बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

घरमा कापी कलम लिएर गरेको हिसाब किताबले कहाँ चुनाव जितिन्छ ?​ : मणिराम फुयाँल

आइतबार, २७ कात्तिक २०७९, १६ : ३०
आइतबार, २७ कात्तिक २०७९

काठमाडौँ क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका नेकपा एमालेका नेता  मणिराम फुयाँलसँग गरिएको कुराकानी :

अब मतदानको मिति नजिकिँदै छ । चुनावी प्रचारप्रसार र घरदैलो अभियान कसरी सञ्चालन गर्नु भएको छ ? 

मैले यस क्षेत्रका मतदाताको घरघर र बस्तीबस्ती गएर भेटिरहेको छु । सकेसम्म बढीभन्दा बढी मतदाता भेट्ने प्रयत्नमा छु । 

तपाई यसअघि प्रदेश सभामा निर्वाचित भएर भूमिका  निर्वाह गरी सक्नु भएको छ । अब हुने चुनावमा कुन कुन एजेण्डा लिएर जनताकोमा पुग्नु भएको छ ? 

मैले प्रदेश सभामा सकारात्मक भूमिका खेले । आम मतदाता, स्थानीयवासी र सिङ्गो पार्टी पङ्क्तिबाट मूल्याङ्कन भई उत्तिर्ण भएर थप जिम्मेवारी लिएर प्रतिनिधि सभा उम्मेदवार छु । आमजनताको रेसपोन्स असाध्यै धेरै छ । प्रदेशमा जाँदा पोलिसी मेकर भएर गए । हामीले प्रदेशमा ५७ वटा नयाँ कानुन बनायौ । संघीय कानुन नआएका कारण ३८ प्रदेश कानुन बनाउन बाँकी छ । हामीले संशोधन सहित १०९ कानुन बनायौ ।

जहाँसम्म जनसरोकारका कामहरू छन् । मैले यो गरे त्यो गरे भन्दा पनि सबै मान्छेको आ–आफ्नो नेचर हुन्छ । एक तहका लिडरसिप सामूहिक रूपमा काम गर्दै आएका छौ । चुनावको मुखमा मैले यस्तो गरे भन्दा साथीहरूले चित्त दुखाउनु हुन्छ होला । भोलि सबैलाई लिएर जानुपर्ने भएकाले धेरै भन्दिन । चुनावको खपतका लागि मात्रै बोल्नु पनि हुँदैन । मैलै धेरै काम गरेको छु । सबै जनताले आ–आफ्नो तरिकाले मूल्याङ्कन गरेका छन् । 

यो क्षेत्रका मुख्य समस्याहरू के के रहे छन् ?

यस क्षेत्रका समस्याहरूलाई वर्गीकरण गरेर हेर्नुपर्ने हुन्छ । एउटा समस्या दैनन्दिन भोगिरहेका समस्या छन् । मान्छेले के चाहन्छ भने समस्याबाट तत्काल मुक्त हुन । अर्को समय परिस्थिति अनुसार आवश्यकता सृजना भई रहन्छन् । तेस्रो सुविधा विस्तारका कुरा आउँछन् । तीन कुरालाई एउटै सिरिजमा राखेर हेर्नुपर्छ । महानगरतिर एउटा खालको समस्या छ । लफ्सेफेदीको एउटा समस्या छ । नाङ्लेभारे र छापतिरको अर्को समस्या छ । यतातिर सडकको समस्या प्रबल भएर आउँछ । परतिर गयो भने खानेपानी र ढलका समस्या आउँछन् । अनुकूल समयमा सम्बोधन गर्नुपर्छ भन्ने छ । 

तत्कालीन एमाले विभाजित भएर दुई टुक्रामा विभाजित भएको छ । तपाईंकै प्रतिस्पर्धी ओन्सरी घर्ती पाँच दलीय गठबन्धन बनाएर मैदानमा हुनुहुन्छ । यस्तो अवस्थामा कत्तिको चुनौतीको रूपमा लिनु भएको छ ? 

एमाले विभाजित भएर कमजोर भएको कुरालाई केही भनिरहनु परेन । पार्टी विभाजन हुनु राम्रो होइन । एउटा पङ्क्ति मतदाताको मात्रै हुन्छ । त्यो पङ्क्तिले सबै विषयको जोड घटाउ गरेर भोट हाल्छ । यस्तो खालको प्रवृत्ति विगतदेखि बेहोर्दै आएका छौँ । ती मतदातालाई विश्वासमा लिन सक्दा ४÷६ महिनामै रिजल्ट उलटफेर भएको इतिहास हामीसँग छ । यहाँका मतदाताको चेतनास्तर निक्कै उच्चस्तरको छ । पहिला यो पार्टीलाई भोट हालेका थिए । अहिले पनि त्यहीँ पार्टीलाई भोट हाल्छन् भन्ने छैन । सबै परिस्थिति हेरे मत हाल्ने अवस्था देखिन्छ । 

त्यसो भए तपाईको प्रतिस्पर्धी बलियो हुनुहुन्छ है ? 

होइन । मेर प्रतिस्पर्धी २९ जना छन् । हामी सबै एउटै गेममा छौँ । एक जना साथीलाई मेरो प्रतिस्पर्धी भन्दा अरूको चित्त दुख्न सक्छ । आफ्नो प्रतिस्पर्धीलाई कमजोर देख्न हुँदैन । लडाइँको मोर्चामा कसैलाई कमजोर देख्नु मुर्ख्याइँ हो । मैले अरूलाई हराउन नकारात्मक रूपमा हेरेको छैन । आफूले जित्ने कोणबाट हेरेको छु । मैले जित्दा अरु सबैले हार्ने हो । त्यसैले मैले प्रतिस्पर्धीलाई किन कमजोर देख्नु प¥यो ? मैले आफ्नो प्रतिस्पर्धीलाई कमजोर देख्न थालेपछि कमजोरी भई हाल्यो । प्रतिस्पर्धीलाई कसैले कमजोर देख्नु हुँदैन । मैले सबै प्रतिस्पर्धीलाई सम्मानपूर्वक रूपमा हेर्छु । 

म जनताको विचमा जान्छु । आफ्ना कुरा राख्छु । मैले भन्दै आएको छु । म खुल्ला  किताब हुँ । मैले विगत ४० वर्षदेखि पार्टीको काम गर्दै आएको छु । मैले २४ वर्ष  भन्दा बढी हाइस्कुलमा पढाए । मलाई जनताले सबै कोणबाट चिन्छन् । मैले मेरा बारेमा बताई रहनुपर्ने जरुरी नै छैन । मेरो सबै पृष्ठभूमि सबै चेक गर्दा हुन्छ । 

त्यसो भए तपाई निर्वाचित हुने बलियो आधार के हो ? 

मैले आमजनताको जुन रेसपोन्स पाएको छु । चुनावको मुखमा आएपछि जुन क्रियाप्रतिक्रया, सल्लाह, सुझावहरू आएका छन् । ती प्रक्रियाबाट आएका सुझावबाट आजका मितिसम्म अघि बढ्ने नै देखिन्छ । मैले पाएको मतदाताको रेसपोन्स नै जित्ने आधार हो । घरमा कापी कलम लिएर गरेको हिसाब किताबले कहाँ चुनाव जितिन्छ ? मतदानको दिन जनताले कसलाई भोट हाल्छन् ? थाहा नै हुँदैन । 

तपाईकै प्रतिस्पर्धीले एमालेका उम्मेदवार मणिराम फुयाँललाई दिएर के गर्नुहुन्छ । उनी सहभागी भएको पार्टीले संविधान मास्छ, लोकतन्त्र नै बर्बाद बनाउँछ । यस्ता पार्टीका उम्मेदवारलाई किन भोट दिने भन्न थालेका छन् ? 

यो कुरा उहाँहरूको हो । हाम्रो पार्टीले राजनीतिक रूपमा प्रतिवाद गरेको छ । लोकतन्त्रमा निर्वाचन हुनु कसरी संविधान र व्यवस्था मास्ने हुन्छ ? के चुनाव हुनु प्रतिगमन हो ? सोच नै प्रतिगामी छ । यो भाष्य नै गलत छ । यसलाई किमार्थ स्वीकार गर्न सक्दिन । म सत्यलाई सत्य हो भनेर स्वीकार गर्ने मान्छे हुँ । यस्तो गलत भाष्य निर्माण गरेर जनताको आँखामा विष हालेर दिउँसै अँध्यारो पार्नु हुँदैन । हामी सिङ्गो देश र जनतालाई शिरमा राखेर नीति निर्माण गर्ने ठाउँमा जाँदै छौ । ऐन कानुन बनाउने ठाउँमा जाँदै छौ । जनताले भोगेका समस्याप्रति निरपेक्ष हुनुहुँदैन । जनताको समस्या समाधान गर्ने जनप्रतिनिधिको कर्तव्य हो । जनप्रतिनिधिको भूमिका के हो भन्ने बुझ्न साथीहरूले बाँकी छ कि जस्तो पनि लाग्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप