शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ–२ मा कसले मार्ला बाजी ?

आइतबार, २७ कात्तिक २०७९, १६ : ३२
आइतबार, २७ कात्तिक २०७९

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओन्सरी घर्ती काठमाडौँ २ बाट प्रतिनिधि सभा उम्मेदवारको रूपमा चुनावी मैदानमा छिन् । पूर्व सभामुख घर्ती सहित प्रदेश सभा एकबाट नेपाली कांग्रेसका ध्रुव केसी र प्रदेश सभा दुईबाट नेकपा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल उम्मेदवार छन् । 

घर्तीको मुख्य प्रतिस्पर्धीको रूपमा नेकपा एमालेबाट मणिराम फुयाँल उम्मेदवारी दिएका छन् । प्रदेश सभा एकबाट एमालेका सानुकुमार श्रेष्ठ र प्रदेश सभा दुईबाट सुवर्ण श्रेष्ठ चुनावी मैदानमा छन् । मतदानको मिति नजिकिँदै जाँदा घर्ती र फुयाँलमा कसले मार्छ वाजी भन्ने विषयमा चर्चा सुरु हुन थालेको छ । यसबीच स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी सोबिता गौतम ‘सर्प्राइज प्याकेज’ को रूपमा उदाएकी छन् ।

माओवादीकी प्रभावशाली नेता एवम् पूर्व सभामुख भएकाले घर्तीको व्यक्तित्वलाई हेरेर आमजनताले मत हाल्ने गठबन्धनको निष्कर्ष छ । अर्को तर्क गत वैशाख ३० गतेको स्थानीय तहको वडा अध्यक्षको मत भार केलाउँदा झण्डै ८ हजार मत अन्तरले घर्ती अघि देखिएकी छिन् । सबै परिस्थिति केलाउँदा गठबन्धनको सबै मत उनको पक्षमा खसेमा सजिलै निर्वाचित हुने धेरैको आँकलन छ । 

रोल्पामा जन्मे हुर्के पनि यस क्षेत्रलाई राजनीतिक कर्मथलो बनाउँदा आमजनताबाट निक्कै सकारात्मक प्रक्रिया पाएको घर्तीले बताइन ।  ‘म यो चुनावी माहौलमा सहभागी भएपछि असाध्यै खुसी छु । यहाँका जनताले रोल्पामा जन्मेको छोरी भए पनि यस क्षेत्रमा कर्मभूमि बनाउन निक्कै मेहनत गर्नु भएको छ । मैले आफ्नो तर्फबाट समेत प्रयास जारी छ ’ घर्तीले भनिन्,  ‘उहाँहरू(मतदाता)ले  आफ्नो छोरीको रूपमा कतिपय दिदीबहिनीको रूपमा जे जस्तो व्यवहार गर्नु भएको छ । यस्तो व्यवहारले भावनात्मक रूपमा नजिक बनाएको छ ।’ मतदाताबाट पाएको स्नेहले भोलिका दिनमा थप जिम्मेवारी र कर्तव्य बढेको महसुस भएको घर्तीले बताइन । 

तर, एमाले उम्मेदवार फुयाँलले विगतको चुनावको मत अन्तर घरमा कापी कलम लिएर गरेको हिसाब किताबले मात्रै चुनाव जित्न गाह्रो हुने जिकिर गरे । मतदानको दिन समेत जनताले कसलाई भोट हाल्छन् भन्ने ठेगान नहुने भएकाले अहिले नै ठोकुवा गर्न नसकिने फुयाँलले बताए । ‘यस क्षेत्रको एउटा पङ्क्तिको मतदाता छ । सबै विषयको जोड घटाउ गरेर भोट हाल्छ । यस्तो खालको प्रवृत्ति विगतदेखि बेहोर्दै आएका छौँ । ती मतदातालाई विश्वासमा लिन सक्दा ४–६ महिनामै रिजल्ट उलटफेर भएको इतिहास हामीसँग छ,’ फुयाँलले भने, ‘यहाँका मतदाताको चेतनास्तर निक्कै उच्चस्तरको छ । पहिला यो पार्टीलाई भोट हालेका थिए । अहिलेपनि त्यहीँ पार्टीलाई भोट हाल्छन् भन्ने छैन । सबै परिस्थिति हेरे मत हाल्ने अवस्था छ ।’ यस क्षेत्रको अधिकांश सहरी क्षेत्र भएकाले मङ्सिर ४ गतेसम्म घर्तीले बाजी मार्छिन् कि फुयाँलले ठोकुवा गर्ने अवस्था छैन । 

काठमाडौँ २ को इतिहास

काठमाडौँका प्राय १० वटै निर्वाचन उपत्यका बाहिरबाट आएका नेताहरूले नै जित्दै आएका छन् । काठमाडौँका स्थायीवासीलाई राजनीतिमा खासै चासो नहुने भएकाले उपत्यका बाहिरबाट आएकाले नै प्राय चुनाव जित्ने गरेका छन् । यस क्षेत्रको हकमा समेत दमननाथ ढुंगाना बाहेक प्राय सबै नेता उपत्यका बाहिरबाटै आएकाले चुनाव जितेको रेकर्ड छ । २०५१ र २०५६ सालको चुनाव जित्ने तत्कालीन एमाले नेता विद्यादेवी भण्डारी भोजपुरमा जन्मिएर काठमाडौँ–२ बाट चुनाव जितेकी थिइन् । उनी काठमाडौँ–२ की स्थानीयवासी भन्दा पनि मदन भण्डारी श्रीमती भएको र एमाले जनमत बलियो भएकाले जितेकी थिइन् । यस्तै पहिलो संविधान सभा(२०७० साल)मा माओवादी नेता झक्कुप्रसाद सुवेदी रोल्पाली स्थायी वासी थिए । उनी यस क्षेत्रका स्थानीयवासी भन्दा माओवादी जनमतमा आधारमा निर्वाचित हुन सफल भएका थिए ।

यस्तै २०७० र २०७४ सालको चुनाव जितेका तत्कालीन एमाले नेता माधवकुमार नेपाल उपत्यका बाहिर रौतहटमा जन्मिएका नेता हुन् । यद्यपि पछि उनले कोटेश्वरमा घर बनाए पनि निर्वाचन क्षेत्र काठमाडौँ र रौतहट दुवैलाई मान्दै आएका छन् । तर नेपालले यो निर्वाचनमा रौतहट–१ लाई निर्वाचन क्षेत्र बनाए । 

एमाले किल्ला भत्काउने दाउमा घर्ती

यस क्षेत्रबाट २०४८ सालको संसदीय चुनावमा कांग्रेस नेता दमननाथ ढुङ्गानाले चुनाव जितेका थिए । २०५१ सालको संसदीय चुनावपछि एमालेले आधार इलाका बनाएपछि त्यसपछि कांग्रेसलाई चुनाव जित्न हम्मेहम्मे पर्‍यो ।  तत्कालीन एमाले महासचिव मदन भण्डारीको निधनपछि आधिकारिक रूपमा यस क्षेत्रलाई विद्यादेवी भण्डारीले आफ्नो क्षेत्र बनाइन् । र त्यसपछि २०५१ र २०५६ सालको संसदीय चुनावमा उनै भण्डारी निर्वाचित भइन । यद्यपि २०४८ सालमा काठमाडौँमा कुल निर्वाचन क्षेत्र ५ भए पनि त्यसपछिका संसदीय चुनावमा ७ क्षेत्र कायम गरियो । पहिलो संविधान सभा(२०६४ साल)को चुनावमा काठमाडौँ २ बाट माओवादीका नेता झक्कुप्रसाद सुवेदी निर्वाचित भए । तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई माओवादी रोल्पाली नेता सुवेदीले हराएपछि चर्चाको शिखरमा पुगेका थिए । दोस्रो संविधान सभा(२०७० साल)को चुनावमा माओवादी नेता लिलामणि पोखरेल र  कांग्रेस नेता प्रतिमा गौतमलाई पराजित गर्दै उनै नेपाल पुनः निर्वाचित भए । काठमाडौँ र रौतहट दुई क्षेत्रबाट निर्वाचित भएका नेपालले काठमाडौँ छोडेपछि भएको उपनिर्वाचनमा कांग्रेस नेता दीपक कुइँकेल निर्वाचित भए । एमाले नेता कृष्णगोपाल श्रेष्ठलाई पराजित गर्दै कुइँकेल निर्वाचित भएका थिए ।

२०७४ सालको चुनावमा वाम गठबन्धनबाट एमाले नेता माधवकुमार नेपाल २७ हजार ३६६ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक कुँइकेलले १४ हजार ९०२ मत प्राप्तगरी पराजित भए । यस्तै विवेकशील साझाका सूर्यराज आचार्यले ७ हजार ४३६ मत ल्याएर तेस्रो भएका थिए । 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले काठमाडौँ २ छोडेर रौतहट १ पुगेपछि माओवादी प्रभावशाली नेता एवम् पूर्व सभामुख घर्तीले उम्मेदवार बन्ने अवसर पाएकी हुन् । पहिलो संविधान सभा(२०६४ साल)मा समानुपातिक सांसद भएकी घर्ती र दोस्रो संविधान सभा चुनाव(२०७० साल)मा भारी मतका साथ रोल्पाबाट विजयी भएकी थिइन् । २०७४ सालको चुनावमा समानुपातिक सांसद भएकी घर्ती सभामुख र मन्त्रीसमेत भइसकेकी छिन् । घर्ती एमाले किल्ला   भत्काएर यस क्षेत्रबाट निर्वाचित भई रेकर्ड कायम गर्ने ध्याउन्नमा लागि परेकी छिन् । 

यस्तै एमालेबाट प्रतिनिधिसभा उम्मेदवार मणिराम फुयाँललाई पनि बलियो उम्मेदवारको रूपमा लिइन्छ ।  यस क्षेत्रकै मुलपानीमा जन्मिएका फुयाँल झण्डै २५ वर्ष शिक्षण पेसामा काम गरेको अनुभव छ । शिक्षण पेशाबाट अवकाश लिएका फुयाँल २०७४ सालको चुनावमा प्रदेश सभामा निर्वाचित भएका थिए । विभिन्न पेशा व्यवासयमा आवद्ध भई राजनीति गरेका फुयाँल स्थानीयवासी पनि हुन् । 

राप्रपाकी कुन्ति र स्वतन्त्र पार्टीकी सोबिताको जबर्जस्त उपस्थिति

राष्ट्रिय प्रजातान्त्रिक पार्टी(राप्रपा)बाट प्रतिनिधि सभा उम्मेदवार कुन्तिदेवी पोख्रेल उपाध्यायले उम्मेदवारी दिएकी छिन् । प्रदेश सभा एकबाट सुनिल केसी र दुई बाट राजु विष्टको उम्मेदवारी छ । राप्रपाबाट काठमाडौँ २ बाट उम्मेदवारी दिएकी पोखरेलले आफ्नो उपस्थित जर्बजस्त रूपमा गराएकी छिन् । सामाजिक सञ्जालदेखि अन्य प्रचारको गतिविधिले समेत पोखरेलको उपस्थित राम्रो देखिएको छ । त्यसैमा गत वैशाख ३० गते भएको स्थानीय चुनावमा यस क्षेत्रकै शंखरापुर नरपालिका मेयर राप्रपाले उनलाई थप उत्साहित गराएको छ । यस क्षेत्र अन्तर्गत पर्ने स्थानीय तहमा समेत राप्रपाको ७ हजार २ सय भएकाले पोखरेलको उपस्थित बलियो देखिएको हो । 

यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी सोबिता गौतमको चर्चा पनि युवामाझ उत्तिकै छ । प्रमुख राजनीतिक दलप्रतिको वितृष्णालाई उनले क्यास इन गर्न सक्ने आँकलन गरिएको छ । त्यसैले काठमाडौँ २ को भिडन्तमा उनलाई ‘सर्प्राइज प्याकेज’ भनिँदैछ ।

यस्तो छ स्थानीय तहको अंकगणित 

यस क्षेत्र अन्तर्गत  काठमाडौँ महानगर अन्तर्गत ९, ३२ वडा, कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत ४, ५, ६, ७, ८, ९ वडा र शंखरापुरा नगरपालिका पर्छ । ती पालिका अन्तर्गत गत वैशाख ३० गतेको स्थानीय चुनावको मत केलाउँदा गठबन्धनका उम्मेदवार घर्ती अगाडि छिन् । घर्तीको पक्षमा २५ हजार १७० मत छ भने एमालेका फुयाँलको पक्षमा १७ हजार ३२८ मात्रै मत छ । राप्रपाकी पोखरेलको पक्षमा भने ७ हजार २०० मात्रै मत छ । 

जनताको घरघर जाँदा पाएको स्वागतले जितलाई पुष्टि गर्छ  

ओन्सरी घर्ती, नेकपा माओवादी केन्द्रकी उम्मेदवार 

यस क्षेत्रको घरदैलो र चुनावी गतिविधि कसर गरिरहनु भएको छ ?

हामीले प्रत्येक दिन विहान जनताको घरघरमा जाने गरेका छौँ । आमजनताको उत्साहजनक सहभागितामा घरदैलो अभियान जारी छ । तपाईले पनि देख्नुभयो । आम मतदाताको सहभागिता उल्लेख्य मात्रामा छ । चुनावी गतिविधिका यी सबै कार्यहरूले हामीलाई उत्साहित बनाएको छ । 

रोल्पामा जन्मिनुभयो हुर्किनुभयो । राजनीतिक कर्मथलो काठमाडौँ २ लाई बनाउँदै हुनुहुन्छ । कस्तो अनुभूति भइरहेको छ ? 

यो चुनावी माहौलमा सहभागी भएपछि असाध्यै खुसी छु । यहाँका जनताले रोल्पामा जन्मेको छोरी भए पनि यस क्षेत्रमा कर्मभूमि बनाउन निक्कै मेहनत गर्नु भएको छ । मैले आफ्नो तर्फबाट समेत प्रयास जारी राखेकी छु ।  जसरी मलाई उहाँहरूले स्वागत गर्नुभएको छ । उहाँहरू कतिपयले आफ्नो छोरीको रूपमा कतिपय दिदीबहिनीको रूपमा जे जस्तो व्यवहार गर्नु भएको छ । यस्तो खालको आत्मीय व्यवहारले भावनात्मक रूपमा नजिक बनाएको छ । यसले भोलिका दिनमा मेरो जिम्मेवारी र कर्तव्य अझ बढेको महसुस भएको छ । 

मतदाताको घरदैलोमा पुगेपछि कुन कुन समस्या पाउनुभयो ? यस्तै यो क्षेत्रको विकास र समृद्धिका लागि कुन कुन मुद्दा अघि सार्नु भएको छ ? 

यस क्षेत्रमा बसोबास गर्ने ६४ प्रतिशत जनतामा खानेपानीको समस्याबाट जुझिरहनु भएको छ । यस्तै यस क्षेत्रका जनताले सरसफाइ, सुरक्षित र दिगो विकासको माग गर्नुभएको छ । यस क्षेत्रमा गुणस्तरीय र पक्की सडक,स्मार्ट सिटीको अवधारणा, ढल र करिडोरका समस्या राख्नु भएको छ । अरू अहिले नै भन्न नसक्ने गरी थुप्रै खालका समस्याहरू राख्नु भएको छ । यी जनताका समस्या गर्न नसक्ने वा गर्न नमिल्ने छैनन् । सबै दीर्घकालीन योजना बनाएर गर्न सकिने खालका छन् ।  अब मैले यी समस्याहरूलाई सरकारको पहुँचसम्म पुर्‍याएर हल गर्ने प्रतिबद्धता जनाएकी छु । 

यस क्षेत्रको मुख्य भौतिक संरचना र विकास के के गर्नु पर्ने देख्नु भएको छ ?

यस क्षेत्रमा बाटो भए पनि वर्षामा हिलो र सुख्खा मौसममा धुलोको समस्या छ । यस्ता खालका सडकलाई पिच गरेर सफा र सुन्दर बनाउनुपर्ने छ । अर्को समस्या ट्राफिक जामको छ । यसका लागि कोटेश्वर अण्डर पासको निर्माण गर्ने योजना सारेकी छु । मनहोरा र बाग्मती क्षेत्रको करिडोर निर्माणका कुरा छन् । 

यस्तै खानेपानीको पनि निक्कै ठुलो समस्या छ । यस क्षेत्रमा पर्यटनको एकदमै प्रचुर सम्भावना छ । अरू शिक्षा, स्वास्थ्य लगायत अरू थुप्रै आधारभूत समस्या समाधान गर्नुपर्ने छ । स्पोर्ट फिल्ड निर्माण गर्न धेरै सार्वजनिक जमिन छ । त्यसलाई प्रयोग गरेर जानु पर्ने छ ।

एमालेका उम्मेदवार मणिराम फुयाँल लगायत यहाँको मतदाताले तपाईको यस क्षेत्रमा घर नभएको भनेर भन्दै आएका छन् । अस्थायी घर भएका उम्मेदवारलाई मत दिनुहुँदैन भनेर एजेण्डा बनाएका छन् । यस्ता विषयलाई कसरी खण्डन गर्नुहुन्छ ?   

सबैभन्दा पहिले म यो देशको नागरिक हुँ । यो देशको सेवा गर्न चाहन्छु । एक इमान्दार राजनीतिज्ञको देशैभरीको भूगोल आफ्नो हो । म यस क्षेत्रका जनताको सेवा गर्छु भनेर आएको छु । यस क्षेत्रको सेवा गर्न आएपछि जनताबाट न्यानो स्वागत पाएको छु । त्यो खुसीको कुरा हो । घर हुने नहुने प्राविधिक विषय भयो । यो उपत्यकामा राष्ट्रिय स्तरका सबै नेताहरू बस्नु हुन्छ । बरु उपत्यका बाहिर चुनाव लड्ने नेताहरू अस्थायी घर जस्तै कहिले काहीँ मात्रै जान्छन् होला । तर म राष्ट्रिय स्तरको नेता र पार्टीको जिम्मेवार नेता भएकाले यस क्षेत्रको स्थायीवासी जस्तै भएर जनताको सेवा गर्ने छु । 

तपाईकै पार्टी अध्यक्षले चुनाव जितेर आएपछि विकासे मन्त्री बनाउँछु भन्नु भएको छ । के तपाई मन्त्री नै हुनेगरी निर्वाचित हुने अवस्था छ ? 

मैले सम्भावना देखेको छु । त्यसमा विश्वस्त छु । यस क्षेत्रमा गठबन्धनको मतभारको अन्तर कति छ ? भन्ने विषयमा तपाई जानकार हुनुहुन्छ । जनताको घरघरमा जाँदा पाएको स्वागतले जितलाई पुष्टि गर्छ । 

घरमा कापी कलम लिएर गरेको हिसाब किताबले कहाँ चुनाव जितिन्छ ?​ : मणिराम फुयाँल

अब मतदानको मिति नजिकिँदै छ । चुनावी प्रचारप्रसार र घरदैलो अभियान कसरी सञ्चालन गर्नु भएको छ ? 

मैले यस क्षेत्रका मतदाताको घरघर र बस्तीबस्ती गएर भेटिरहेको छु । सकेसम्म बढीभन्दा बढी मतदाता भेट्ने प्रयत्नमा छु । 

तपाई यसअघि प्रदेश सभामा निर्वाचित भएर भूमिका  निर्वाह गरी सक्नु भएको छ । अब हुने चुनावमा कुन कुन एजेण्डा लिएर जनताकोमा पुग्नु भएको छ ? 

मैले प्रदेश सभामा सकारात्मक भूमिका खेले । आम मतदाता, स्थानीयवासी र सिङ्गो पार्टी पङ्क्तिबाट मूल्याङ्कन भई उत्तिर्ण भएर थप जिम्मेवारी लिएर प्रतिनिधि सभा उम्मेदवार छु । आमजनताको रेसपोन्स असाध्यै धेरै छ । प्रदेशमा जाँदा पोलिसी मेकर भएर गए । हामीले प्रदेशमा ५७ वटा नयाँ कानुन बनायौ । संघीय कानुन नआएका कारण ३८ प्रदेश कानुन बनाउन बाँकी छ । हामीले संशोधन सहित १०९ कानुन बनायौ ।

जहाँसम्म जनसरोकारका कामहरू छन् । मैले यो गरे त्यो गरे भन्दा पनि सबै मान्छेको आ–आफ्नो नेचर हुन्छ । एक तहका लिडरसिप सामूहिक रूपमा काम गर्दै आएका छौ । चुनावको मुखमा मैले यस्तो गरे भन्दा साथीहरूले चित्त दुखाउनु हुन्छ होला । भोलि सबैलाई लिएर जानुपर्ने भएकाले धेरै भन्दिन । चुनावको खपतका लागि मात्रै बोल्नु पनि हुँदैन । मैलै धेरै काम गरेको छु । सबै जनताले आ–आफ्नो तरिकाले मूल्याङ्कन गरेका छन् । 

यो क्षेत्रका मुख्य समस्याहरू के के रहे छन् ?

यस क्षेत्रका समस्याहरूलाई वर्गीकरण गरेर हेर्नुपर्ने हुन्छ । एउटा समस्या दैनन्दिन भोगिरहेका समस्या छन् । मान्छेले के चाहन्छ भने समस्याबाट तत्काल मुक्त हुन । अर्को समय परिस्थिति अनुसार आवश्यकता सृजना भई रहन्छन् । तेस्रो सुविधा विस्तारका कुरा आउँछन् । तीन कुरालाई एउटै सिरिजमा राखेर हेर्नुपर्छ । महानगरतिर एउटा खालको समस्या छ । लफ्सेफेदीको एउटा समस्या छ । नाङ्लेभारे र छापतिरको अर्को समस्या छ । यतातिर सडकको समस्या प्रबल भएर आउँछ । परतिर गयो भने खानेपानी र ढलका समस्या आउँछन् । अनुकूल समयमा सम्बोधन गर्नुपर्छ भन्ने छ । 

तत्कालीन एमाले विभाजित भएर दुई टुक्रामा विभाजित भएको छ । तपाईंकै प्रतिस्पर्धी ओन्सरी घर्ती पाँच दलीय गठबन्धन बनाएर मैदानमा हुनुहुन्छ । यस्तो अवस्थामा कत्तिको चुनौतीको रूपमा लिनु भएको छ ? 

एमाले विभाजित भएर कमजोर भएको कुरालाई केही भनिरहनु परेन । पार्टी विभाजन हुनु राम्रो होइन । एउटा पङ्क्ति मतदाताको मात्रै हुन्छ । त्यो पङ्क्तिले सबै विषयको जोड घटाउ गरेर भोट हाल्छ । यस्तो खालको प्रवृत्ति विगतदेखि बेहोर्दै आएका छौँ । ती मतदातालाई विश्वासमा लिन सक्दा ४÷६ महिनामै रिजल्ट उलटफेर भएको इतिहास हामीसँग छ । यहाँका मतदाताको चेतनास्तर निक्कै उच्चस्तरको छ । पहिला यो पार्टीलाई भोट हालेका थिए । अहिले पनि त्यहीँ पार्टीलाई भोट हाल्छन् भन्ने छैन । सबै परिस्थिति हेरे मत हाल्ने अवस्था देखिन्छ । 

त्यसो भए तपाईको प्रतिस्पर्धी बलियो हुनुहुन्छ है ? 

होइन । मेरा प्रतिस्पर्धी २९ जना छन् । हामी सबै एउटै गेममा छौँ । एक जना साथीलाई मेरो प्रतिस्पर्धी भन्दा अरूको चित्त दुख्न सक्छ । आफ्नो प्रतिस्पर्धीलाई कमजोर देख्न हुँदैन । लडाइँको मोर्चामा कसैलाई कमजोर देख्नु मुर्ख्याइँ हो । मैले अरूलाई हराउन नकारात्मक रूपमा हेरेको छैन । आफूले जित्ने कोणबाट हेरेको छु । मैले जित्दा अरु सबैले हार्ने हो । त्यसैले मैले प्रतिस्पर्धीलाई किन कमजोर देख्नु प¥यो ? मैले आफ्नो प्रतिस्पर्धीलाई कमजोर देख्न थालेपछि कमजोरी भई हाल्यो । प्रतिस्पर्धीलाई कसैले कमजोर देख्नु हुँदैन । मैले सबै प्रतिस्पर्धीलाई सम्मानपूर्वक रूपमा हेर्छु । 

म जनताको विचमा जान्छु । आफ्ना कुरा राख्छु । मैले भन्दै आएको छु । म खुल्ला  किताब हुँ । मैले विगत ४० वर्षदेखि पार्टीको काम गर्दै आएको छु । मैले २४ वर्ष  भन्दा बढी हाइस्कुलमा पढाए । मलाई जनताले सबै कोणबाट चिन्छन् । मैले मेरा बारेमा बताई रहनुपर्ने जरुरी नै छैन । मेरो सबै पृष्ठभूमि सबै चेक गर्दा हुन्छ । 

त्यसो भए तपाई निर्वाचित हुने बलियो आधार के हो ? 

मैले आमजनताको जुन रेसपोन्स पाएको छु । चुनावको मुखमा आएपछि जुन क्रियाप्रतिक्रया, सल्लाह, सुझावहरू आएका छन् । ती प्रक्रियाबाट आएका सुझावबाट आजका मितिसम्म अघि बढ्ने नै देखिन्छ । मैले पाएको मतदाताको रेसपोन्स नै जित्ने आधार हो । घरमा कापी कलम लिएर गरेको हिसाब किताबले कहाँ चुनाव जितिन्छ ? मतदानको दिन जनताले कसलाई भोट हाल्छन् ? थाहा नै हुँदैन । 

तपाईकै प्रतिस्पर्धीले एमालेका उम्मेदवार मणिराम फुयाँललाई दिएर के गर्नुहुन्छ । उनी सहभागी भएको पार्टीले संविधान मास्छ, लोकतन्त्र नै बर्बाद बनाउँछ । यस्ता पार्टीका उम्मेदवारलाई किन भोट दिने भन्न थालेका छन् ? 

यो कुरा उहाँहरूको हो । हाम्रो पार्टीले राजनीतिक रूपमा प्रतिवाद गरेको छ । लोकतन्त्रमा निर्वाचन हुनु कसरी संविधान र व्यवस्था मास्ने हुन्छ ? के चुनाव हुनु प्रतिगमन हो ? सोच नै प्रतिगामी छ । यो भाष्य नै गलत छ । यसलाई किमार्थ स्वीकार गर्न सक्दिन । म सत्यलाई सत्य हो भनेर स्वीकार गर्ने मान्छे हुँ । यस्तो गलत भाष्य निर्माण गरेर जनताको आँखामा विष हालेर दिउँसै अँध्यारो पार्नु हुँदैन । हामी सिङ्गो देश र जनतालाई शिरमा राखेर नीति निर्माण गर्ने ठाउँमा जाँदै छौ । ऐन कानुन बनाउने ठाउँमा जाँदै छौ । जनताले भोगेका समस्याप्रति निरपेक्ष हुनुहुँदैन । जनताको समस्या समाधान गर्ने जनप्रतिनिधिको कर्तव्य हो । जनप्रतिनिधिको भूमिका के हो भन्ने बुझ्न साथीहरूले बाँकी छ कि जस्तो पनि लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप