वाचनको प्रचारमा महिला सहभागिता र सक्रियताको प्रशंसा गरे । पार्टी सधैं महिला हक र अधिकारका लागि प्रतिबद्ध रहेको बताउँदै उनले अबका दिनमा पनि सशक्तीकरणका कार्यक्रम ल्याउने बताए । राजनीतिप्रतिको वितृष्णा हटाउन प्रतिबद्धता अनुसारका काम गर्ने उनको भनाइ छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज गुमादेवी आचार्यले मंसिर ४ को निर्वाचन एउटा युद्ध भएकाले जसरी पनि जित्न जरुरी रहेको बताइन् । एमालेले जिते मात्रै परिवर्तनका लागि भएका आन्दोलनका उपलब्धि जोगिने भएकाले सचेत भएर पार्टी हितका लागि अझै सक्रिय भएर लाग्न महिलाहरुलाई आव्हान गरे ।

प्रदेशसभाका समानुपातिक पदका उम्मेदवार जानकी घिमिरेले सधैं महिलाको पक्षमा आवाज उठाउँदै आएकाले आफू निर्वाचित भएपछि सदनमा अझै गम्भीर ढंगले प्रस्तुत हुने बताइन् । उनले महिलाको नेतृत्व र व्यक्तित्व विकासका साथै घरेलु श्रमको मूल्याकंन गर्न राज्यलाई घच्घच्याउने प्रतिबद्धता जनाइन् । प्रदेश सभाका समानुपातिक उम्मेदवार ज्ञानु केसीले महिला सशक्तिकरणमा जोड दिनुका साथै सीप र आर्थिक उपार्जनमा महिलालाई जोड्ने कार्यक्रम लिएर आउने प्रतिवद्धता जनाइन् । उनले हिंसा र विभेद रोकथामका महिलाहरुको प्रतिनिधिमूलक पात्र बनेर काम गर्ने बताइन् ।

प्रदेश सभाका समानुपातिक उम्मेदवार रेवती घलेले संविधानमा महिला हक र अधिकारका पक्षमा उल्लेख भएका विषय कार्यान्वयनमा भूमिका निर्वाह गर्ने बताए । प्रदेश सभा समानुपातिक उम्मेदवार एजाज आलमले सबै वर्गको हितमा काम गर्न एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए । उनले पछिल्लो समय बढ्दो बेरोजगारी र महँगीले जनता आत्तिएको बताउँदै यी समस्याबाट छुटकारा पाउन पनि एमाले उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरे ।

अर्को प्रदेश सभा समानुपातिक उम्मेदवार कुमार थापाले सबै जाति र वर्गको पक्षमा काम गर्ने पार्टी नेकपा एमालेको पक्षमा मंसिर ४ गतेको निर्वाचनमा  मतदान गर्न आग्रह गरे । भेलामा मतदाता शिक्षाबारे जानकारी गराउँदै पार्टीका प्रदेश प्रचार विभाग प्रमुख एवं प्रदेश कमिटी सदस्य डिआर घिमिरेले जनताका बीचमा जाँदा नरम भएर सहि ठाउँमा छाप लगाउन सिकाउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप