शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा प्रचण्ड : के भन्छन् सहिद परिवार ?

आइतबार, २७ कात्तिक २०७९, १६ : ५३
आइतबार, २७ कात्तिक २०७९

योगेन्द्र कुमालका बुबा भीष्मबहादुर कुमाल शिक्षक थिए । माओवादीले थालेको जनयुद्धमा लागेका कारण उनी तत्कालीन शाही सेनाको निशानामा थिए ।  आफन्त भेट्न गएका बेला २०५८ साल पुस १० गतेसेनाले उनको हत्या गरेर शव नै गायव बनाएको थियो । घरपरिवारका कुनै सदस्यले पनि उनको शव देख्न पाएनन् ।

बुबाको हत्यापछि योगेन्द्र जनमुक्ति सेनामा लागे । जनयुद्धकै क्रममा उनको बिहे भएको डेढ वर्षमात्र भएको थियो । श्रीमती चिजा कुमाल ६ महिनाकी गर्भवती थिइन् । २०६२ सालमा तत्कालीन सेनाले माओवादीमा लागेको भनेर उनकी गर्भवती श्रीमतीलाई समेत बाँकी राखेन ।

गोरखाको दरौदी खोेलाछेउ कुमाल समुदायको बाक्लो बस्ती रहेको देउराली गाउँको चोकको नाम नै सहिद भीष्म चोक राखिएको छ । भीष्म त्यो बस्तीका पहिलो माओवादी सहिद हुन् । माओवादीले थालेको जनयुद्धका क्रममा कुमाल गाउँमा धेरै आँशु बगेको छ । यो गाउँमा राज्यपक्षबाट भएको हत्याबाट ९ परिवारले आफन्त गुमाएका छन् ।

माओवादीको सहिद परिवार धेरै भएको यो गाउँमा केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरदैलो गरेर भोट मागे । उनले सहिद परिवारका माग सम्बोधन गर्ने र गोरखा जिल्लामा ठूला विकासका कार्यक्रमहरु अघि बढाउने प्रतिबद्धता जनाएको स्थानीयवासीले बताए ।  

माओवादी जनयुद्धका बेला मारिएका भीष्मबहादुर कुमालकी माइली बुहारी सानुमाया कुमालले सहिद परिवारले हालसम्म पार्टीसँग केही नमागेको उल्लेख गरिन् । उनले पार्टीले बेलाबेला आफूहरुलाई सम्झिएमात्रै पनि राहत हुने बताउँदै अब प्रचण्ड गोरखा आएपछि त्यो सपना पूरा हुने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘कहिलेकाहीँ आएर के छ तपाईहरुको अवस्था भनिदिए पनि हुन्छ । तपाईहरुको के छ दुःख–पीडा, समस्या भनेर सोधिदिए पनि पुग्छ । पार्टीबाट आएर हामीलाई सोधपुछ गर्ने कामचाहीँ भएको थिएन । अब केही हुन्छ कि भनेर आशा गरेका छौँ ।’

विगतमा सहिद परिवारलाई राज्य पक्षले सामान्य राहत दिए पनि उनीहरुको जीवनस्तर अघि बढाउन, अप्ठ्यारो परेको बेलामा सहयोग गर्नुपर्ने उनले बताइन् । सहिद परिवाले ठूलो आकांक्षा नराखेको उनको भनाइ छ ।

उनले भनिन्, ‘प्रचण्ड चितवन छोडेर यहाँ चुनाव लड्न भनेर आउनुभएको छ, उहाँलाई जिताउने धोको छ । ठाउँ ठाउँमा उहाँले धेरै काम पनि गर्नुभएको छ । बाटोघाटो, पुल निर्माणको धेरै काम उहाँले गर्नुभएको हो । ऋणीहरुलाई धेरै कुराको मिनाहा पनि गर्नुभएको हो । धेरै मानिसको गुनासो त आइहाल्छ, तैपनि अब उहाँले हाम्रो समस्याहरु पनि सुन्नुहुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ ।’

उनले सहिद परिवार भएपछि अहिलेसम्म अन्य कुनै पार्टीमा पनि नलागेको र अब प्रचण्डले सहिद परिवारलाई दुःख परेको बेला हेरिदिने अपेक्षा गरेको उल्लेख गरिन् ।  

सहिद परिवारकी अर्की सदस्य हुन् पुण्यकुमारी कुमाल । उनले पनि प्रचण्ड गोरखा आइसकेपछि सहिद परिवारको सपना पूरा हुने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘सहिद परिवारका सदस्यहरुको क्षमता के छ, त्यो आधारमा रोजागारी दिनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ । सहिद परिवारका सदस्यको हैसियत अनुसारको रोजगारी दिने आश छ । प्रचण्ड राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरको ख्यातीप्राप्त नेता हुनुहुन्छ । उहाँ अहिले चितवन छोडेर गोरखा आउनुभएको छ । उहाँले गोरखामा जित्ने निश्चित छ । हामी जिताउन पनि लागिरहेका छौँ, उहाँहरूले चाहनुभयो भने गोरखामात्र हैन नेपालको नै विकास गर्न सक्नुहुन्छ ।’

पूर्व जनमुक्ति सेना योगेन्द्र कुमाल जनयुद्धको घाउ अझै नमेटिएको बताउँछन् । बुबा र श्रीमती गुमाएका उनले प्रचण्ड गोरखा आएपछि केही आशा लागेको बताए ।

उनले भने, ‘हिजो देशलाई समृद्ध बनाउने, विदेशीको चंगुलबाट मुक्त बनाउने भनेर जनयुद्धमा लागियो, परिवार, आफन्त, साथीभाइ पनि गुमाइयो । हामीले त्यसका लागि जति धेरै चिज गुमायौं तर त्यो हुन नसकेकोमा दुःख लाग्ने रहेछ । अहिलेसम्म जनयुद्धको घाउ मेटिएको छैन । अझै पनि कति मान्छे जिउँदो छन् वा मरे, पत्तो लाग्न सकेको छैन ।’

अहिले प्रचण्ड गोरखामा चुनाव लड्न आएपछि सहिद परिवारका सदस्यलाई केही राहत हुन्छ कि भन्ने अपेक्षा लिएको उनले बताए । उनले हिजोका दिनदेखि सहिद परिवारप्रति गरेका प्रतिबद्धताहरू पूरा हुने आशा लिएको बताए ।

देउराली टोलका अर्का सहिद परिवारका सदस्य हुन् टोपबहादुर कुमाल । उनले जनयुद्धका बेला आफ्नो दाइ र स्कुल पढ्दै गरेकी छोरी गुमाउनुप¥यो । छोरी स्कुलमा अखिल क्रान्तिकारीको सदस्य बनेको आधारमा तत्कालीन सेनाले उनकी छोरीसहित अन्य २ जना विद्यार्थीलाई जंगलमा लगेर हत्या गरेको थियो । उनको शवसमेत परिवारले पाएन भने टोपबहादुर समेत आफ्ना सय वर्ष हाराहारी पुगेका वृद्ध बालाई छोडेर युद्धमा जान बाध्य हुनुप¥यो ।

टोपबहादुर पनि अहिले प्रचण्ड चितवन छोडेर गोरखामा चुनाव लड्न आइसकेपछि यो क्षेत्रको समग्र विकास र सहिद परिवारका लागि केही गर्ने कुरामा आशावादी छन् ।  

उनले भने, ‘संसदीय चुनावमा प्रचण्डले जितेपछि यो जिल्लाको गाउँ ठाउँको समग्र विकास होस्, सहिद परिवारको मर्मलाई बुझ्ने प्रयास होस् । यहाँ धेरै सहिद परिवार कमजोर अवस्थामा छन्, उनीहरुलाई खानेकुरा दिनुस् भनेको हैन तर उनीहरुलाई सकेको काम गर्ने जागिरमा लगाइयोस् भन्ने आशा लिएको छु ।’

प्रचण्ड यहाँ आइसकेपछि सबै कुरा त पूरा नहोला तर धेरै कुराहरु पूरा होला भन्ने आफ्नो अपेक्षा रहेको उनको भनाइ छ । ​उनीहरुजस्तै गोरखाका अन्य धेरै सहिद परिवारका सदस्यले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखाबाट निर्वाचित भएपछि आफ्ना सपना पूरा हुने अपेक्षा राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप